शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर नगरपालिकामा नेमकिपाको कुनै प्रतिस्पर्धी छैन : सुनिल प्रजापति

नगर उत्कृष्ट हुनुमा जनपरिचालनको मुख्य भूमिका
शुक्रबार, २३ वैशाख २०७९, १२ : २५
शुक्रबार, २३ वैशाख २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढका रुपमा मानिने भक्तपुर नगरपालिकामा १४ जना प्रमुख र ९ जना उपप्रमुखसहित २ सय १२ जनाले उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी चुनावी तालमेलमा छन् भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकल उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीबाट नगरको मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशीले उम्मेदवारी दिएका छन् । स्थानीय तह निर्वाचनको चटारोका बीच भक्तपुर नगरपालिकाको मेयरका उम्मेदवार सुनिल प्रजापतिसँग रातोपाटीकर्मी वीरेन्द्र ‌ओलीले गरेको कुराकानीको सम्पादित अंशः 

तपाईंले ५ वर्ष मेयर भएर काम गर्नुभयो । फेरि सोही पदमा किन उम्मेदवारी दिनुभयो ?

नेपाल मजदुर किसान पार्टीले यो निर्वाचनभन्दा अघि जारी गरेको घोषणापत्रमा उल्लेखित अधिकांश बचनवद्धतता पुरा भएका छन् । आधारभूत गरिखाने वर्गलाई प्राथमिकता दिएर अहिलेको निर्वाचनमा पुनः नयाँ घोषणापत्र जारी गरेका छौं । यसअघि गर्न नभ्याएका वा पुरा गर्न नसकेको कामलाई निरन्तरता दिन पनि उम्मेदवार भएको हुँ ।

यसअघिको कार्यकालमा वाचा गरेको के के गर्नु सक्नु भयो ? अबको योजना के छ ?

भक्तपुरलाई सांस्कृतिक नगरको रुपमा घोषणा गर्ने भनेका थियौ । सांस्कृतिक नगर यो प्रदेश सरकारले गर्नुपर्ने थियो, त्यो हामीबाट सम्भव भएन, गर्न सकेनौँ । ख्वप विश्वविद्यालय बनाउने एजेण्डा अघि सारेका थियौँ । त्यस अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने कुरा उठाएका थियौं । जसरी इन्जिनियरिङ पढेर गरिव जनताका छोराछोरीले सेवा लिइरहेका थिए, त्यसरी नै मेडिकल क्षेत्रमा व्यवस्था गर्न खोजेका थियौं, त्यो पुरा गर्न सकेनौँ ।

यस पटक निर्वाचित भएर आएपछि ख्वप विश्वविद्यालय र मेडिकल चलाउने छौं । जनताको जनजीविकाको मुद्दा महँगी, कालोबजारी लगायत क्षेत्रलाई सम्बोधन गर्नुपर्ने छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र सम्पदा निर्माणमा अत्यन्तै राम्रोसँग बन्दोबस्त गर्नेछौं । हामीले मिहिनेत गरेर काम गरेकोले देशकै सफा नगर र संस्कृति संरक्षण सहरको रुपमा विकास भयो । हामी भक्तपुर नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाएर देशकै हेर्न लायक नगर बनाउने कोसिस गर्नेछौं ।

चुनावी प्रचारमा कसरी जुटिरहनु भएको छ ?

हरेक दिन बिहान घरदैलो अभियान चलाउँछौ । सम्भव भएसम्म हामी उम्मेदवार त्यहाँ पुग्छौ । हामी पुग्न नसकेको अवस्थामा वडाका उम्मेदवारहरू पुग्नुहुन्छ । हरेक दिन बेलुका ५ बजेदेखि ८ बजेसम्म नगरस्तरीय सभा चल्छ । त्यस बीचमा चोक चोकमा वडा सभाहरू भइरहेका हुन्छन् । हाम्रा जनप्रतिनिधिहरु सभामा सहभागी हुन्छन् । ती गतिविधिमा हामीले मतदातालाई मतदान गर्न पनि सिकाउँछौँ । 

टोल टोलमा पुग्दा जनताले के काम गरिदिए हुन्थ्यो भन्ने पाउनु भएको छ ?

जनतालाई सबैभन्दा बढी चाहिएको सर्वसुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्य नै हो । त्यसैले हामीले पनि त्यसैमा केन्द्रीत भएर काम गरेका छौं । अहिले यहीँ भक्तपुर हो, जहाँबाट हाम्रै नगरपालिकाबाट ४३२ इन्जिनियरसहित १२ सय भन्दा बढी इन्जिनियर उत्पादन भइसकेका छन् । एमए, एमएस्सी, एमएड र एमबीएसबाट स्नातकोत्तर पढ्न नगरपालिकाभन्दा बाहिर जानु पर्दैन । नगरमा पढाइ नहुने विषयमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक ऋण दिएका छौं । अहिले ३१४ जनाले ३ करोड भन्दा बढी शैक्षिक ऋण लिएर पढिरहेका छन् । 

राजनीति शास्त्र, इतिहास, संस्कृत र नेपाल भाषा पढ्ने जुनसुकै कलेज र विश्वविद्यालयमा गए पनि त्यो व्यक्तिले पैसा तिर्नु पर्दैन । स्नातकदेखि विद्यावारिधिसम्मको सबै पैसा नगरपालिकाले तिर्छ । हामीले नगरवासीका लागि शिक्षामा धेरै लगानी गरेका छौं । हामीले सात कलेज चलाएका छौं, जहाँ ७ हजार विद्यार्थीहरु पढिरहेका छन् । यहाँ मनाङबाहेक सबै जिल्लाका विद्यार्थीले पढिसकेका छन् ।

जनताको अर्को चाहना स्वास्थ्य हो । घर घरमा गएर स्वास्थ्य स्वयम्सेवी र नर्सले सेवा दिइरहेका छन् । ब्लड प्रेसर, सुगर, ज्वरो जाँच्ने काम गरिरहेका छन् । औषधि खान नजान्नेलाई खान सिकाउने र नुहाउन नसक्ने अशक्तलाई नुहाइदिने पनि गर्छन् । यदि अस्पताल लग्नुपर्ने भए लग्न सहयोग गर्छन् ।

नगरपालिकाको आफ्नै अस्पताल छ, जहाँ दैनिक ७ सय भन्दा बढी बिरामीहरुले उपचार पाउँछन् । जहाँ ५० देखि ८० रुपैयाँमा विशेषज्ञ सेवा दिइन्छ । कतिपयले यति सस्तोमा कसरी उपचार गर्न सम्भव छ ? भनेर प्रश्न पनि गर्छन् । यति थोरै पैसा तिरेर पनि राम्रो अस्पताल बनाएका छाैं । यदि हामीलाई एक सय शय्याको अस्पताल सञ्चालन गर्न अनुमति दिएमा भौतिक संरचना बनाइसकेका छौं । अनुमति पाएमा सस्तो स्वास्थ्य सेवा दिने तयारी गरेका छौँ ।

भक्तपुर नगरले धेरै राम्रो काम गरेको चर्चा छ । अन्य कुन कुन क्षेत्रमा उदाहरणीय काम गर्नुभयो ? 

हामी पैसालाई भन्दा जनतालाई प्राथमिकतामा राख्छौँ । हरेक काम जनताको सहभागितामा पुरा गराउँछौ । यहाँको सम्पदा निर्माण यहाँका जनताले गर्छन्, आफै आर्थिक सहयोग र श्रमदान गर्छन् । अरु आवश्यक जिन्सी पनि जनताले सहयोग गर्छन् । यस्तो खालको भक्तपुरवासीको सहयोग र समन्वय भएकाले थोरै पैसाले धेरै काम भएका छन् ।

नगरको सरसफाइका लागि प्रत्येक सहकारीलाई एक सहकारी, एक क्षेत्र सरसफाई अभियान चलाएका छौं । एक विद्यालय, एक सम्पदा संरक्षण र सरसफाइ निर्णय नै गराएर जिम्मेवारी दिएका छौं । ८, ९ कक्षाका विद्यार्थीहरु पालैपालो आफ्नो क्षेत्रको सम्पदा संरक्षण र सफा गर्छन् । जनता आफै सरसफाइमा सहभागी भएको पाउनुहुन्छ । हरेक विकास निर्माणका काममा जनताको सहभागिता नै यहाँको उदाहरणीय कार्य हो ।

भक्तपुर नगरमा नेमकिपालाई अहिले पनि जनताले विश्वास गर्छन् त ?

हामी अरुले जस्तो पैसा खर्च गरेर भोज खुवाउँदैनौँ । हामी जनताकै बिचमा जान्छौं, आफ्नो पार्टीको सिद्धान्त प्रचार गर्छौं । नेमकिपा भनेको यस्तो हो भनेर आफ्ना कुरा राख्छौँ । हामीले बनाउन खोजेको समाज यस्तो हो भन्ने कुरा जनतासँग प्रष्ट रुपमा राख्दै हामी जे बोल्छौँ, त्यो पुरा गर्छौं । जनतालाई झुटो आश्वासन दिएर भ्रममा पार्दैनौं । त्यसो भएको हुनाले यहाँका जनताले धेरै विश्वास गरेको अवस्था छ, गरिरहने छन् । नेमकिपाको प्रतिस्पर्धी यहाँ अरु कोही छैन ।

स्थानीय सरकारलाई घरदैलोको सरकार भन्ने गरिन्छ । अन्य स्थानीय सरकारले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु पर्छ जस्तो लाग्छ ?

हामीले जनतालाई थोरै पनि असजिलो हुने काम गर्नु हुँदैन । जस्तै नगरमा सिफारिस लिन जनता आए, तत्काल सेवा दिनुपर्छ । दिन मिल्दैन भने यी कागजात लिएर आउनुस् मिल्छ भनेर चित्त बुझाएर फर्काउन सक्नुपर्छ । सबै सेवाग्राहीको समय आफैमा मूल्यवान हुन्छ, समयमै सेवा दिन सक्नुपर्छ । हामीले समय खेर फालि दिनुहुन्न । 

हामीले भक्तपुरमा राम्रो काम गरेपछि ५०/६० जना भन्दा बढी मेयर उपमेयरहरु अध्ययन गर्न, बुझ्न आउनुभयो । हामीले कलेज अस्पताल र सरसफाइको अवस्थाको स्थलगत रुपमा अवलोकन गरायौँ । उहाँहरु हेरेर आश्चर्य मान्नुभयो । यो कसरी गर्न सम्भव छ ? सोध्नु भयो । बजेटका दृष्टिकोणले भक्तपुर नगरमा थोरै छ, कसरी यति धेरै काम गर्न सकिन्छ भन्दा हामीले जनता परिचालन गरेमा गर्न सकिन्छ भन्ने जवाफ दिने गरेका छौं । 

जनप्रतिनिधि, कर्मचारी र जनता एक मन भई इमान्दार भएमा धेरै काम गर्न सकिन्छ । हामीले कर्मचारीलाई बढी तलव दिएका होइनौं, सुविधा बढी दिएका होइनौं । सरकारले जति तोकेको छ, त्यति नै दिएका हौँ । हामी कर्मचारी साथीहरुसँग बस्छौँ । उहाँहरुलाई कन्भिन्स गराएर काममा लगाउँछौं । तपाईंहरुको १० बजेदेखि ४ बजेसम्म हामीले किनेको समय हो, त्यो समयमा कर्मचारी इमान्दार भए धेरै काम गर्न सकिन्छ । अरु विहान र बेलुकाको समय देश, जनता र राष्ट्र निर्माणमा योगदान गर्नुस् भनेरै कन्भिन्स गर्छौं । त्यसो भन्दा उहाँहरुले ओभर टाइम काम गरेको पैसा खोज्नुहुन्न । उहाँहरु शनिवार र विदाको समय पनि आएर काम गर्नुहुन्छ ।

अरु स्थानीय तहले शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ । यस्तै विकास निर्माणमा जनतालाई परिचालन गर्नुपर्छ । त्यसो गरेमा जनताले अपनत्व महशुस गर्छन् । ठेक्का प्रणालीलाई विस्तारै निरुत्साहित गर्दै लग्नुपर्छ । सबै विकास निर्माणमा ठेक्का प्रणालीमा जाँदा नगर पालिकाको धेरै पैसा केही व्यक्तिमा गएर केन्द्रीत हुन्छ । त्यसैले जनपरिचालन गरेर काम गरेमा रोजगारी सिर्जना हुन्छ । यस्तो भएमा धेरै पैसा सदुपयोग हुनुका साथै जनताले विश्वास बढ्दै जान्छ ।

नेमकिपालाई विपक्षीहरुले निरंकुशको आरोप लगाउँछन् । अरुलाई नगरभित्र राजनीतिक गतिविधि नै गर्न दिँदैनन् भन्ने आरोप छ । के त्यसो गर्नु भएको हो र ?

विपक्षीहरुले आलोचना गर्नु स्वभाविकै हो, हामीले अन्यथा लिँदैनौ । जसलाई पनि यहाँ राजनीतिक गतिविधि गर्न छुट छ । काँग्रेस भनेको सामन्त र पुँजीपतिहरूको पार्टी हो । एमाले भनेको वैचारिक रुपमा काँग्रेसको भाइ पार्टी हो, यसरी नै प्रचार गर्छौं । उहाँहरुले के के गर्नुहुन्छ, त्यहीँ प्रचार गर्छौं ।

एमसीसीको सबैले समर्थन गरेका छन्, हामीले विरोध गरेका छौं । एमसीसी भनेको के हो भनेर जनतालाई बुझाउँदै छाैं । निर्वाचनमा हामीले एउटा राजनीतिक कक्षाको रुपमा सञ्चालन गर्छौं तर उहाँहरुलाई सह्य हुँदैन । उहाँहरुलाई छिर्नै दिएन भन्ने हो भने अघिल्लो निर्वाचनमा उहाँहरु मिलेरै लड्नु भएको हो । अहिले पनि पनि निर्वाचन मिलेरै लड्दै हुनुहुन्छ । हामी अराजक कुरा गर्दैनौं । हामी विचारको प्रतिस्पर्धामा काँग्रेस, एमाले र माओवादीसँगै लडिरहेका छौं । उहाँहरुले जुन आलोचना गर्नु भएको हो, त्यो सही होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप