मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नेमकिपाको प्रचार : बिहान घरदैलो, बेलुकी टोलभेला र प्रशिक्षण  (फोटोफिचर)

बुधबार, २१ वैशाख २०७९, १७ : ५९
बुधबार, २१ वैशाख २०७९

भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्ला हो । त्यहाँ सबै दलहरु मिल्दा पनि नेमकिपाको किल्ला कसैले हल्लाउँदैन । अध्यक्ष नारायणमान बिजुक्छेको क्षेत्रमा जनतालाई चित्त बुझाउने काम गरेकाले अरु भन्दा उनीहरु अब्बल र लोकप्रिय छन्।

नेमकिपाबाट भक्तपुर नगरपालिका मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशीले उम्मेदवारी दिएका छन्। उनीहरु अरु उम्मेदवारभन्दा चुनाव जित्नेमा ढुक्क छन्। भक्तपुर नगरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेलमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकल उम्मेदवारी दिएका छन्। नेमकिपाको चुनावी प्रचार-प्रसार रिर्पोटिङ गर्न रातोपाटीकर्मी विहान ७ बजे भक्तपुर नगरपालिकाको वडा नम्बर ८ स्थित जटात्रे मन्दिर पुग्दा मेयरका उम्मेदवार प्रजापति र उपमेयरकी उम्मेदवार जोशीले घरदैलो सुरु गरिसकेका थिए। बिहानको चिया बिस्कुट मात्रै खाएर उम्मेदवारसहित कार्यकर्ता होहल्ला र नाराबाजी गर्दै घरदैलो पुग्दा धेरै मतदाता ओछयानमै थिए। उनीहरुको कोलाहाल सुन्दा  कतिपय मतदाता उठेर झ्यालबाट अभिवादन फर्काउँदै थिए भने कतिपयले जितको शुभकामना दिँदै थिए।

नेमकिपाका उम्मेदवारको प्रचारसँगै मतदाता शिक्षा दिने कार्यकर्तासमेत संगै थिए। उनीहरुले प्राय: नेवारी भाषामा मतदाता शिक्षा दिँदै मादलमा भोट हाल्न सुझाइरहे । नेता कार्यकर्ताहरु नारा लगाउँदै ‘जनताको जितका लागि जनताको मादलमा’ भोट माग्दै थिए । त्यहाँका मतदाता समेत उनीहरु आउँदा हर्षोल्लासका साथ स्वागत र बिदाइ सँगसँगै गरिरहे। उनीहरुले कहिले नेपाली र कहिले नेवारी भाषामा नारा जुलुससमेत गर्दै घरदैलो गरे । उनीहरुले प्रत्येक नारामा एमसीसी विरोधी शक्ति एक मात्र नेपाल मजदुर किसान पार्टी भएको भन्दै भोट माग्न बिर्सिएनन्। काँग्रेस, एमाले, माओवादीले साम्राज्यवादीको दलाली गरेर एमसीसी पारित गरेको भन्दै राष्ट्रवादी नेमकिपालाई भोट मागे। उनीहरुले एमसीसीलाई राम्रैसँग क्यास गरेर भोट माग्दै थिए।

‘हामी बिहान ७ बजे घरदैलो गरेर करिब ११ बजे सक्छौ। त्यसपछि आ–आफ्नो घरमा गएर खाना खान्छौ।   अरु बिहानको खाना उम्मेदवार कार्यकर्ताले प्राय: आ–आफ्नो घरमा खान्छन्।’ नेमकिपाका नगरका नेता राधेश्याम सिलाले भने,‘त्यसपछि दिउँसो प्राय किसान, व्यापारी र नोकरी गर्ने व्यस्त हुन्छन्। हामी आराम गर्ने र योजना बनाउने गर्छौ ।’

बिहान घरदैलोमा चिसा बिस्कुट मात्रै उम्मेदवारको खर्च हो। त्यसैले पनि उम्मेदवारलाई खर्चको टन्टो छैन । नेमकिपाका उम्मेदवारले बेलुका ६ देखि ८ बजेसम्म टोल भेला र प्रशिक्षण गर्छन्। प्रशिक्षणमा नेमकिपालाई किन भोट हाल्ने ? चुनाव जिते के -के काम गर्ने ? अरु पार्टी कस्ता हुन् ? भनेर भाषण, प्रशिक्षणसहित नाटक र गीत गाउँछन्। नेमकिपाले आफ्नो पकडमा राख्न राजनीतिक र वैचारिक प्रशिक्षण दैनिक चलाउँछ। ‘हरेक वडामा टोल भेला र प्रशिक्षण चल्छ। त्यहाँ उम्मेदवारले मात्रै होइन त्यहाँका युवाहरुले आफ्नो कुरा राख्छन्’ सिलवालले भने,‘टोल भेला र प्रशिक्षणमा नेताले भन्ने अरुले सुन्ने होइन टोल टोलका युवाहरुले राजनीतिक र वैचारिक कुरा लिने दिने दुबै चल्छ। हेर्न लायक हुन्छ । एक ढंगले अन्तक्रिर्याजस्तै हुन्छ।’ 

चुनाव जितेपछि पनि ठूलै भोज हुँदैन। सामान्य खुसियाली मनाउन एकाध ठाउँमा खर्च गरेपनि सामान्य हुने गरेको सिलवाल बताउँछन्। मेयर उपमेयर भएर जनताको काम गर्ने भएकाले खर्च गरेमा जनतालाई भार पर्ने भएकाले भड्किलो प्रचार नगरिने मेयरका उम्मेदवार प्रजापति बताउँछन्। ‘हामीलाई जनताले त्यसै भोट दिने होइन। जनताको पक्षमा काम गर्छौं हामीलाई भोट दिन्छन्।’ प्रजापतिले भने- ‘जनताले नगरबाट पाउने सेवा सुविधा छिटो छरितो पाउनुका साथै अरु शिक्षा,स्वास्थ्य खानेपानी लगायत आधारभूत आवश्यकता दिलाउँछौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप