ओलीको गृहनगर दमकमा एमालेलाई गठबन्धनको चुनौती कति ?

एमालेको गढ मानिने झापाको दमक नगरपालिकामा यस पटकको स्थानीय तहको निर्वाचनमा उति सहज देखिँदैन । २०७४ सालको निर्वाचनबाट उपमेयरमा निर्वाचित भई पाँच वर्ष कार्यभार सम्हालेकी गीता अधिकारीलाई यस पटक एमालेले मेयरका लागि मैदानमा उठाएको छ । तर, पाँच दलीय गठबन्धनका बीचमा राप्रपाको चुनावी तालमेल गरेसँग दमकमा एमालेलाई सकस देखिन्छ ।
तर, एमालेका तर्फबाट मेयरकी उम्मेदवार अधिकारी दमक नगरपालिकामा एमालेको जीत निश्चित रहेको दाबी गर्छिन् । रातोपाटीसँगको संवादमा अधिकारीले भनिन्, ‘आत्मलाई साक्षी राखेर निष्ठापूर्वक पूरा समय दिएर अघिल्लो कार्यकालमा काम गरेका छौँ । त्यसैले सबै मतदाताले हामीलाई अब पनि विश्वास गर्नु हुनेछ । दमकको समृद्धिका लागि अपूरा काम धेरै छन् तिनलाई पूरा गर्नुछ ।’
अधिकारी दमकमा अहिलेको गठबन्धनसँगको प्रतिस्पर्धालाई चुनौती भन्दा पनि अवसरका रूपमा लिएकी बताउँछिन् । भन्छिन्, ‘दमक नगरपालिकामा नेकपा एमालेले एउटा ऐतिहासिक निर्णय गर्दै महिला उम्मेदवार अघि सारेको छ । देशकै नजर परेको नगरपालिकामा एमालेले महिला अघि सार्नु नै एउटा ठुलो अवसर हो, यो सम्पूर्ण नगरवासी महिलाहरूको ठुलो उपलब्धि पनि हो।’
दमक नगरपालिकामा स्थानीय निर्वाचनमा एमालेले मेयर, उपमेयरसहित ८ वटा वडा जितेको थियो। बाँकी दुईवटा वडामा राप्रपा विजेता बनेको थियो। प्रमुख पदमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याएर विजेता बन्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापा ७ हजार ६ सय ५५ मत ल्याएर दोस्रो भएका थिए। तर, यस पटकको स्थानीय तहको निर्वाचनमा राप्रपाका राम थापा मेयरको उम्मेदवार बनिरहँदा उनको साथमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितको संयुक्त मत रहेको छ ।
तर दलहरूको चुनावी तालमेललाई सहज ढङ्गले सामना गर्ने दाबी गर्छिन् अधिकारी, ‘गणितीय हिसाब त हामीले गरेका छैनौँ । तर, दमकमा गठबन्धनलाई हामीले एकदमै सहज ढङ्गले लिएका छौँ । कुनै पनि विकासका गतिविधि भनौँ, शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरा, अझ भनौँ दमक नगरलाई समृद्ध बनाउने कुरामा हामी कटिबद्ध छौँ।’
अधिकारी उदाहरण दिँदै भन्छिन्, ‘ हामी उदाहरणका रूपमा लिन सक्छौँ कि, रवि चिसापानी सडकको कुरा, भयो, प्रशासनिक सेवालगायतमा धेरै काम गर्नु छ । आम व्यवसायीहरूले अझै पनि दुःख पाइरहनु भएको छ । घरेलु तथा साना मझौला उद्योगका कार्यक्रमहरू नगरभित्रै ल्याउनु छ । यातायात कार्यालय दमक नगरमै ल्याएर सेवा प्रवाह गर्नु छ । त्यसैले हिजो जसरी एमालेको स्थानीय सरकारले ‘सिस्टम’मा ल्याएर काम गरिरहेको छ र आम जनता पनि एमालेकै सरकारले यो काम गर्न सक्छ भन्नेमा विश्वस्त हुनुहुन्छ । त्यसैले गठबन्धन केका लागि, किन भन्नुभन्दा दमकको समृद्धिका लागि नेकपा एमालेको स्थानीय सरकार नै आवश्यक छ ।’
दमक नगरमा गठबन्धनको प्रभाव चाहिँ कति देख्नु भएको छ त ! भन्ने प्रश्नमा अधिकारी भन्छिन्, ‘प्रभाव शून्य छ, किन भने पूर्व प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्वकालमा दमक नगरका जनप्रतिनिधिले लगेका हरेक भिजनहरू कार्यान्वयन गर्नका लागि बडो चासोका साथ साथ–सहयोग दिनुभएको छ । त्यही कारण दमकमा राष्ट्रिय गौरवका आयोजनाहरू चलिरहेका छन्’, अधिकारी थप्छिन् , ‘नगरपालिका प्रदेश र सङ्घीय सरकार गरी तीनै तहको राज्य संरचनासँग मिलेर हामीले दमकमा धेरै काम सुरु गरेका छौँ र यी सबै काम सम्पन्न गर्नका लागि एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीको दायित्व रहन्छ । त्यस अर्थमा पनि मतदातामा गठबन्धनको प्रभाव शून्य छ ।
यी र यस्तै प्रसङ्गमा रहेर ओलीको पकड क्षेत्र मानिएको उनकै गृह नगर झापाको दमक नगरपालिकाकी नेकपा एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीसँग रातोपाटीका लागि मनोज न्यौपानेले गरेको विशेष संवाद भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
लहानमा राजमार्गका होटल अनुगमन
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण