आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगरमा राप्रपा यसरी बन्यो गठबन्धनको सारथि

आइतबार, १८ वैशाख २०७९, १३ : २७
आइतबार, १८ वैशाख २०७९

झापाको दमक नगरपालिका नेकपा एमालेका लागि खास महत्त्वको पालिका हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर रहेको दमकमा २०७४ सालको निर्वाचनमा एमालेले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो । आसन्न निर्वाचनमा एमालेलाई आफ्नो त्यो साख जोगाउन सत्तारुढ गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

सत्तारुढ गठबन्धनले यो पालिकामा राप्रपासँग तालमेल गरेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ । यसपटक एमालेबाट मेयर पदमा गीता अधिकारी र उपमेयरमा अम्बिका भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्तारुढ गठबन्धनले मेयरमा राप्रपालाई सघाएको छ । राप्रपाबाट राम थापा मेयरको उम्मेदवार छन् भने उपमेयरमा काँग्रेसले गठबन्धनका तर्फबाट रेगिना भट्टराई प्रसाईंलाई उम्मेदवार बनाएको छ ।

०७४ को परिणाम

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा वडा जितेको थियो । बाँकी दुईवटा वडामा राप्रपाले जितेको छ । नगर प्रमुख पदमा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । तेस्रो स्थानमा माओवादीका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याउँदा काँग्रेसका ढुण्डीराज भण्डारीले ५ हजार ५ सय ३९ मत ल्याएका थिए ।

सबै वडाको मत जोडेर हेर्दा दमकमा एमाले ११ हजार ८ सय ८४ सहित पहिलो, ६ हजार ५ सय ६० मतसहित काँग्रेस दोस्रो, ५ हजार ७ सय ७१ सहित राप्रपा तेस्रो र ४ हजार ५ सय १७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा छ ।

राप्रपा निर्णायक शक्ति

दमक नगरपालिकामा दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा नेकपा एमाले भारी देखिए पनि सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा राप्रपा निर्णायक शक्तिका रुपमा देखिन्छ । २०७४ को निर्वाचनमा १० वटा वडामा एमालेले कुल ११ हजार ८८४ मत ल्याएकोमा हाल पार्टी विभाजन भएका कारण सो मतमा केही धक्का लाग्ने निश्चित छ । यस्तो अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख दुई दल काँग्रेस र माओवादीले अघिल्लो चुनावमा १० वटै वडामा हासिल गरेको कुल मत जोड्दा ११ हजार ४७७ हुन्छ । यस्तो अवस्थामा राप्रपाले एमाले वा गठबन्धनमध्ये जसलाई साथ दिन्छ, उसैले बाजी मार्ने अवस्था थियो । तर, राप्रपाले सत्तारुढ गठबन्धनसँग दमकमा तालमेल गरेपछि एमालेलाई थप चुनौती बढेको छ । अघिल्लो निर्वाचनमा राप्रपाले १० वटै वडामा गरी कुल ५ हजार ७७१ मत हासिल गरेको थियो ।

सत्तारुढ गठबन्धनको मात्र मतले दमकमा एमालेलाई टक्कर दिन कठिन देखिएपछि गठबन्धनले राप्रपालाई मेयर पद दिएर सारथि बनाएको छ । राप्रपालाई पनि एक्लै चुनाव जित्न कठिन थियो । राप्रपाले मेयर पदमा गठबन्धनको साथ लिने र उपमेयरमा गठबन्धनलाई सघाउने भएसँगै एमालेलाई पार्टी अध्यक्ष ओलीको गृहनगरमै साख जोगाउन कडा चुनौती सामना गर्नुपर्ने भएको हो ।

मतदातासँग चियागफ

झापाको दमक चोकबाट उत्तरतर्फ जाने बाटोमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको सांसद सम्पर्क कार्यालयको बोर्ड सडकको पूर्वतर्फको घरमा राखिएको देखिन्छ । त्यहाँबाट अझै थोरै उत्तर लाग्दा पश्चिम जाने सडकहरु निर्माणाधीन देखिन्छन् । सडकमा खाल्डाखुल्डी र धूलो मनग्ये छ । त्यहाँबाट अझै थोरै उत्तर हिँडेर पश्चिमतर्फ लाग्दा अध्यक्ष केपी शर्मा ओलीको घर भएको स्थान अनाम टोल पुगिन्छ ।

अनाम टोलका आसपासका सडकहरु ग्राभेल गरिएको भए पनि धूलाम्ये छन् । ढल तथा नालाको राम्रो व्यवस्थापन छैन । दमकचोकबाट उत्तर जाने बाटोको पश्चिमतर्फको क्षेत्र नै केपी शर्मा ओलीको घर भएको स्थान दमकको वडा नम्बर ५ हो ।

शुक्रबार दिउँसो २ बजे केपी शर्मा ओलीको घर छेउको अनाम चोकस्थित चिया पसलमा केही मानिस गफिएर बसेका थिए । तीमध्येका एक हुन् केपी शर्मा ओलीकै छिमेकी नगेन्द्र पोखरेल । उनीसँगै सोही टोलका तुलाराम बाँस्तोला, हिमबहादुर अधिकारी, लोकबहादुर बुढाथोकी चियागफमा व्यस्त थिए । उनीहरुमध्ये लोकबहादुरले आफ्नो दल नखुलाए पनि अन्य सबै अलग पार्टीमा आवद्ध रहेछन् ।

पोखरेलले दमकमा यसपटक कडा प्रतिस्पर्धा हुने आकलन गरे । गठबन्धन र एमालेबाट मजबुत उम्मेदवार भएको र समीकरण पनि जबर्जस्त भएका कारण अहिलेको चुनावमा कसले बाजी मार्छ भनेर किटान गर्न कठिन हुने उनको भनाइ थियो ।

बाँस्तोला भने मेयर र उपमेयरमा कडा प्रतिस्पर्धा हुने भए पनि वडाहरुमा भने एमालेले बाजी मार्ने बताउँछन् । यसअघिको निर्वाचनमा एमालेले तीन वटा वडाबाहेक सबैमा जितेका कारण एमाले हावी हुने उनको तर्क थियो ।

तर पोखरेलले एमाले विभाजन तथा एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा गरेका काम जनताले राम्रोसँग देख्न पाएको भन्दै अहिले २०७४ सालको जस्तो अवस्था नरहने बताए ।

ओलीको वडामा एमालेले वडाध्यक्ष पदमा इन्द्रबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । राम्रै काम गरेका कारण एमालेले गुरुङलाई दोस्रो कार्यकालका लागि पनि उम्मेदवार बनाएको हुन सक्ने बाँस्तोलाको बुझाइ छ । तर पोखरेल र अधिकारी भने वडामा सडक र नालाको अवस्था हेरेर पनि मतदाताले मूल्यांकन गर्ने बताउँछन् ।

अधिकारीले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा गठबन्धन अलिक अगाडि देखिएको छ, वडाको हकमा । अब मेयर र उपमेयरको हकमा प्रतिस्पर्धा छ, अहिले सरसरर्ती हेर्दा एमाले भन्दा गठबन्धनभित्र घात प्रतिघात भएन भने एमालेलाई गाह्रै छ ।’

दमकमा राप्रपा संगठनात्मक रुपमा बलियो नभए पनि मेयरमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका राप्रपाकै राम थापाको व्यक्तित्वका कारण पनि मतदातामा धेरै प्रभाव पर्ने अधिकारीको भनाइ छ । बाँस्तोला पनि उनको तर्कमा सहमत भए ।

वडाका प्रतिस्पर्धीको आ–आफ्नै दाबी

यसअघि २०७४ सालमा पनि वडाअध्यक्षमा विजयी बनेका इन्द्रबहादुर गुरुङलाई नै एमालेले पुनः वडा नम्बर ५ को उम्मेद्वार बनाएको छ । ‘पहिले पनि सबैको मत जोड्दासमेत मैले भारी बहुमत ल्याएर जितेको हुँ । अहिले पनि फराकिलो मतले जित्छु,’ गुरुङ भन्छन्, ‘तर, जित्छु भनेर सुतेर बस्ने कुरा भएन, अभियानमा लागिरहेको छु ।’

पाँच दल एकातिर भएर आउँदा आफूलाई सहज भएको उनी ठान्छन् । ‘अहिले पाँच दल एकातिर भएका छन् । पहिले पाँचैतिर निशाना लगाउनु पर्थ्यो, अहिले एकै भएर आएका छन् र एउटै निशाना लगाउँदा भयो, मलाई झनै सजिलो भएको छ,’ उनको दाबी छ ।

यता, गठबन्धनबाट उम्मेद्वार बनेका काँग्रेसका धनबहादुर भट्टराईलाई पनि आफू चुनाव जित्छु भन्ने विश्वास छ । आफ्नो लोकप्रिय मत र गठबन्धनको मतले गुरुङलाई पराजित गर्दै ओलीको वडाबाटै एमाले पराजित गरेर इतिहास बनाउने उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप