आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिमा रेनु भर्सेस विजय, कसले मार्ला बाजी ?

यस्ता छन् दुवै उम्मेदवारका पृष्ठभूमि र विशेषता
सोमबार, १९ वैशाख २०७९, १५ : ४१
सोमबार, १९ वैशाख २०७९

 भरतपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरु प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा होमिएका छन् । भरतपुर महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी प्रतिस्पर्धामा छन् ।

रेनु दाहाल दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छिन् भने विजय सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखमा प्रतिस्पर्धाका लागि होमिएका हुन् । त्यसो त, महानगर प्रमुखमा काँग्रेसका जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यद्यपि पार्टीको साथ नरहेका कारण उनलाई चुनावी प्रतिस्पर्धामा जनमत तान्न त्यति सहज देखिँदैन । यद्यपि, दाहाल र सुवेदीबीचको प्रतिस्पर्धामा उनी जित–हारको ‘फ्याक्टर’ बन्न सक्ने आकलन गरिएको छ ।

रेनु दाहालसँग एक कार्यकाल नेतृत्वको अनुभव

२०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । यद्यपि, उनको आफ्नै पहिचान छ । इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको व्यक्तिको रुपमा चिनिन्छिन् रेनु ।

माओवादी आन्दोलन सुरु भएदेखि नै उनी कम्युनिस्ट राजनीतिमा लागिन् । थोरबहुत राजनीति बुझ्ने भएदेखि नै उनको राजनीतिक जीवन सुरु भएको थियो । १० वर्षे माओवादी जनयुद्धमा पनि उनको प्रत्यक्ष र सक्रिय उपस्थिति थियो ।

माओवादी जनयुद्धको प्रमुख कमाण्डर बाबु प्रचण्डको प्रेरणाबाटै उनी राजनीतिमा होमिन पुगेकी हुन् । उनले माओवादी आन्दोलनको क्रममा भूमिगत जीवन बिताइन् । उनी अन्य सहकर्मीसँग रहेर पार्टीले दिएको जिम्मेवारी निर्वाहमा सक्रिय रहिन् ।

उनले पार्टी संगठनमा विभिन्न जिम्मेवारी निर्वाह गरेकी छन् । जनयुद्धकालमा उनले देशको विकट ग्रामिण क्षेत्रमा रहेर काम गरिन् भने प्रवास विभाग अन्तर्गतको संगठनमा पनि काम गरिन् । उनले हरेक संगठनमा नेतृत्वदायी भूमिका खेलेको देखिन्छ ।

उनले माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को महासचिव हुँदै अध्यक्षको जिम्मेवारीमा रहेरसमेत काम गरेकी छन् । उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य पनि भइन् ।

जनयुद्धकालमा माओवादी आधार इलाका रोल्पामा जिल्ला सह–इन्चार्जको जिम्मेवारी लिएर काम गरेकी उनले काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको भूमिका समेत निर्वाह गरिन् । त्यतिमात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा पनि काम गरिसकेकी छन् । 

प्रवेशिकासम्म अध्ययन गरेकी उनी समानुपातिकतर्फबाट संविधान सभासदस्यसमेत भएकी थिइन् । उनी पहिलो संविधानसभा अन्तर्गत २०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म संविधानसभा सदस्यको भूमिकामा थिइन् ।

दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौंबाट प्रत्यक्षतर्फबाट निर्वाचन लडेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भइन् ।

पार्टी संगठनमा रहेर काम गर्दा आइपर्ने समस्याहरुको सहज र सरल रुपमा समाधान गर्नेसक्ने क्षमता राख्ने उनी कार्यकर्तामाझ लोकप्रिय छिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित उनले ५ वर्षे कार्यकाल पूरा गरिसकेकी छन् । उनले २०७४ सालको निर्वाचनमा नेकपा एमालेका देवी ज्ञवालीलाई महानगर प्रमुखमा हराएकी थिइन् । रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

भरतपुर महानगर प्रमुखका रुपमा रेनुको पहिलो कार्यकालमा सडक पूर्वाधारलाई विकास एवं समृद्धिको मूल आधार मानेर ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबैभन्दा लामो ८८.६ किलोमिटर महानगरीय रिङ्गरोड ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । यसका लागि सघन शहरी विकासबाट १० किलोमिटर, प्रदेश सरकारबाट ८.५५ किलोमिटर, सडक विभागबाट १२ किलोमिटर र महानगरबाट १० किलोमिटर गरी जम्मा ४०.५५ किलोमिटर रिङ्गरोड निर्माणाधीन अवस्थामा छ ।

यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणका लागि १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ । यसैगरी हुलाकी सडकको १९ किलोमिटर विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ । 

विजय सुवेदी : प्रदेशसभा सदस्य छाडेर महानगर प्रमुखमा उम्मेदवारी

भरतपुर महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका विजय सुवेदीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहको राजनीतिमा आएका हुन् । २०२० चैत ५ गते स्याङ्जा जिल्लाको साविक क्याक्मी गाविस वडा नम्वर–४ चाङसिङ्गमा बुबा नवनिधि सुवेदी र आमा देवका सुवेदीको कोखबाट जन्मिएका विजय सुवेदीको परिवार पेशा, व्यवसायको सिलसिलामा स्याङ्जाबाट २०३७ सालमा चितवन बसाइ सरेर आएको हो ।

स्याङ्जाबाट चितवन झरे लगत्तै सुरुमा भरतपुर महानगरपालिका वडा नम्वर–१९, गुञ्जनगरमा बसाइसरेका उनको परिवार पछि भरतपुर–१२ मिलन चोकमा सरेको हो ।

२०४८ मा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट स्नातक तह र २०७६ मा लुम्बिनी विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले पञ्चायतकालदेखि नै राजनीतिक जीवन थालेका थिए । उनी पञ्चायत कालमा पटकपटक गिरफ्तार भएका थिए भने भूमिगत राजनीतिक जीवनसमेत बिताए ।  

२०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको प्रचारप्रसार समितिको संयोजक भएर काम गरेका उनी २०५६ सालमा चितवन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।

२०६४ सालमा उनी चितवन क्षेत्र नम्वर ५ प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए भने २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

२०७८ भदौ २३ गतेदेखि कार्तिक १० गतेसम्म उनी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री भए ।

२०७७ मा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि आवश्यक रकम जुटाउन गरिएको धनधाञ्याञ्चल महायज्ञको संयोजक रहेका उनी भरतपुर–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउने परिकल्पनाकार तथा गणेशधाम संरक्षण सम्वर्द्धन समितिको संरक्षक पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप