आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड भरतपुर : गठबन्धनका बागी उम्मेदवारबाट एमालेलाई आश

आइतबार, १८ वैशाख २०७९, १५ : ३१
आइतबार, १८ वैशाख २०७९

चितवन । स्थानीय तहको निर्वाचन नजिकिएसँगै यति बेला राष्ट्रको सम्पूर्ण ध्यान भरतपुर महानगरपालिकामा केन्द्रित भएको छ । सत्तारुढ गठबन्धनका लागि भरतपुर महानगरपालिका रणनीतिक महत्त्वको पालिका हो । अझ नेकपा माओवादी केन्द्रका लागि यो महानगर प्रतिष्ठाकै विषय बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष सम्बन्ध जोडिएको छ भरतपुर महानगरपालिका । भरतपुर प्रचण्डको गृहनगर र निर्वाचन क्षेत्र पनि हो । यस कारण पनि उनी भरतपुरमा आफ्नो प्रभाव कायम राख्न प्रयासरत छन् ।

गठबन्धनका तर्फबाट महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रले रेनु दाहाललाई उम्मेदवार बनाएको छ, जो प्रचण्डकी छोरीसमेत हुन् । रेनु दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी हुन् । उनलाई नेकपा एमालेका विजय सुवेदीले महानगर प्रमुखमा चुनौती दिएका छन् ।

रेनु दाहाललाई सत्तारुढ गठबन्धनले साथ दिए पनि गठबन्धनको निर्णयविरुद्ध काँग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले पौडेललाई फकाउने प्रयास गरे पनि अन्ततः उनले उम्मेदवारी फिर्ता लिएनन् ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले उनलाई ‘भूइँकटहर’ चुनाव चिह्न प्रदान गरेको छ । उनी आफ्नो चुनाव चिह्नसहित प्रचार प्रसारमा केन्द्रित भइसकेका छन् भने काँग्रेसले उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

यता राप्रपासँगको तालमेलबाट निर्वाचनमा होमिएको एमालेले पनि प्रदेशसभा सदस्य निर्वाचित भइसकेका विजय सुवेदीलाई महानगर प्रमुखमा उम्मेदवार बनाएको छ । भरतपुरको उपमेयरसहित केही वडा राप्रपालाई दिएर एमालेले चुनावी तालमेल गरेको हो ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी लगायतका केन्द्रीय नेताको प्रत्यक्ष प्रभाव रहेको यो महानगरमा एमालेले गठबन्धनलाई कडा चुनौती दिएको छ । अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र देवीप्रसाद ज्ञवालीको पराजयका कारण पनि यस पटक एमालेले यो महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ ।

पौडेलको बागी उम्मेदवारीमा एमालेको खुसी

नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले सत्तारुढ गठबन्धनको विरुद्धमा गएर बागी उम्मेदवारी दिएपछि एमाले उत्साहित बनेको छ । एमाले उत्साहित बन्नु स्वाभाविक पनि हो । काँग्रेसभित्रको विवाद र पौडेलको त्यो विद्रोहका कारण भरतपुरमा आफू बलियो हुने एमालेको आकलन छ ।

काँग्रेस नेता पौडेलको उम्मेदवारीले भरतपुरको गठबन्धनको उम्मेदवार रेनु दाहाललाई चुनौती बढाएको छ । माओवादी केन्द्र र काँग्रेसबीच दरार पैदा गर्न एमाले कार्यकर्ताहरू गठबन्धनका बागी उम्मेदवार पौडेललाई आफ्नो उम्मेदवारकै सरह मानेर प्रचारप्रसारमा अदृश्य रूपमा लागेको गठबन्धन पक्षका कार्यकर्ताहरू बताउँछन् ।

नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरमा गठबन्धनलाई कमजोर पार्न र काँग्रेससँगको सम्बन्ध बिगार्न एमालेले सक्रिय भूमिका खेलेको छ । एमालेले चुनावी स्टण्टका रूपमा स्वतन्त्र उम्मेदवार पौडेलको प्रचार प्रसारमा लागेको उनले बताए ।

‘मतदाताको मनोविज्ञान, ५ दलीय गठबन्धनको संरचना अनुसार र ५ वर्षको विगतको कार्यकालको मूल्याङ्कन गर्दा पौडेलको उम्मेदवारीले ठुलो आकार लिन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवार पौडेल काँग्रेसभित्रको आन्तरिक निर्वाचनमा पनि पराजित भएको मान्छे हो । उहाँको लोकप्रियता छैन । उहाँ पुरानो काँग्रेस हो तर प्रभाव जमाउन सक्नु भएको छैन ।’

बागी उम्मेदवार पौडेललाई काँग्रेसले कारबाही गरिसकेकाले उनले पार्टीको झण्डा, चुनाव चिह्न लगायतका वस्तु प्रयोग गर्न पाउने अवस्था नरहेको संयोजक अधिकारीले बताए । पौडेल विगतमा भरतपुरको उपमेयर भएर पनि खासै उपलब्धिमूलक काम गर्न नसकेका व्यक्तिको रूपमा रहेको उनले बताए ।

अधिकारीका अनुसार, गठबन्धनको विरोधमा आक्रोशको मत पौडेललाई जान सक्छ तर, त्यो मत निर्णायक होइन । पौडेलले गठबन्धनलाई समस्यामा पार्ने कोसिस गरे पनि त्यसले खासै असर नगरेको संयोजक अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप