बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘अब अन्तरघात हुँदैन, मोनोरेलको कुरा पनि गर्दिनँ’

आफू काँग्रेससँग गठबन्धन गर्छन् अनि बामएकता भन्छन् : हरिकृष्ण व्यञ्जनकार
शनिबार, १७ वैशाख २०७९, १५ : ३८
शनिबार, १७ वैशाख २०७९

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि चिरिबाबु महर्जन र हरिकृष्ण व्याञ्जनकारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । उनीहरुबीच उक्त पदमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा महर्जनसँग व्यञ्जनकार झिनो मतान्तरले पराजित भएका थिए । व्यञ्जनकारले आफूलाई त्यतिबेला जनताले जिताए पनि कर्मचारीले हराएको बताउँदै आएका छन् । उनले यसपटक आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्दै विगतमा आफ्नै पार्टीका अन्तरघातीका कारण पराजित भए पनि अब त्यस्ता अन्तरघाती नभएकाले कुनै समस्या नरहेको बताएका छन् ।

५ वर्षअघि ३२६ मतको झिनो अन्तरले पराजित भएका व्यञ्जनकार यसपटक त्यो अवस्था उल्टिने दाबी गर्छन् । तर विगतमा काँग्रेसका एकल उम्मेदवार बनेका महर्जन अहिले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेको अवस्थामा व्यञ्जनकारले भनेझैं उनको जित त्यति सहज होला र ? भन्ने प्रश्न पनि स्वाभाविक रुपमा उठेको छ । स्थानीय तहको आसन्न निर्वाचनमा केन्द्रित रहेर रातोपाटीले ललितपुर महानगर प्रमुख पदमा उम्मेदवारी दिएका व्यञ्जनकारसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

ललितपुर महानगरको मेयरका लागि अघिल्लो पटक झिनो मतान्तरले चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो । अहिले फेरि उहाँसँगै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?

अघिल्लो पटक जनताले हामीलाई दिएको मत सुरक्षित गर्न सकेका थिएनौ र, केही जनताले मलाई नचिनेर भोट नदिएको अवस्थालाई यसपटक हामी उल्ट्याउन चाहन्छौं । त्यो बेलामा ४३५ भोटले अघि रहे पनि प्राविधिक कमजोरीका कारण मलाई ३२६ मतले हराइएको थियो । त्यो काम त्यहाँका कर्मचारीहरुले गरेका थिए । त्यो अवस्थालाई हामी अहिले उल्ट्याउन चाहन्छौं ।

अर्को कुरा, यो ५ वर्षको अवधिमा जनताले पनि चिरिबाबु महर्जन भन्ने मान्छे कुरा गर्ने तर काम नगर्ने रहेछ भन्ने महसुस गरिसकेका छन् । यसले गर्दा २०७४ साल र अहिलेको अवस्था र धारणा के हो भन्ने कुरा उजागर गर्ने अवसरका रुपमा मैले यो निर्वाचनलाई लिएर जनतामाझ जाने मौका पाएको छु ।

तपाईंमाथि २०७४ को जस्तै षड्यन्त्र यो पटक पनि नहोला भन्ने के ग्यारेन्टी छ ? अनि तपाईंले त्यस्तो घटना दोहोरिन नदिन कस्तो रणनीति वा सतर्कता अपनाउनुभएको छ ?

मभन्दा पनि ललितपुर महानगरका मतदाता धेरै सचेत भइसकेका छन् । त्यस्तो षड्यन्त्र हुन नदिन मतदाताले निगरानी गर्छन् ।

निर्वाचन जित्न मतदाताको मन जित्न अनिवार्य हुन्छ । बितेको ५ बर्षमा यो महानगरका कति मतदाताको मन जित्नुभएको छ ? अनि ललितपुरवासीका कस्ता कस्ता समस्या पहिचान गर्नुभएको छ ?

२०४९ सालदेखि ललितपुर एमालेको नगर कमिटी सचिव र २०६६ देखि जिल्ला कमिटी उपाध्यक्ष भएर काम गरेँ । त्यसपछि जिल्ला अध्यक्ष र हाल एमाले केन्द्रीय सदस्य छु । यति लामो राजनीतिक जीवनमा म सधैँ ललितपुरवासीको काममा केन्द्रित छु । त्यसक्रममा जनताका केही समस्याहरु समाधान पनि गरेको छु । जनताको समस्या देख्नुका साथै उनीहरुको भावना र चाहाना के छ भन्ने पनि बुझेको छु । जनाताको समस्या बुझेकाले र उनीहरुको आकांक्षा अनुसार काम गर्न सकिन्छ भनेरै मैले महानगरको मेयरमा पुनः उम्मेदवारी दिएको हो ।

ललितपुर महानगर र महानगरवासीका मुख्य तीन समस्या भन्नुपर्दा के के रहेछन् त ?

सबैभन्दा पहिलो समस्या भनेको खानेपानीको समस्या हो । दोस्रो, पूर्वाधार र तेस्रो फोहोर मैलाको समस्या हो ।

यी समस्या समाधान गर्ने सन्दर्भमा तपाईंसँग कस्ता योजना छन् त ?

यी समस्या समाधान गर्न सक्छौं, त्यो पनि छिट्टै । त्यसका लागि हामीसँग व्यवस्थित योजना छन् । पहिलो कुरा, इच्छाशक्ति हुनुपर्छ । खानेपानीको सवालमा ललितपुरका लागि खानेपानीको स्रोत र बजेट दुवै छ । स्रोत र बजेटलाई योजनामा ढालेमा समस्या समाधान नहुने कुरै भएन ।

पूर्वाधारतर्फ पनि बजेट, जनताको सहयोग र स्रोतको हिसावले ५ वर्षमा अहिले भएका सबै बाटो पक्की गर्न सकिन्छ, त्यो योजना हामीसँग छ । ईटा र ढुंगा छाप्नुपर्ने ठाउँमा ईटाढुंगा छाप्ने र बाँकीमा पिच वा ढलान गर्न सकिन्छ ।

तेस्रो कुरा, ललितपुरमा पटकपटक फोहोरमैला व्यवस्थापनको समस्या हुनेगर्छ । यो फोहोरलाई मोहोर बनाउने योजना पनि मसँग छ । जनतालाई हामीले घोषणापत्रमार्फत आह्वान नै गरेका छौं– फोहोर ल्याउ, मल लैजाउ भनेर । यसका लागि हामीसँग प्रविधिहरु छन् । फोहोरबाट मल बनाउने एउटा मेसिनको चार करोड पर्छ । जबकि यहाँबाट ओखरपौवा फोहोर लैजान वर्षको १५ देखि २० करोड रुपैयाँ खर्च हुन्छ । तर चार करोड रकम लगानी ग¥यो भने त्यहाँबाट ग्याँस पनि उत्पादन हुन्छ र फोहोरको पनि व्यवस्थापन हुन्छ । यी लगायत धेरै योजना हामीसँग छन् ।

पूर्ववर्ती मेयरसँग योजना नै नभएर काम नभएको हो त ?

योजना भएको भए काम देखिन्थ्यो होला नि ! काम त केही छैन । 

तपाईंले फोहोर, खानेपानी र सडकलगायतका जति पनि योजना सार्वजनिक गर्दै हुनुहुन्छ, यी काम गर्न ललितपुर महानगरपालिका र मेयर एक्लैले गर्न सम्भव छ र ? कि प्रचारका लागिमात्रै चुनावमा यस्ता कुरा अघि सार्नुभएको हो ?

मान्छेको विगतले आगमनलाई संकेत गर्छ । मैले विगतमा के गरेँ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ । मैले विद्यालय, क्याम्पस, पुल निर्माण वा बाटाघाटोमा धेरै काम गरेको छु । यो बाहेक जनताको दैनिक जीवनमा आउने समस्या समाधान गरेको मेरो विगतले बताउँछ । त्यही विगतले आगत कस्तो हुन्छ भनेर देखाउँछ । विगत थाहा नभएको भए मलाई जनताले लखेट्थे । किन त्यत्रो भोट दिए ? अनि नेकपा एमाले महानगर कमिटीले सर्वसम्मत मेयरको उम्मेदवारमा सिफारिस किन ग¥यो ? अनि जिल्ला हुँदै केन्द्रले सर्वसम्मत टिकट दियो, यो त देखिएकै छ नि ! त्यो निर्णय मेरो विगत हेरेर नै भएको हो ।

तर बोल्ने एउटा, गर्ने अर्को । यो समस्या त देशभरकै जनप्रतिनिधिमा देखिएको हो नि ?

मेरो त्यस्तो हुँदैन । अब आउने दिनहरुमा मैले बोलेका र प्रतिवद्धता जनाएका कुराहरु पूरा गर्न लाग्छु । म नसक्ने कुरा गर्दा पनि गर्दिनँ । म फ्लाइओभरको कुरा गर्दिनँ । म मोनोरेलको कुरा गर्दै गर्दिनँ । सक्ने कुरामात्रै गर्छु । मेलम्चीको सवालमा २६ वर्षसम्म हुन नसकेको काम केपी शर्मा ओलीको सरकार बनेपछि आएको सबैले देखेकै छन् । लोडसेडिङकै कुरा गरौं न ! लोडसेडिङ १० वर्ष हट्दैन भनेर कुलमानले नै भनेको होइन ? केपी ओलीको दिमागले लोडसेडिङ हटेको होइन ? भनेपछि काम गर्ने इच्छाशक्ति भएपछि नसक्ने कुरा केही छैन ।

तपाईंले केपी ओलीको प्रसङ्ग निकाल्नुभयो, तपाईं पनि ओलीकै निकट भएकाले दोहोरिएर मेयरको टिकट पाउनुभयो भन्ने छ नि ?

म पार्टीको कार्यकर्ता, उहाँ नेता । नजिक टाढा त भइरहन्छ । अर्को कुरा, मेरो कामप्रतिको इमानदारिता मुख्य कुरा हो । कतिपयले नजिक भएको भनेर आरोप लगाउँछन् भने भन्नु केही छैन ।

भनेपछि केपी ओली नेतृत्वको सरकारले गरेका काम बोकेर मत माग्न जाँदै हुनुहुन्छ । तर कतिपयले ओलीलाई हावादारी र उडन्ते गफ गर्ने, संविधानविपरीत संसद विघटन गर्ने भनेर आरोप लगाइरहेका बेला फेरि उनै ओलीलाई अघि सार्दा तपाईंको मत घट्दैन ?

केपी ओलीले भनेको पानी जहाज के हुन नसक्ने कुरा हो र ? पाइप लाइनबाट ग्याँस ल्याउने कुरा असम्भव हो र ?

तर ती योजना पूरा भएनन् । घाँटी हेरेर हाड निल्नुपर्ने होइन ? पूरा नहुने कुरा गफ दिएरमात्र हुन्छ र ?

घाँटी के हेर्ने ? के ती काम आज तुरुन्तै गर्छु भन्या हो र ? होइन नि ! जहाँसम्म दुईदुई पटक संसद विघटनको कुरा हो, अहिले देख्नुभएको छ त कस्तो सरकार आएको छ ? यस्तै सरकार आउला भनेर नै उहाँले जनताको बीचमा जाउँ भन्न खोजेको हो । यो सरकार आएपछि देख्नु भएकै छ नि, पेट्रोलियम पदार्थको भाउ कति बढ्यो, खाद्यान्नको मूल्यवृद्धि कति भयो, समग्र अर्थतन्त्र कस्तो अवस्थामा छ ? भारतीय पक्षले नेपाली नागरिक मार्दा सरकार चुप लागेर बस्छ । देश दुर्घटनामा फसिरहेको छ । देश यस्तै हरिबिजोगमा पर्ला भनेर संसद विघटन गरेको हो । यसमा कसैले आग्रह पूर्वाग्रह राख्नु फरक कुरा हो ।

पाँच दलीय गठबन्धनका उम्मेदवार, त्यो पनि पहिले नै जितेका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा तपाईंसँग प्रतिस्पर्धीलाई रोक्नसक्ने आधार के के छन् ?

सबैभन्दा पहिलो आधार भनेको मतदाता नै हुन् । विगतको मेरो काम हेरेर मतदाताले पनि २०७४ सालमा मलाई जिताएकै हुन्, हामीले त्यो मतको संरक्षण गर्नमात्रै नसकेकको हो । दोस्रो आधार भनेको अहिले जितेको मान्छे बेठिक रहेछ, एमालेको हरिकृष्णलाई जिताउनुपर्ने रहेछ भन्ने चिरिबाबुलाई भोट दिनेले नै भन्न थालिसके । काँग्रेस कार्यकर्ता र व्यापारीहरु नै त्यो भन्न थालिसके । तेस्रो आधार भनेको हाम्रो पार्टी पालिका, जिल्ला र राष्ट्रिय अधिवेशन सकिएपछि अझ मजबुत भएको छ । ७४ सालमा भन्दा ६ हजार बढी सक्रिय कार्यकर्ता ललितपुर महानगरमा मात्रै छन् । माओवादी, काँग्रेस लगायतका पार्टीबाट दशौं हजार हाम्रो पार्टीमा मतदाता प्रवेश गरेका छन् । अहिले पनि एमालेप्रति आकर्षण बढिरहेको छ ।

एमाले विभाजनको असर ललितपुरमा छैन ?

अहिले उतातिर (नेकपा एकीकृत समाजवादीमा) गएकामध्ये ८० प्रतिशतले मेरोविरुद्ध अन्तरघात गरेका थिए । अहिले त उनीहरु बाहिर गए । अब मलाई अन्तरघात हुँदैन । ७४ वटा वडाअध्यक्षमा तीन जना उता गएका छन् । माथि केन्द्रमा २० प्रतिशत, प्रदेशमा १० र स्थानीय तहमा ३ प्रतिशत नेता कार्यकर्ता समाजवादीमा गएका छन् ।

त्यसो भए गठबन्धनका साझा उम्मेदवारलाई चुनौतीका रुपमा लिनुभएको छैन ?

चुनौती नै नभएको त होइन । तर सानोतिनो चुनौतीमात्रै ठान्छौं र सजिलै सामना गर्नसक्छौं । हामी जनताको बीचमा लोकप्रिय छौं । त्यो हिसावमा हामी जित्छौं, जनताले नै जिताउँछन् ।

ललितपुर महानगरको ‘रुपान्तरण र समृद्धि’ भन्ने तपाईंको नारा रहेछ, यो पनि समाजवादसँगै जोडिएको होला । त्यसको आधार तयार गर्न के सोच्दै हुनुहुन्छ ?

हामी समाजवादमा जाँदैछौं । त्यसका लागि अहिले आधार तयार गर्ने हाम्रो प्रयास भइरहेको छ । त्यस्तो आधार तयार गर्दा विकास निर्माणका कामलाई तीव्रता दिँदै जनताको आर्थिकस्तर उठाउने हरेक कुरामा ध्यान दिनुपर्छ भनेर हाम्रो पार्टीले नै निर्णय गरिसकेको छ । पार्टीको सोही गाइडलाइनअनुसार हामी हाम्रो तहबाट काम गरिरहेका छौं । जनतालाई सुलभ, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी दिने र पूर्वाधार विकासले समाजवादका आधार तयार हुनसक्छन् । यसले राष्ट्रिय पुँजीको निर्माणमा सहयोग पुग्छ । हाम्रो पार्टीको नेतृत्वमा अबको १० वर्ष सरकार चलायो भने नेपाल विकसित देशमा पुग्छ ।

एमालेले भन्नलाई समाजवाद भन्ने तर यात्रा प्रतिगमनको लियो भन्नेहरु गलत नै हुन् ?

आफू काँग्रेससँग गठबन्धन गर्छन् अनि बामएकता भन्छन् । यो त तथ्य नै हो नि । यसो गर्नेहरुको बोली र व्यवहारमा एकरुपता देखिन्छ ? प्रतिगमनको यात्रामा त उनीहरु छन् । प्रतिगामीसँग मिलेर कम्युनिस्ट सरकार ढाल्ने र सबै कुरा बिगार्ने काम आफूलाई कम्युनिस्ट भन्नेहरुले गरेका छन् । त्यसकारण हामी समाजवाद भन्नेमात्र होइन, काम पनि समाजवादको पक्षमा छौं भन्ने कुरा हाम्रा विगतका बजेट, कार्यक्रमले नै पुष्टि गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप