शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिरिबाबुको दोस्रो इनिङ्गस् कति सहज ?

‘पाँच वर्षमा ‘पीआर’ र प्रतिष्ठा बढाएको छु, ब्यञ्जनकारलाई सहजै हराउँछु’
बिहीबार, १५ वैशाख २०७९, ०९ : ४३
बिहीबार, १५ वैशाख २०७९

ललितपुर महानगरपालिको मेयरमा नेपाली काँग्रेसले चिरिबाबु महर्जनलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएर दोस्रो कार्यकालका लागि मैदानमा उतारेको छ । दोस्रो इनिङ्गस्का लागि महर्जनले एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई मुख्य प्रतिस्पर्धीका रुपमा पाएका छन्, जो अघिल्लो पटक पनि प्रतिस्पर्धी थिए ।

०७४ को चुनावमा झिनो मतानन्तरले ब्यञ्जनकारलाई हराएका महर्जन यस पटक भने सहजै चुनाव जित्नेमा ढुक्क छन् । मेयर भएर पाँच वर्ष गरेको काम र बढेको जनसम्पर्कलाई उनले आफ्नो जितको आधार ठानेका छन् । यस पटक ठूलो मतान्तरले बाजी मार्ने उनको दाबी छ ।

२०१४ मंसिर १६ गते जन्मिएका चिरिबाबु आफ्नै बलबुतामा राजनीतिमा स्थापित भएका हुन् । उनको बाल्यकाल पनि सहज बितेन । उनी चार वर्षकै हुँदा उनका बाबु न्हुच्छेलाल महर्जन बिते । उनलाई आमा हरिमायाले हुर्काइन् । २०३१ सालमा एसएलसीपछि पब्लिक युथ क्याम्पसमा आइकम, पाटन क्याम्पसबाट बिकम र २०४२ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमकम पास गरेका उनले ०३८ सालदेखि नै राजनीतिक यात्रा थालिसकेका थिए ।

जनमत संग्रहपछि सुधारिएको पञ्चायत आएपछि राजनीतिमा लागेका उनी २०३८ मा वडाअध्यक्ष बने । २०४३ मा नगर पञ्चायत चुनावमा उनले फेरि वडा अध्यक्षमा जिते । तर उनले २०४६ सालमा वडाध्यक्षबाट राजीनामा दिएर उनी जनआन्दोलन होमिए । त्यही क्रममा उनलाई नर्सिङ ब्यञ्जनकारले काँग्रेस राजनीतिमा घुसाइदिए । २०४७ सालमा ओमकार श्रेष्ठबाट काँग्रेसको सदस्यता लिएपछि चिरिबाबु विधिवत रुपमा काँग्रेस बनेका थिए । त्यसपछि काँग्रेसले पनि ०४९ मा ललितपुर–२ को वडाध्यक्षमा चिरीबाबुलाई उठायो । उनी वडाध्यक्षमा निर्वाचित भए ।

चिरिबाबुले २०५९ सालमा ज्यापू समाज स्थापना गरे । २०५९ देखि ६२ सम्म उनी ज्यापू समाजका अध्यक्ष थिए । ‘लो प्रोफाइल’मा काँग्रेससँग यात्रा जारी राखेका उनले ललितपुर काँग्रेसका तत्कालीन जिल्ला सभापति मदन अमात्यको आर्शिवाद पाएर ०७४ मा ललितपुरको मेयरमा उम्मेदवार बने ।

सो निर्वाचनमा महर्जनले २४ हजार ६४२ मत ल्याएर जित्दा एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । त्यतिबेला विवेकशील साझाका रमेश महर्जनले १३ हजार ४५८ भोट ल्याएका थिए भने माओवादीले १० हजार भोट पाएको थियो ।

ललितपुर महानगरमा पछिल्लो पाँच वर्षमा करिब १० हजार मतदाता थपिएका छन् । ०७४ को स्थानीय चुनावमा ललितपुर महानगरमा  एक लाख १२ हजार ९२२ मतदाता थिए भने अहिले बढेर १ लाख २२ हजार ८९० पुगेको अवस्था छ ।

​जित–हारमा यही मत निर्णायक हुने देखिएको छ । यसमा विवेकशील साझा र राप्रपाका उम्मेदवारको उपस्थितिले पनि प्रतिस्पर्धालाई थप रोचक बनाउने छ । यद्यपि अघिल्लो निर्वाचनको तुलनामा यस पटक त चुनावी परिदृश्य केही बदलिएको छ । एमाले विभाजित भएको छ भने चिरिबाबुलाई माओवादी, एकीकृत समाजवादीको बलियो साथ छ ।

अर्कोतिर महर्जनका लागि पार्टीबाट अन्तरघातको खतरा बढी छ । ललितपुरबाट केन्द्रमा प्रतिनिधित्व गर्ने युवा नेताहरु उदय शम्शेर राणा र जितजङ्ग बस्नेतसँग महर्जनको टसल छ । केन्द्रीय सदस्य मदन अमात्य निकट महर्जनको पक्षमा जिल्ला सभापति जितेन्द्र श्रेष्ठ नउभिने खतरा छ । मेयर भएपछि पार्टी संगठनसँग समन्वय नगरी महर्जनले मनलाग्दी ढङ्गले काम गरेको काँग्रेस कार्यकर्ताको गुनासो छ ।

दोस्रो इनिङ्गस्को सेरोफेरोमा रहेर रातोपाटीले चिरिबाबु महर्जनसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँगको चुनावी संवादको सम्पादित अंश –

सभापति शेरबहादुर देउवासँग चुनाव जित्ने बाजी राखेर तपाईंले २०७४ सालमा ललितपुरको मेयरमा टिकट लिनुभएको थियो । अहिले टिकट पाउनचाहिँ कति सकस भयो ?

यस पटक मलाई टिकटका लागि धेरै सकस भयो । मैले राम्रो काम गरे पनि पार्टीको आन्तरिक व्यवहारका कुरा मिलाउन नसकेको आरोप लाग्यो । अन्ततः त्यो आरोप असत्य हो भन्ने निष्कर्षमा नेताहरु पुगेपछि मैले टिकट पाएँ । तर त्यो आरोपलाई सुझावका रुपमा लिएको छु । त्यसलाई सुधार गर्नुपर्छ भन्ने मेरो मान्यता रह्यो । मे त्यो सुधार गर्दै पनि जान्छु ।

यो पटक सभापतिले तपाईंलाई चुनाव जित्नु हुन्छ कि हुँदैन भनेर सोध्नु भएन ?

टिकटका लागि रस्साकस्सी चलेपछि मैले सम्माननीय प्रधानमन्त्री तथा हाम्रो पार्टीका सभापतिज्यूलाई भेटेको थिएँ । पार्टीको स्थानीय नेतृत्वले ममाथि लगाएको आरोपबारे उहाँले मलाई सोध्नुभयो । मैले ममाथि लगाइएको आरोप आरोपका निम्तिमात्रै हो भनेर दलिल पेस गरेँ । सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पार्टीको आन्तरिक गुनासो सम्बोधन गर्नु भन्नुभयो ।  मैले पनि उहाँको सुझावलाई अक्षरशः पालना गर्छु भनेँ । उहाँलाई अब आरोप नलाग्ने गरी काम गर्ने छु भनेर चित्त बुझ्ने गरी जवाफ दिएको थिएँ । त्यही कारण मैले टिकट पाएँजस्तो लाग्छ ।

पाँच वर्ष ललितपुर महानगर प्रमुख भएर काम गर्ने अवसर पाइसक्नु भएको थियो । दोस्रो पटक मेयरको उम्मेदवारीका लागि मरिहत्ते नगरी अन्यलाई छोडिदिँदा के बिग्रिन्थ्यो ? मेयरमा किन दोहोरिन चाहनु भयो ?

महानगरको मेयर पदमा बसेर काम गर्दा पाँच वर्ष एकैछिनमा जाँदो रहेछ । महानगरमा गर्नुपर्ने योजनाहरुको तर्जुमादेखि कार्यसम्पादनसम्मको प्रक्रिया पार गर्न लामो समय लाग्दोरहेछ । मैले जुनजुन योजना गर्छु भनेर प्रक्षेपण गरेको थिएँ, ती योजना सम्पन्न गर्नका लागि डीपीआर, बजेट सबैको व्यवस्थापन गर्नुपर्ने हुन्छ । बजेटको व्यवस्थापन गरिसकेपछि सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ मा बसेर खरिद प्रक्रिया टुङ्ग्याउनुपर्छ । त्यो पनि निकै समय लाग्ने रैछ । मैले सोचे बमोजिमको समयभित्र योजनाहरु सम्पादन हुन गाह्रो हुने अवस्था बन्यो । मैले यो–यो काम गर्नुभन्दा पनि समयको पाबन्दी र प्राविधिक समस्या आइलाग्छ । साथै विभिन्न विषयमा मुद्दा मामिला पर्दा योजनाहरु समयमै सम्पन्न गर्न नसक्ने अवस्था हुँदो रहेछ ।

मैले सुरु गरेका धेरै योजना बहुवर्षीय योजनामा परेका छन् । ती योजना सम्पादन गर्न मेरो निरन्तरता हुनुपर्छ भन्ने मेरो मान्यता रह्यो । यस्तै हाम्रो महानगरमा भविष्यमा गरिने योजना पाइप लाइनमा थुप्रै छन् । त्यसलाई पनि कार्यान्वयन गर्न मलाई दोस्रो कार्यकाल आवश्यक पर्‍यो । यस्तै मैले एक पटकमात्र महानगरको मेयर हुन्छु भनेको पनि थिइनँ । हाम्रो संविधानले पनि दुई कार्यकालसम्म मेयरमा बस्न सकिने प्रावधान छ । त्यो राख्नुको कारण नै योजना तर्जुमा र कार्यान्वयनसम्म पाँच वर्ष समय अपुग हुन्छ भन्ने ठहर होला । त्यसैले संविधानमा एउटा व्यक्ति दुई कार्यकाल मेयर भएर १० वर्षसम्म काम गर्न सक्ने व्यवस्था छ ।

पार्टीले अन्य व्यक्तिलाई उम्मेदवार बनाउँदा अवसरको न्यायोचित वितरण हुन्थ्यो नि ? पार्टीले दोस्रो पटक पनि तपाईंलाई टिकट दिनुपर्ने कारण के थियो ?

काँग्रेसकै अर्को व्यक्ति मेयर भए पनि सबैको सोच, विचार एउटै हुन्छ भन्ने छैन । मैले अगाडि सारेका विषय अरुलाई मन नपर्न पनि सक्छ । मन परिहाले पनि बझ्नै लामो समय लाग्छ । पार्टीले दोस्रो पटक पनि टिकट दिनुको कारण भने मैले राम्रो काम गर्छु भनेर नै होला । मेरो कामप्रति जिल्ला र केन्द्रको नेतृत्व खुसी भएरै मैले टिकट पाएको हुँ जस्तो लाग्छ ।

चिरिबाबु बोलेपछि गर्छ भन्ने विश्वास दिलाउन म सफल भएँ ।  मैले कतिपय आयोजना सम्पन्न गरेर सम्माननीय प्रधानमन्त्रीज्यूलाई उद्घाटन गराएँ ।

धेरै आयोजना पूरा गरेँ भन्नुभयो । फ्लाइओभर बनाउने घोषणा त घोषणामै सीमित भयो नि ?

०७४ को चुनावमा हामीले घोषणापत्र जारी गरेका थियौं । त्यो घोषणापत्रका धेरै योजनामध्ये मुख्य प्रोजेक्ट भनेको फ्लाइओभर हो । यसको हामीले अध्ययन गर्‍यौं । त्यसको सकारात्मक नजिजा निस्कियो । तर हाम्रो फ्लाइओभर गएर बागमती पुल नाघिसकेपछि कहाँ ल्यान्डिङ गराउने भन्ने समस्या भयो । नेपाल सरकारले जापान सरकारको सहयोगमा त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर निर्माणको कुरा थियो । पाटनबाट जाने फ्लाइओभर त्यसमा जोड्नुपर्ने हुन्छ । तर त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर बन्ने वा नबन्ने कुनै टुंगो छैन । उताको टुंगो नभई यतामात्र हामीले बनाएर हुने भएन ।

हाम्रो क्षमताभित्र परेका काम हामीले गरिसक्यौं । यसबाट हामीलाई राम्रो फाइदा भएको छ । चक्रपथको ७ दशमलव ९ प्रतिशत ललितपुरमा पर्छ । त्यसमा ग्वार्खो , सातदोबाटो, चापागाउँ जानेबाटो र एकान्तकुनामा ट्राफिक जामको समस्या छ । यी ठाउँमा पनि इन्टरसेक्सन फलाइओभर राख्नका लागि अध्ययन गर्‍यौंं । ती चार वटा फ्लाइओभर बनाउन डीपीआर तयार भएपछि हामीले सरकारलाई रिपोर्ट पेस गर्‍यौं । सरकारको तर्फबाट ग्वार्खुमा फ्लाइओभर राख्न कन्ट्रयाक्ट साइन भइसकेको छ । अब निकट भविष्यमै त्यहाँ काम सुरु हुन्छ । बाँकी तीन वटा ठाउँमा पनि फ्लाइओभर बनाउने प्रक्रिया अगाडि बढेको छ ।

हामीले फ्लाइओभरको अध्ययन गराएको कुरा खेर गएन भन्ने मेरो ठम्याइ हो । माइतीघर र त्रिपुरेश्वरको फ्लाइओभर बन्यो भने हामीले थाँती राखेको फ्लाइओभरको काम पनि अगाडि बढाउछौं ।

साइकल लेनको चर्चा कहाँ हरायो ?

हराएको छैन । हामीले साढे ३२ किलोमिटर साइकल लेन बनायौं । नयाँ काम गर्दा अलि साह्रो, गाह्रोमात्र परेको हो । साइकल लेन कानुन थिएन । हामीले त्यो कानुनको ड्राफ्ट तयार पारेका छौं । पास गर्न प्राविधिक कठिनाइ भयो । नेपालमा अहिलेसम्म साइकल लेन सम्बन्धी कानुन संघीय र प्रदेश सरकारमै छैन । केन्द्र र प्रदेश सरकारले नबनाएपछि अब हामीले कानुन बनाउँछौं ।

तपाईं विदेश यात्रातिर धेरै लोभिनुभयो भन्ने आरोप पनि छ नि ?

यो आरोपको पृष्ठभूमि हेर्नुपर्छ । मैले ७–८ वटा मुलुकको भ्रमण गरेँ । त्यो भ्रमणको उपलब्धि के त ? आरोप लगाउनेले त्यसमा हेरेकै छैनन् । त्यसको अपार उपलब्धि छ । सुशासन, आयोजनाको कार्यान्वयन धेरै कुराको हामीलाई फाइदा भएको छ ।

मैले यति भ्रमण गर्दा ललितपुर महानगरपालिकाले कति पैसा बेहोर्‍यो त ? गत नोभेम्बरमा फ्रान्सका मेयरका एशोसिएसनले मलाई निम्तो गरेको एउटा भ्रमणबाहेक ललितपुर महानगरपालिकाको केही पनि पैसा लागेन ।

मलाई बोलाउनेहरूले नै सबै व्यवस्था गर्नु भएको थियो । तर त्यहाँबाट सिकेको सबै कुरा हामीले यहाँ लागू गरिरहेका छौं । ललितपुरमा हरियाली प्रवर्द्धन, साइकल लेन, सेन्टिफिक क्लक नम्बर सबै कुरा बाहिरबाट सिक्यौं । त्यो महानरपालिकाको जिरो कस्टमा सिकेका कुरा हुन् । आलोचना गर्नेले यो पक्षलाई हेर्नुभएको छैन ।

अब प्रतिस्पर्धातिर जाऔँ । तपाईंले ०७४ कै मुख्य प्रतिस्पर्धीलाई  अहिलेको चुनावमा पनि प्रतिस्पर्धीका रुपमा पाउनुभयो । दोस्रो इनिङ्गस्को प्रतिस्पर्धालाई कसरी हेर्नु भएको छ ?

पहिलो इनिङ्गस्का लागि प्रतिस्पर्धा हुँदा ललितपुर उपमहानगरपालिका भर्खर महानगरपालिका अपग्रेड गरिएको थियो । हिजोका छिमेकी गाउँपालिका मर्ज गरेको अवस्था थियो । हिजोको गाउँपालिकामा मेरो त्यति राम्रो पब्लिक रिलेसन थिएन । खोकना, हरिसिद्धी, बुङमती, चापागाउँका क्षेत्रमा म परिचित थिइनँ । त्यहाँबाट सामान्य मत पनि पाइनँ ।

स्वर्गीय रमेश महर्जन विवेकशील साझाबाट हुनुहुन्थ्यो । उहाँ र मेरो भोट बैंक एउटै हो । मैले पाउने भोट उहाँले काट्नुभयो । नेपाली काँग्रेसमा आन्तरिक लोकतन्त्र बढी हुँदा मेरो मत कम आयो । तर पनि ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ भोटले हराएर म विजयी भएको थिएँ । अहिले यी सबै कुरामा सुधार भएको छ । अब उहाँलाई धेरै मतान्तरले हराउँछु ।

तपाईंं गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । पार्टीभित्रको अन्तरघात र अन्य पार्टीको मत जोड्ने कुरालाई कति चुनौती पूर्ण ठान्नुभएको छ ?

गठबन्धनका कारणले मेरो मत ह्वात्तै बढ्छ भन्ने मलाई लागेको छैन । तर अहिलेको मेरो पीआर असाध्य राम्रो भइसकेको छ । पाँच वर्षको दौरानमा पछि मर्ज भएका गाउँपालिका पनि राम्रो पीआर बनेको छ । हिजो उपमहानगरमा मेरो त्यसै राम्रो थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय पद र प्रतिष्ठा छ । त्यसले मलाई धेरै सहयोग गर्छ ।

ललितपुरमा गठबन्धनमा जोडिएका दलको अवस्था कमजोर भएर मत पाउँछु भन्ने तपाईंलाई विश्वास नभएको हो ?

विश्वास छैन भनेरभन्दा अलिकति अप्ठ्यारो लाग्ला । विश्वास भएकै कारण केन्द्रबाट चुनावी तालमेल भएको हुनुपर्छ । चुनावी तालमेलमा केही हदसम्म यसको वजन भए पनि धेरै छैन ।

यस पटक एमाले उम्मेदवारलाई चुनौतीका रुपमा लिनु भएको छैन ?

मेरो पाँच वर्षको काम र नगरबासीको माया हेर्दा हिजोको भन्दा धेरै राम्रो मत पाउँछु । हाम्रो पार्टी संगठन र कार्यकर्ताको मप्रति अपार माया र श्रद्धा छ । ममाथि अहिलेसम्म कुनै दाग लागेको छैन ।

तपाईं दोस्रो पटक मेयर बन्नुभयो भने नयाँ के के काम गर्नु हुन्छ ?

कुनै आपत आइलागेको अवस्थामा पनि हामी माहिर ढंगले काम गर्ने छौं । कामना छ त्यस्तो नहोस् । यस्तै वातावरण सुधार सम्बन्धी धेरै प्रोजेक्ट छन् । लगनखेलको अशोकस्तुपाको दक्षिण, पश्चिम र उत्तरमा सेनाबाट फिर्ता लिएका छौं । त्यहाँ ४५ रोपनीमा पोखरी बनाउछौं । त्यहाँ राजकुलो ल्याउँछु । पानी भर्छु र कमलको फुल फुलाउँछु । तीन वर्षभित्र यो काम सक्ने गरी अगाडि बढेको छ । यो महानगरपालिका स्मार्टसिटी बनाउने योजनामा छु । चारवटा बाटोमा स्मार्ट स्ट्रिटलाइट बाल्यौं । अब खोकना, बुङमती, हरिसिद्धी धापाखेलमा राखेर जाउलाखेल–लगनखेलसम्म राख्छौं ।

अनि ललितपुर क्षेत्रमा पर्ने चक्रपथमा पनि स्मार्ट स्ट्रिटलाइट राख्ने काम अगाडि बढिसकेको छ । पेट्रोलिम पदार्थबाट सञ्चालन हुने गाडी सन् २०४० मा बन्द गर्ने भनेको छ । त्यसको सुरुवात गरिसकेका छौं । इलेक्ट्रिक बस चलाउने तयारीमा छौं । बस आउनमात्र बाँकी छ ।

यस्तै शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि काम भएको छ । त्यसलाई निरन्तरता दिन्छु । ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि पनि विशेष प्याकेज ल्याउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप