शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोसपाको नजरमा दलहरु : काँग्रेसको नाममात्रै ठूलो, जसपा माओवादको ‘बी टीम’

शुक्रबार, १६ वैशाख २०७९, १६ : ०१
शुक्रबार, १६ वैशाख २०७९

लोकतान्त्रिक समाजवादी पार्टीले दलहरु दिग्भ्रमित भएको र जनमत धरापमा परेको निष्कर्ष निकालेको छ । स्थानीय तह निर्वाचनका लागि सो पार्टीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालमा सयभन्दा बढी राजनीतिक दलहरू अस्तित्वमा रहेको भएपनि राष्ट्रिय मान्यता प्राप्त दलहरू छ वटा मात्र भएको उल्लेख गरिएको छ ।  

यी छ दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा, नेपाल कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ । सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको टीम बी भन्दै कटाक्ष गरेको छ । ‘जसपा नेपालको राजनीतिक व्यवहार नेकपा (माओवादी केन्द्र)को ‘बी टीम’ जस्तो भएकाले यो पनि एक किसिमले कम्युनिस्ट पार्टी नै हो । तर यसको सुरुवात मधेस आन्दोलनको जगमा उभिएर भएकाले यसको बारेमा थप विश्लेषण गर्न आवश्यक हुन जान्छ’, घोषणापत्रमा भनिएको छ । 

जसपा मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्रमा मधेस–थरुहट आन्दोलनलाई नै अवमूल्यन गरेको लोसपाको आरोप छ । ​

काँग्रेसको नाममात्रै ठूलो 
घोषणापत्रमा लोसपाले काँग्रेस पार्टीको नाममात्रै ठूलो भएको तर काम भने सानो रहेको निष्कर्ष निकालेको छ । यद्यपि सो पार्टीले काँग्रेसले लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको भूमिकाको भने प्रशंशा गरेको छ । 
तर, मधेसी, शिल्पी, दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समूदाय, विपन्न वर्गलगायत वहिष्करण तथा वञ्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको सवालमा भने संकीर्ष र अनुदारवादी रहेको आरोप लगाइएको छ । 

काँग्रेसबारे लोसपाको निष्कर्ष छ, ‘नेपाली काँग्रेसको अर्को ठूलो असफलता लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार औपचारिक रुपमै ग्रहण गरेता पनि यसको सफल कार्यान्वयनमा नराम्रोसँग चुक्नु हो ।’ यस्तै लोसपाले कम्युनिस्ट पार्टीहरूलाई विचार शून्य र सत्तालोलुप राजनीतिक उद्यमी भन्दै आक्रोश पोखेको छ । ‘नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरूले आफ्नो औचित्य सावित गर्न सकेका छैन’, लोसपाको भनाइ छ, ‘जुन पार्टीहरूले नश्लीय सोचको आधारमा आफ्नो विचार, कार्यक्रम र मुद्दाहरूको चयन गर्छ, जुन पार्टीहरूले दलको चुनावी रणनीति अन्तर्गत र साथै केही नेताको व्यक्तिगत महत्वाकांक्षा पुरा गर्न आफ्नै देशको एक तिहाइ जनसंख्यालाई विदेशी, बिखण्डनकारी र अराष्ट्रिय भन्न सक्छ, जुन पार्टीले राष्ट्रियता जस्तो अति संवेदनशील शब्दलाई पनि आफ्नो सुविधाको लागि गलत व्याख्या गरेर विभाजनको विषय बनाउन सक्छ र जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरू राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?’

लोसपाले अगाडि भनेको छ, ‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने संगठनहरू हुन् ।’ लोसपाले कम्युनिस्ट पार्टीहरू देश विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठन भएको आरोप समेत लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप