शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुरोट, रक्सी, गाडी लगायतको आयात प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर पार्छ ?

प्रतिबन्धित वस्तुहरूको यस्तो थियो आयातको स्थिति
बिहीबार, १५ वैशाख २०७९, ०७ : ३२
बिहीबार, १५ वैशाख २०७९

सरकारले बढ्दो आयातका कारण निरन्तर घट्दो विदेशी मुद्रा सञ्चितिको दबाब कम गर्न अतिरिक्त विलासीताका वस्तुहरूको आयातमा एकपछि अर्को गर्दै अङ्कुश लगाइरहेको छ । केही दिन अघि मात्र सुनचाँदीको आयातमा कोटा लगाएर विलासीताका गाडीहरूको आयातमा प्रतितपत्र (एलसी) रोक्न अप्रत्यक्ष रूपमा वाणिज्य बैङ्कहरूलाई दबाब दिएको सरकारले पछिल्लो पटक तोकेरै १० प्रकारका वस्तुको आयातमा पूर्ण बन्देज लगाइदिएको छ ।

यस्तो प्रतिबन्ध मंगलबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी फास्टफुड कुरमुरे, लेजदेखि तयारी मदिरा, चुरो तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल, टेलिभिजन सेट, मोटरसाइकल, कार भ्यान लगायतका १० प्रकारका वस्तुहरूको आयातमा पूर्ण रोक लगाएको हो । यस्तो बन्देज चालु आर्थिक वर्षको असार मसान्तसम्म नै कायम रहने समेत मन्त्रालयले सोही सूचनामा बताएको छ ।  गभर्नर महाप्रसाद अधिकारी अहिलेको बढ्दो तरलता अभावकाबीच बढ्दो आयातलाई नियन्त्रण गर्न र विदेशी मुद्राको सञ्चिति घट्न नदिन पनि यस्तो प्रतिबन्धको खाँचो रहेको बताउँछन् । 

‘कोभिड–१९ पछि भर्खर भर्खर उठ्दै गरेको मुलुकको अर्थतन्त्रमा तीव्र आयात र सो आयातमा गएको अधिक कर्जाले तरलताको समस्या निम्त्याइरहेको छ । यसैमा गएको ठूलो भुक्तानीले अहिले मुलुकको विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परिरहेको छ । यसलाई रोक्न पनि आयातमा कडाइ गर्नै पर्ने बाध्यता छ’ अहिले सरकारले यहीँ गरेको हो’ गभर्नर अधिकारीले भने, ‘यसैको व्यवस्थापनका लागि राष्ट्र बैङ्कले यसअघि नै सुनचाँदीको आयातमा कोटा तोक्ने देखि घरजग्गा, गाडीमा जाने कर्जामा कडाइ गर्दै आयातमा समेत कडाइ गरेको हो ।’ 

रुस–युक्रेनको बढ्दो तनावको उदाहरण दिँदै गभर्नर अधिकारीले भने, ‘बिग्रँदो अर्थतन्त्रमा हाम्रा आन्तरिक कारणहरू मात्र जिम्मेवार छैनन् यसमा बाह्य कारणले समेत भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यसँगै अन्य वस्तुहरूको समेत मूल्य वृद्धिले अहिले मुलुकमा समस्या पारिरहेको छ । यद्यपि, अबको केही समय पछि नै समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।’ 

चुरोट, रक्सी तथा गाडीहरूको आयात प्रतिबन्धले के असर गर्छ ?

उसो त भन्सार विभागको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने गएको ९ महिनामा मात्र चुरोट, रक्सी, मोबाइल, टेलिभिजन, गाडी लगायत हाल सरकारले प्रतिबन्ध लगाएका १० प्रकारका वस्तुहरू मात्र ५९ अर्ब माथिको आयात भएको देखिन्छ । चालु आर्थिक वर्षको साउन यता यी वस्तुहरू आयातमा मात्र मुलुकले ५९ अर्ब १ करोड ५० लाख १४ हजार रुपैयाँ खर्चिएको छ । 

विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा (हाल प्रतिबन्धित) कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू करिब ५८ करोड ७६ लाख १५ हजार रुपैयाँ बराबरको आयात भएको छ । यस्तै, सबै प्रकारका तयारी मदिरा १ अर्ब ९५ करोड ९७ लाख ७८ हजार रुपैयाँको आयात भएको छ भने, चुरोट तथा सुर्तीजन्य वस्तु ५४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको आयात भएको छ । यद्यपि, यसमा कच्चा पदार्थको हिसाब जोडिएको छैन ।

यस्तै, समीक्षा अवधिमा प्रतिबन्धित हिरा २ अर्ब ४४ करोड ७० लाख ८५ हजार रुपैयाँ, मोबाइल सेट ३४ अर्ब ९७ करोड ९७ लाख ७८ हजार रुपैयाँ, रङ्गिन टेलिभिजन (३२ इन्च भन्दा माथिको) २ अर्ब ६७ करोड ८९ लाख ३ हजार, सबै प्रकारका खेलौनाहरू ७१ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबर र तास मात्र सो अवधिमा १९ करोड ५५ लाख १० हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ । 

यसमा थप दुई पाग्रेसवारीदेखि चार पाङ्ग्रे, मोटरसाइकल, कार भ्यान, जिप १४ अर्ब ९० करोड ५९ लाख ८१ हजार रुपैयाँ बराबरको आयात भएको छ । यी वस्तुको आयातमा पूर्णरुपमा बन्देज गर्दा सरदर मासिक ६ अर्ब ५५ करोड रुपैयाँमाथि बच्ने देखिन्छ । यसलाई चालु आर्थिक वर्षको बाँकी तीन महिनालाई सोही दरमा हेर्ने हो भने करिब १९ अर्ब ६७ करोड बचत हुन्छ । यसले वैदेशिक व्यापार घाटा कम गर्नुका साथै मुद्रा सञ्चितिमा समेत सहयोग पुग्ने सरकारको अपेक्षा छ । 

हाल तीव्र आयातका कारण चालु आर्थिक वर्षको ९ महिनामा मात्र मुलुकको व्यापार घाटा बढेर ११ खर्ब ६० अर्ब माथि पुगिसकेको छ । यसले असमान व्यापार घाटासँगै विदेशी मुद्राको सञ्चितिमा सकारात्मक परिणाम ल्याउने सरकारको अपेक्षा छ । 

हाल प्रतिबन्धित वस्तुहरूको चालु आर्थिक वर्षको ९ महिनामा आयातको स्थिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप