शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको चुनावका लागि के के छन् ५ राजनीतिक दलका घोषणापत्रमा

बुधबार, १४ वैशाख २०७९, १८ : ४४
बुधबार, १४ वैशाख २०७९

माओवादी केन्द्र बाहेकका विभिन्न राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले पाँच वर्ष अघिको निर्वाचनमा जुन प्रतिबद्धताहरू जनाएका थिए, तीमध्ये कतिपय विषय अहिलेको घोषणापत्रमा पनि समेटेका छन् ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा धेरै विषय समेटेर ८८ पेजको घोषणापत्र जारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ४८ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले ४ पृष्ठको संक्षिप्त र लोकप्रिय विषयवस्तु समेटेर घोषणापत्र जारी गरेको छ । नेकपा एकीकृत समाजवादीले ४८ पृष्ठको घोषणापत्र जारी गरेको छ ।

​यहाँ पाँच प्रमुख दलले सार्वजनिक गरेको घोषणापत्रमा भएका विभिन्न विषय अन्तर्गतका प्रतिबद्धतामा रहेको फरकलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ :

राजनीतिक दलहरूको घोषणापत्रमा : शिक्षा क्षेत्र

नेपाली काँग्रेस :

–हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रका रूपमा कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्ने
–विद्यालय शिक्षामा हाल रहेको उच्च विद्यालय छाड्ने दरलाई कम्तीमा २० प्रतिशतले घटाउने
–विद्यार्थीहरूमा आलोचनात्मक चेत, सिर्जनशीलता, रचनात्मक क्षमता, अरूसँग मिलेर काम गर्ने सिप पाठ्यक्रमलाई प्रोत्साहन गरिने

–महानगर, उपमहानगर र ठूला नगरपालिकाहरूमा स्तरीय नवप्रवर्तन केन्द्र तथा माध्यमिक विद्यालयहरूमा मेकरस्पेसको अवधारणामा रचनात्मक क्षमताको विकास गर्ने
–विद्यार्थीहरूले आफूले निर्माण गरेका र सिकेका कुराहरूको प्रदर्शन गर्ने अवसर पाउने गरी वार्षिक ‘सिकाई मेला’ गर्ने
–स्थानीय तहमा कम्तीमा एउटा व्यावसायिक सीप विद्यालय सञ्चालन गर्ने
–विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि गुणस्तरीय दिवा खाजा कार्यक्रम गर्ने

नेकपा एमाले :

–गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार भन्ने नारा

–गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने, विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास लगायत आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहँुच पुर्‍याउने

–बीचैमा पढाइ छाड्ने समस्याको समाधान गर्ने, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था गर्ने विपदका कारण विद्यालय जानबाट बञ्चित बालबालिकाहरूका लागि विशेष व्यवस्था गर्ने

–पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, प्रौढ तथा अभिभावक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, जीवन पर्यन्त सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्य सञ्चालन गर्ने, पुस्तकालय व्यवस्था गर्ने

नेकपा एकीकृत समाजवादी :

–भौतिक पूर्वाधारको एकीकृत गुरुयोजना बनाइने, सो योजनाअनुसार मात्रै भौतिक विकास निर्माण गर्ने÷गराउने कुरालाई कडाइका साथ लागु गरिने

–हरेक वर्ष उही बाटोका लागि बजेट छुट्याउने, हरेक वर्ष बाटो पक्की गर्ने र हरेक वर्ष पक्की गरेको बाटो डोजरले उधारेर सानो ढलको ठाउँमा अलि ठुलो ढल बिछ्याउने, हरेक वर्ष सडक विस्तारका लागि गृहस्थहरूका पर्खाल भत्काउने जस्ता विकृतिमा पूर्ण रोक लगाइने

–बिना योजना डोजर प्रयोग गरी सडक खन्ने प्रवृत्तिलाई रोक लगाइने

जनता समाजवादी पार्टी :

–शिक्षा प्रणालीलाई जगैदेखि रूपान्तरण गरिने, श्रम, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न जोड गरिने

–माध्यमिक विद्यालय तहसम्मको शिक्षालाई व्यावहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाइने

–प्रारम्भमा ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गरिने, सबै विद्यालयमा कम्प्युटर शिक्षा दिइने

–आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने

–आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने

–विद्यालय र घरवस्तीको दुरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिने

–स्थानीय तहहरूले शिक्षामा सुरूमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी

–कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा दिने

–सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक धारको विद्यालय स्थापना गर्ने

–सम्पूर्ण विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा दिने

–प्रारम्भिक बालविकास शिक्षा र कार्यक्रमलाई गुणस्तरीय बनाउन प्राथमिकता

–गरिबीको रेखामुनि रहेका वर्ग तथा अलपसंख्यक समूहका न्युनतम एक–एक जना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र (एम.बी.बी.एस. र इन्जिनियरिङ् (स्नातक तह) अध्ययन गर्न छात्रवृत्ति दिने

–विद्यालयका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण

–विद्यालयमा लागु औषध दुर्व्यसनविरुद्ध नियमित रुपमा अभियान सञ्चालन गर्ने

राजनीतिक दलहरूको घोषणापत्रमा : स्वास्थ्य क्षेत्र

नेपाली काँग्रेस :  

–स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्‍याउने

–स्थानीय स्वास्थ्य प्रोफाइल निर्माण गरी सबै नीतिमा स्वास्थ्य भन्ने मान्यताका साथ स्थानीय आवश्यकता र प्राथमिकता अनुसार गाउँ–नगरपालिकाको स्वास्थ्य लक्ष्य निर्धारण गरी तथ्य र प्रमाणका आधारमा योजना, कार्यक्रम र बजेट तर्जुमा गर्ने

–जनसंख्या, भूगोल, विद्यमान स्वास्थ्य संस्था, अवस्था, पहुँच र गुणस्तर, उमेर समूहका आधारमा रोगको भार र सूचक हेरेर स्थानीय स्वास्थ्य प्रणालीको विकास गर्ने

–एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड अनुरुप भौगोलिक अवस्थिति, जनसंख्या र रणनीतिक क्षेत्र अनुसार नागरिकको सहज पहुँच हुने गरी स्वास्थ्य संस्थाको नक्साङ्कन गर्दै सेवाका आधारमा हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, गाउँ–नगरपालिकामा विशेषज्ञ सेवा सहितको प्राथमिक अस्पताल

–उपमहानगरपालिका र महानगरपालिकामा विशेषज्ञ सेवासहितको अस्पताल स्थापना गर्ने, त्यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्रविधि र उपकरणको व्यवस्था गर्ने

–आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत

निरोधात्मक, प्रवर्द्धधनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्ने

–नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा विस्तार गर्ने

–सुत्केरी महिलालाई ५ हजार रुपैयाँ सुत्केरी सहायता भत्ता दिने

नेकपा एमाले :

–प्रतिज्ञापत्रमा निरोगी नेपाल, स्वस्थ नेपाली भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने

–आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था मार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने

–प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने

–प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने

–निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने

नेकपा एकीकृत समाजवादी पार्टी

–स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने

–जटिल खालका शल्यक्रियाहरू जस्तै– मुटु , मिर्गौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइने

–पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने

–सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने

जनता समाजवादी पार्टी

–हरेक गाउँपालिकाका केन्द्रमा  कम्तीमा  विशेषज्ञ  सेवा  सहितको  एउटा  स्वास्थ्य  संस्था खोलिने

–स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिने

–प्रत्येक पालिकामा गर्भवती महिलाहरूका लागि बर्थिङ सेन्टर स्थापना गरिने

–गाउँपालिका  र  नगरपालिकाका  प्रत्येक  वार्डहरूमा  एक  जना  चिकित्सक  सेवा  सहितको स्वास्थ्य चौकी सञ्चालन गरिने

–स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई सकेसम्म एउटै मापदण्डमा सञ्चालन गरिने

–नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा कम्तीमा क्रमशः पाँच÷पन्ध्र बहु विशेषज्ञ सेवा सुविधासहितको अस्पताल स्थापना गरिने

–पाँच वर्षभित्र सबै स्तरका पालिकाका नागरिकको स्वास्थ्य बिमा गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी

–सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा गर्ने

–हरेक वडामा स्वास्थ्य चौकी र निःशुल्क, गुणस्तरीय आधारभूत सेवा दिने

–सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम अघि बढाउने

–प्रत्येक वडामा प्रसूति सेवा तथा हरेक सुत्केरी महिलालाई ३ महिनासम्म ३ हजार रुपैयाँ सुत्केरी भत्ता

–क्यान्सर, मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता

राजनीतिक दलहरूको घोषणापत्रमा : रोजगारी क्षेत्र

नेपाली काँग्रेस

–हरेक स्थानीय तहमा एउटा स्रोत साधनयुक्त उद्यम विकास केन्द्र सञ्चालन गर्ने

–वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरूलाई उद्यम सञ्चालन गर्न सहजता गर्ने

–स्थानीय तहमा उपलब्ध हुने वा हुन सक्ने रोजगारीका सूचना तथा तथ्याङ्क सहितको रोजगार बैंक स्थापना गर्ने

–रोजगारीको खोजीमा रहेकाहरूको सहयोगका लागि रोजगार बैंकले सूचना उपलब्ध गराउने तथा सहजकर्ताको काम गर्ने

–रोजगार बैंक सिपमूलक तालिम सञ्चालन गर्ने

–स्थानीय तहका उच्चमाध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उसको

अनुकुलतामा एक वर्षको इन्टर्नसिपको अवसर प्रदान गर्ने

नेकपा एमाले :

–सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने

–अर्धदक्ष श्रमिकको विकासका लागि सिप विकास, तालिम र पुनर्ताजगीको व्यवस्था गर्ने

–रोजगार सूचना केन्द्रलाई थप प्रभावकारी बनाउँदै बेरोजगारी अवस्थाको तथ्याङ्क संकलन र सूचना प्रणाली विकास गर्ने

–बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध गर्ने

–स्वरोजगार बन्न चाहनेलाई सहुलियत ऋण वा अनुदान सहयोग उपलव्ध गराउने,  विपन्नलाई उत्पादनका साधन तथा सीपमूलक तालिम दिने

नेकपा एकीकृत समाजवादी पार्टी

–विदेशिएका युवालाई स्वदेश फर्काऊँ : कृषि उत्पादनमा वृद्धि गरौँ भन्ने आह्वानका साथ युवाहरूलाई कृषि उत्पादनतर्फ आकर्षित गराइने

– शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा तथा सुलभ र सहुलियत कर्जाको व्यवस्था गरेर कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड दिइने

– युवाहरूलाई उत्पादन, उद्यम र रोजगारीमा आवद्ध गर्नका लागि उत्पादनमूलक, उद्यमशीलता र रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गरिने

–प्रत्येक पालिकामा सीपमूलक तालिम केन्द्र स्थापना गरिने

जनता समाजवादी पार्टी

–पर्यटक गाइड तथा होमस्टे कार्यक्रमहरू सञ्चालन गर्न चाहनेहरूलाई आवश्यक तालिम सेवा उपलब्ध गराइने, युवाहरूलाई निःशुल्क तालिम प्रदान गरिने

–काष्ठ तथा फर्निचर, टेक्सटाइल (साना तथा मझौला), इलेक्ट्रिकल–मेकानिकल सामग्री, कृषि तथा पशुपालन, वागवानी, सिमेन्ट, ईटा, साबुन, डिटर्जेण्ट, होटल–पार्टी प्यालेस स्थापना तथा सञ्चालन र पेट्रोल पम्प सञ्चालनजस्ता विषयहरूमा प्रत्येक वर्ष हरेक वडाका ५० जना गरेर नगरपालिकाका ५०० युवालाई रोजगारी एवं उत्पादन मूलक विषयगत तालिमको व्यवस्था गरिने

 –राम्रो उद्यम गर्ने ५० जनालाई विदेशमा गएर तालिम लिएर आउने व्यवस्था मिलाइने

–रोजगार,  स्वरोजगार  तथा  उद्यमशीलताको  तालिममा  गरिव  परिवार,  महिला  तथा  दलित समुदायलाई प्राथमिकता दिइने

–वैदेशिक रोजगारमा गएका युवाहरूको व्यक्तिगत सुरक्षा, उनीहरूले कमाएको पुँजी जलविद्युत, उद्योगधन्दा जस्ता योजनामा सेयर लगानी गर्न पाउने उचित व्यवस्था गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी

–एक पालिका एक रोजगार तालिम केन्द्रको स्थापना र तालिम प्राप्त युवाहरूलाई रोजगारको व्यवस्था गर्ने

–सिप सिकेका युवाहरूलाई बिना धितो ऋणको व्यवस्था गर्ने

–स्थानीय, प्रदेश र केन्द्रीय तहबाट सञ्चालन हुने आयोजनाहरूमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने

–विपन्न परिवारका लागि परिचय पत्र र सुपथ मूल्यको पसल स्थापना गर्ने

राजनीतिक दलहरूको घोषणापत्रमा : भौतिक पूर्वाधार/विकास निर्माण क्षेत्र

नेपाली काँग्रेस

–ग्रामीण केन्द्रलाई बजारसम्म जोड्ने र सहरी केन्द्रबीचको सडक उन्नतिकरणलाई विशेष प्रथामिकता दिने

–सबै गाउँ–नगरपालिका केन्द्रमा पक्की सडकको पहुँच पुर्‍याउने,

–सबै गाउँ–नगर पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक पुर्‍याउने,

–सडक पूर्वाधारको गुणस्तर र मर्मतमा विशेष ध्यान दिने, सडक दुर्घटनाको न्यूनीकरणका निम्ति सडक सुरक्षा निर्देशिकालाई कडाईका साथ लागू गर्ने

–सडकमा अनिवार्य फुटपाथ र साइकल लेनको व्यवस्था गरी स्थानीय तहहरूलाई पैदल यात्रु र साइकल मैत्री बनाउने,

–सहरी क्षेत्रहरूमा सार्वजनिक यातायातलाई प्रोत्साहन दिई स्थानीय तहको लगानीमा

अपाङ्गतामैत्री सार्वजनिक यातायातलाई सञ्चालनमा ल्याउने

–ग्रामीण क्षेत्रलाई सहरसँग जोड्न सहरी स्थानीय तहसँग सहकार्य गरी सार्वजनिक यातायातको पहुँच बढाउने,

–निजी क्षेत्रको समेत सहयोगमा पर्यटकीय स्थानहरूमा केबलकार, रोप–वे निर्माण तथा सञ्चालन गर्ने,

–आगामी तीन वर्षभित्र आवश्यक सम्पूर्ण झोलुङ्गे पुलको निर्माण सम्पन्न गर्ने र आवश्यकता र माग अनुसार विशेष प्रकृतिका पर्यटकीय महत्वका झोलुङ्गे पुल बनाउने

नेकपा एमाले

–सहज आवागमनको आधार, दिगो यातायात पूर्वाधार नारा

–सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने

–सडक, हवाई, जल, केबलकार, रोपवे, दुरसञ्चार लगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने

–प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधार मार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने

–सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने

–जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने

–ठूला सहरहरूमा रेल, र्‍यापिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने, पक्की पुलहरूको निर्माण गर्ने

नेकपा एकीकृत समाजवादी

– हरेक पालिकाले आफ्नो पालिकाभित्रका सडक र यातायातका लागि गुरुयोजना बनाई लागु गर्ने

–पालिकाको योजनाबिना जथाभावी सडक बनाई कृषियोग्य जमिन समाप्त गर्ने तथा पर्यावरण बिगार्ने कामलाई कडाइका साथ निरुत्साहित गरिने

–संघीय र प्रदेश सरकारका योजनासँग समन्वय गरी अर्को पालिका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण गरिनुका साथै भएका सडकको स्तरोन्नति गरिने

–पालिका केन्द्रदेखि वडा केन्द्रसम्म सहज यातायातका लागि सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिने

–सडकका नाममा जग्गाको नक्सा पास गराएरमात्र निर्माण सुरु गरिने गरिने छ ।

जनता समाजवादी पार्टी

–पालिकाहरूको स्थानीय विशिष्टता अनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गरिने

–पालिकाको केन्द्र र वार्ड केन्द्रहरू जोड्ने सडकहरू बनाइने

–चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिङ्क रोड बनाइने

–पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोडिने

–सडकहरूको गुणस्तर सुधार गर्दै लगिने, सबै पालिकाहरूमा एक बसपार्क बनाइने –महानगरहरूमा नगर रेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी

–प्रत्येक घरमा बिजुलीको व्यवस्था

–सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्राभेल सडकको व्यवस्था गर्ने

–नगर, गाउँपालिकाको प्रत्येक वडामा बाल उद्यान पार्कको व्यवस्था गर्ने

–प्रत्येक वडामा खुला व्यायामशाला स्थापना गर्ने, स्थानीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिई होमस्टे सञ्चालनका लागि तामिल र निर्ब्याजी ऋण दिने

दलहरूको घोषणापत्रमा : खानेपानी क्षेत्र

नेपाली काँग्रेस :

–जमिनमुनिको पानीको सतहको मूल्याङ्कन गरी डीप बोरिङ्ग मार्फत तथा नजिकै रहेको स्रोतलाई उपयोग गरी घर घरमा शुद्ध खानेपानी वितरण प्रणालीको व्यस्थापन गर्ने

–सार्वजनिक धाराको संरक्षण तथा व्यवस्था गर्ने

नेकपा एमाले :

–स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी भन्ने नारा

–प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने

–एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने

–ठूला खानेपानी आयोजना संघ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने

–खानेपानी तथा सरसफाइ कार्ययोजना कार्यान्वयन गर्ने, खानेपानी मुहान लगायत पानीको स्रोत, नदी नाला, कुवा तथा पोखरीको संरक्षण तथा सफाइ सम्बन्धी कार्य गर्ने

–फोहोर पानी प्रशोधनको व्यवस्था गर्ने, फोहोर मैलाको दिगो व्यवस्थापन गर्ने

नेकपा एकीकृत समाजवादी :

–पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने

–‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ खाानेपानी र सरसफाइजस्तो जनताको आधारभूत आवश्यकता पूरा गरिने

–उपत्यका र तराईमा रहेका प्राकृतिक पोखरी, ताल र सिमसार क्षेत्रहरूको संरक्षण गरिने

–पहाडका डाँडाकाँडामा पोखरीहरू बनाएर वर्षाको पानी बगेर खेर जानबाट रोक्ने

–हरेक पालिकाहरूले ‘एक टोल एक पोखरी’ को अवधारणाअनुसार आफ्नो भूगोलभित्रका डाँडाकाँडामा पोखरीहरूको निर्माण गर्ने

जनता समाजवादी पार्टी

–शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने

–सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको रू २०० सम्मको बिल निःशुल्क गरिने

– खानेपानीका मुहान र पोखरी संरक्षण गरिने, सार्वजनिक पोखरीहरूको निर्माण तथा पुननिर्माण गर्दा बहुउद्देश्यीय प्रारूप– सिंचाई, माछापालन, सौन्दर्यीकरण, बोटिङ र स्थानीय पर्यटनजस्ता अवधारणालाई एकीकृत कार्यान्वयन गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टी 

–खानेपानीबारे ४ बुँदे प्रतिबद्धता

–सबै घरधुरीमा चार वर्षभित्र आधारभूत खानेपानी सेवा

–तराईमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी

–उपभोक्ताको स्वामित्वमा खानेपानी योजना

–एक घर एक धाराको प्रतिबद्धता 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप