सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावलाई ८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई

शनिबार, १० वैशाख २०७९, १७ : १८
शनिबार, १० वैशाख २०७९

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अनुगमनका लागि आयोगले अनुगमन टोली खटाउन लागेको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा भइरहेको विकृतिहरुलाई अनुगमन गर्न आयोगले एउटा टोली बनाएको र आइतबारदेखि सो टोलीले अनुगमनलाई अघि बढाउने जानकारी गराए । सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले स्टुडियोमा बसेर गरेको कुराकानी पनि सामाजिक सञ्जालमा आएमा त्यो पनि अनुगमनको दायरामा ल्याउन सकिने बताए । साथै दलको आधिकारिक नाम भएको सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्दैमा आचारसंहिता लागि नहाल्ने उनको भनाई छ । 

यस्तै आयुक्त थपलियाले  देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई परिचालन गरिएको बताए । वैशाख १७ गते दलका उम्मेदवार टुङ्गो लागेपछि मात्रै आचार संहिता लागू भएको नभएकोबारे कडाईका साथ अनुगमन गर्ने उनको भनाई छ । 

प्रमुख आयुक्त थपलियाले स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य उम्मेदवार उठाउँदा संविधानको धारा ३८ को ४ अनुसार कम्तिमा एक तिहाई महिला उठाउनुपर्ने बताए । उनले दलहरुले महिलाहरुको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनेमा आयोग विश्वस्त रहेको बताए । उनले आयोगले यो वर्ष ८७ प्रकारका मतपत्र डिजाइन गरेर जिल्ला जिल्लामा पठाइरहेको बताए । अघिल्लो पटकको चुनावमा १० प्रकारमा मात्र मतपत्र रहेकोमा यो वर्ष डिजाइनको संख्या बढाइएको बताए । 

मतपत्र उम्मेदवारको अन्तिम नामावली आउनुअघि नै प्रकाशन गर्नुपर्ने भएकोले उम्मेदवार नभएको पनि चिन्ह हुने बताए । उम्मेदवारको टुङ्गो लागेपछि चुनाव हुने मिति थोरै हुने भएकोले ६ हजार ७ सय ४३ वडामा त्यति नै प्रकारका मतपत्र बनाउन कठिनाई हुने उनको भनाई छ । तर भक्तपुरका नगरका लागि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छापेर पठाउने तयारी रहेको उनको भनाई छ । 

थपलियाले कुनै जिल्लामा मतदान अधिकृतको कार्यालयबाट मतदानस्थलसम्म पुग्न ३ दिनसम्म लाग्ने अवस्था समेत रहेको बताउँदै वैशाख २६ गतेभित्र सबै मतदानस्थलमा मतपत्र पुगिसक्ने उनले बताए ।  सञ्चारकर्मीको प्रश्नको जवाफका क्रममा उनले जुन दलको चिन्हबाट उम्मेदवारले चुनाव लड्छ उ सोही दलको उम्मेदवार हुने बताए । कसैले स्वतन्त्र चुनाव चिन्हबाट चुनाव लडेमा स्वतन्त्र उम्मेदवार हुने उनको भनाई छ । साथै आयोगले भोलि आइतबार र पर्सी सोमबार उम्मेदवारी दर्ताको तयारी पूरा भएको पनि जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप