बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँको हिरो म, सहरले भिलेन बनायो : मुरलीधर

सार्वजनिक स्थलमा हिँड्दा मानिस डराएर भाग्थे
शनिबार, १० वैशाख २०७९, ११ : ०६
शनिबार, १० वैशाख २०७९

मुरलीधर मिझार नेपाली कलाक्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । व्यक्ति एक भए पनि उनी प्रतिभा खानी हुन् । लेखक, निर्देशक, गायक, सङ्गीतकारको अलवा उनी कलाका थुप्रै विधामा पोख्त छन् । ‘उडायो सपना सबै हुरीले...’ यो गीत नसुन्ने सायदै नेपाली होलान् । यो पनि उनै मुरलीधरको शब्द सङ्गीतमा आएको हो ।

धेरै चर्चित गीत दिएका मुरलीधर नेपाली फिल्म नगरी र बलिउडका शान पनि हुन् । थुप्रै नेपाली र बलिउड फिल्म अभिनय गरेका मुरलीधरका मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौँ कर्णप्रिय गीत रेकर्ड छन् ।

पछिल्लो समय बलिउड फिल्म अभिनय छोडेर नेपाली फिल्म मात्र अभिनय गरिरहेका मुरलीधर नेपाली फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने चाहना राख्छन् । फिल्म ‘मिस्टर इन्डिया’मा आफ्नो भूमिका काँटछाँट भएपछि चित्त दुखाइका कारण बलिउड फिल्म अभिनयबाट बाहिरिएका मुरलीधरको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

माछा मनपर्छ नि
मेरो मनपर्ने खाना दाल, भात र सिन्किको अचार हो । अहिले भात खान मिल्दैन । त्यसैले रोटी खान्छु, त्यो पनि कोदोको । माछामासुमा माछा बढी मनपर्छ । मन नपर्ने खानेकुरा केही छैन । पहिले काठमाडौँको काउली एकदमै राम्रो थियो । अहिले कीटनासक औषधिले खानै नहुनेछ ।

रेस्टुरेन्ट धेरै कम जान्छु । रेस्टुरेन्टमा मैले खाने भनेको प्लेन टोस्ट, हट लेमन विथ हनी हो । पकाउन पनि रुचि छ । रोटी राम्रो बेल्छु र मासु मीठो पकाउँछु ।
 
दैनिक योग
अहिलेसम्म फिट हुनुको पछाडि योगकै योगदान छ । बिहान डेढ घन्टा नियमित योगा, प्रणायाम गर्छु । त्यसमा घाटीको एक्सरसाइज, भद्रिका, कपालभाँती, आलोलमबिलोलम, भ्रामरीलगायत गर्छु ।
पहिले एक्सरसाइजका लागि क्लबसमेत धाउँथे । अहिले घरमै केही हल्का फिट्नेसका उपकरण राखेको छु । आवश्यक परे त्यसको सदुपयोग गर्छु ।

पहिरन कुर्थापाइजामा 
पोसाकमा कुर्थापाइजामा मनपराउँछु । कुनै कुनै समय पठानी प्रयोग गर्छु । म हरेक कलरको कुर्था लगाउँछु । पहिरनमा खैरो, सेतो र गुलाफी बढी मनपर्छ । पहिले पहिले क्याजुअल पहिरन पनि प्रयोग गर्थें ।
अहिले पाइजामा, धोतीलगायत प्रयोग गर्छु । फर्मल कार्यक्रम, विवाह लगायतमा जानुपर्दा पनि कुर्थापाइजामा लगाउँछु । पहिरन कहिल्यै ब्रान्डेड हेरिन । मन परेको रोज्छु । प्रायः पहिरन सिलाएर लगाउँछु ।

अध्ययनमा रुचि
राम्रा साहित्यकारका र चर्चित पुस्तकहरू अध्ययन गर्छु । त्यसमा नेपाली, हिन्दी सबै प्रकारका पर्दछन् । बीपी कोइरालाका प्रायः सबै पुस्तक पढेको छु । अहिले फिल्म निर्देशक मदन घिमिरेको  ‘मानबहादुर’ भन्ने पढ्दैछु । अध्ययनको समय फिक्स छैन । काम नभएपछि पुस्तक लिएर बस्छु । मैले पढेका मध्ये मनपरेको पुस्तक बीपीको ‘अरुणी’मा र हिन्दीमा केही छन् ।
 
रुचि छैन
घुमघाममा त्यति रुचि छैन । पेसाले त घुमाउँछ । तर व्यक्तिगत रूपमा घुमौँ भन्ने लाग्दैन । देशका करिब ५० जिल्ला घुमेँ होला । विदेशमा रसिया, अमेरिकालगायत धेरै देश घुमेको छु ।
देशको पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल जाने इच्छा छ । त्यहाँको रहनसहन, खानापिन हेर्न र त्यहाँको समाज बुझ्ने इच्छा छ । 
 
अलिअलि फुर्सद
कोरोनाको कारण पछिल्लो समय धेरै फुर्सद दियो । नत्र फुर्सद थिएन । सङ्गीत गर्नुको अलवा धेरै थरिका काम छन् ।
 
कुस्ती हेर्छु
पहिले पहिले रेस्लिङमा धेरै रुचि थियो, म आफैँ पनि खेल्थे । गाउँघरमा भलिबल, फुटबल पनि खेलियो । अहिलेको फ्री स्टाइल रेसलिङ र फुटबल र कुस्ती हेर्छु । क्रिकेटमा रुचि लाग्दैन ।
 
मोबाइल छ
म ब्रान्डेड मोबाइल बोक्नुपर्र्छ भन्ने मन्यता राख्दिनँ । अहिलेमसँग रेडमी ब्रान्डको मोबाइल चलाउँछु । त्यसअगाडि केही अन्य ब्रान्ड चलाए । म मोबाइल छिटोछिटो परिवर्तन गर्दिनँ । अहिले मोबाइलमा धेरै सुविधा छ । त्यो सुविधा म सदुपयोग गर्छु । मोबाइल गिफ्टहरू पाएको छु, हराएको दुवै छ ।
 
टीभी र फिल्म हेर्छु
अहिले टीभी हेर्दिनँ । पहिल टीभीमा समाचार हेर्थे । अहिले समाचार ड्रामेटिकल जस्तो भएको छ । त्यो कारणले वाक्क भएर टीभी नै घरबाट हटाएँ ।सिरियल, मनोरञ्जनका कार्यक्रम अहिले अलिअलि युट्युबमा हेर्छु । फिल्म पनि त्यति हेर्दिनँ । केही अगाडि मुम्बईमा ‘द कम्मिर फाइल्स’ हेरेको थिएँ । नेपाली, हिन्दी, अङ्ग्रेजी सबै चर्चा आएका र राम्रा फिल्म हेर्छु ।

बलिउडका फिल्महरू रिजेक्ट
मेरो पेसा कलाकारिता हो । २०२६ मा काठमाडौँ आएको थिए । त्यो समय म आफ्नो क्षेत्रमा गायनमा निकै पपुलर थिएँ । मुलरलीधर सावारिया भनेर चिनिन्थेँ । नाटकसमेत गर्ने मलाई सबैले हिरो भनेर सम्बोधन गर्थे । आफ्नो समाजको रियल स्टार थिए । 

रेडियो नेपालमा स्वर परीक्षा दिन काठमाडौँ आएको म चौथो प्रयासमा पास भएँ र गाउन थालेँ । त्यसपछि प्रज्ञा प्रतिष्ठानमा गाउने, कोरस डान्स गर्न थालँे ।

त्यही क्रममा हिमालय लोहनीसँग भेटभयो । उहाँले मुम्बईका कलाकारको स्ट्रगल विषयमा ‘फिल्म एक्टिङ’ नाटक लेखे । नाटकमा मेरो कान सफा गर्ने मानिसको भूमिका थियो । त्यो नाटक हेर्न काठमाडौँमा भएका सबै निर्देशक, कलाकार ओइरिएका थिए । त्यो नाटकले म हिट भएँ ।

त्यसपछि फेरि सत्यमोहन जोशीको नाटक ‘पहाड चिच्याइरहेछ’मा ‘मेजर बृखबहादुर’ बनँे । तीस वर्ष गोर्खा बटालिनमा काम गरेको चरित्र थियो त्यो । हरिहर शर्माको निर्देशन रहेको उक्त नाटकबाट वीरेन्द्र सरकारबाट पनि तारिफ मिल्यो । दरबारबाट पुरस्कारसमेत प्राप्त गरेँ । त्यसपछि भारतीय दूतावासको स्कलरसिप लिएर मुम्बई हानिए ।

मुम्बई कलाकारिता, सङ्गीत दुवै गरेँ । नेपाली करिब एक दर्जन नाटक गरेको मैले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘सम्झना हो’ । त्यसपछि ‘मालती’, ‘सन्देश’, ‘सम्झना’, ‘साइनो’ हुँदै ‘भैरव’सम्म आउँदा करिब तीन दर्जन बढी नेपाली फिल्म अभिनय गरिसके । ‘काँडेतार’ भर्खर अभिनय गरेको फिल्म हो । हिन्दी होस् वा नेपाली सबै फिल्ममा मैले नगेटिभ भूमिकै निर्वाह गरेँ । त्यसले दर्शकले रुचाए ।


गाउँको हिरो म, सहरले भिलेन बनायो । भिलेन अभिनयबाट चिनिएपछि सार्वजनिक स्थानमा हिँड्दा मानिसहरू डराउँथे, भाग्थे । एक पटक महाराजगञ्जबाट लाजिम्पाटतिर आउँदै थिएँ । बाटोमा हिँड्दै गरेका केटाकेटी भागे । भोजभतेरमा जाँदा ठूलै मानिस पनि डराएर आफू बसिरहेको ठाउँ छोड्थे ।

बलिउडमा पनि धेरै फिल्म गरेको छु ।  भिमा, मै आजाद हुँ, काल्का, हम दो हमारे दोजस्ता हिन्दी फिल्म खेलेँ । नक्सलाइट्समा मिथुन चक्रवर्ती र स्मिता पाटिलसँग काम गरेँ । माइतीघरका निर्देशक बीएस थापाको हिन्दी फिल्म गङ्गाधाममा पनि अभिनय गरेँ । कालिका, भवानी शङ्कर, कमस पैदाकर्नेवालेकी, मिस्टर इन्डिया लगायत थुप्रै छन् । मिस्टर इन्डियापछि भने उनले सबै हिन्दी फिल्म रिजेक्ट गरे । फिल्म अभिनयका लागि मलाई राम्रो चरित्रको अफर हुन्थ्यो, छायाङ्कन पनि हुन्थ्यो र तर रिलिजमा आउँदा काटिएर आउँथ्यो । मैले राम्रो गरेका कारण त्यस फिल्मको मुख्य हिरो ओझेलमा पर्ने भएकाले रोल काटिन्थ्यो ।

मिस्टर इन्डियामा मेरो भूमिका नकाटेको भए विश्वमा चिनिन्थे । अमरिस पुरीको ‘मुगाम्बो खुस हुवा’ जस्तै बलियो क्यारेक्टर मेरो थियो । मेरा फ्यानले नेपालमा राम्रो, ठूलो ठूलो भूमिका गर्ने मुम्बईमा खान पुग्दैन कि के हो । किन सानेतिनो रोल गरेको समेत भने । त्यसैले बलिउड फिल्म छाडेँ । बलिउडका सिरियल पनि धेरै गरेको छु ।

गायक तथा सङ्गीतकार म
गायक तथा सङ्गीतकार पनि हुँ म । गीत पनि लेखेको छु । सङ्गीत मैले विरासतमै पाएको हो । बुबा नथुनी मिझार सङ्गीताचार्य थिए । आमा सङ्गीतको मर्म बुझ्नुहुन्थ्यो ।

घरमै सङ्गीतको वातावरण भएकोले म मात्र होइन, मेरा ६ दाजुहरू, बैनीको पनि सङ्गीतमा रुचि थियो । सबै मभन्दा राम्रो गाउँथे । सङ्गीत मेरो रगतमै छ । दाजुहरू सङ्गीत बाहिर रहेँ । मैले भने यसैलाई पेसा बनाएँ ।

‘उडायो सपना सबै हुरीले..’, ‘चिसो चिसो सिरेटोमा...’ ‘निस्ठुरीलाई माया गरी..’, ‘यो नजरको बयान म गरूँ कसरी’  गरेर’ थुप्रै नेपाली गीत हिट छन् । नेपाली, हिन्दी, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा गरेर मेरा दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

मेरो ‘इतनी शक्ति हमे देना दाता...’ भन्ने गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ ।
‘उडायो सपना सबै हँुरीले’ गीत यस्तो छ । त्यो सबैलाई लाग्छ गीत मेरो कथा, मेरो व्यथामा हो । मायाप्रितिमा बिफल भएका मानिसले यो गीत धेरै रुचाउँछन् । त्यो गीतले धेरै युवायुवती रुवाएको छ । त्यो गीत सुनेर केही जोडीले आत्महत्या गरेको घटना छन् । उनीहरूले सुसाइट नोटमा यो गीत जस्तै भयो जीवन लेखेका थिए । त्यो समाचार सुन्दा म विचलिन भए । यो गीत मानिसले आफ्नो असफलतामा पनि जोड्छन् । मेरो नाम मुरलीधर सावारिया थियो । 
मुम्बईमा धेरै मानिसले सावारियाको विषयमा मजाक, ठट्टा गरे । त्यसैले नामबाट सावारिया हटाए ।

‘निस्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ...’ गीत राजेशपायल राईले चोरेका छन् । त्यो गीत मैले धेरै पहिले रेडियो नेपालमा गाएको थिएँ । एक दिन म्युजिक नेपालमा आएर राजेशले गजब गाउनुभयो दादा गीत भन्दै म पनि गाउँछु भन्यो । मैले विभिन्न कार्यक्रममा गाऊ भनेको थिएँ । उसले त नसोधी गीत रेकर्ड गरेर आफ्नो क्यासेटमा राखेछ ।

केही पहिले म अमेरिका जाँदा त्यहाँको ३, ४ स्टेजमा यो गीत गाएर सुनाएँ । त्यो समय यो राजेशपायलको गीत हजुरले उसले भन्दा राम्रो गाउनुभयो भनेर भने । मलाई दुःख लाग्यो । सङ्गीतकार सङ्घमा पनि यो खबर गरेँ । अहिले राजेश जहाँ पनि यो गीत गाउँछ, मेरो नाम लिँदैन । मेरो त्यो गीतको भरपाई राजेशपायलले अब गर्नैपर्छ । 

विवाह गरिनँ
विवाह विसं २०५५ तिर गरेको हो । मेरो श्रीमती परिवारले खोजिदिएका हुन् । विवाहपछि श्रीमतीसँग प्रेम भयो । उमेरमा विवाह अगाडि र पछाडि बाहिर प्रेम कसलाई हुँदैन र ? वास्तवमा त्यो प्रेम थिएन, त्यो आकर्षण रहेछ । मलाई मनपराउने पनि धेरै थिए ।

त्यो छ सपना
नेपाल पहिले जस्तै सुन्दर शान्त देशको रूपमा हेर्ने सपना छ । हरेक नेपालीले खान, लाउन, बस्नुको अलवा चाहिएको बेला औषधिको व्यवस्था सजिलै भएको हेर्नेछ । नेपाली फिल्ममा दोहोरो भूमिका निर्वाह गर्ने सपना पनि छ ।
 
शास्त्रीय सुन्छु
गीतसङ्गीत मनपर्छ, सुन्छु । धेरै हिन्दी शास्त्रीय सङ्गीत सुन्छु । नेपालमा शास्त्रीय सङ्गीतमा रुचि कसैको देख्दिनँ । नेपालको मौलिक लोकसङ्गीतमा पनि मेरो रुचि रहँदै आएको छ ।
 
पेटमा कुरा 
मेरो पेटमा कुरा अट्दैन । चित्त नबुझेको कुरो फ्याट बोल्छु । त्यसरी बोल्न नहुने रहेछ । त्यो पछि रियलाइज गर्छु । यो बानीले धेरै असर गरेको छ । यसलाई नै म खराब बानी मान्छु ।

जीवन सङ्घर्ष 
जीवन एउटा सङ्घर्ष रहेछ । सुख र दुःखको उतार चढाव पनि । एक किसिमले हेर्ने हो भने जीवन प्याज जस्तै हो । छिल्दै जानुस् रुवाउँदै जान्छ र अत्यमा केही बाँकी रहँदैन । अत्यमा राम नाम सत्य नै हो ।
 
भूल छन्
जीवनमा भूल कसले गर्दैन होला र ? जानी नजानी धेरै भूल हुन्छन् । मानिसलाई त्यसबाट घाटा, नाफा दुवै भएको हुन्छ । कतिले कलाकारिता र सङ्गीत भूल हो भन्छन् । यो रोज्नु मैले कहिल्यै भूल सोचेको छैन । यो क्षेत्रमा म इन्जोय गरिरहेको छु ।  

त्यो रोग छ
करिब १५ वर्षदेखि प्रेसर र सुगर रोगले सताएको छ । यी रोगका लागि नियमित औषधि सेवन गर्दैछु । त्यसबाहेक अन्य रोग केही छैन ।
 
पहिले गर्थें मापसे
मापसे पहिले गर्थें, अहिले गर्दिनँ । मापसे छोडेको तीस वर्ष भयो ।

राशि ‘मेष’
मेरो राशि ‘सिंह’ हो । ग्रहदशा हेर्ने भनेको ज्योतिष शास्त्र हो । त्यहीमाथि डिपेन्ड भएर काम गर्न म मान्दिनँ । पूजापाठमा रुचि छ । मन्दिर जान्छु ।
 
मृत्यु सत्य हो
मृत्यु निश्चित छ । त्यो सत्य हो । एक दिन अवश्य आउँछ । त्यसलाई सहज स्वीकार्नुपर्छ । अप्राकृतिकभन्दा प्राकृतिक मृत्यु होस्, त्यो मेरो चाहना पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप