'त्यो गीतले कयौँ प्रेमीलाई आत्महत्याबाट बचायो'
चेतन सापकोटा बहुप्रतिभाशाली व्यक्तित्व हुन् । नेपाली सङ्गीतिक क्षेत्रमा सङ्गीतकार, गायक र गीतकारका रूपमा उनको परिचय छ । ६० बढी फिल्मका, लोक, आधुनिक, भजन र पप गरेर करिब चार सयभन्दा बढी गीतमा सङ्गीत भरेका सापकोटाको फिल्मका ‘नतान, नतान’, ‘तिम्रो आँखामा बस्न रहर भो मलाई’, ‘मागेर पाउने भए’ जस्ता थुप्रै गीत हिट छन् ।
अञ्जु पन्तको ‘मैले हार्दा तिमी नै जित्छौ भने’ र रामकृष्ण ढकालको ‘धुजा परेको जिन्दगी’ लगायत उनका फिल्मका बाहेक दर्जनौँ गीत सर्वाधिक चर्चित छन् । गायक बन्ने रहरले गाउँबाट काठमाडौँ छिरेका उनलाई काठमाडौँले सङ्गीतकार बनाएको हो । नेपाली सङ्गीतिक क्षेत्रमा एउटा फरक उचाइ बनाउन सफल पनि छन् उनी । नेपालमै एउटा ‘सङ्गीत हब’ बनाउने सपना पालेका सङ्गीतकार सापकोटाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
ढिँडो मनपर्छ
भात कम खान्छु । ढिँडो, साग, गोलभेँडाको अचार, फर्सीको मुन्टा, गेडागुडी तरकारी लगायत मनपर्छ । ढिँडो चाहिँ जेसँग भए पनि हुन्छ । अकबरे खोर्सानी र गोलभेँडाको अचार बढी मीठो लाग्छ । माछामासु पनि मनपर्छ ।
खानामा मन नपर्ने पहिला बन्दा थियो । बिहेगरेपछि म्याडमले पकाएर दिँदा एकदमै मीठो लाग्न थाल्यो । रेस्टुरेन्ट साथीभाइ आफन्तसँग जाने गरेको छु । रेस्टुरेन्टको चप्सी र कट्टी रोल, फ्रेन्चफ्राई जस्ता सामान्य खानेकुरा खान्छु । पकाउन पनि मनपर्छ । सबथोक पकाउन आउँछ ।
व्यायाम गर्छु
शारीरिक व्यायामका लागि प्रायः क्लब जान्छु । ताडीहरू गर्छु, फिजिकल गर्छु अनि स्किपिङ, स्विमिङ आदि गर्छु । बिहान कम्तीमा दुई घण्टा एक्सरसाइजमा बित्छ । घरमा प्रायः रियाज हुने गर्दछ । हारमुनियम बजाएर दैनिक आधा घण्टा जति रियाज गर्छु ।
पहिरन किन्ने म्याडम
पहिलेभन्दा अहिले मेरो पोसाक बदलिएको छ । आजकल प्रायः औपचारिक पोसाक मन पर्छन् । पहिले टिनएज टाइपको, क्याजुअल र इन्फर्मल टाइपको जिन्सपाइन्टहरू मनपर्थे । अब जिन्दगीमा औपचारिक नै हुन्छु होला । तर म अधिकांश सयम चाहिँ अनौपचारिक पोसाकमै हुन्छु ।
कुनै सभा, समारोह, सम्मेलनमा जाँदा चाहिँ दौरासुरुवाल, सुटपाइट लगायत प्रयोग गर्छु । पहिरन त्यसमा हामीले सचेत पनि हुनुपर्छ । राष्ट्रिय कलाकार भनिरहेका हुन्छन्, त्यो अनुसारका कार्यक्रममा जस्तो राष्ट्रपतिकोमा, प्रधानमन्त्रीकोमा, सचिवकोमा के लगाउने भन्ने थोरै सचेत भएर जाँदा राम्रो हुन्छ । मलाई पहिरनमा नीलो र सेतो कलर मनपर्छ । अधिकांश पोसाक तयारी नै किन्छु । ब्रान्ड रोजेर किन्ने भन्दा पनि साथीभाइको मायाप्रेम हुन्छ बढी चाहिँ । कतिपय साथीहरू बाहिर बस्नुहुन्छ, उहाँहरू नेपाल आउने क्रममा ल्याइदिनुहुन्छ । कोरोना नहुँदा वर्षमा म प्राय विदेश गइरहन्थेँ, उतै पनि किन्ने गर्थें । विवाह गरेपछि मेरा सबै पोसाक म्याडमले नै किन्ने गरेकी छन् ।
घुम्न मनपर्छ
ऐतिहासिक र पर्यटकीय ठाउँहरू घुम्न मनपर्छ । धार्मिक, पर्यटकीय र विकास निर्माणले भरिएका ठाउँहरू पनि मनपर्छ । घुम्दा दुई चार कुरा सिक्न सकियोस्, अरूलाई सुनाउन सकियोस् भन्ने लाग्छ ।
नेपालका म नपुगेका जिल्ला कुनै छैनन् होला । विभिन्न सांस्कृतिक कार्यक्रम र सुटिङका सिलसिलामा सधैँ जिल्ला पुगेको छु । जनवादी गीतहरूको कामका लागि जाँदा रुकुम, रोल्पा, कालिकोट लगायत दुर्गम दुर्गम पनि पुगियो ।विदेशका २०, २५ राष्ट्र घुमेँ होला । अब जान मन लागेको देश क्यानडा हो । त्यहाँको विकास र संस्कृतिको बारेमा अवलोकन गर्न मन छ । अर्काे कुरो त्यहाँ युवा राष्ट्रपति र धेरै नेपाली भएकाले पनि जान मन छ ।
अलि अलि फुर्सद
फुर्सद अलि अलि हुन्छ । आफन्तलाई चाहियो भने निकाल्न सकिन्छ नत्र केही न केहीमा चलिरहन्छ । आफन्त, परिवारका लागि समय निकाल्न सकिन्छ ।
पढ्न मन पर्दैन
पढ्न कम मनपर्छ । अध्ययनभन्दा म युट्युबहरूमा बढी हेर्छु । राजनीतिक घटनाक्रमहरू बारे अध्ययन गर्न रुचाउँछु । दुःख, वेदना र देशप्रेमले भरिएका यथार्थ कहानीहरू पढ्छु ।
छैन रुचि
खेलकुदमा सामान्य रुचि छ । पहिले भलिबल खेलाडी थिए । जिल्ला स्तरीय लगायतमा राम्रै लेबलमा खेल्थेँ । अन्तरविद्यालय प्रतियोगितामा धेरै खेल्थेँ । अहिले फुटबल, भलिबल, क्रिकेट, कुस्ती आदि हेर्छु ।
१३ को लट
मोबाइल एउटा तर आइफोन प्रयोग गर्छु । अहिले १३ को लट चलिरहेको छ । मोबाइल नयाँ फेर्न मन लाग्छ । तर धेरै साथीहरूबाटै उपहार आउँछ । धेरै मोबाइल प्रयोग गरेको छु ।
टीभी, फिल्म
टीभी हेर्छु । टीभीमा बढी हेर्ने भनेको न्युज नै हो । अनि गीत सङ्गीत र मनोरञ्जन कार्यक्रम हेरेर समय बित्छ ।
फिल्म पनि अधिकांश हेर्छु । तर पुष्पा भन्ने हेर्न पाइएन । त्यो समयमा म सुटिङमा थिएँ, परिवारले चाहिँ हेरे । फिल्म प्रायः हलमै गएर हेर्छु । प्रेमकथा, एक्सन र अलिकति सेन्टिमेन्ट, राष्ट्रियता भएका फिल्म मनपर्छ । हिन्दी, नेपाली, अङ्ग्रेजी, कोरियन सबै खालका फिल्म मनपर्छ ।
धुजा परेको जिन्दगी
मेरो जीवन, पेसा र रुचि जे भने पनि सङ्गीत हो । सानैदेखि म रेडियोमा बजेका गीत सुनेर आफ्नो पारमा ढालेर गाउँथे । २०४२ तिर हाम्रो परिवारले सिन्धुपाल्चोकबाट आफ्नो बसाइ हेटौँडा सा¥यो । त्यो समय म होटौँडाका स्कुल, कलेज र क्लबमा गाउँन थाले ।
औपचारिक सङ्गीतको यात्रा सुरु भएको २०५१ मा ललितकला क्याम्पस भोटाहिटीमा सङ्गीत पढ्न थालेपछि हो । म गायक हुन्छु, गीत गाउँछु भनेर काठमाडौँ छिरेका थिए । तर मलाई गायक बन्न यहाँको बजारले दिएन । यहाँ गायका लागि धेरै सङ्घर्ष रहेछ । सङ्गीतकार थोरै भएकाले सङ्गीतको भ्यालु थियो । अर्काे कुरो त्यो समय गीत गाउन सङ्गीतकारको चाकडी गर्नुपथ्र्याे । अरूको चाकडी गर्नुभन्दा सङ्गीतकार बन्छु भनेर सङ्गीत रोजे ।
मेरो पहिलो सङ्गीत टेलिफिल्म ‘झिल्के कान्छा’मा थियो । योभन्दा अगाडि एक भजन गरेको थिए । फिल्मको सङ्गीत यात्रा भने ‘चट्याङ’को ‘नतान नतान मेरो चुल्ठी नतान’ गीतबाट सुरु भयो । आधुनिकमा अञ्जु पन्तको ‘मैले हार्दा तिमी नै जित्छौँ भने’ र रामकृष्णको ‘धुजा परेको जिन्दगी र मुजा परेको मन’ हो ।
अहिलेसम्म मेरो आधुनिक गीत करिब एक सय हाराहारी होला । फिल्म भने ६० भन्दा बढीमा सङ्गीत भरेको छु । गीतको सङ्ख्यै भन्ने हो भने ४-५ सय नाघ्यो कि । लोक, आधुनिक, भजन, पप लगायत सबै प्रकारका गीतमा सङ्गीत गरेको छु । अहिलेसम्म नाटकमा सङ्गीत दिएको छैन । स्वदेशका अनगन्ती साङ्गीतिक कार्यक्रममा भने सहभागी भएको छु । विदेशका भने ५०-६० भयो कि ।
पछिल्लो समय म सामाजिक गीतसङ्गीतमा रमाउन थालेको छु । ‘देशमा एउटा बुद्ध पठाइदेऊ’, ‘सिमानामा हाम्रो माटो मिच्न नखोज’ जस्ता राष्ट्रप्रेम गीत ल्याइरहेको छु ।
गीतसङ्गीतमा हामी बौद्धिक सम्पती, रोयल्टी, प्रतिलिपि अधिकारको कुरा गरिरहेका छौँ । हामीले बुद्धि भएको गीत निकाल्यौँ कि निकालेनौँ चिन्ता यसमै छ ।
अहिले बौद्धिक गीतसङ्गीतको खडेरी हुन थाल्यो । मानिस छेडिकमा रमाउन थाले । मेरा गीतहरूमध्य ‘मागेर पाउने भए म, तिम्रै लागि खुसी माग्थे’ले धेरै घायल प्रेमीलाई आत्महत्याबाट बचाएको छ । यो मैले भनेको होइन, अरूले भनेका हुन् ।
सपना सङ्गीतको हब
सङ्गीतमा रहेको जीवनमा अन्य केही काम गरिनँ । त्यसैले कतै सांस्कृतिक ग्राम, नगर र क्षेत्र बनाएर राष्ट्रिय गौरवको एउटा सङ्गीत हब बनाउने सपना छ । जसभित्र नेपालका सबै गीतसङ्गीत र संस्कृतिका पाटो समेटिएको होस् । यो छिर्ने मानिसले नेपालको कलासंस्कृतिमा पिएचडी गरेको अनुभव सँगाल्न सकोस् ।
विवाहपछि प्रेम
२०६० मा मैलै मागी विवाह गरेको हो । बुबाले खोजेकाले विवाहपछि उनीसँगै प्रेम बस्यो । त्यो समय सङ्गीतमा लाग्नेको जीवनस्तर राम्रो थिएन । कसरी जीवन अगाडि बढाउने चिन्ता हुन्थ्यो । त्यसैले बाहिर प्रेम गर्ने, डेटिङ जाने गरिएन ।
म्याडम अहिले नेपाल सरकारको अधिकृत छिन् । विवाहपछि मलाई मन पराउँछु भन्ने, प्रेम गर्ने थिए । तर म त्यता लागिनँ ।
सङ्गीतमा दुःखैदुःख
सङ्गीतमा दुःखैदुःख छ । हरेक पल चुनौती छ । आफैँले पनि एकपछि अर्काे सङ्गीत गर्दा नयाँ दिनुपर्यो । नयाँ नयाँ आउनेसँग पनि प्रतिस्पर्धा गर्दै जानुपर्यो ।आफू कतै जाँदा आफ्नो गीत बजेको सुन्दा खुसी र आनन्द लाग्छ । धेरैले मेरो गीतले रुवाएको बताएका छन् । मेरो विचारमा एउटा सङ्गीतकारले आफैँलाई चित्त बुझ्दो गीत कहिल्यै गर्न सक्दैन ।
खराब बानी
म अरूलाई छिट्टै विश्वास गर्छु । उनीहरूसँग मनखोल्न, कुरा खोल्न समय लाग्दैन । त्यसले धोका पनि धेरै मिल्ने गरेको छ । मेरो सरलताको मानिसले फाइदा उठाउँदो रहेछ ।
अल्छी रोग
पहिले एकदमै अल्छी थिएँ । पहिले सपना केही थिएन । ढिलासम्म सुत्ने रोग थियो । अहिले सपना धेरै छ । त्यसले सुत्न दिँदैन । भगवान्को कृपाले अहिलेसम्म शरीरमा कही रोग छैन ।
हल्का मापसे
मापसे गर्छु । पहिले एक फुल लिन्थेँ । अहिले एक क्वाटरमा झरेको छु । धेरै मनपर्ने शुद्ध कोदोले रक्सी हो । गाउँतिर पुगेको समय आफैँ पनि ल्याउँछु । साथीभाइले पनि ल्याउँछन् । त्योबाहेक सिंगलमार्ट नै प्रयोग गर्छु ।
राशि ‘मेष’
मेरो राशि ‘मेष’ हो । वास्तु पत्याउँछु, ग्रहदशामा विश्वास छ । हेराउने जुराउने भने गर्दिनँ । पूजापाठ गर्दिनँ । मन्दिर घुम्न र हेर्न हिसाबले जान्छु । मेरो बुझाइमा शिव भनेको एक समयको खतरनाक डन हुन् । तिनले विष्णु, ब्रह्मालाई समेत तनाव दिएर राखेका थिए । उनीसँग नसकिने भएर सबैले महादेव मान दिएर थन्क्याएर राखेको जस्तो लाग्छ ।
मृत्यु सत्य
मृत्यु प्रकृतिको नियम हो । उमेर नपुगी कोही मर्न नपरोस् भन्ने मेरो विचार हो । जहिले र जसरी आए पनि यो हामीले स्वीकार्नैपर्छ । किनभने कसैले टार्न सक्दैन । गीतसङ्गीतले मृत्युपछि पनि बचाउने काम गर्छ । मृत्यु सुटिङ स्पटमै अभिनय गर्दागर्दै होस् भन्ने चाहना छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति भयो १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम ?
-
मस्कले बढाए एक्स प्रिमियको सब्सक्रिप्शन शुल्क
-
गाभिने भए होन्डा–निशान
-
आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
-
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल