शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो

आन्तरिक द्वन्द्वका कारण काँग्रेस समस्यामा
शुक्रबार, ०९ वैशाख २०७९, १० : ३४
शुक्रबार, ०९ वैशाख २०७९

सुर्खेतमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएको अवस्थामा गठबन्धन घटकबीच भागबण्डामा समस्या देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनअनुसार सुर्खेतमा नेपाली काँग्रेस पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित छ तर अहिले काँग्रेसभित्रको गुटबन्दीका कारण भागबण्डाका लागि सकस भएको बताइएको छ ।

पाँच वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा काँग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने ५ वटा स्थानीय तहका उपप्रमुखमा जितेको थियो । दोस्रो शक्तिका रुपमा रहेको एमालेले लेकबेसी नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा मेयर÷अध्यक्ष र उपमेयर÷उपाध्यक्षमा जितेको छ । माओवादीले भने सुर्खेतका कुनै पनि स्थानीय तहको प्रमुख÷उपप्रमुखमा जित्न सकेको थिएन । वडा तहमा पनि माओवादी केन्द्रको झिनो प्रतिनिधित्व छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भने सुर्खेतमा चौथो शक्तिको रुपमा छ ।

एक्लै चुनावी मैदानमा जाँदा पनि पहिलो शक्ति बन्ने ल्याकत राख्ने काँग्रेसमा अहिले आन्तरिक द्वन्द्व चुलिएको छ । यहाँ काँग्रेसभित्र संस्थापन पक्षबाट पूर्णबहादुर खड्का र संस्थापन इतर पक्षबाट हृदयराम थानी पक्षबीच कडा प्रतिस्पर्धा हुने गर्दछ । केही दिन पहिले बसेको इतर पक्षको बैठकले पार्टीले उम्मेदवारी दिने स्थानीय तहमध्ये आफूलाई ४० प्रतिशत हिस्सा दिनुपर्ने माग गरेको छ । त्यसो नभएको खण्डमा चुनावमा साथ नदिने सो पक्षको चेतावनी छ । इतर पक्षले सुर्खेतमा गठबन्धन आवश्यक नरहेको निष्कर्षसमेत निकालेको छ ।

यही विषयलाई लिएर सुर्खेतमा काँग्रेस अनिर्णयको बन्दीजस्तै बनेको छ । यसअघि नै पालिकास्तरमा गठबन्धन बनाएर जाने सैद्धान्तिक सहमति भइसके पनि अहिलेसम्म गठबन्धनभित्र कुनै ठोस निर्णय हुन सकेको छैन ।

काँग्रेसले गठबन्धनभित्र भागबण्डाको टुङ्गो लगाउन नसक्दा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि उम्मेदवार छनोट गर्नेदेखि चुनावी गतिविधिमा जटिलता थपिएको ती पार्टीका नेताहरु बताउँछन् ।

काँग्रेसका सुर्खेत सभापति खड्गबहादुर पोखरेल गठबन्धनभित्र भागवण्डामा समस्या भएको बताउँछन् । संस्थापन इतर समूहका नेता एवं पूर्व सभापति कमलराज रेग्मी अहिलेसम्म संस्थापन पक्षले इतर पक्षलाई कुनै जानकारी नगराएको बताउँछन् ।

उनले रातोपाटीसँग भने, ‘हिजो हामीले जितेभन्दा बढाएर जाँदा हुन्छ भन्ने हो । गठबन्धन गर्ने–नगर्ने बारेमा हामीलाई थाहा छैन । काँग्रेसक एक्लै लड्दा उचित हुन्छ नै । गठबन्धन गरेर जाने–नजाने भन्ने उहाँहरु (संस्थापन पक्ष)को कुरा हो ।’

काँग्रेसको भर नभएपछि उम्मेदवार छनोटको तयारीमा माओवादी र समाजवादी

मनोनयन दर्ता गर्ने समय नजिकिँदा पनि काँग्रेसले आवश्यक निर्णय गर्न नसकेपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार छनोट प्रक्रिया सुरु गर्न थालेका छन् ।

माओवादी केन्द्रका सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) पालिकाहरुमा उम्मेदवार छनोट गर्ने कार्य अघि बढाएको बताउँछन् । उनले भने, ‘गठबन्धनभित्र छलफल भए पनि काँग्रेसले निर्णायक भूमिका खेल्न सकिरहेको छैन । गठबन्धन हुने–नहुने अन्योलजस्तै भएकाले उम्मेदवार छनोट गर्ने कार्यलाई अगाडि बढाएका छौं ।’

माओवादीले अहिलेसम्मम पञ्चपुरी, लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकामा उम्मेदवारको छनोट गरेको छ ।

एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवाल पनि बाँडफाँटमै समस्या भएको बताउँछन् । ‘हामीले त ०७४ सालमा जितेको ठाउँमै माग गरेको हो,’ उनले भने, ‘अहिलेसम्म ६ वटा बैठक बस्दा पनि भागबण्डाको टुंगो लागेन । त्यसैले हामी पनि उम्मेदवार छनोट गर्ने तयारीमा छौं ।’

पालिकालाई उम्मेदवार सिफारिस गर्न काँग्रेसको पत्र

मंगलबार एक सूचना जारी गर्दै काँग्रेस सभापति खड्गबहादुर पोखरेलले उम्मेदवारहरुको नाम सिफारिस गरेर जिल्लामा पठाउन पालिका कमिटीलाई निर्देशन दिएका छन् । तर गठबन्धन दलहरुबीच सिट बाँडफाँटका सम्बन्धमा निर्णय भएमा सिफारिस भएका उम्मेदवारहरुलाई पार्टीले फिर्ता बोलाउन सक्ने बताइएको छ । यस्तो खालको परिपत्रले नेता, कार्यकर्तामा भने अन्योल छाएको छ ।

काँग्रेसले विगतमा जितेका स्थानीय तह पनि अहिले भागबण्डाका क्रममा अन्य दललाई दिनुपर्ने अवस्था देखिएको छ । त्यसैले काँग्रेसले गठबन्धनबीच भागबण्डाका बारेमा निर्णय गर्न नसकेको नेताहरु बताउँछन् । काँग्रेस सुर्खेतमा सचिव देवकुमार सुवेदी ०७४ मा काँग्रेसले जितेको ठाउँमा माओवादीलाई दिइहाल्ने, सबै आधा–आधा भागबण्डा गर्ने भन्ने कुरा गठबन्धनमा नहुने बताउँछन् । ‘गठबन्धनको संरचना नै विगतको चुनावको मतपरिणाम हो,’ उनले भने, ‘विगतको भन्दा काँग्रेस घटेर जाने भन्ने कुरा हुँदैन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप