शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलसँग ‘गठबन्धन’ !

सोमबार, ०५ वैशाख २०७९, ०९ : १७
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।

पछिल्लो अवस्था हेर्दा सङ्ख्याका हिसाबले एमालेको चुनावी गठबन्धन र तालमेल पाँच दलको भन्दा ठुलो हुने देखिएको छ । एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दलसँग तालमेल गर्ने सहमति गरिसकेको छ भने महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीदेखि काँग्रेसको असन्तुष्ट (गोविन्दराज जोशी) समूहसँग चुनावी तालमेल गर्ने निश्चित जस्तै रहेको एमाले नेताहरूको भनाइ छ ।

कमल थापाको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलसँग त एमालेले केन्द्रीयस्तरमै सहमति गरेको सार्वजनिक भैसकेको छ । राप्रपा र परिवार दलले सूर्य चिह्नबाटै चुनाव लड्ने गरी सहमति गरेको एमालेले विप्लव समूहलाई पनि सूर्य चिन्ह दिएर तालमेल गर्ने तयारी छ । गत मंगलबारमात्रै एमाले ललितपुरले गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले विप्लव समूहलाई सूर्य चिह्नबाट चुनाव लड्न सार्वजनिक ‘अफर’ गरिसकेका छन् ।

‘तपाईंहरूका कार्यकर्ताहरूले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै रहन्छ । कार्यकर्ता तपाईंकै रहन्छन्, तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग’, ओलीले विप्लव नेतृत्वको नेकपालाई थप भनेका थिए, ‘जित्ने तरिका त यो हो नि !’

यद्यपि एमालेले उनीहरूसँग कहाँ कहाँ चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भैसकेको छैन । खासगरी साना दलहरूको राम्रो उपस्थिति रहेका स्थानीय तहमा एमालेले उनीहरूका उम्मेदवारलाई सघाउने छ भने कम उपस्थिति रहेका स्थानमा ती दलका नेता कार्यकर्ताले एमाले उम्मेदवारलाई सघाउने र चुनाव जित्ने रणनीति छ । 

एमालेले कुन पार्टीसँग कहाँ कहाँ गर्दैछ तालमेल ?

एमालेले चुनावी तालमेलका लागि सहमति गरेका र आगामी दिनमा सहमति गर्ने तयारीमा रहेका दल तथा समूहहरू पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलको तुलनामा ससाना रहेका छन् । खासगरी प्रदेश, जिल्ला र पलिकास्तरमा सीमित दल तथा समूहहरूसँग एमालेले चुनावी तालमेल,सहयात्रा र सहकार्य गर्ने देखिएको छ । जस्तो कि कमल थापाको राप्रपा नेपालसँग मकवानपुर, चितवन, कास्की, महोत्तरी, पर्सा लगायतका जिल्लाका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न जिल्लास्तरमा गृहकार्य नै सुरु भैसकेको छ ।

राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले राप्रपा नेपालको प्रभाव भएका स्थानमा एमालेले सघाउने र एमालेको राम्रो भएका स्थानमा राप्रपा नेपालले सघाउने गरी सहमति भएको बताए ।

​‘हाम्रो टार्गेट सबै ठाउँमा तालमेल गर्ने भन्ने हो । त्यो गृहकार्य पनि भइरहेको छ’, आचार्यले रातोपाटीसँग भने,‘ त्यसमा पनि हाम्रो विशेष प्रभाव भएको क्षेत्र र पहिलाको चुनावमा राप्रपाले जितेका स्थानमा तालमेलको बढी सम्भावना छ ।’

उनले चितवन, मकवानपुर,कास्की,महोत्तरीमा साझा उम्मेदवारको खोजी सुरु भइसकेको र अन्य जिल्लामा पनि जिल्लास्तरमा छलफल जारी रहेको सूचना प्राप्त भएको भन्दै एक दुई दिनभित्रमा सबैतिरको टुङ्गिने बताए ।

पाँच दल त के दश दलले नै गठबन्धन गरेर आए पनि एक्लै चुनाव लडेर जित्ने दाबी गर्दै आएको एमालेले पछिल्ला दिनमा तालमेलका लागि अघि सारेका दल हेर्दा उसको तालमेल र गठबन्धनप्रति कतिपयले अनौठो तालमेलका रूपमा लिएका छन् ।

त्यस्तै अर्को दल महन्त ठाकुर नेतृत्वको लोसपासँग पनि मधेस प्रदेशका केही जिल्लामा एमालेले चुनावी तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि एमाले र लोसपा नेताहरूबीच विभिन्न चरणमा छलफल भैरहेको भए पनि नेताहरूले त्यसलाई गोप्य राखेका छन् ।

लोसपाका नेता लक्ष्मणलाल कर्णले एमालेलगायत अन्य दलसँग पनि स्थानीयस्तरमा चुनावी तालमेल हुनसक्ने बताए । तर उनले अहिलेसम्म कुनै पनि स्थानमा तालमेल भैनसकेको बताए । ‘हामीले स्थानीय तहमै त्यसको जिम्मा दिएका छौ । मेरो जानकारीमा अहिलेसम्म त्यस्तो सहमति भएको जानकारीमा छैन’, कर्णको भनाई छ ।

लोसपाको कार्यकारिणी समितिको बैठकले पनि स्थानीय तहमै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो । लोसपाको प्रभाव क्षेत्र मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला मानिन्छन् । सोही अनुसार एमाले र लोसपाबीचमा गठबन्धन गर्ने भित्री तयारी रहेको नेताहरूको भनाइ छ ।

लोसपाले एमालेसँग गठबन्धन गर्ने औपचारिक घोषणा गर्न चाहेको छैन । यद्यपि आन्तरिक रूपमा ती दलको बीचमा गृहकार्य चलिरहेको स्रोतको दाबी छ । तर जसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका पार्टी अध्यक्ष जितेन्द्र सोनलले पनि एमाले वा अन्य कुनै दलसँग गठबन्धन गर्ने नगर्ने निर्णय भैनसकेको बताए । यद्यपि स्थानीय स्तरमा आवश्यकताको आधारमा कुनै पनि दलसँग गठबन्धन हुन सक्ने सोनलको भनाइ छ ।

‘लोसपाले तालमेलको जिम्मेवारी स्थानीय तहलाई नै दिइएको छ, हेरौँ कुन कुन दलसँग कस्तो गठबन्धन हुन्छ’, सोनलले रातोपाटीसँग भने, ‘औपचारिक रुपमै गठबन्धन बनाएका दलहरूको बीचमा कुरा मिलिरहेको छैन भने तल अरू दलहरूको बीचमा कसरी कुरा मिल्छ तैपनि लोसपाले आवश्यकता र औचित्यका आधारमा चुनावी गठबन्धन गर्छ ।’

उता नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एमालेले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका केही जिल्ला रोल्पा,प्युठान कालिकोट, रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा तालमेल गर्ने तयारी भएको विप्लव समूहका केन्द्रीय सदस्य ओम पुनको भनाइ छ । ‘हाम्रो चुनावी तालमेल एमालेसँग नै हुन्छ । त्यसबारे छलफल चलिरहेको छ’, पुनको भनाइ छ ।

एमालेले तनहुँमा काँग्रेससँग असन्तुष्ट रहेका पूर्व मन्त्री गोविन्दराज जोशीको समूहसँग तालमेल गर्ने सहमति नै गरिसकेको छ । एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जोशी समूहसँग जिल्लामा तालमेल गर्ने निश्चित भएको बताए । ‘तालमेल गर्ने निश्चित हो, तर केही प्राविधिक कुरामा छलफल भइरहेको छ’, श्रेष्ठको भनाइ छ । उता सिके राउत नेतृत्वको जनमत पार्टी र एमालेबीच मधेस प्रदेशका केही स्थानमा तालमेल हुने एमाले नेताहरूको भनाइ छ । धनुषालगायत मधेसका केही जिल्लामा राउत नेतृत्वको पार्टीको प्रभाव रहेको बताइन्छ ।

उता कर्णालीका केही जिल्लामा एमालेले नारायणमान बिजुक्छे नेतृत्वको पार्टी नेमकिपासँग तालमेल गर्ने सम्भावना रहेको प्रदेशस्तरका नेताहरूको भनाइ छ । नेमकिपाका नेता तथा सांसद प्रेम सुवालले चुनावी तालमेलका लागि धेरै पार्टीहरूले प्रस्ताव गरे पनि नेमकिपाले अहिलेसम्म कसैसँग पनि तालमेल गर्ने निर्णय गरिनसकेको बताए । ‘प्रस्ताव गर्नेहरूलाई हामीले एमसीसीको विरोध गर अनि तालमेल गर्छौ भनेका छौ र तालमेल गर्दा पनि एमसीसीको विरोध गर्नेहरूसँग मात्रै गर्छौ’, सुवालले भने, ‘कतै कुनै दल र कतै कुनै दलले प्रस्ताव गरेका छन् तर हामी एमसीसी समर्थन गर्नेहरुसँग तालमेल गर्दैनौ ।’ एमालेले यो बाहेक हृदयेश त्रिपाठीको जनता प्रगतिशिल पार्टी नेपालसँग पनि लुम्बिनीका केही स्थानमा तालमेल गर्ने सम्भावना रहेको लुम्बिनी प्रदेशका एमाले नेताहरूको भनाइ छ ।   

‘औचित्य र आवश्यकता हेरेर तालमेल’

नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले चुनावी तालमेल नगर्ने भनेर कहिल्यै नभनेको भन्दै स्थानीय आवश्यकता र औचित्यका आधारमा विभिन्न स्थानमा चुनावी तालमेल गर्न सकिने भन्दै सोही अनुसार तालमेलको तयारी भइरहेको बताए ।

‘हामीले चुनावी तालमेल नगर्ने भनेका होइनौँ, बरु विशिष्ट परिस्थितिमा तलतलै गर भनेका हौँ’, नेता गुरुङले अहिले नै तालमेलबारे डिस्क्लोज नगर्ने भन्दै ‘११, १२ गते उम्मेदवारी दर्ता गर्ने समय भएकाले त्यसबेला नै को कोसँग गर्ने भन्ने थाहा हुने’, बताए । सत्ता गठबन्धनमा कतिपय जिल्लामा सिट बाँडफाँटमा समस्या देखिएकाले ती स्थानमा समेत एमालेले त्यसको फाइदा उठाउँदै असन्तुष्ट पक्षलाई समेट्ने नीति अख्तियार गरेको छ । एमालेप्रतिको आकर्षण बढाउन र चुनावी परिणाम आफ्नो पक्षमा पार्न अध्यक्ष केपी ओली आफै देश दौडाहामा सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप