बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमल थापा फ्याक्टरले मकवानपुरमा एमालेलाई कति फाइदा ?

सत्तारुढ गठबन्धन भर्सेस एमाले–राप्रपा नेपाल मोर्चाको यस्तो छ हिसाब किताब
आइतबार, ०४ वैशाख २०७९, १० : २३
आइतबार, ०४ वैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मकवानपुरमा सत्तारुढ गठबन्धनविरुद्ध नेकपा एमाले र राप्रपा नेपालले संयुक्त रुपमा प्रतिस्पर्धा गर्ने भएका छन् । मकवानपुरमा सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा जाने तयारी गरिरहेका बेला एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मिलेर चुनाव लड्ने निर्णय गरेको छ ।

मकवानपुरमा सबैभन्दा ठुलो दल हो एमाले । एमालेपछिको ठुलो दलका रुपमा नेपाली काँग्रेस र माओवादी केन्द्र छन् । कमल थापाले पार्टी विभाजन नगराउँदासम्म मकवानपुरमा राप्रपा चौथो स्थानमा थियो । मकवानपुर कमल थापाको गृह जिल्ला पनि हो । मकवानपुरको राजनीतिमा थापाको केही हदसम्म प्रभाव कायमै छ । हाल कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन् । उनले राप्रपा नेपाल ब्युँताएसँगै मकवानपुरका अधिकांश राप्रपाका कार्यकर्ता थापासँगै लागेका छन् ।

मकवानपुर नेकपा एमालेको गढ पनि मानिन्छ । मकवानपुरको सबै स्थानीय तहमा एमालेको बलियो उपस्थिति छ । विगतको निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहमा एमाले आफ्नो उपस्थिति बलियो बनाएको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामध्ये बहुमत पालिकामा एमालेले जितेको थियो । एमालेले ६ वटा स्थानीय तहको प्रमुख पदमा जित हात पारेको थियो । सो निर्वाचनमा एमाले मकवानपुरको ८ स्थानीय तहमा उपप्रमुख पद पनि जितेको थियो ।

एमालेले २०७४ मा मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा जित निकालेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो ।

एमालेले ६ वटा स्थानीय तहमा जित्दा नेपाली काँग्रेस र माओवादी केन्द्रले २/२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए । काँग्रेसले राक्सिराङ गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो ।

त्यस्तै माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा प्रमुख पद जितेको थियो । त्यसो त हेटौँडा उपमहानपरपालिका र थाहा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा आवद्ध भएर निर्वाचन लडेका थिए ।

मकवानपुरको हेटौँडाबाहेक अन्य स्थानीय तहमा जसपा र जनमोर्चाको उपस्थिति देखिँदैन । नेकपा एकीकृत समाजवादीका नेता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको गृह जिल्ला भए पनि यहाँका केही स्थानीय तहमा सो पार्टीको खासै मत देखिँदैन । १० वटा पालिकामा एकीकृत समाजवादीले एमालेको सरदर ६ हजार मत काट्न सक्छ ।

यता, एमालेसँग तालमेलको निर्णय गरेको राप्रपा नेपालसँग जिल्लाभर सरदर ५ हजारको हाराहारीमा राप्रपाको मत काट्ने अवस्था छ । विभाजित एमालेलाई हारबाट जोगाउन सो मतले थोरबहुत काम गर्न सक्छ ।

हेटौँडासहित केही गाउँपालिकामा अझै एमाले बलियो अवस्थामा रहे पनि गठबन्धनबाट एमालेलाई निकै चुनौती हुने देखिएको छ ।

यस्तो छ हिसाब किताबः

बागमती गाउँपालिका

२०७४ मा बागमती गाउँपालिकामा एमालेका राजकुमार तिमल्सिना (३ हजार ८६ मत) लाई हराउँदै माओवादी केन्द्रका सर्केश घलान (३ हजार २२१ मत)ले चुनाव जिते भने काँग्रेसका चोकबहादुर ठाँडा मगर (३ हजार ३७ मत) र राप्रपाका दिलबहादुर बल (१ हजार ३४२ मत) क्रमशः तेस्रो र चौथो भए ।

यो गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी धनमाया स्याङ्तान ३ हजार १४४ मतसहित निर्वाचित हुँदा माओवादी केन्द्रकी बच्चु गोले (खड्का)ले ३ हजार ४० मत, काँग्रेसकी सुमित्रा राईले ३ हजार २० मत र राप्रपाकी उमा कुमारी मोक्तानले १ हजार ३५१ मत) हासिल गरे ।

यो पालिकामा सत्तारुढ गठबन्धनका दल जसपा र जनमोर्चाको उपस्थिति नभए पनि सत्ता गठबन्धन बलियो हुने देखिन्छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनको एकीकृत समाजवादी पार्टीले एमालेको १ हजार मतमात्र काटेको खण्डमा गठबन्धनको मत ७ हजारको हाराहारीमा पुग्छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको निर्वाचन क्षेत्र रहेको यो पालिकामा एमाले उल्लेख्य साथ मिल्ने अवस्था छैन । राप्रपा नेपालले यहाँ एमालेलाई एकीकृत समाजवादीले काटेको मतको मात्र सोधभर्ना गर्नेछ । तर पनि गठबन्धनलाई जित्न सकस पर्ने देखिन्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा ११ हजार १९० पुरुष र १० हजार ८५० महिला गरी कुल २२ हजार ४० जना मतदाताका लागि १६ मतदान स्थलमा २९ वटा केन्द्र तोकिएको छ ।

बकैया गाउँपालिका

बकैया गाउँपालिकामा भने एमालेको दबदबा चिर्दै काँग्रेसका दामोदार खनालले ४ हजार ५४४ मतसहित  निर्वाचित भए । एमालेका दलबहादुर वाइवाले ४ हजार ४७२, माओवादी केन्द्रका भक्त बहादुर खत्रीले ३ हजार १९९ र राप्रपाकी लक्ष्मी जिम्बाले १ हजार ६६३ मत हासिल गरेका थिए ।

पालिका उपप्रमुखमा भने एमालेकी सरला बोलखेले ४ हजार ६६३, काँग्रेसकी कमला कुमारी वाइवाले ४ हजार ४७२,  माओवादी केन्द्रकी लक्ष्मी गोलेले ३ हजार ६१ र राप्रपाका धुव्रनारायण घिमिरेले १ हजार ६५७ मत ल्याएका थिए ।

यो पालिकामा २०७४ को मत परिणाम हेर्दा गठबन्धनले नै बाजी मार्ने देखिन्छ । गठबन्धनका दल जसपा र जनमोर्चाको प्रभाव यस पालिकामा शून्य देखिन्छ । यो पालिकामा एमाले विभाजनको असर खासै देखिँदैन । यद्यपि एकीकृत समाजवादीले एमालेको ५०० मत मात्र काट्ने र अन्य स्वतन्त्र मत पनि संकलन गरेको दाबी गर्दै आएको छ । त्यसो हुँदा गठबन्धनको मत ७ हजार ५०० भन्दा बढी हुन्छ ।

यो पालिकामा राप्रपा नेपालको अवस्था कमजोर छ । राप्रपाबाट पालिका अध्यक्ष पदमा गत निर्वाचनमा उम्मेदवार रहेकी जिम्बा नै काँग्रेसमा प्रवेश गरेकी छन् । उनले राप्रपाको न्यूनतम पनि ५०० मत काट्ने अनुमान गरिएको छ । जसले गर्दा गठबन्धनलाई थप ५०० मत थप हुन्छ र गठबन्धनको मत ८ हजार पुग्छ । यहाँ पनि एमालेलाई समस्या देखिन्छ ।

आगामी निर्वाचनको लागि यस पालिकामा १५ हजार ५९३ पुरुष र १४ हजार ३४८ महिला गरी कुल २९ हजार ९४३ जना मतदाताका लागि १७ मतदानस्थलमा ३५ वटा केन्द्र तोकिएको छ ।

मकवानपुरगढी गाउँपालिका

२०७४ सालको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा एमालेका विदुर हुमागाईले ३ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए । यस्तै, काँग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ मत, माओवादी केन्द्रका भीम पाख्रिनले १ हजार ६३३ मत र राप्रपाका खिलप्रसाल चौलागाईले ९५० मत ल्याएका थिए ।

पालिका उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले ३ हजार ७१७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी मन्दिरा केसीले ३ हजार ७०७, माओवादी केन्द्रकी राधिका तिमल्सिनाले १ हजार ५९९ मत र राप्रपाकी हिरादेवी हुमागाईले ८९८ मत ल्याएका थिए । 

यो पालिकामा पनि गठबन्धन कै पक्षमा नतिजा प्राप्त हुने देखिन्छ । यो पालिकामा एकीकृत समाजवादीले एमालेको ५०० मत काटेर काट्ने देखिन्छ । जसपा र जनमोर्चाको प्रतिनिधित्व नभए पनि आगामी निर्वाचनमा यो पालिकामा सत्ता गठबन्धनले करिव ६ हजारको हाराहारीमा मत पाउने देखिन्छ ।

यता राप्रपा नेपाललेसँगको गठबन्धनले एमालेलाई विभाजनको असरबाट मात्र जोगाउन सक्छ । एमालेले चुनाव जित्नका लागि थप एक हजारको मत ल्याउनुपर्ने हुन्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा ९ हजार ८९९ पुरुष र ९ हजार २१९ महिला गरी कुल १९ हजार ११८ जना मतदाताका लागि १२ मतदान स्थालमा २३ वटा केन्द्र तोकिएको छ ।

भीमफेदी गाउँपालिका

२०७४ मा भीमफेदी गाउँपालिकामा एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदासमेत पालिका अध्यक्ष एमालेका हिदम लामाले ३ हजार ८४२ मतसहित निर्वाचित भए । गठबन्धनबाट माओवादी केन्द्रका रञ्जित कुमारले ३ हजार ६९८ मत र राप्रपाका शिवराम थापाले ९१७ मत हासिल गरेका थिए ।

पालिका उपाध्यक्षमा एमालेकी पार्वती रानाले ३ हजार ८०२ मत ल्याउँदा गठबन्धनका काँग्रेस उम्मेदवार मोमलामा दोङले ३ हजार ४३५ र राप्रपाकी सानुमाया भुलुन ८४३ मत हासिल गरेका थिए ।

यस गाउँपालिकामा पनि जसपा र जनमोर्चाको उपस्थिति कमजोर देखिन्छ । अघिल्लो निर्वाचनको मतपरिणाम हेर्दा यहाँ गठबन्धनले जित्ने अवस्था देखिँदैन । यस पालिकामा एमालेले पुरानै उम्मेदवारलाई दोहो¥याउने निर्णय गरेपछि गठबन्धनलाई थप समस्या देखिएको छ । यो पालिकामा एकीकृत समाजवादीले एमालेको धेरै मत काट्ने अवस्था देखिँदैन ।

यहाँ एमालेलाई राप्रपा नेपालबाट धेरै ठुलो सहयोग प्राप्त हुने अवस्था छैन । राप्रपाका जिल्ला अध्यक्ष शिवराम थापा नै अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

आगामी निर्वाचनका लागि यस पालिकामा ८ हजार ९३५ पुरुष र ८ हजार ४९३ महिला गरी कुल १७ हजार ४२८ जना मतदाताका लागि १४ मतदान स्थालमा २३ वटा केन्द्र तोकिएको छ ।

इन्द्रसरोबर गाउँपालिका

२०७४ को निर्वाचनमा इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा एमालेका जीवन लामाले ३ हजार २०४ मत ल्याएर जित हासिल गरेका थिए । यस्तै, काँग्रेसका विश्वलाल लामाले २ हजार ७७३, राप्रपाका देव कुमार लामाले ९४६ र माओवादी केन्द्रका विक्रम सिं मोक्तानले ४९२ मत ल्याएका थिए ।

पालिका उपाध्यक्षमा एमालेकी उमा कुमारी लामाले ३ हजार १ मत ल्याएर जित हासिल गर्दा काँग्रेसकी लक्ष्मी डंगोलले २ हजार ८१, राप्रपाकी निर्मला रुम्बाले १ हजार ८० र माओवादी केन्द्रकी चुनमाया भ्लोनले ५३२ मत ल्याएका थिए ।

एमालेबाट जितेका पालिका अध्यक्ष लामा हाल एकीकृत समाजवादीमा आवद्ध छन् । एकीकृत समाजवादीले एमालेको एक हजार मत काटेमा पनि गठबन्धनले जित्ने अवस्था कम देखिन्छ । यहाँ राप्रपा नेपालले एमालेलाई करिव एक हजार हाराहारीमै मत दिने दाबी छ । जसले गर्दा एमालेलाई चुनाव जित्न थप मद्दत मिल्ने देखिन्छ ।

राप्रपा नेपालको एक हजार मत प्राप्त गर्दा एमालेको ४ हजारभन्दा बढी मत पुग्छ । यता गठबन्धनका सबै दलको मत करिव ३ हजार ५०० मात्र छ । त्यहाँ एमालेले ५०० देखि ७०० मतान्तरले चुनाव जित्नसक्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा ६ हजार ४६५ पुरुष र ६ हजार ६ महिला गरी कुल १२ हजार ४७१ जना मतदाताका लागि ११ मतदान स्थलमा १८ वटा केन्द्र तोकिएको छ ।

कैलाश गाउँपालिका

२०७४ को निर्वाचनमा कैलाश गाउँपालिकाको अध्यक्षमा एमालेका टंक बहादुर मोक्तानले २ हजार ८०२ मतसहित जित हासिल गर्दा काँग्रेसका लोकबहादुर मोक्तानले २ हजार ३५९ मत, माओवादी केन्द्रका नरेन्द्रलाल रिजालले २ हजार ३३५ मत ल्याए ।

पालिका उपाध्यक्षमा २ हजार ८०० मतका साथ एमालेकी सुकुमाया थिङले काँग्रेसकी मिरा स्याङ्तान (२ हजार ४२५ मत), माओवादी केन्द्रकी विन्दु तितुङ (२ हजार २९५ मत) र राप्रपाकी शान्ति थिङ (४१९ मत) लाई पराजित गरिन् ।

अध्यक्ष मोक्तान अहिले एकीकृत समाजवादीमा आवद्ध छन् । उनी भ्रष्टाचारको आरोपमा निलम्बनमा पनि परेका छन् । यद्यपि उनीमाथिको लगाइएको आरोपसहितको मुद्दाको किनार भने लागिसकेको छैन ।

आगामी निर्वाचनमा एकीकृत समाजवादीले एमालेको न्यूनतम ५०० मत काटेको खण्डमा गठबन्धनको करिव ५ हजार हाराहारीमा मत आउने देखिन्छ । यहाँ राप्रपा नेपालले एमालेलाई उल्लेख्य मत दिने अवस्था छैन । जसले गर्दा यो पालिकामा एमालेलाई चुनाव जित्न समस्या देखिन्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा ७ हजार ९९२ पुरुष र ६ हजार ५९४ महिला गरी कुल १४ हजार ५८६ जना मतदाताका लागि १६ मतदान स्थालमा २० वटा केन्द्र तोकिएको छ ।

राक्सिराङ गाउँपालिका

मकवानपुरको विकट गाउँपालिका राक्सिराङमा अध्यक्षमा काँग्रेसका राजकुमार मल्लले ३ हजार ५३९ मत ल्याएर जित हासिल गर्दा एमालेका लालबहादुर थापा मगरले २ हजार ९४४ मत र माओवादी केन्द्रका युसाई प्रजाले २ हजार ६५ मत हासिल गरेका थिए ।

पालिका उपाध्यक्षमा काँग्रेसकी निर्मला हिम्डुङले ३ हजार ५३५ मत सहित एमालेकी सुन्तलिमाया प्रजा (२ हजार ९५० मत) र माओवादी केन्द्रकी पूर्णिमा दोङ (१ हजार ९३० मत) लाई पराजित गरिन् ।

यस पालिकामा पनि अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार एमाले निकै पछि पर्ने देखिन्छ । यहाँ एकीकृत समाजवादीले एमालेको ५०० मत मात्र काटेको खण्डमा पनि एमाले २ हजारभन्दा बढी मतले पछि पर्ने दखिन्छ । यहाँ एमालेलाई राप्रपा नेपालको साथ हुने अवस्था छैन । विभाजन अघि यस पालिकामा राप्रपाका उम्मेदवारले १०० मत ल्याउन सकेका थिएनन् ।

आगामी निर्वाचनका लागि यस पालिकामा ८ हजार ७४७ पुरुष र ७ हजार ८५ महिला गरी कुल १५ हजार ८३२ जना मतदाताका लागि १९ मतदान स्थलमा २३ वटा केन्द्र तोकिएको छ ।

मनहरी गाउँपालिका

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका अध्यक्षमा एमालेका एकराज उप्रेतीले ४ हजार ६४९ मत ल्याएर जित हासिल गरेका थिए । यस्तै, काँग्रेसका शंकर न्यौपानेले ४ हजार ३४० मत, माओवादी केन्द्रका रामहरी सुवेदीले २ हजार ८४८ मत, राप्रपाका गोविन्द प्रसाद रिजालले ८१५ मत र नयाँ शक्तिका निखिल पौडेलले १७१ मत ल्याएका थिए ।

पालिका उपाध्यक्षमा पनि एमालेकी मनिला विष्टले ४ हजार ६३१ मत ल्याएर जित हासिल गर्दा काँग्रेसकी कमला कार्कीले ४ हजार १६७, माओवादी केन्द्रकी चन्द्रकला खनाल लामाले २ हजार ९७६, राप्रपाकी रामकुमारी न्यौपानेले ७४९ मत र नयाँ शक्ति पार्टीकी सानुमाया चेपाङले १४८ मत ल्याएका थिए ।

आगामी निर्वाचनमा एमालेलाई यस पालिकामा गठबन्धनसँग प्रतिस्पर्धा गर्न सहज छैन । यस पालिकाकी उपाध्यक्ष विष्ट हाल एकीकृत समाजवादीमा आवद्ध छिन् । यदि एकीकृत समाजवादीले एमालेको एक हजारमात्र मत काट्ने हो भने पनि एमाले करिव २ हजार ५०० मतले पछि पर्ने देखिन्छ ।

एमालेले राप्रपाको सबै मत पाए पनि जित्ने सम्भावना निकै कम छ । यहाँ राप्रपा नेपालले एमालेलाई ५०० मत दिएको खण्डमा गठबन्धनसँग एमालेको मतान्तर २ हजारको हाराहारीमा रहन्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा १३ हजार ७०९ पुरुष र १३ हजार १२ महिला गरी कुल २६ हजार ७२१ जना मतदाताका लागि ११ मतदान स्थालमा ३० वटा केन्द्र तोकिएको छ ।

थाहा नगरपालिका

मकवानपुरको थाहा नगरपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तलमेल हुँदा प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्टले ९ हजार ९१ मतसहित जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले ६ हजार ५४९ मत पाए भने राप्रपाका हरेराम कार्कीले ९५२ मत, नयाँ शक्तिकी निरु लामाले १३९ मत पाए ।

पालिका उपप्रमुखमा भने काँग्रेसका खड्ग गोपालीले ७ हजार ३०७ मतसहित जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना बलामीले ६ हजार ७४५ मत पाइन् भने राप्रपाकी राममाया लामा (छुमी)ले ८९७ मत र जनमोर्चाकी शोभा गोपालीले २३९ मत पाइन् ।

यहाँ गठबन्धनलाई जित्न एमालेलाई समस्या हुने देखिन्छ । यस पालिकामा एकीकृत समाजवादीले एमालेको एक हजार मतमात्र काटेको खण्डामा पनि गठबन्धनको मत १० हजार पुग्छ । यहाँ राप्रपा नेपालले एमालेलाई ५०० मत दिनसकेको खण्डमा पनि एमाले ३ हजार ५०० मतले पछि पर्ने देखिन्छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा १६ हजार ६९९ पुरुष, १५ हजार ६०७ महिला र एक तेस्रो लिङ्गी गरी कुल ३२ हजार ३०७ जना मतदाताका लागि २१ मतदान स्थालमा ४२ वटा केन्द्र तोकिएको छ ।

हेटौँडा उपमहानगरपालिका

बागमती प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकामा माओवादी केन्द्र र काँग्रेसको चुनावी तालमेल बीच पनि मेयर पदमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए । उनले गठबन्धनबाट नेपाली काँग्रेसका आनन्दराम पराजुली (२२ हजार ५०९ मत), राप्रपाका मधुकर प्रसाद अधिकारी (६ हजार ८५७ मत), संघीय समाजवादी फोरमका शुभरत्न गोले (१ हजार १०६ मत) लाई हराए ।

हेटौँडाको उपमेयरमा एमालेकी मीनाकुमार लामाले (२३ हजार ४३७ मत) माओवादी केन्द्रका बलराम बल (१७ हजार ११ मत), राप्रपाकी इन्दिरा न्यौपाने (७ हजार ७०२ मत) र नयाँ शक्तिकी खतिवडा भट्टराई (१ हजार १५३ मत)लाई हराइन् ।

उपमेयर लामा हाल एकीकृत समाजवादीमा आवद्ध छन् भने माओवादी केन्द्रका बल एमाले प्रवेश गरेका छन् । जसले गर्दा यहाँ अघिल्लो निर्वाचनको तुलनामा आसन्न निर्वाचनमा एमाले र माओवादीको मतमा फरक पर्ने देखिन्छ ।

यहाँ एकीकृत समाजवादीले एमालेको ३ हजार मत काटेको खण्डमा माओवादीबाट एमाले प्रवेश गरेका बलले ५०० मत सोधभर्ना गर्ने एमालेको हिसाव किताव छ । यता माओवादी केन्द्रबाट जितेका हेटौँडा १४ का वडा अध्यक्ष दिपक खड्का एमालेमा आएका छन् । जसले गर्दा एमालेलाई सो वडामा बढी मत प्राप्त हुने अनुमान गरिएको छ । खड्काले त्यहाँ करिव एक हजार मत एमालेको पोल्टामा पार्न सक्छन् ।

यता राप्रपा नेपालले पनि एमालेलाई आफ्नो तर्फबाट कम्तीमा ४ हजार मत दिन सक्छ । कमल थापाको गृह नगर भएकाले पनि यहाँ राप्रपाको ७ हजार हाराहारीको मतमध्ये आधाभन्दा बढी उनको पक्षमा रहेको देखिन्छ ।

हेटौँडामा एमाले र राप्रपा नेपाल मिल्दा गठबन्धनलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको सबै मत जोड्दा २५ हजार हाराहारीमा मत पुग्छ । उता राप्रपा नेपाल एमाले मिल्दा उनीहरुको मत २७ हजार हुन जान्छ ।

यहाँ गठबन्धनलाई चुनाव जित्न गठबन्धनले विगतको निर्वाचनमा मेयर पदमा बदर भएको ७ हजार भन्दा बढी मत जोगाउनु पर्ने हुन्छ । यो मत नै आगामी निर्वाचन जित्न गठबन्धनका लागि निर्णायक मत हुने निश्चित छ ।

आगामी निर्वाचनका लागि यस पालिकामा ५० हजार ७२५ पुरुष, ५३ हजार ७४५ महिला र ३ जना तेस्रो लिङ्गी गरी कुल १ लाख ४ हजार ४७३ जना मतदाताको लागि २८ मतदान स्थालमा ११३ वटा केन्द्र तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप