काठमाडौंमा कति छ माओवादी केन्द्रको शक्ति ?
काठमाडौं जिल्लामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले तेस्रो स्थानमा छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।
आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमध्ये शंकरापुर नगरपालिकामा एकल रुपमा जित्नेगरी लागिपरेको पार्टी केन्द्रीय सदस्य एवम् निवर्तमान जिल्ला अध्यक्ष हिमाल शर्माले बताए । ‘हामीले शंकरापुर नगरपालिकामा एकल रुपमा चुनाव जित्नेगरी संगठन राम्रो बनाएका छौं,’ रातोपाटीसँग शर्माले भने, ‘दक्षिणकाली, कीर्तिपुर, टोखा र तारकेश्वर नगरपालिकामा पनि चुनाव जित्नेगरी संगठन विस्तार भएको छ । अरु स्थानीय तहमा एकल रुपमा चुनाव जित्न सक्ने अवस्था छैन ।’ यदि गठबन्धन भएमा भने तालमेल भएका स्थानीय तह जितेर देखाइदिने शर्माको दाबी छ ।
तर, राजनीतिक विश्लेषक राजेन्द्र महर्जन काठमाडौका लागि माओवादीले कामै गर्न नसक्दा जनताबाट समर्थन पाउन नसकेको टिप्पणी गर्छन् । ‘माओवादीले जनताका लागि काठमाडौंमा जति काम गर्नुपर्ने हो, त्यति गर्नै सकेको छैन । त्यसैले माओवादी काठमाडौंमा कमजोर छ । अझै पनि माओवादीले स्वतन्त्र उम्मेदवारभन्दा कम मत ल्याउने खतरा छ,’ महर्जनले रातोपाटीसँग भने, ‘जनयुद्धमा उठाएका मुद्दाबाट फाईदा लिन सकिन्छ, त्यसैबाट ब्याज पाईन्छ भन्ने मुडका पछि लागेका छन् । अरु स्थानीय मुद्दामा प्रवेश गरेकै छैनन् ।’
काठमाडौंका स्थानीय मुद्दाहरु उठाएर, जति संघर्ष गरेर स्थापित गर्नुपर्ने हो, त्यसमा काम गर्न नसक्दा आमजनताले अपनत्व महशुस नगरेको महर्जनको विश्लेषण छ । ‘सबैभन्दा नराम्रो माओवादी नेतृत्वको सरकारले नेवारी परम्परामाथि हमला ग¥यो । काठमाडौंको जात्रामा राज्यले अनुदान दिने चलन थियो । त्यसलाई कटौती ग¥यो । अधिकांश मान्छे माओवादी हाम्रो संस्कृतिविरुद्ध छन् भन्ने स्थापित भयो,’ उनले भने ।
त्यतिबेला माओवादी र सरकारविरुद्ध नारावाजी भएर संघर्षबाट सम्झौता भएर निर्णय फिर्ता भएको स्मरण गराउँदै महर्जनले भने, ‘स्थानीय मुद्दालाई पहिल्याउन नसक्दा माओवादी पछाडि प¥यो । स्थानीय मूल्यमान्यतालाई कसरी चलाउने हो भन्ने बुझ्न सकेनन् ।’
काठमाडौंले माओवादीलाई अपनत्व नलिँदा लोडसेडिङ अन्त्य भएको क्रेडिट समेत नदिएको महर्जनले बताए । उल्टै राज्यको नियमित प्रक्रियाबाट लोडसेडिङ अन्त्य भएको भन्दै प्रतिवाद गरेको उनले बताए ।
काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्यले जितेका थिए । एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले आसन्न निर्वाचनमा त्यहाँ आफ्नो दाबी हुने बताएको छ । पाँच दलीय गठबन्धनमा सहभागी एकीकृत समाजवादीले काठमाडौं नभए पोखरा महानगरपालिका पाउनुपर्ने माग छ । यस्तै माओवादी केन्द्रले भरतपुर महानगरसहित काठमाडौं वा ललितपुरमध्ये एक महानगर पाउनुपर्ने माग गरेको छ ।
यसअघिको निर्वाचनमा काठमाडौं महानगरको मतदाता महिला २ लाख ८७ हजार १२३ र पुरुष २ लाख ७२ हजार २७३ गरेर कुल ५ लाख ५९ हजार ३९६ थिए । सो निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ७ हजार ९०६ र उपमेयरकी उम्मेदवार सुशीला कुमारी पौडेलले १० हजार ४४८ मतमात्रै ल्याएकी थिइन् । माओवादीले ल्याएको त्यो मत स्वतन्त्र उम्मेदवार किशोर थापा र रन्जु न्यौपानेको भन्दा निकै कम हो । अहिले फेरि नयाँ मतदाता थपिएका छन्, जो तुलनात्मक रुपमा माओवादीभन्दा काँग्रेस र एमालेका मतदाता बढी छन् ।
काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाक्यका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएर पराजित भएका थिए । मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।
यो तथ्याङ्कका आधारमा काठमाडौं महानगरपालिकामा गठबन्धन गरेर माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिएको अवस्थामा पनि काँग्रेस र माओवादी केन्द्रको मत जोड्ने हो भने एमाले नै हावी हुने देखिन्छ । यद्यपि, एमाले विभाजन भइसकेका कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले केही मत कम हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं महानगरमा एमालेले राप्रपाको समेत साथ पाएको थियो । अहिले राप्रपाले कसलाई सघाउँछ भन्ने प्रस्ट भइसकेको छैन ।
काँग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएर पराजित भएका थिए । उनलाई एमालेको साथ थियो । नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएकी थिइन् ।
काठमाडौंका १० नगरपालिकामा कस्तो छ माओवादीको अवस्था ?
काठमाडौं जिल्लाका कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तार्केश्वर, दक्षिणकाली, नागार्जुन, बूढानिकलण्ठ र शंकरापुरमा पनि माओवादी संगठन कमजोर छ । कीर्तिपुर नगरपालिकामा यसअघिको निर्वाचनमा कुल मतदाता २८ हजार ९८ थिए । त्यसबाट माओवादीका मेयरका उम्मेदवार हिराबहादुर महर्जनले ४ हजार ९ मत र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले ३ हजार ६५ मतमात्रै ल्याएकी थिइन् । माओवादी कीर्तिपुरमा तेस्रो स्थानमा भए पनि एमाले र काँग्रेसभन्दा निकै थोरै मत ल्याएको थियो । कीर्तिपुर मेयरमा सबैभन्दा बढी मत ल्याएर एमालेबाट रमेश महर्जन र सरस्वती खड्का उपमेयरमा निर्वाचित भएकी थिइन् ।
यस्तै कागेश्वरी मनहरा नगरपालिकामा कुल २७ हजार ८२९ मतदाता छन् । त्यहाँबाट माओवादीका उम्मेदवार महेश्वर फुयालले २ हजार ५६७ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रुकमाया रनपालले २ हजार १९२ मत ल्याएकी थिइन् । यो नगरपालिकाको मेयरमा एमालेका कृष्णहरि थापा र उपमेयरमा एमालेकै विन्दु पुडासैनी निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेको काँग्रेस एमालेसँग धेरै मतान्तरले पछाडि भएको थियो ।
यस्तै गोकर्णेश्वर नगरपालिकामा अघिल्लो निर्वाचनमा कुल मतदाता २८ हजार ६० थिए । माओवादीबाट मेयरका उम्मेदवार तेजराज नेपालले २ हजार २६ मत र उपमेयरमा रेनु कार्कीले २ हजार २०३ मतमात्रै ल्याए । गोकर्णेश्वरमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुँदा काँग्रेसका उम्मेदवार सन्तोष चालिसे र उपमेयरमा शान्ति नेपाल निर्वाचित भएका थिए ।
यस्तै चन्द्रागिरि नगरपालिका यसअघिको निर्वाचनमा कुल ३८ हजार ८३५ मतदाता थिए । जसमा माओवादीबाट मेयरका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत र उपमेयरका उम्मेदवार उर्मिला रोक्काले ३ हजार ८५४ मतमात्रै ल्याएका थिए । त्यहाँबाट काँग्रेसका घनश्याम गिरी र उपमेयरमा एमालेकी लिशा नकर्मी निर्वाचित भएका थिए । काँग्रेस एमालेबीच कडा प्रतिस्पर्धा भएपछि मेयरमा काँगे्रस र उपमेयरमा एमाले विजयी भएको थियो ।
उता, टोखा नगरपालिकामा अघिल्लो निर्वाचनमा कुल मतदाता २८ हजार १६९ थिए । सो नगरपालिकामा माओवादीबाट मेयरमा उम्मेदवारी दिएकी कल्पना शर्माले २ हजार ३९२ मत र उपमेयरका उम्मेदवार दिपक बानियाँले २ हजार ४७४ मतमात्रै ल्याएका थिए । टोखामा एमालेबाट मेयरमा उम्मेदवार बनेका प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोल निर्वाचित भएका थिए । एमालेका दुवै उम्मेदवारले काँग्रेसलाई धेरै मतान्तरले पछाडि पारेका थिए ।
यस्तै तारकेश्वर नगरपालिकामा यसअघिको निर्वाचनमा कुल २९ हजार ५०२ मतदाता रहेकोमा माओवादी केन्द्रका मेयर उम्मेदवार धनलाल महर्जनले ३ हजार २२१ मत र उपमेयरकी उम्मेदवार देविना कार्कीले २ हजार ६५२ मत ल्याएकी थिइन् । मेयरमा एमालेका उम्मेदवार रामेश्वर बोहरा र उपमेयरमा भवानी डोटेल निर्वाचित भएका थिए । ताकेश्वरमा पनि काँग्रेस दोस्रो भएको थियो भने माओवादी तेस्रो भयो ।
उता, दक्षिणकाली नगरपालिकामा कुल १५ हजार १७१ मतदाता रहेकोमा माओवादीबाट मेयरका उम्मेदवार सन्जिव लामाले २ हजार ४८१ मत र उपमेयरमा कमला शर्माले १ हजार ९३८ मत हासिल गरे । यो पालिकामा काँग्रेसबाट मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ निर्वाचित भए । दक्षिणकाली नगरपालिकामा माओवादी थोरै मतान्तरले तेस्रो भयो ।
अघिल्लो निर्वाचनमा नागार्जुन नगरपालिकामा कुल २६ हजार २४४ मतदाता थिए । त्यसबाट माओवादीका उम्मेदवार कुमार तामाङले १ हजार ६१९ मत र उपमेयरकी उम्मेदवार देवकी पौडेलले १ हजार ७९४ मत ल्याएकी थिइन् । यहाँ मेयरमा काँग्रेसका मोहनबहादुर बस्नेत र उपमेयरमा सुशिला अधिकारी निर्वाचित भएकी थिइन् । माओवादी नागार्जुनमा तेस्रो भए पनि उनीहरुको मत निकै कम थियो ।
यस्तै बूढानिलकण्ठ नगरपालिकामा कुल ४० हजार २०९ मत मतदाता रहेकोमा माओवादीका मेयरका उम्मेदवार रविन अधिकारीले ३ हजार ७९० मत र उपमेयरकी उम्मेदवार होमकुमारी दुलाल अधिकारीले ३ हजार ९२ मत ल्याएकी थिइन् । मेयरमा एमालेका उम्मेदवार उद्धवप्रसाद खरेल र उपमेयरमा रमादेवी राई दुबै निर्वाचित भएका थिए । यहाँ काँग्रेस दोस्रो भएको थियो ।
शंखरापुर नगरपालिकामा यसअघिको निर्वाचनमा कुल १७ हजार ८७२ मतदाता रहेकोमा माओवादीबाट उम्मेदवार भएका कृष्णराज सुवेदीले २ हजार ४३६ मत र उपमेयरमा इन्द्रकुमारी तामाङले २ हजार ४ सय मत ल्याएकी थिइन् । यहाँ मेयरमा एमालेका सुवर्ण श्रेष्ठ र उपमेयरमा शुक्रलक्ष्मी श्रेष्ठ निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे