शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको घोषणापत्रको मस्यौदा पारित, निर्वाचन परिचालन समिति गठन

आइतबार, २७ चैत २०७८, १५ : १२
आइतबार, २७ चैत २०७८

नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित गरेको छ ।  शनिबार र आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बिसौँ बैठकले स्थानीय निर्वाचन घोषणा पत्र–२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए । 

बैठकले ११११ जनाको निर्वाचन परिचालन कमिटी गठन समेत गरेको छ । अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनैवटा केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरू, जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरु समेत रहेको ११११ जनाको मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको भुसालको भनाइ छ । 

यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, डा.विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरिएको छ ।

बैठकले सिफारिस एवं निर्णय प्रक्रिया निर्धारणबारे पनि निर्णय गरेको छ, जुन यसप्रकार रहेको छ- 

क. वडा सदस्यको लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्ने । 
ख. वडा अध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने । 
ग. गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको लागि पार्टीको पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने । 
घ. महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको लागि पार्टीको सम्बन्धित 
पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने । 
ङ. कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानविन गरी  फैसला गर्ने ।
च. सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकाङ्क्षीमध्ये कम्तिमा एक महिलासहित तीन जनाको नाम पठाउने । 
छ. उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने ।
समाजवादीले    गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा सिफारिस भई आएका नाम मध्येबाट उम्मेदवार चयन गर्ने जनाएको छ । अन्य दललाई परेका स्थानमा पार्टीका उम्मेदवार नरहने बताएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप