सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भारतको जोगवनीमा चिनीदेखि साडीसम्म सस्तो, नेपाली ग्राहकको घुइँचो

विराटनगरका व्यापारी भन्छन्, ‘राजश्व गुम्यो, कडाइ गरौँ’
मङ्गलबार, २२ चैत २०७८, १३ : २४
मङ्गलबार, २२ चैत २०७८

विराटनगरको व्यापार यतिबेला सुख्खा छ । यता, नेपाल–भारत सीमा नजिकै रहेको जोगवनीमा भने नेपालीहरूको व्यापक भीडभाड देखिन्छ । भारतको जोगवनीमा नेपालमा भन्दा सस्तो सामान पाउन भएपछि नेपालीहरू विराटनगरको बजार छाडेर त्यहाँ पुग्ने गरेका हुन् ।

उदाहरणका लागि सरकारले चिनी आयातमा कडाइ गरेसँगै जोगवनीको मूल्य र विराटनगरको मूल्यमा अहिले पनि १५ रुपैयाँ फरक छ । त्यस्तै सूतीको साडी जोगवनीमा ३ सय रुपैयाँमा आउँदा त्यही साडी नेपालमा ५ सय रुपैयाँभन्दा बढी पर्छ । 

व्यापारका लागि जोगवनी जाने नेपालीलाई रोक्नुपर्ने विराटनगरका व्यापारीहरूले धेरै अघिदेखि माग गर्दै आएका छन् । तर, उनीहरूको माग अहिलेसम्म पुरा भएको छैन । केही दिन अगाडि रातोपाटीले गरेको स्थलगत अध्ययनपछि जोगवनीमा उपभोग्य वस्तुको मूल्य र विराटनगरको मूल्यको अन्तर तुलना गरेको छ । अनुगमनको क्रममा जोगवनीमा चिनीमात्र नभएर रहरको दाल, जिरा, धनियाँ, अङ्गुर, अनार, काजु, जिरा मसिनो चामल, तोरीको तेल, किस्ता बदाम विराटनगरमा भन्दा सस्तो छ । भान्सामा प्रयोगहरू सामानहरू पनि जोगवनीमै सस्तो छ । जोगवनीमा भन्दा ल्वाङ, सुकुमेल, सूर्यमुखी तेल, हाडेबदामल, हरियो मटरगायतका केही सामान भने विराटनगरमा नै सस्तो रहेको देखियो । 

हेर्नुहोस् दुई स्थानमा विभिन्न वस्तुहरूको मूल्यको तुलना

स्रोत : स्थलगत अनुगमन रातोपाटी

विराटनगरका उद्योगी, व्यापारीका अनुसार जोगवनीमा नेपालीले मात्रै जोगवनी पुगेर प्रत्येक दिन १० करोड बढीको कारोबार गर्छन् । ‘विराटनगर बजार तपाईं भ्रमण गर्नुहोस् । प्रायः बजारमा ग्राहक छैनन् । तपाईं मसँगै जोगवनी हिँड्नुहोस्, त्यहाँको दोकानमा खुट्टा राख्ने ठाउँ हुँदैन । त्यहाँ करोडौँको व्यापार हुन्छ । दिनहुँ सयौँ नेपाली त्यहाँ पुग्छन्,’ मोरङ व्यापार संघका पूवअध्यक्ष पवनकुमार सारडाले भने, ‘चिनीजस्तो वस्तुमा यहाँ ४० प्रतिशत कर लगाइएको छ । किसानलाई फेसिलेटिट गर्नका लागि हामीले त्यस्तो गरेका हौँ । तर, नेपालको ४० प्रतिशत माग पनि नेपालका उखु मिलले धान्दैन । ६० प्रतिशत हामीले किनेर ल्याउनुपर्छ । त्यसो हो भने ४० प्रतिशत ड्युटीलाई १५ प्रतिशतमा झार्नुपर्‍यो ।’

 

सारडाका अनुसार नेपालीहरू बढीजसो चिनी किन्नका लागि जोगवनी जाने गर्छन् । सीमाक्षेत्र जोगवनी नाकामा गएर हेर्ने हो भने पोका–पोका चिनी ल्याउने सर्वसाधारणको घुइँचो हुन्छ । ‘उनीहरू चिनी किन्न जान्छन् । त्यहाँ पुगेपछि अन्य सामान पनि बोकेर आउँछन्,’ उनले भने, ‘यसले हाम्रो व्यापार कहाँ गयो ? राज्यले राजस्व पनि पाएन । यता एउटा साडी आउने पैसाले उता ३ वटा साडी आउँछ ।’ सारडा सरकारले यसलाई राजस्वको दायरामा ल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यसको ५ प्रतिशत राजस्व आउँदा कति हुन्थ्यो ? त्यति व्यापार विराटनगरमा हुने हो भने रोजगारीको अवस्था कति बढ्थ्यो ? यो विषयमा नीतिगत व्यवस्थापन गर्नुपर्छ ।’

विराटनगर घुमघामका लागि काठमाडौँबाट उच्च ओहोदाका मानिसहरू पनि किनमेलका लागि एक पटक जोगवनी पुग्ने गरेका छन् । मोरङ र सुनसरीका अधिकांश मानिसहरू विवाह, व्रतबन्ध लगायतका लागि सामान किन्न पनि जोगवनी नै पुग्ने गर्छन् । ‘यहाँ नेपालको भन्दा सस्तो पनि छ । हामी गुणस्तरीय सामान पनि दिन्छौँ । त्यही भएर उहाँहरू सामान किन्न यतै आउनुहुन्छ,’ जोगवनीका एक व्यापारी बताउँछन् । 

नेपालका व्यापारी भने जोगवनीमा गएर आउनुको सट्टा नेपालमै किने फाइदा हुने बताउँछन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जोगवनीमा तौलमा र गुणस्तरमा ठगी हुने दाबी गर्छन् । थापा भन्छन्, ‘तर, नेपालीहरू त्यो कुरालाई मान्न तयार छैनन् । राज्यले नीतिगत व्यवस्था गरेर चिनी र सुतीको कपडामा भन्सार छुट गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप