बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जा संकटोन्मुख नेपाल – बिजुली, कोइला र पेट्रोलको मूल्य बढेको बढ्यै

सोमबार, १४ चैत २०७८, ०६ : २०
सोमबार, १४ चैत २०७८

रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ । खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ ।

प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ । नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ ।

नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँदै आयात हुन्छ । भारतले खाडी मुलुक, अमेरिका, रुस र अन्य मुलुकबाट आयात गर्ने पेट्रोलियम पदार्थ नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग किन्छ । यस्तै, भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियाबाट कोइला आयात गर्छ । जुन कोइला भारतले नेपाललाई पनि बेच्छ ।

पेट्रोलियम पदार्थ र कोइला बाहेक बिजुली उत्पादनमा भने बर्खायामका बेला नेपाल आत्मनिर्भर भइसकेको छ । बर्खायामका ६ महिना नेपालमा हुने खपतको सम्पूर्ण आपूर्ति स्वदेशी उत्पादनले नै धान्न थालेको छ । यो वर्षदेखि त बर्खायाममा बिजुली खेर नै गएको छ ।

तर, नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (रन अफ द रिभर) भएकाले सुख्खायाममा बिजुली उत्पादन घट्छ । सुख्खायाममा नदीहरूमा पानीको बहाव घट्ने भएकाले नदी प्रवाहमा आधारित आयोजनाको उत्पादन निकै घट्छ र स्वदेशकै उत्पादनले माग धान्न मुस्किल पर्छ ।

असारदेखि पुससम्म जलविद्युतमा आत्मनिर्भर बनेको नेपालले त्यसयता अपुग बिजुली भारतबाटै आयात गरिरहेको छ । हाल भारतबाट दैनिक ४०० मेगावाटसम्म बिजुली आयात भइरहेको विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् । यतिबेला नेपालमा १६०० मेगावाट विद्युत् माग छ । हाल करिब १२०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अपुग ४०० मध्ये प्राधिकरणले २०० मेगावाट बिजुली भारतबाट महँगो मूल्यमा आयात गरेर विद्युत् कटौती समस्या निम्तिन दिएको छैन ।

 

उत्पादन र मागको हिसाब मिलाउन प्राधिकरणले भारतबाट बिजुली आयात गर्दै आएको हो । तर, यतिबेला नेपालले कोइला र पेट्रोलियम पदार्थमा जस्तै बिजुलीमा समेत मूल्यवृद्धिको मार खेपिरहेको छ । भारतबाट केही समयअघिसम्म ४.१६ भारू प्रतियुनिट बिजुली किनिरहेको प्राधिकरणले यतिखेर प्रतियुनिट २० भारूसम्म तिरेको छ ।

यससँगै नेपालमा खपत हुने ऊर्जा तीनै स्रोत (बिजुली, कोइला र पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलेदेखि नै बढ्न थालेको कोइला र पेट्रोलियम पदार्थको मूल्यसूचीमा अब बिजुली पनि परेको हो । विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भारतसँग किन्ने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँसम्म पुगेको बताउँछन् ।

‘भारतमा बिजुलीको मूल्य स्थिर हुँदैन । माग र आपूर्तिको सिद्धान्तअनुसार घटबढ भइरहन्छ,’ उनले रातोपाटीसँग भने, ‘आयात कम र माग बढी भएको समयमा बिजुलीको मूल्य ह्वात्तै बढ्छ ।’ १२ महिनामध्ये ४ महिनाजति स्वदेशी उत्पादनले नेपालको माग नधान्ने हुनाले भारतीय बजारबाट आयात गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

‘अहिले हामीसँग धेरै आयोजनाहरू नदीको बहावमा आधारित छन्,’ भट्टराईले भने, ‘यी आयोजनाहरूबाट बर्खायाममा मात्र पर्याप्त उत्पादन हुन्छ । सुख्खायाममा पानीको बहाव घटेपछि उत्पादन स्वतः घट्छ ।’ त्यसैले नेपाललाई अब जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना आवश्यक भैसकेको भट्टराईले बताए ।

अर्थविद् ज्ञानेन्द्र अधिकारी सरकार दीर्घकालीन योजना बनाउन चुक्दा अहिले यस्तो स्थिति आएको बताउँछन् । ‘नेपालले ५ वर्षअघि नै बिजुली उत्पादकहरूसँग बिजुली किन्ने सम्झौता गर्न छाडिसकेको छ,’ उनले भने, ‘यतिबेला भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्नुपरेको छ ।’ कोइला र पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा बिजुलीको मूल्य बढ्दा भुक्तानी सन्तुलनमै असर पर्ने उनको भनाइ छ ।

‘एक वर्षअघि नै आत्मनिर्भर बन्यो भनिएको नेपाललाई भारतबाट बिजुली किन्ने बाध्यता छँदैछ,’ उनले भने, ‘यसअघि नै उकालो लागिरहेको पेट्रोलियम पदार्थ र कोइला आयातको भुक्तानी गरेर चापमा परेको विदेशी मुद्रा विनिमय सञ्चिती बिजुलीको मूल्य बढेसँगै थप चापमा परेको छ ।’

कोइला र पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

आयातित बिजुलीको मूल्य बढ्न थालेको केही सातामात्रै भएको छ । तर, कोइला र पेट्रोलियम पदार्थको मूल्य निकै अघिदेखि निरन्तर उकालो लागिरहेको छ । हाल नेपालमा प्रतिलिटर पेट्रोलको मूल्य १५५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ छ । जुन, २०७७ साल चैतअघि प्रतिलिटर ११० रुपैयाँभन्दा कम थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० अमेरिकी डलर पुगेको छ ।

रुस–युक्रेन युद्धअघिसम्म प्रतिटन ९० अमेरिकी डलर पर्ने कोइलाको मूल्य अहिले २५० डलर प्रतिटन पुगेको छ । अन्तर्राष्ट्रिय मूल्यमा दोब्बरभन्दा पनि बढीले उकालो लागेको कोइलाको मूल्य बढ्दा नेपालमा स्वतः असर पर्छ । अन्तर्राष्ट्रिय बजारमा २५० डलर हाराहारी पर्ने कोइलाको मूल्य नेपालसम्म ल्याउँदा ढुवानी लागत र नाफा जोडिन्छ । यसबाट उद्योग व्यवसाय सञ्चालनमै समस्या परेको उद्योगीहरू बताउँछन् ।

चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा विदेशबाट ३९ अर्ब ८५ करोड रुपैयाँको पेट्रोल, ८७ अर्ब ८३ करोडको डिजेल, ४० अर्ब ६४ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ । यस्तै, यस अवधिमा ७ अर्ब ६६ करोडको हवाई इन्धन र ८८ करोड रुपैयाँको मट्टितेल भित्रिएको भन्सार विभागको तथ्याङ्क छ । यस्तै, यस अवधिमा २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कोइला आयात भएको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप