‘सत्यमोहनः केवल बायोग्राफी मात्र नभएर सिङ्गो राष्ट्रको एउटा भोगाइ हो’
संस्कृतिविद् सत्यमोहन जोशीको बायोग्राफी ‘सत्यमोहन’ भर्खरै प्रकाशनमा आएको छ । जोशीको यो पुस्तक आत्मवृत्तान्त मात्र नभएर उनले भोगेको नेपालको इतिहास पनि हो । रोजीरोटीका लागि जुनसुकै पदमा बसे पनि आफ्नो जीवनका अधिकांश समय अध्ययन अनुसन्धानमा खर्चिएका उनी जिउँदो इतिहास हुन् ।
नेपालको संस्कृतिबारे अध्ययन गरेर कहिल्यै नथाक्ने उनी संस्कृतिसम्बन्धि कुनै शङ्का लागेर फोन गरे तुरुन्तै उत्तर दिन सक्ने क्षमता अझै पनि राख्छन् । यसै क्रममा पत्रकार गिरिश गिरीले जोशीको आत्मवृत्तान्त ‘सत्यमोहन’ पुस्तक चैतको पहिलो साता बजारमा आएको छ । विमोचनको अवसरमा पुस्तकबारे सत्यमोहनले भने, ‘गिरीजीले शतप्रतिशत सत्यमोहन नै भएर लेखिदिनुभयो, असली सत्यमोहन त उहाँ पो हो ।’ प्रस्तुत छ, यो कृति तयार गर्ने क्रममा भोगेका सम्झनाको बिसौनीमा केन्द्रित रही पत्रकार गिरीसँग रातोपाटीले गरेको कुराकानीः
–संस्कृतिविद् सत्यमोहन जोशीको बायोग्राफी लेख्ने सोच तपाईंमा कसरी आयो ?
कला, संस्कृति, साहित्यप्रति मेरो झुकाव पहिलेदेखि नै हो । यो क्षेत्रमै धेरै वर्ष मैले रिपोर्टिङ पनि गरेँ । यस क्रममा संस्कृतिविद् सत्यमोहन जोशीसँग निकटता बढ्दै गएपछि उहाँको बहुआयामिक व्यक्तित्वबाट धेरै नै प्रभावित भएँ । उहाँले राष्ट्रका विभिन्न क्षेत्रमा पुर्याएको र हाम्रो पुस्ताले पाएको एउटा उदाहरणीय व्यक्तित्व हो उहाँ । विसं १९७७ देखि आजको समयसम्म पनि दर्बिलो तरिकाले उभिन सक्ने, नेपालको यो अवधिको इतिहासलाई प्रत्यक्ष भन्न सक्ने व्यक्ति हो उहाँ । प्रत्यक्ष भेटेर उहाँका अनुभव सुन्न पाउनु हाम्रो एउटा भाग्यको कुरा पनि हो । ती सबै अनुभव हरेक नेपालीले अध्ययन गर्न पाउन् भन्ने लाग्यो । सुरु सुरुमा उहाँका संस्मरणहरू रुचिपूर्ण तरिकाले अध्ययन गर्थें । त्यहाँ भेटिएका सन्दर्भहरूले पनि यो कृति तयार गर्न प्रेरणा दियो ।
–‘सत्यमोहन’ पुस्तक तयार गर्न कति समय लाग्यो ?
सत्यमोहन जोशीसँग त धेरै पहिले नै भेट भएको हो तर उहाँसँग अन्तरङ्ग सम्बन्ध स्थापित गरेर उहाँका बारेमा संस्मरणहरू लेख्न थालेको चाहिँ झण्डै पाँच वर्ष भयो । तर यो किताबकै रूपमा तयार गर्ने भनेर पूर्णकालीन रूपमा ७, ८ महिना लाग्यो ।
–उहाँको बायोग्राफी तयार पार्दा कस्ता कस्ता अफ्ठ्यारा झेल्नुपर्‍यो ?
उहाँको उमेरगत समस्याले केही कठिनाइ भयो । सुरु सुरुमा उहाँको व्यक्तिगत रुचिलाई राम्रोसँग नचिन्दासम्म संवादमा केही कठिनाइ पनि आयो । उहाँले के कुरा रुचाउनु हुन्छ, के रुचाउनु हुन्न, कुन प्रश्न कसरी उठान गर्दा उहाँलाई सहज महसुस हुन्छ भन्ने जानकारी मलाई नहुँदा उहाँले सजिलो मान्नुभएन । ‘यो कुरा यहीँ टुङ्ग्याऔँ, योभन्दा बढी भन्दिनँ’ भन्नुहुन्थ्यो । यो अवस्थामा मैले कहिले पनि उहाँलाई जबरजस्ती गर्न मिल्दैन थियो । फेरि मैले उहाँसँग थप सहज वातावरण निर्माणका लागि पर्खिनुपर्ने हुन्थ्यो ।
तर विस्तारै विस्तारै उहाँसँग घुलमिल हुँदै गएँ । उहाँका सबैखालका परिस्थिति पनि बुझ्दै गएँ । अनि सहज वातावरण बन्दै गयो ।
–आत्मकथा त सम्बन्धित लेखकले नै लेख्ने होइन र ? यसमा अथर त तपाईं हुनुहुन्छ ?
हो, अझ यो त प्रथम पुरुष दृष्टिविन्दुमा, म भनेर लेखिएको छ । सामान्य तरिकाले बुझ्दा बायोग्राफी (जीवनी) चाहिँ अरूले लेखिदिने हो, द्वितीय पुरुष दृष्टिविन्दुमा ऊ भनेर लेखिन्छ । म भनेर लेखिने अटोबायोग्राफी (आत्मवृत्तान्त) त सम्बन्धित व्यक्ति आफैँले लेख्ने हो । तर यो मान्यताबाट संसार धेरै अगाडि आइसकेको छ । राकेश ओमप्रकाश मेहराको अटोबायोग्राफी पनि अर्कै व्यक्तिले लेखेको हो र त्यो प्रथमपुरुष दृष्टिविन्दुमै (म भनेर) लेखिएको छ ।
–त्यसरी अरूले लेखिदिँदा सम्बन्धित व्यक्तिका भावना, कल्पना, खुसी, निराशा सबैको चित्रण सहज हुन्छ र ?
यो चाहिँ सबैभन्दा ठूलो चुनौती हो । लेखकले सर्वप्रथम सम्बन्धित व्यक्तिका भावनालाई राम्ररी बुझ्न सक्नुपर्छ । उसले भनेका कुरा मात्र लेखेर हुँदैन । मैले सबभन्दा पहिले सत्यमोहन जोशीलाई बुझ्ने प्रयास गरेँ । उहाँले कस्तो अवस्थामा कुन कुरा कसरी गरिरहनुभएको छ ? उहाँको धारणा के बन्छ भन्ने बुझ्न सक्नुपर्छ । कुनै घटनाका बारेमा उहाँको दृष्टिकोण, धारणा, भावुकता तथा शारीरिक अभिव्यक्ति आदिको अध्ययन गरेर लेख्ने बेलामा त्यही आधारमा लेख्नुपर्छ ।
यो पुस्तक विमोचनमा पनि उहाँले शतप्रतिशत सत्यमोहन नै भएर लेखिदिनुभयो भन्नुभएको छ । यो भनाइले उहाँको भावना कति समेटिएका छन् भन्ने प्रष्टिन्छ । यो उहाँले मलाई दिएको उपहार सम्झेको छु ।
–जोशीले आफ्ना जीवनका उतार चढाव तपाईंसँग व्यक्त गर्दा सबैभन्दा दुःख पाएको र सबैभन्दा आनन्दको क्षण केकेमा महसुस गरेका रहेछन् ?
हाम्रो समाजमा सफल व्यक्तिप्रति केही व्यक्तिले प्रश्नहरू उठाउने गर्छन् । कुनै कुनै कुरालाई लिएर त्यो सन्दर्भ उहाँमा पनि लागू भएका छन् । त्यस्ता प्रश्नको निराकरण पनि मेरो पुस्तकबाट होस् भन्ने लागेर कुरा उठाउने चाहना राखेको थिएँ । त्यस्ता विषयलाई उहाँले राम्रो मान्नु भएन । मेरो बारेमा कसैले विवाद गर्छ या प्रश्न उठाउँछ भने त्यसको जबाफ दिने काम मेरो हो । यो मेरो जीवनीको पुस्तक हो, यसमा मैले जे भनिरहेको छु, त्यो कुरा मात्र लेख्नुस् । त्यतातिर प्रवेश नगरौँ भन्नुभयो ।
कतिपय कुरा पुस्तकमा उल्लेख गर्न आवश्यक नलागेर राखिनँ । न्यूजील्यान्डमा पहिलो नेपाली भनेर उहाँले पुस्तक नै लेखिसक्नु भएको छ । यूएनको फेलोसिप पाएर उहाँ अध्ययनका लागि जानु भएको हो । न्यूजील्यान्डका एड्मन्ड हिलारी सगरमाथा चढेको भोलिपल्ट सत्यमोहन त्यहाँ पुग्नुभएको थियो । तर त्यो कुरामा कतिपयले उहाँभन्दा पहिले नेपाली पुगिसकेको भनेका छन् । त्यसैले यस्ता कतिपय कुरा यसमा समेटिएको छैन ।
पछिल्लो पटक श्वासप्रश्वासमा समस्या भएर किस्ट हस्पिटल जानुभएको बेला पुस्तकको डमी देखाएको थिएँ । झन्डैझन्डै अचेत अवस्थामा रहनुभएको त्यो डमी देखेर तत्काल उहाँका शरीरमा जुन प्रतिक्रिया देखियो, त्यो त्यो मेरो जीवनकै अद्भूत क्षण हो । त्यो उमेरको, त्यस्तो अवस्थामा पुग्नुभएको उहाँमा कस्तो चमक आयो भने तुरुन्तै तङ्रिनुभयो ।
उहाँको जुरेली दर्शनलाई कसरी समेट्न सकिन्छ, त्यो समेटियोस् भनेर त्यतातिरका कुरा बढी गर्नुहुन्थ्यो । त्यसैले यो पुस्तकको प्रारम्भ नै जुरेली चरी शीर्षकबाट सुरु भएर अन्तिम शीर्षक पनि जुरेली दर्शनमा टुङ्गिएको छ । २००१ सालमा तनहुँ–लमजुङ सर्भेमा खटिँदा जुरेली चरी देख्नुभएको रहेछ । उहाँका जीवन भोगाइमा यो कसरी दर्शन बन्न पुग्यो भनेर अन्तिम च्याप्टरमा समेटिएको छ ।
–सत्यमोहन आफैँमा अनुसन्धान गर्ने व्यक्तित्व हुनुहुन्छ, आफैँले पनि कति कुरा लेख्नुभएको होला, उहाँको जीवनी र कृतिबारे विश्वविद्यालयमा अध्ययन गर्ने धेरैले अनुसन्धान पनि गरिसकेका होलान्, ती तथ्यभन्दा बढी यो पुस्तकभित्र कुन कुन पक्षलाई समेट्नुभएको छ ?
उहाँको जीवनी, व्यक्तित्व, कृतित्वका बारेमा अरू अनुसन्धानकर्ताहरूद्वारा लेखिएको छ, अनि मैले लेखेको पनि अन्तिम नहुन सक्छ । तर सबै कृति एउटै दृष्टिकोणबाट तयार भएका छैनन् । फरक फरक कोणबाट पुस्तकहरू तयार हुन्छन् । यो पुस्तक पनि ती भन्दा धेरै कुराले फरक छ । साथै यो पुस्तक प्रकाशनका लागि उहाँको पनि चाहना जोडिएको छ । हरेक लेखकको आआफ्नो अभिव्यक्ति शैली हुन्छ, मैले आफ्नो शैलीबाट उहाँलाई उतारेको छु ।
यसमा उहाँले जीवनपर्यन्त राष्ट्रलाई गरेको योगदानको नयाँ पुस्ताले थाहा पाउनुपर्छ भन्ने मेरो इच्छा हो । यो किताबले त्यसबारेमा विस्तृत रूपमा बुझाउन सक्छ । उहाँ केही दिनपछि १०३ वर्ष लाग्दै हुनुहुन्छ । उहाँका रेकर्डहरू, अन्य व्यक्तिसँगको सोधपुछ र आजभन्दा ७६ वर्ष पहिले उहाँले लेखेका लेख आदिलाई आधार बनाएर लेखेको छु ।
यो तयारीका क्रममा सामान्य लेखनदेखि पाण्डुलिपिसम्म उहाँले हेरेर सच्याउनु भएको छ । त्यसैले उहाँका कुरा तथ्यमा फरक नआओस् भनेर सकेसम्म प्रयास गरेको छु ।
–यो कृति अध्ययन नगर्दा पाठकले के कुरा छुटाउँछन् जस्तो लाग्छ ?
तीन पटकसम्म मदन पुरस्कार पाउने एउटै व्यक्ति हुनुहुन्छ सत्यमोहन जोशी । अब त यो पुरस्कार एकजनालाई एक पटकभन्दा बढी नदिने निर्णय भइसकेको छ । उहाँजस्तो व्यक्तित्वको जीवनी नयाँ किसिमले आएको छ । यो कुरा उहाँ स्वयंले पनि भन्नुभएको छ । यसबाट पाठकले अहिलेको सन्दर्भमा राणा शासन, पञ्चायती शासन, बहुदलीय शासन र गणतन्त्रसम्मका शासकहरूका व्यवहार, प्रवृत्तिका बारेमा धेरै जानकारी पाउन सक्छन् । यो कुनै व्यक्तिको जीवनी मात्र नभएर सिङ्गो राष्ट्रको एउटा भोगाइ पनि हो ।
वज्राचार्यहरूले पूजाकोठाभित्र मात्रै प्रदर्शन गर्ने चर्या नृत्य २०१३ सालमा उहाँले सार्वजनिक ठाउँहरूमा प्रदर्शनको सुरुवात गराउनु भएको हो, ती कुरा छन् । प्रज्ञा प्रतिष्ठानमा रहँदा नेपाली भाषासाहित्यमा उहाँले गर्नुभएको योगदान, खस भाषाको खोजीमा सिंजा पुगेर खोजी गरेका सन्दर्भ पनि यसमा समावेश गरिएको छ ।
यस्ता व्यक्तित्वको जीवनी पढ्दा बितेको सय वर्षको सिङ्गो राष्ट्रको एउटा दृश्य देखिछ । यो अवधिका महत्त्वपूर्ण घटना, शासकका प्रवृत्ति र शासन प्रक्रियाबारे थाहा पाइन्छ । उहाँ एउटा महत्त्वपूर्ण ठाउँमा रहेर एउटा सर्जक भएर काम गर्नुभएको छ ।
२००२ सालमा जुद्ध शमशेरले गद्दी त्याग गर्दा उहाँलाई पनि आमन्त्रण गरिएको रहेछ । त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले एउटा जोगीले भनेको आधारमा गद्दी त्याग गरेको परिवेशको प्रत्यक्षदर्शी उहाँ हुनुहुन्छ । पद्म शमशेरलाई श्रीपेच लगाइदिँदा पद्म शमशेर रोएको देख्नुभएको रहेछ । त्यस दिन उहाँहरूलाई पान राख्ने चाँदीको बट्टा त्यहाँ सहभागीहरूलाई दिइएको रहेछ । त्यो घटनाको प्रसङ्ग उहाँले भन्नु भएको छ । यस्ता धेरै कुरा आजको पुस्तालाई हस्तान्तरण गर्ने यो पुस्तक पढ्न आवश्यक छ ।
अन्त्यमा, पाठकहरूसँग के अपेक्षा राख्नुहुन्छ ?
यस कृतिका सबल या दुर्बल पक्ष जेजे छन्, ती कुरा पाठकले नधकाईकन बताइदिउन्, जसले गर्दा मैले आगामी दिनमा सुधारको मौका पाउँछु, सिक्ने मौका पाउँछु । साहित्य, कला, संस्कृति, पुरातत्त्व, मूर्तिहरूको संरक्षण गर्ने व्यक्तित्वका बारेमा विविध पक्ष उजागर पुस्तकमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
नागरिकका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण
-
पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
-
पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा