शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्ता गठबन्धन भत्काउन लोसपाको प्रयास, नयाँ बनाउन प्रस्ताव

बुधबार, ०९ चैत २०७८, २२ : १०
बुधबार, ०९ चैत २०७८

 नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार दलीय सत्ता गठबन्धन भत्काउने प्रयास छाडेका छैनन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउने समयमै एमालेले सत्ता गठबन्धन भत्काउन प्रस्ताव गरेको थियो ।

काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी एमालेले चार दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन प्रस्ताव गरेको थियो । एमालेको सो प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक पनि भइसकेका थिए तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले त्यो थाहा पाइसकेपछि गठबन्धन बचाउनकै लागि एमसीसीलाई घुमाउरो तरिकाले पास गराउन राजी भएका थिए ।

संसदबाट एमसीसी पारित भएसँगै तत्कालका लागि गठबन्धन जोगिएको हो तर त्यसलाई भत्काउन एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रयास अझै छाडेका छैनन् । अहिले लोसपाका अध्यक्ष ठाकुर गठबन्धन भत्काउनका लागि प्रधानमन्त्री देउवाको पछि लागेका छन् । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउन आग्रह गरेपछि अध्यक्ष ठाकुरले नयाँ गठबन्धन बनाउन शर्त राखेका छन् । प्रधानमन्त्रीमा सहयोग गरेका कारण देउवाले लोसपालाई सरकारमा आउन आग्रह गर्दै आएका हुन् । तर अध्यक्ष ठाकुरले वर्तमान गठबन्धन भत्काएर नयाँ बनाउन शर्त राखेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले यसमा कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ‘सल्लाह गरौंला’ भन्ने जवाफ ठाकुरलाई दिएका छन् । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरुले लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेको बताए । देशको राजनीतिक संरचना हेर्दा कुनै एउटा दलले मात्र बहुमत ल्याउन सक्दैन, त्यसका लागि गठबन्धन नै चाहिन्छ,’ उनले भने, ‘देशको स्थायित्वका लागि सैद्धान्तिक र वैचारिक रुपमा मेल खाने दलहरूको बीचमा गठबन्धन बन्नुपर्छ भन्ने हाम्रो चाहना हो ।’

अहिलेको सत्ता गठबन्धन सैद्धान्तिक र वैचारिक रुपले गठन नभएको बताउँदै उनले अलग–अलग विचार र सिद्धान्त बोकेका दलहरुबीच बनेको गठबन्धनले देशलाई निकास दिन नसकिने भएकाले प्रजातान्त्रिक गठबन्धनका लागि आफूहरुले प्रस्ताव गरेको बताए । प्रधानमन्त्री देउवालाई आफूहरुले बिना शर्त समर्थन गरेको, एमसीसीमा पनि लोसपाले सबैभन्दा प्रस्ट रुपमा समर्थन गरेको बताउँदै उनले यसकारण पनि काँग्रेस र एमाले मिल्नुपर्ने धारणा राखे ।

लोसपा अहिले एमालेसँग नजिक रहे पनि अन्ततः चुनावमा काँग्रेससँग गठबन्धन बनाउने सोच बनाएको छ । मधेसमा गठबन्धनको राजनीति एमालेसँग भन्दा पनि काँग्रेससँग गर्दा फलदायी हुने बुझेको लोसपाले केन्द्रमा नभए पनि तराई मधेसमा काँग्रेस निकट हुन थालेको छ । स्थानीयस्तरमा मिलेसम्म काँग्रेससँग गठबन्धन बनाएर जाने, काँग्रेससँग कुरा नमिले एमालेसँग भए पनि चुनावी गठबन्धन बनाउने सोचमा रहेको लोसपाका एक नेताले बताए । अहिले जसपा नेपाल सरकारमा रहेको र सत्तारुढ गठबन्धन भत्काउन सके चुनावमा जसपा नेपालसँग प्रतिस्पर्धा गर्न सहज हुने लोसपा नेपालका नेताहरुको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप