आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेता पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

आइतबार, १५ फागुन २०७८, १५ : ३८
आइतबार, १५ फागुन २०७८

अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ।  इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ ।

२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​


यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।
तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए ।
उजुरी परेपछि शाह फरार रहँदै आएकामा आज उनी आफै तनहुँ पुगेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् । प्रहरीमा उपस्थित हुनुअघि उनले स्वास्थ्य समस्या र घरायसी व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीमा उपस्थित हुन ढिलाइ भएको बताएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप