बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बूढानीलकण्ठ सवारी दुर्घटना प्रकरणमा चालकलाई मात्र ६ महिना कैद

एक हजार रुपैयाँ जरिवाना
सोमबार, ०७ चैत २०७८, २० : ००
सोमबार, ०७ चैत २०७८

दुई वर्षअघि काठमाडौंको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले आंशिक दावी पुग्ने ठहर गर्दै दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको उक्त मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो । सोमबार बहस सकिएपछि काठमाडौं जिल्ला अदालतले आंशिक दावी पुग्ने ठहर गरेको हो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार चालकले लापरवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टि भएको कारण उनलाई ६ महिना कैद र एकहजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ । 

बूढानीलकण्ठमा भएको सवारी दुर्घटनामा चालकले अत्याधिक मदिरा सेवन गरी सवारीसाधन चलाएको र उक्त सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जिल्ला सरकारी वकिल कार्यालयले चालकलाई १० वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । 

काठमाडौं जिल्ला अदालतले आरोपीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पुगेका चालकलाई उच्च अदालतले पनि थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । तर सर्वोच्च अदालतले भने आरोपीसँग धरौटी लिई तारेखमा छाड्ने आदेश दिएको थियो । 

आरोपी चालक पृथ्वी मल्ल यसअघि नै करिब ७ महिना थुनामा बसिसकेको कारण अब उनले जरिवानास्वरुप एक हजार रुपैयाँ तिरे कैद र जरिवाना पूरा हुनेछ । 

भएको के थियो ?
काठमाडौँको गोठाटार स्थायी घर भएका २१ वर्षीय (तत्कालीन समयमा) पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका गएका थिए । तर केही समयको बिदामा मल्ल २०७६ साल मङ्सिरको २३ गते नेपाल फर्किए । नेपाल फर्किएको चौथो दिन अर्थात् मङ्सिर २७ गते मल्ल घुमघाममा निस्किए । साथी करिश मास्केलाई साथमा लिएर मल्ल बा १४ च ६१२३ नम्बरको कार चलाएर उनी घुम्न निस्किए । सुरुमा मल्ल र मास्के नक्साल नारायणचौरमा रहेको जिम हलमा पुगे । त्यहाँ केही समय बिताए । अनि साँझ ७ः३० बजेतिर बालुवाटारमा रहेको पलेञ्ज गार्डेन रेष्टुरेन्टमा गएर खाना खाए ।

साँझ ९ बजेतिर मल्ल र मास्के ठमेलमा रहेको केसिज रेष्टुरेन्टमा साथीहरु भेट्न पुगे । त्यहाँ उनीहरूले मदिरा पनि सेवन गरे । त्यसपछि उनीहरू रातको १ः३० बजेको समयमा ठमेलस्थित नाइट क्लब एलओडी पुगे । एलओडीमा मदिरा पिउँदै बसेका उनीहरू बिहान ४ः३० बजे ठमेलमै रहेको सेनेट क्लबमा गए र त्यहाँ केटी साथीहरु परमिता राणा र मनीषा महर्जनलाई लिएर बस्ढानीलकण्ठस्थित ग्रिनभ्याली पार्क रिसोर्टतिर लागे ।

मदिराले लट्ठ भएकै अवस्थामा मल्ल आफैले कार चलाएर अन्य ३ साथीसहित बस्ढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए । त्यहाँ पुगेर पनि उनीहरूले निरन्तर मदिरा सेवन गरे । बिहान केही नास्ता गरेपछि उनीहरू त्यहाँबाट घरतर्फ फर्किए । तर मदिराले लट्ठ बनेका मल्लले आफ्नो कारलाई नियन्त्रणमा राख्न सकेनन् र बस्ढानीलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दियो । घटनामा गम्भीर घाइते बनेकी लिलाको उपचारकै क्रममा मृत्यु भयो ।

यता दुर्घटनाको साक्षी रहेकी परमिता राणा र उनकी साथी मनिषा महर्जन त्यहाँबाट भागे । पृथ्वी मल्ल र उनका साथी करिश मास्के त्यहीँ बसे । प्रहरी आएपछि उनीहरूलाई पक्राउ गरियो । मल्लसँग नेपाली लाइसेन्ससमेत थिएन । आफूसँग अमेरिकाकै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स भएको कारण कार चलाएको बयान मल्लले दिएका थिए ।

अदालतमा चैत २०७७ मै पत्र पुगे पनि त्यसपछि साक्षी बुझ्ने भन्दै फेरि साक्षीहरूको नाममा पत्र काटियो । अदालतले चाहेको भए सुरुमै साक्षी बुझ्न पनि सक्थ्यो । तर सिसिटिभी फुटेज मगाउने र साक्षी बुझ्ने काम एकैपटक गर्न सकिने भएपनि एकपछि अर्को पत्र लेख्दैमा अदालतले समय गुजारेको थियो ।

२०७८ साल असोज ६ गते न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीको इजलासमा पहिलो पटक पेसीमा चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भयो । साक्षीहरूलाई मङ्सिर ७ गतेका लागि बकपत्र गर्न बोलाइएको थियो । तर मङ्सिर ७ गते कुनै पनि साक्षी अदालतमा उपस्थित भएर बयान बकपत्र गरिदिएनन् । अदालतले मल्लको ‘अल्कोहल टेष्ट’ गर्ने चिरायु अस्पतालका चिकित्सकलाई पनि बकपत्रका लागि बोलाएको थियो । तर अस्पतालले मङ्सिर ५ गते काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएर मल्लको स्वास्थ्य परीक्षण गर्ने डाक्टर अध्ययनका सिलसिलामा देशबाहिर रहेको पत्र पठायो । त्यसपछि अदालतले पुनः अस्पताललाई पत्र पठाएर स्वास्थ्य परीक्षण प्रतिवेदनबारे जानकारी दिन अर्को डाक्टर उपलब्ध गराइदिन भन्यो । त्यसपछि अस्पतालबाट एक डाक्टर आएर बयान दिएपछि मात्रै मुद्दाको अंग पुगेर  नियमित पेसीमा चढेको हो ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ गते प्रतिवादी पृथ्वी मल्ल तत्काल प्राप्त प्रमाणबाट निर्दोष हुन् भन्न सकिएन भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर मल्लले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटन उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गर्दै थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई पनि अस्वीकार गर्दै मल्ल थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए । त्यतिबेला कोरोना महामारीको जोखिम बढेको, आफू दमको रोगी रहेको, डिप्रेसनको रोगी रहेको कारण थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने उनको निवेदन थियो ।

सो निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले मल्ल ७ महिना थुनामै रही अनुसन्धानलाई सहयोग गरेको, निज भागेर जाने वा प्रमाण लुप्त हुने अवस्था पनि नदेखिएको तथा थुनामै राख्दा दमका रोगीलाई कोरोनाको संक्रमणको जोखिम उच्च रहेको भन्दै पाँच लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि मल्लले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप