आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हाइप्रोफाइल मुछिएको बूढानीलकण्ठ दुर्घटनासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

आइतबार, ०६ चैत २०७८, १७ : २१
आइतबार, ०६ चैत २०७८

दुई वर्षअघि काठमाडौँको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनापछि ज्यान गएको मुद्दा अब नियमित सुनुवाइमा पुगेको छ । आइतबार नियमित पेसीमा चढेको सो मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश सूर्यप्रसाद अधिकारीले हेर्दाहेर्दैमा राखेका हुन् । एकजना मात्रै प्रतिवादी रहेको र २ वर्षभन्दा पुरानो मुद्दा भएकाले यस मुद्दालाई अब चाँडै टुंग्याउनका लागि हेर्दाहेर्दैमा राखिएको हो । आइतबार वादी नेपाल सरकार तथा प्रतिवादीका वकिलहरुको बहस नसकिएको कारण उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर टुंग्याउन लागिएको हो । उक्त मुद्दाको सुनुवाई सोमबार फेरि आइतबारकै न्यायाधीशको इजलासमा हुनेछ । न्यायाधीश सूर्यप्रसाद अधिकारीले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर ‘अग्राधिकार’ दिएका छन् । 

यसअघि लकडाउन तथा अन्य कारणले साक्षी बुझ्नमै केन्द्रीत रहेको उक्त मुद्दा आइतबार बाट भने अङ्ग पुगी नियमित पेसीमा चढेको थियो । सबैतर्फको साक्षी र प्रमाण बुझ्ने काम सकिएको कारण उक्त मुद्दा हेर्दाहेर्दैमा राखी सुनुवाई गर्न लागिएको हो । 

हाइप्रोफाइल बूढानीलकण्ठ दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । मदिराले लठ्ठ परेका एक युवक एक नायिकासहित अन्य दुई गरी कुल चार जना सवार कारले सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । उक्त मुद्दाका प्रतिवादी पृथ्वी मल्ल भने सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भई फैसला कुरेर बसेका छन् । 

भएको के थियो ?
काठमाडौँको गोठाटार स्थायी घर भएका २१ वर्षीय (तत्कालीन समयमा) पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका गएका थिए । तर केही समयको बिदामा मल्ल २०७६ साल मङ्सिरको २३ गते नेपाल फर्किए । नेपाल फर्किएको चौथो दिन अर्थात् मङ्सिर २७ गते मल्ल घुमघाममा निस्किए । साथी करिश मास्केलाई साथमा लिएर मल्ल बा १४ च ६१२३ नम्बरको कार चलाएर उनी घुम्न निस्किए । सुरुमा मल्ल र मास्के नक्साल नारायणचौरमा रहेको जिम हलमा पुगे । त्यहाँ केही समय बिताए । अनि, साँझ ७ः३० बजेतिर बालुवाटारमा रहेको पलेञ्ज गार्डेन रेष्टुरेन्टमा गएर खाना खाए ।

साँझ ९ बजेतिर मल्ल र मास्के ठमेलमा रहेको केसिज रेष्टुरेन्टमा साथीहरु भेट्न पुगे । त्यहाँ उनीहरूले मदिरा पनि सेवन गरे । त्यसपछि उनीहरू रातको १ः३० बजेको समयमा ठमेलस्थित नाइट क्लब एलओडी पुगे । एलओडीमा मदिरा पिउँदै बसेका उनीहरू बिहान ४ः३० बजे ठमेलमै रहेको सेनेट क्लबमा गए र त्यहाँ केटी साथीहरु परमिता राणा र मनीषा महर्जनलाई लिएर बूढानीलकण्ठस्थित ग्रीनभ्याली रिसोर्टतिर लागे ।

मदिराले लठ्ठ भएकै अवस्थामा मल्ल आफैले कार चलाएर अन्य ३ साथीसहित बूढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए । त्यहाँ पुगेर पनि उनीहरूले निरन्तर मदिरा सेवन गरे । बिहान केही नास्ता गरेपछि उनीहरू त्यहाँबाट घरतर्फ फर्किए । तर मदिराले लठ्ठ बनेका मल्लले आफ्नो कारलाई नियन्त्रणमा राख्न सकेनन् र बूढानीलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दियो । घटनामा गम्भीर घाइते बनेकी लिलाको उपचारकै क्रममा मृत्यु भयो ।

यता दुर्घटनाको साक्षी रहेकी परमिता राणा र उनकी साथी मनिषा महर्जन त्यहाँबाट भागे । पृथ्वी मल्ल र उनका साथी करिश मास्के त्यहीँ बसे । प्रहरी आएपछि उनीहरूलाई पक्राउ गरियो । मल्लसँग नेपाली लाइसेन्ससमेत थिएन । आफूसँग अमेरिकाकै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स भएको कारण कार चलाएको बयान मल्लले दिएका थिए ।

सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सवारी ज्यान मुद्दामा १० वर्ष कैद सजायको माग दाबी गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ मा ज्यान मरेमा हुने सजायको उल्लेख गरेको छ । दफा १६१ मा यस्तो कुरा लेखिएको छः

(१) कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।

(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाइ कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(४) चालक अनुमति पत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ ।

तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।

(५) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमति पत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।

अदालतमा चैत २०७७ मै पत्र पुगे पनि त्यसपछि साक्षी बुझ्ने भन्दै फेरि साक्षीहरूको नाममा पत्र काटियो । अदालतले चाहेको भए सुरुमै साक्षी बुझ्न पनि सक्थ्यो । तर सिसिटिभी फुटेज मगाउने र साक्षी बुझ्ने काम एकैपटक गर्न सकिने भएपनि एकपछि अर्को पत्र लेख्दैमा अदालतले समय गुजारेको थियो ।

२०७८ साल असोज ६ गते न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीको इजलासमा पहिलो पटक पेसीमा चढेको उक्त मुद्दामा साक्षी बुझ्ने आदेश भयो । साक्षीहरूलाई मङ्सिर ७ गतेका लागि बकपत्र गर्न बोलाइएको थियो । तर मङ्सिर ७ गते कुनै पनि साक्षी अदालतमा उपस्थित भएर बयान बकपत्र गरिदिएनन् । अदालतले मल्लको ‘अल्कोहल टेष्ट’ गर्ने चिरायु अस्पतालका चिकित्सकलाई पनि बकपत्रका लागि बोलाएको थियो । तर अस्पतालले मङ्सिर ५ गते काठमाडौं जिल्ला अदालतलाई पत्र पठाएर मल्लको स्वास्थ्य परीक्षण गर्ने डाक्टर अध्ययनका सिलसिलामा देशबाहिर रहेको पत्र पठायो । त्यसपछि अदालतले पुनः अस्पताललाई पत्र पठाएर स्वास्थ्य परीक्षण प्रतिवेदनबारे जानकारी दिन अर्को डाक्टर उपलब्ध गराइदिन भन्यो । त्यसपछि अस्पतालबाट एक डाक्टर आएर बयान दिएपछि मात्रै मुद्दाको अंग पुगेको छ र यतिबेला नियमित पेसीमा चढेको छ ।

जिल्ला अदालत नियमावली २०७५ को नियम ४० क मा २ जनासम्म प्रतिवादी भएको सामान्य प्रकृतिको मुद्दा ६ महिनाभित्रै फैसला गरिसक्नुपर्ने उल्लेख छ । तर एउटा चर्चित दुर्घटनाको मुद्दा दर्ता भएको २ वर्षभन्दा बढी समय पुगेपछि बल्ल अङ्ग पुगेर नियमित पेसीमा चढ्न थालेको छ । 

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ गते प्रतिवादी पृथ्वी मल्ल तत्काल प्राप्त प्रमाणबाट निर्दोष हुन् भन्न सकिएन भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर मल्लले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पाटन उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गर्दै थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई पनि अस्वीकार गर्दै मल्ल थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालत पुगेका थिए । त्यतिबेला कोरोना महामारीको जोखिम बढेको, आफू दमको रोगी रहेको, डिप्रेसनको रोगी रहेको कारण थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने उनको निवेदन थियो ।

सो निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले मल्ल ७ महिना थुनामै रही अनुसन्धानलाई सहयोग गरेको, निज भागेर जाने वा प्रमाण लुप्त हुने अवस्था पनि नदेखिएको तथा थुनामै राख्दा दमका रोगीलाई कोरोनाको संक्रमणको जोखिम उच्च रहेको भन्दै पाँच लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि मल्लले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप