कर्णालीमा पहिलो शक्ति बन्ने माओवादीको दाबी
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन् भने संगठन निर्माणलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसी कर्णालीमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने दाबी गर्छिन् । आगामी निर्वाचनको सन्दर्भमा रहेर रातोपाटीले केसीसँग कुराकानी गरेको छ । प्रस्तुत छ केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :
केही दिन अघिमात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तपाईहरुलाई प्रशिक्षण दिएर जानुभयो । उक्त प्रशिक्षणको मुख्य सार के हो ?
— महाधिवेशनमा लिएको वैचारिक, राजनीतिक लाइनबारे प्रस्ट पारिएको थियो । अर्को कुरा, एमसीसीलाई लिएर छरिएको भ्रमलाई चिर्नु र आगामी स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति कसरी बन्ने भन्ने नै प्रशिक्षणको उद्देश्य थियो । विगतका कमजोरीलाई शक्तिमा रुपान्तरण गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भयो । स्वयं अध्यक्षज्यू सहभागी बनेर नेता कार्यकर्तालाई उत्साहित हुने वातावरण बन्यो । अबको मुख्य कार्य भनेको चुनावमा कसरी जाने भन्ने नै हो ।
माओवादीलाई समाजवादको आधार तयार गर्ने पार्टी बनाउने हो । त्यसका लागि पार्टी ठुलो बनाउनु पर्छ । पार्टी ठुलो भयो भने नेतृत्व तहमा पुगिन्छ अनि संघीयता, संविधानको रक्षा गर्न सक्छ । माओवादीले नेतृत्व नलिँदासम्म उपलब्धिहरूको रक्षा नहुने भयो । बच्चाचाँहि हामीले जन्माउने तर हुर्काउने जिम्मा अरुको काँधमा भयो, जसले संविधानको सही रुपमा कार्यान्वयन हुन सकेन । त्यसैले बच्चा जन्माउनेले नै हुर्काउने जिम्मेवारी प्राप्त ग¥यो भने संविधानको सही रुपमा कार्यान्वयन, संघीयताको रक्षा गर्न सकिन्छ भन्ने हो ।
चुनावमा माओवादीलाई जिताउनुको उद्देश्य कसैलाई मन्त्री बनाउने, अध्यक्ष, वडाअध्यक्ष बनाउने मात्र नभई समाजवादको आधार तयार गर्ने हो । त्यसका लागि संविधानमा भएका व्यवस्थाहरुको हुबहु कार्यान्वयन गर्नुपर्छ र संविधान, संघीयताको रक्षा गर्ने हो । यो अन्य पार्टीले नभई माओवादीले मात्रै गर्न सक्छ र समाजवादको आधार तयार हुन्छ भन्ने हाम्रो विश्लेषण हो ।
पहिलो शक्ति बन्ने त भन्नुहुन्छ । माओवादी पहिलो शक्ति बन्ने आधारचाँहि के हो ?
— ०७४ को स्थानीय तहको निर्वाचनलाई हेर्दा एमालेको ३८, माओवादीको ३१, काँग्रेसका २७ प्रतिशत मत थियो । एमाले विभाजन हुँदा हामी नै पहिलो शक्ति थियौं र, आगामी चुनावमा पनि हामी पहिलो पार्टी बन्ने कुरामा कुनै दुईमत छैन ।
अर्को कुरा, अहिले हामीले संगठनलाई बलियो बनाएका छौं । यो बीचमा प्यारालाईसिस भएको पार्टीलाई सुदृढीकरण गर्दै ‘एजेण्डा’हरु बलियो बनाएका छौं । हाम्रो पार्टीमा आउने जनलहर एकदमै बढेको छ । कर्णालीमा फुटेका पार्टीहरू पनि जुटिरहेका छन् । हुम्लामा केही दिन अघि मात्रै जसपा हामीसँग समायोजन भएको छ । सुर्खेतमा पनि ठुलो संख्यामा पार्टी प्रवेश गराएका छौं । अर्को कुरा, हामीसँग आउने भनेका काँग्रेस र एमालेबाट छन् । त्यो हिसाबले हामी पहिलो शक्ति बन्छौं–बन्छौं । यो पार्टीलाई नेतृत्वमा लिनुपर्छ र जनताका अधिकारहरुलाई सुनिश्चित गर्नुपर्छ भन्ने खालको जागरण पनि आएको छ ।
आज माओवादी नभएको भए महिला, दलित, उत्पीडित समुदायले समानताको अधिकार पाउने थिएनन् र समाज प्रगतिशील बन्ने थिएन । त्यो हिसाबले माओवादीलाई जिताउनुपर्छ भन्ने जनलहर चलिरहेको छ ।
माओवादी केन्द्र संसदीय समितिले पार्टीलाई पहिलो शक्ति बनाउन आ–आफ्नो निर्वाचन क्षेत्रमा सांसदलाई खटाउने निर्णय गरेको छ । उनीहरुलाई खास कस्तो सर्कुलर छ ?
— सांसदहरु जनप्रतिनिधि भएकाले निर्वाचन क्षेत्रमा गएर जनाताका भावना बुझ्ने, चुनावी माहोल ‘क्रिएट’ गर्न सक्ने क्षमता राख्ने भएकाले निर्वाचन क्षेत्रमा खटिन भनिएको हो ।
माओवादीलाई जिताउने, कुन आधारमा माओवादीलाई भोट हाल्ने भन्ने मान्छेमा एक खालको चेतना, जागरण पैदा गराउने कुरा जनप्रतिनिधिले अझ बढी स्पष्ट गराउन सक्छन् । आफूले गरेका कार्य जनतालाई बुझाउने, नसकिएका कामको आत्मालोचना गर्ने र फेरि जित्छौँ अनि गर्छौं भन्ने खालको माहोल बनाउनुपर्छ, विश्वास दिलाउनुपर्छ ।
तपाईहरु कर्णाली भनेको माओवादीको आधार इलाका भनेर भन्नुहुन्छ तर माओवादी यहाँ पहिलो शक्ति कहिल्यै बनेन । कमजोरी कहाँ भयो ? कहाँ चुक्नुभयो ? समीक्षा गर्नुभयो ?
— यो त भयो नै । अघिल्लो चुनावमा प्रदेशमा एमालेको २० आउँदा हाम्रो १३ सिट किन आयो भन्दा हामीले सिट प्लानिङ नै मिलाएनौं । त्यसलाई गम्भीरताका साथ लिएको भए हामी अगाडि आउन सक्थ्यौं । पहिलो समस्या गठबन्धन बनाउँदा ख्याल गरेनौं । अर्को कुरा, कमजोर ठाउँ र बलियो ठाउँलाई त्यही तरिकाले व्यवस्थापन गर्न सकेनौँ । जसले गर्दा प्रदेशसभाका पनि कति पटक हण्डर खायौं । यदि हामीसँग १८÷२० सांसद हुनुहुन्थ्यो भने अझ सशक्त बन्न सक्थ्यौँ । त्यो हिसाबले हाम्रो शक्तिलाई ठिक तरिकाले बढाउन नसक्नुको मेन कारण त्यो पनि हो ।
आफूलाई बलियो शक्ति भनेर दाबी पनि गर्ने, माओवादीकै एजेण्डामा देश चलिरहेको छ पनि भन्ने तर चुनावमा जाँदा अन्य दलकै भरिया बनेर जानुपर्ने स्थिति माओवादीमा किन ? आफ्नै हैसियतमा चुनाव लड्न सक्ने क्षमता माओवादीले किन राख्दैन कर्णालीमा ?
— कर्णालीमा त राख्छ । मैले केही दिन अघिदेखि डोल्पा बाहेकका सबै जिल्लामा पुगेर रिसर्च गरें । माहोल बुझ्दा माओवादीले कसैको वैशाखी टेकेर हिँड्नुपर्छ भन्ने अवस्था छैन । धेरै ठाउँमा गठबन्धन बन्दा समस्या पर्छ, बरु एक्लै लड्दा नै जित्छौँ भन्ने साथीहरुको भावना छ । त्यो हिसाबले कर्णालीको हकमा एक्लै लड्दा पनि माओवादी एक नम्बर पार्टी बन्छ । यो म दाबीका साथ भन्छु ।
अहिले प्रदेश सरकारमा तीन दलीय गठबन्धन छ । यही गठबन्धन चुनावसम्म कायम हुन्छ कि हुँदैन ?
— केन्द्रमा गठबन्धन भए पनि तल हुनु हुँदैन भन्ने काँग्रेसभित्र छलफल चलेको छ । तर हामी पार्टी केन्द्रले जे निर्देशन गर्छ त्यसैलाई मानेर जान्छौं । आफूलाई फाइदा हुँदामात्र गठबन्धन गर्ने, नहुँदा नगर्ने भन्नेचाँहि हुँदैन । राजनीतिमा इमानदारिता हुनैपर्छ । मुख्य कुरा पार्टी केन्द्रले जे निर्देशन गर्छ, त्यो मान्नुपर्छ ।
वैशाख २ मा प्रदेशमा गठबन्धन बन्दै गर्दा निर्वाचनसम्म मात्र नभई पछिसम्म पनि लैजाने भन्ने थियो । अब प्रदेशमा बनेको गठबन्धनको केही अर्थ राख्दैन, हो ?
— त्यतिबेला केन्द्रमा गठबन्धन बनेको थिएन । पछि केन्द्रमा पनि गठबन्धन बनेकाले सजिलो भएको छ । केन्द्र र प्रदेशको गठबन्धन एउटै भएकाले यसैलाई तालमेल गरेर हामी चुनावमा जान्छौं । अर्को कुरा, स्थानीयस्तरको भावनालाई लिएर पनि जानुपर्छ ।
माओवादी कर्णालीमा कस्ता खालका ‘एजेण्डा’हरु लिएर चुनावमा जाँदै छ ?
— हामीले ‘समाजवाद उन्मुख आर्थिक समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मुल नारा बनाएका छौं । हामीले समाजवादको आधार तयार गर्ने हो । आर्थिक समृद्धि नभइकन समाजवादको आधार तयार हुँदैन । भौतिक विकासमात्रै नभई मानव विकासको परिवर्तन गर्न जरुरी छ । प्रदेश र स्थानीय सरकार बनाइयो तर अधिकार कटौती गरियो । आफैले काम गर्नसक्ने अवस्था बनेन । हामी आफैले ल्याएको संघीयता, हाम्रा कारणले आएको गणतन्त्र, समावेशीता हाम्रो पार्टीले नै कार्यान्वयन गर्नसक्छ । त्यो हिसाबले हामी नै नेतृत्वमा पुग्नुपर्छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ भन्ने छ ।
दोस्रो कुरा, आमालाई बच्चा हुर्काउन दिनुप¥यो भन्ने कुरा जनताकाबीचमा राख्छौं । हाम्रो पार्टी अन्य पार्टीभन्दा राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्तिका निम्ति अग्रसर छ । यो कुरा जनतालाई बुझाउँछौं । पूर्वाधारको विकास गरेरमात्र हुँदैन, मान्छेको आर्थिक विकासका लागि व्यक्तिलाई आत्मनिर्भर बनाउने, स्वाधीन अर्थतन्त्रको विकास गर्ने कुरामा हामी लाग्नुपर्छ । आर्थिक रुपमा त मान्छे समृद्ध होला तर सामाजिक हिसाबले अन्याय भोगिरहने भयो त्यो परिवर्तन मानिँदैन । अधिकार छ तर छुवाछुत रहिरह्यो भने के काम ? समाजमा विकृति, विसंगति हटाउन सकिएन भने त्यसको अर्थ रहँदैन । त्यो भएकाले हामीले सामाजिक, सांस्कृतिक रुपान्तरणको अभियान नै चलाउन खोजिरहेका छौं । मान्छेलाई आत्मस्वाभिमानका हिसाबले बाच्नसक्ने वातावरण माओवादीले बनाउँछ भनेर जनताका बीचमा हाम्रा ‘एजेण्डा’ बुझाउँछौँ ।