‘एमालेले उम्मेदवारको रुपमा अगाडि सार्यो भने पछि हट्दिनँ’
पछिल्लो समय पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् । राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको बताउने नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताउँछिन् । यसअघि उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई एक कार्यक्रम सहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । उनले किन एकाएक एमाले प्रवेशको निर्णय गरिन् त ? यसै विषयमा केन्द्रीत रही करिश्मासँग गरिएको छोटो कुराकानीः
तपाईं एकाएक एमाले प्रवेश गर्ने निर्णय गर्नुको कारण ?
राजनीतिमा मेरोरुचि भएको सबैलाई जानकारी भएको विषय हो । त्यही भएर मैले पहिले नयाँ शक्ति पार्टी मार्फत् राजनीति अगाडि बढाउने प्रयास गरेको थिएँ । त्यो बिचमा धेरै उतारचढाव आयो । म आफै अध्ययनमा समेत ब्यस्त हुन थाले । त्यसले मेरो राजनीतिक करियरमा केही बाधा पुग्यो । म जुन पार्टीमा आवद्ध थिएँ, त्यो पार्टी अन्य पार्टीमा मर्ज भएपछि हाम्रा नेताज्यूहरु पनि त्यतैतिर लाग्नुभयो । मैले पार्टी छाडे । त्यसपछि राजनीति कुन पार्टीबाट अगाडि बढाउने भन्ने निधो गरेकी थिइनँ, त्यसै बसेकी थिएँ । अहिले आएर मैले राजनीति अगाडि बढाउन एमाले उपयुक्त रहेको देखे । सबैलाई समेट्ने, सबैलाई प्राथमिकता दिने पार्टी एमाले लाग्यो ।
यस अघि अभिनेता भुवन केसी मरिमेटेर लागे पनि एमालेबाट कुनै अवसर नपाएको अवस्थाबारे तपाईं जानकार त हुनुहुन्छ नि ?
अरुको बारेमा मलाई केही थाहा भएन । कुनै पार्टीमा आवद्ध भएपछि पार्टीलाई आफूले दिनुपर्ने योगदान सशक्त हुनुपर्छ । त्यो कुरामा म प्रष्ट छु । को कुन क्षेत्रबाट आयो भनेर पार्टीले मतलब राख्दैन । योगदान कतिको दिन सक्छ भन्ने पार्टीले हेर्छ । भुवन दाई सुपरस्टार कलाकार हुनुहुन्छ । उहाँ आउनु भएको होला । तर पार्टीले उहाँलाई खाली फेसको लागि मात्र अगाडि सार्दैन । पार्टीलाई चाहिने भनेको काम हो, त्यो पार्टी निर्माणदेखि पार्टीभित्रका विभिन्न गतिविधि किन नहोस् । कलाकारलाई पार्टीले विशेष रुपमा नलिने, हल्का रुपमा लिने चाँही सबै सबै पार्टीमा पाएकी छु ।कलाकारलाई बुझेर जिम्मेवारी दियो भने राम्रो होला भन्ने मलाई लाग्छ ।
कोमल वलीले एमाले प्रवेश गर्ने बितिक्कै राष्ट्रिय सभा सदस्यको अवसर प्राप्त गर्नुुभयो । तपाईं भित्रिदै गर्दा त्यस्तो केही अवसरको बचन दिइएको छ कि ?
म एमालेमा कुनै बार्गेनिङ हिसाबले प्रवेश गर्न लागेकी होइन । कुनै पनि पार्टीमा धेरै नेता, कार्यकता थुप्रै बर्षदेखि लागेका ब्यक्ति हुन्छन् । सबै पक्ष मिलेर एउटा पार्टी निर्माण भएको हुन्छ । एउटा नयाँ प्रवेश गर्ने बितिक्कै म यो क्षेत्रमा यस्तो थिए भनेर डिमान्ड गर्न पाउने होइन । त्यसैले मैले कुनै पनि डिमान्ड राखेकी छैन । मलाई एमालेले मेरो क्षमताको पहिचान गरेर गहन जिम्मेवारी दिन्छ भन्ने विश्वास छ ।
निर्वाचनको मुखमा पार्टी प्रवेश गर्दै हुनुहुन्छ । उम्मेदवार बन्ने योजना पनि छ कि ?
यो बिषयमा मैले केही सोचेकी छैन । पार्टीले कस्तो भूमिका दिन्छ भनेर पनि थाहा छैन । पार्टीले आफ्नो तर्फबाट उमेद्वारको रुपमा अगाडि मलाई सार्यो भने पछि हट्दिनँ । अहिले भने चुनावमा उठ्ने, नउठ्न निधो भएको छैन ।
राजनीतिका लागि काँग्रेसले पनि अवसर दिन सक्थ्यो कि ?
काँग्रेससँग पनि मेरो विचारधारा नमिल्ने भन्ने होइन । तर मैले काँग्रेस रोजिन ।
केही अगाडि एमाले प्रवेशको विषयमा हल्ला मात्रै हो भन्नु भएको थियो । अहिले त्यो हल्ला सार्थक भएछ त ?
– त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट फरक प्रसङ्गको थियो । मेरो मनमा जहिले पनि राजनीतिप्रति चासो थियो । महिला अगाडि आउनुपर्छ भन्ने लाग्थ्यो । महिलाहरुको सशक्तिकरणको त हामी कुरा गर्छौ । अगाडि बढ्न खोजे हतोत्साहित गर्दिन्छौ । त्यसैले पनि पहिले मैले यो बिषयमा कुनै निर्णय गरेकी थिइनँ । अहिले निर्णय गरेकाले डराउनुपर्ने अवस्था छैन । त्यतिबेला म आफै अस्पष्ट थिएँ ।
पहिले डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो । अहिले भट्टराई जसपामा हुनुहुन्छ । राजनीति त्यताबाट पनि अगाडि बढ्न सक्थ्यो नि ?
– डा. भट्टराई रहेको पार्टीमा जाने अहिले केही विचार आएन । म जहिले पनि फ्रेस काम गर्न रुचाउँछु । डा भट्राईको साथको मैले अनुभव लिइसकेकी छु । उहाँबाट धेरै कुरो सिक्न पाएकोमा दुई मत छैन ।
केही अगाडि एमालेले प्रतिगमन गरेर सत्ता गुमायो, जनतामा पनि छवि बिगारेको छ हैन र ?
– कुनैपनि राजनीतिक पार्टीको जनतामा राम्रो छवि छैन । अन्यको तुलनामा एमालेको अलि राम्रो छ भन्ने मेरो बुझाइ हो । यो मेरो ब्यक्तिगत धारणा हो । हाम्रो देशमा आफ्नो राम्रो र अरुको नराम्रो देख्ने चलन पहिले थियो, अहिले पनि छ ।
केपी शर्मा ओलीलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
– केपी शर्मा ओलीको व्यक्तित्वबाट म धेरै प्रभावित छु । मैले धेरै राजनीतिक व्यक्तित्वहरुको संगत गरेकी छु । राजनीतिमा लागेको मानिस सिरियस हुनुपर्छ, जेन्यून हुनुपर्छ भन्ने कुरो आफ्नो ठाउँमा रह्यो । ओली सबै कुरो बुझेको, व्यावहारिक, हरेक वर्ग, हरेक उमेर समूहका मानिससँग मिल्न सक्ने, हरेक विषयको ज्ञान राख्ने र कलाकारलाई पनि राम्रोसँग बुझेको ब्यक्ति हुनुहुन्छ । उहाँसँग केही अगाडि मेरो लामो भेट भएको थियो । त्यो समय कुरा गर्दा मैले उहाँलाई मेरो क्षेत्रको बिषयमा धेरै थाहा भएको पाएँ । म अहिले ढिलो अध्ययन गर्दैछु । म ढिलो पढ्ने लगायत अन्य विषयको बारेमा पनि उहाँलाई धेरै थाहा रहेछ । हरेक बिषयमा जानकारी राख्ने व्यक्तित्व भएको कारणले पनि म उहाँप्रति प्रभावित भएँ ।
पहिले अध्ययन अगाडि बढाउन राजनीति छोडे भन्नु भएको थियो । अब राजनीतिमा सक्रिय हुँदा अध्ययनमा असर गर्दैन त ?
– पहिले म स्कुल पढ्दै थिए । त्यो समय सबै कक्षा लिनु अनिवार्य थियो । अहिले कलेज सातामा ३, ४ दिन गए पनि हुन्छ । अध्ययनका लागि साथीभाइबाट नोट पाइन्छ । त्यसैले केही फरक पर्दैन ।
एमाले ज्वाइन गर्ने सवालमा श्रीमान् विनोद मानन्धरसँग पनि सल्लाह भयो कि भएन ?
– विनोद जीसँग मात्र होइन, धेरैसँग सल्लाह लिनुपर्छ । हामी महिलाको सशक्तिकरणको कुरा गर्छौं । त्यसैले आफ्नो निर्णयमा अरुको दवाव हुनु गलत हो । मलाई थाहा छ, विनोद जीले मेरो निर्णयको विरोध गर्नु हुन्न, यसमा मेरो सतप्रतिसत विश्वास छ । तर मैले एमाले प्रवेशको निर्णय उहाँलाई सोधेर गरेकी भने होइन । उहाँबाट प्रश्न पनि उठ्दैन भन्ने मेरो उहाँ प्रतिको विश्वास हो ।
अरु पार्टीले पनि बोलाएका थिए कि ?
– मेरा साथीभाई धेरै पार्टीमा छन् । उहाँहरुले आ–आफ्नो पार्टीमा बोलाउनु स्वाभाविक हो । मैले सबैलाई मेरो बिचार अर्काे छ भनेर जवाफ दिदै आएकी थिएँ । सबै पार्टीले आफ्नो पार्टीमा राम्रो मानिस आओेस् भन्ने चाहन्छन् । त्यसैले मलाई आफ्नो पार्टीमा भित्र्याउन सबै पार्टीको कसरत भने थियो । तपाईंलाई यस्तो गर्दिन्छु भन्ने लोभ देखाउने पनि हुँदोरहेछ । म कुनै लोभमा परिनँ । म लोभी पनि होइन । मलाई थाहा छ, म जहाँ जान्छु, आफ्नो स्थान बनाउँछु । म त्यो तयारीले अगाडि बढेकी छु ।
तपाईंले आयोजना गर्दै आएको नियमित होली कार्यक्रम केही बर्ष यता कोरोनाको बिथोलेको छ । यो बर्षको योजना के छ ?
– केही वर्ष यता होली कार्यक्रम भव्य रुपले गर्न कोरोनाले नदिएपछि सानो स्केलमा केही साथीभाई बोलाएर गर्र्दै आएकी छु । त्यो दिन मेरो श्रीमान् विनोद जीको जन्मदिन पनि हो । त्यसैले नजिकको साथीभाई बोलाएर सानोतिनो कार्यक्रम यस बर्ष पनि हुन्छ । बाहिरबाट मिडिया लगायत धेरैलाई भने सहभागी नगराउने योजना छ । कार्यक्रमको जानकारी भने सामाजिक सञ्जालबाट गराउँछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक (भिडियोसहित)
-
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह
-
अरुणाञ्चलमा अलपत्र परेका जुम्लाका १४ मजदुरको उद्धार
-
वैवाहिक वर्षगाँठ मनाउन जनकपुर पुगे बेलायती राजदूत