शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘एमालेले उम्मेदवारको रुपमा अगाडि सार्‍यो भने पछि हट्दिनँ’

केपी शर्मा ओलीको व्यक्तित्वबाट धेरै प्रभावित छु : करिश्मा मानन्धर
शुक्रबार, २७ फागुन २०७८, १६ : ०१
शुक्रबार, २७ फागुन २०७८

पछिल्लो समय पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् । राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको बताउने नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताउँछिन् । यसअघि उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई एक कार्यक्रम सहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । उनले किन एकाएक एमाले प्रवेशको निर्णय गरिन् त ? यसै विषयमा केन्द्रीत रही करिश्मासँग गरिएको छोटो कुराकानीः

तपाईं एकाएक एमाले प्रवेश गर्ने निर्णय गर्नुको कारण ?

राजनीतिमा मेरोरुचि भएको सबैलाई जानकारी भएको विषय हो । त्यही भएर मैले पहिले नयाँ शक्ति पार्टी मार्फत् राजनीति अगाडि बढाउने प्रयास गरेको थिएँ । त्यो बिचमा धेरै उतारचढाव आयो । म आफै अध्ययनमा समेत ब्यस्त हुन थाले । त्यसले मेरो राजनीतिक करियरमा केही बाधा पुग्यो । म जुन पार्टीमा आवद्ध थिएँ, त्यो पार्टी अन्य पार्टीमा मर्ज भएपछि हाम्रा नेताज्यूहरु पनि त्यतैतिर लाग्नुभयो । मैले पार्टी छाडे । त्यसपछि राजनीति कुन पार्टीबाट अगाडि बढाउने भन्ने निधो गरेकी थिइनँ, त्यसै बसेकी थिएँ । अहिले आएर मैले राजनीति अगाडि बढाउन एमाले उपयुक्त रहेको देखे । सबैलाई समेट्ने, सबैलाई प्राथमिकता दिने पार्टी एमाले लाग्यो ।

यस अघि अभिनेता भुवन केसी मरिमेटेर लागे पनि एमालेबाट कुनै अवसर नपाएको अवस्थाबारे तपाईं जानकार त हुनुहुन्छ नि ?

अरुको बारेमा मलाई केही थाहा भएन । कुनै पार्टीमा आवद्ध भएपछि पार्टीलाई आफूले दिनुपर्ने योगदान सशक्त हुनुपर्छ । त्यो कुरामा म प्रष्ट छु । को कुन क्षेत्रबाट आयो भनेर पार्टीले मतलब राख्दैन । योगदान कतिको दिन सक्छ भन्ने पार्टीले हेर्छ । भुवन दाई सुपरस्टार कलाकार हुनुहुन्छ । उहाँ आउनु भएको होला । तर पार्टीले उहाँलाई खाली फेसको लागि मात्र अगाडि सार्दैन । पार्टीलाई चाहिने भनेको काम हो, त्यो पार्टी निर्माणदेखि पार्टीभित्रका विभिन्न गतिविधि किन नहोस् । कलाकारलाई पार्टीले विशेष रुपमा नलिने, हल्का रुपमा लिने चाँही सबै सबै पार्टीमा पाएकी छु ।कलाकारलाई बुझेर जिम्मेवारी दियो भने राम्रो होला भन्ने मलाई लाग्छ ।

कोमल वलीले एमाले प्रवेश गर्ने बितिक्कै राष्ट्रिय सभा सदस्यको अवसर प्राप्त गर्नुुभयो । तपाईं भित्रिदै गर्दा त्यस्तो केही अवसरको बचन दिइएको छ कि ?

म एमालेमा कुनै बार्गेनिङ हिसाबले प्रवेश गर्न लागेकी होइन । कुनै पनि पार्टीमा धेरै नेता, कार्यकता थुप्रै बर्षदेखि लागेका ब्यक्ति हुन्छन् । सबै पक्ष मिलेर एउटा पार्टी निर्माण भएको हुन्छ । एउटा नयाँ प्रवेश गर्ने बितिक्कै म यो क्षेत्रमा यस्तो थिए  भनेर डिमान्ड गर्न पाउने होइन । त्यसैले मैले कुनै पनि डिमान्ड राखेकी छैन । मलाई एमालेले मेरो क्षमताको पहिचान गरेर गहन जिम्मेवारी दिन्छ भन्ने विश्वास छ ।

निर्वाचनको मुखमा पार्टी प्रवेश गर्दै हुनुहुन्छ । उम्मेदवार बन्ने योजना पनि छ कि ?

यो बिषयमा मैले केही सोचेकी छैन । पार्टीले कस्तो भूमिका दिन्छ भनेर पनि थाहा छैन । पार्टीले आफ्नो तर्फबाट उमेद्वारको रुपमा अगाडि मलाई सार्यो भने पछि हट्दिनँ । अहिले भने चुनावमा उठ्ने, नउठ्न निधो भएको छैन ।

राजनीतिका लागि काँग्रेसले पनि अवसर दिन सक्थ्यो कि ?

काँग्रेससँग पनि मेरो विचारधारा नमिल्ने भन्ने होइन । तर मैले काँग्रेस रोजिन ।

 

केही अगाडि एमाले प्रवेशको विषयमा हल्ला मात्रै हो भन्नु भएको थियो । अहिले त्यो हल्ला सार्थक भएछ त ?

– त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट फरक प्रसङ्गको थियो । मेरो मनमा जहिले पनि राजनीतिप्रति चासो थियो । महिला अगाडि आउनुपर्छ भन्ने लाग्थ्यो । महिलाहरुको सशक्तिकरणको त हामी कुरा गर्छौ । अगाडि बढ्न खोजे हतोत्साहित गर्दिन्छौ । त्यसैले पनि पहिले मैले यो बिषयमा कुनै निर्णय गरेकी थिइनँ । अहिले निर्णय गरेकाले डराउनुपर्ने अवस्था छैन । त्यतिबेला म आफै अस्पष्ट थिएँ ।

पहिले डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो । अहिले भट्टराई जसपामा हुनुहुन्छ । राजनीति त्यताबाट पनि अगाडि बढ्न सक्थ्यो नि ?

– डा. भट्टराई रहेको पार्टीमा जाने अहिले केही विचार आएन । म जहिले पनि फ्रेस काम गर्न रुचाउँछु । डा भट्राईको साथको मैले अनुभव लिइसकेकी छु । उहाँबाट धेरै कुरो सिक्न पाएकोमा दुई मत छैन ।

केही अगाडि एमालेले प्रतिगमन गरेर सत्ता गुमायो, जनतामा पनि छवि बिगारेको छ हैन र ?

– कुनैपनि राजनीतिक पार्टीको जनतामा राम्रो छवि छैन । अन्यको तुलनामा एमालेको अलि राम्रो छ भन्ने मेरो बुझाइ हो । यो मेरो ब्यक्तिगत धारणा हो । हाम्रो देशमा आफ्नो राम्रो र अरुको नराम्रो देख्ने चलन पहिले थियो, अहिले पनि छ ।

केपी शर्मा ओलीलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

– केपी शर्मा ओलीको व्यक्तित्वबाट म धेरै प्रभावित छु । मैले धेरै राजनीतिक व्यक्तित्वहरुको संगत गरेकी छु । राजनीतिमा लागेको मानिस सिरियस हुनुपर्छ, जेन्यून हुनुपर्छ भन्ने कुरो आफ्नो ठाउँमा रह्यो । ओली सबै कुरो बुझेको,  व्यावहारिक,  हरेक वर्ग, हरेक उमेर समूहका मानिससँग मिल्न सक्ने, हरेक विषयको ज्ञान राख्ने र कलाकारलाई पनि राम्रोसँग बुझेको ब्यक्ति हुनुहुन्छ । उहाँसँग केही अगाडि मेरो लामो भेट भएको थियो । त्यो समय कुरा गर्दा मैले उहाँलाई मेरो क्षेत्रको बिषयमा धेरै थाहा भएको पाएँ । म अहिले ढिलो अध्ययन गर्दैछु । म ढिलो पढ्ने लगायत अन्य विषयको बारेमा पनि उहाँलाई धेरै थाहा रहेछ । हरेक बिषयमा जानकारी राख्ने व्यक्तित्व भएको कारणले पनि म उहाँप्रति प्रभावित भएँ ।

पहिले अध्ययन अगाडि बढाउन राजनीति छोडे भन्नु भएको थियो । अब राजनीतिमा सक्रिय हुँदा अध्ययनमा असर गर्दैन त ?

– पहिले म स्कुल पढ्दै थिए । त्यो समय सबै कक्षा लिनु अनिवार्य थियो । अहिले कलेज सातामा ३, ४ दिन गए पनि हुन्छ । अध्ययनका लागि साथीभाइबाट नोट पाइन्छ । त्यसैले केही फरक पर्दैन ।

एमाले ज्वाइन गर्ने सवालमा श्रीमान् विनोद मानन्धरसँग पनि सल्लाह भयो कि भएन ?

– विनोद जीसँग मात्र होइन, धेरैसँग सल्लाह लिनुपर्छ । हामी महिलाको सशक्तिकरणको कुरा गर्छौं । त्यसैले आफ्नो निर्णयमा अरुको दवाव हुनु गलत हो । मलाई थाहा छ, विनोद जीले मेरो निर्णयको विरोध गर्नु हुन्न, यसमा मेरो सतप्रतिसत विश्वास छ । तर मैले एमाले प्रवेशको निर्णय उहाँलाई सोधेर गरेकी भने होइन । उहाँबाट प्रश्न पनि उठ्दैन भन्ने मेरो उहाँ प्रतिको विश्वास हो ।

अरु पार्टीले पनि बोलाएका थिए कि ?

– मेरा साथीभाई धेरै पार्टीमा छन् । उहाँहरुले आ–आफ्नो पार्टीमा बोलाउनु स्वाभाविक हो । मैले सबैलाई मेरो बिचार अर्काे छ भनेर जवाफ दिदै आएकी थिएँ । सबै पार्टीले आफ्नो पार्टीमा राम्रो मानिस आओेस् भन्ने चाहन्छन् । त्यसैले मलाई आफ्नो पार्टीमा भित्र्याउन सबै पार्टीको कसरत भने थियो । तपाईंलाई यस्तो गर्दिन्छु भन्ने लोभ देखाउने पनि हुँदोरहेछ । म कुनै लोभमा परिनँ । म लोभी पनि होइन । मलाई थाहा छ, म जहाँ जान्छु, आफ्नो स्थान बनाउँछु । म त्यो तयारीले अगाडि बढेकी छु ।

तपाईंले आयोजना गर्दै आएको नियमित होली कार्यक्रम केही बर्ष यता कोरोनाको बिथोलेको छ । यो बर्षको योजना के छ ?

– केही वर्ष यता होली कार्यक्रम भव्य रुपले गर्न कोरोनाले नदिएपछि सानो स्केलमा केही साथीभाई बोलाएर गर्र्दै आएकी छु । त्यो दिन मेरो श्रीमान् विनोद जीको जन्मदिन पनि हो । त्यसैले नजिकको साथीभाई बोलाएर सानोतिनो कार्यक्रम यस बर्ष पनि हुन्छ । बाहिरबाट मिडिया लगायत धेरैलाई भने सहभागी नगराउने योजना छ । कार्यक्रमको जानकारी भने सामाजिक सञ्जालबाट गराउँछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप