आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अफवाह फैलाउने युट्युबरलाई साइबर क्राइममा कारबाही गरौँ’

अनलाइन टिभी संघका अध्यक्ष जीवन भण्डारी भन्छन् – तनहुँ प्रहरी कार्यालयमा युट्युबरको मेला लाजमर्दो
शुक्रबार, २० फागुन २०७८, ११ : १४
शुक्रबार, २० फागुन २०७८

नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । 

शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उनीहरूले त्यहाँबाट खबर दिने नाममा अफवाह फैलाइरहेका छन् । तथाकथित अभियन्ताहरू पीडक आरोपीको पक्षमा नारा जुलुस गर्दै पीडित किशोरीमाथि आक्षेप लगाइरहेका छन् । तनहुँ नपुगेका युट्युबरहरुले भने आफू बसेको स्थानबाट घटनासँग असम्बन्धित व्यक्तिहरू पीडितलाई आक्षेप लगाउने र पीडकको समर्थनमा भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन् । कतिपय भिडियोमा पीडितप्रति अपाच्य र सुन्नै नसक्ने शब्दावली समेत प्रयोग भएको पाइएको छ । 

केही युट्युब च्यानलका उदाहरणहरू :

१) टुडेज नेपाल नामको युट्युब च्यानलमा ‘***को खुल्यो अर्को डरलाग्दो रहस्य, डाक्टर रिपोर्ट र नागरिकता...’ शीर्षकमा प्रकाशित भिडियोमा शर्मिला वाइवाले पीडितमाथि सुन्न नसकिने अपाच्य शब्दहरू बोल्दै आरोपीको पक्षमा खुलेर लागेकी छिन् । सो भिडियोमा मुनी उनको भनाई अर्थात् आरोपितलाई समर्थन गर्दै पीडितप्रति विषवमन गरिएको छ । 

२) तनहुँमा पुगेका युट्युबरहरुको अन्तर्वार्ताको मुख्य पात्र पुण्य गौतम लगायतका कथित अभियन्ताहरू बनेका छन् । धेरैले गौतमका कुराहरूलाई प्राथमिकता दिएर भिडियो बनाएका छन् । कतिपयले त जिल्ला प्रहरी कार्यालय नै नगएका सञ्चारकर्मी रवि लामिछाने समेत जिल्ला प्रहरी कार्यालय पुगेको र पल शाह छुट्न लागेको भ्रामक थम्बनेलहरु सिर्जना गरेका छन् । 

३) अर्घाखाँची मिडिया नामक च्यानलले पल शाहको बयान पछि सबै पर्दाफास, भर्खरै  रवि लामिछाने पुगे तनहुँ चौकीमा, भोलि छुट्दै पल शाह, ***ले रुँदै यस्तो भनिन् । जहाँ रवि लामिछानेले न्यूज २४ टिभीको बुममा बोल्दै गरेको फोटो राखिएको छ । जुन भिडियोले २ लाख २७ हजार भ्युज पाएको छ । 

४) यस्तै अनलाइन नेपाल एचडी लेखिएको च्यानलले पनि भर्खरै रवि लामिछाने पुगे तनहुँ चौकीमा, रवि लामिछाने पुगेपछि पुरै पर्दाफास, भोलि छुट्दै पल शाह, ***ले सिधै यसो भनिन् भन्ने थम्नेल राखेको छ । जसमा रवि लामिछानेले न्यूज २४ मा रहँदा सो टेलिभिजनको बुम समातेर बोलिरहेको फोटो राखिएको छ । सो टिभीको निलो रंगको बुममा युट्युबर आफैले ग्यालेक्सी लखेर ग्यालेक्सीको बुम बनाइदिएका छन् । 

५) अर्घाखाँची मिडिया नामको च्यानलले पल शाह निर्दोष भएको र आजै छुट्ने र ***सँग बिहे हुने फैसला नै गरेको छ । सो च्यानलको एक भिडियोमा थम्बनेलमा यस्तो लेखिएको छ, ‘पल शाह निर्दोष भए आजै छुट्दै, हुने भयो विवाह, ***ले केश फिर्ता लिने, दुर्गेश थापा भागे’ । जसले १ लाख २१ हजार भ्यूज पाएको छ । 

अर्को युगल मिडिया नामको युट्युब च्यानलले पल शाह निर्दोष घोषणा गर्दै पूजासँग फिल्म हेर्न जाने भन्दै भ्रमित सूचना सम्प्रेषण गरेको छ । सो च्यानलले लेखेको छ–‘पल शाह निर्दोष सावित, शनिवार पूजासँग फिल्म हल जाने’ । अर्घाखाँची मिडिया नामक च्यानलले अर्को भ्रम फैलाएको छ । जसको थम्नेलमा लेखिएको छ–‘पललाई भेट्न प्रहरी चौकी पुगिन् ***, रवि लामिछानेले भेटे पल शाहलाई, एक्कासि ***ले यस्तो निर्णय गरिन्’

बिहीबार नै युट्युबबाट भेरिफाइड च्यानलको चिन्ह पाएको त्रिसुली खबर टिभी नामक च्यानलले पनि भ्रामक भिडियो अपलोड गरेको छ । जसको थम्नेलमा लेखिएको छ–‘एमसीसी विरुद्ध मार्न र मर्न तयार छौँ भन्दै पूर्व राजाले गरे बालुवाटार कब्जा, देउवाको सातो गयो, एमसीसी भोलि नै खारेज गर्ने घोषणा’

६) न्यूज फिल्मी च्यानलले पल शाह प्रकरणमा पुण्य गौतमको सनसनीपूर्ण अन्तर्वार्ता भनेर भिडियो अपलोड गरेको छ भने नमस्ते फिल्मी टिभी च्यानलले पल शाह प्रकरणमा रेखा थापा र ऋचा शर्मालाई पुण्य गौतमको कडा आलोचना भनेर आरोपितको समर्थन जनाउने गरी भिडियो अपलोड गरेको छ । 

यी माथि प्रस्तुत गरिएका सनसनी फैलाउने केही युट्युब च्यानलका केही उदाहरण मात्र हुन् । पल–*** केशमा दैनिक दर्जनौँ यी र यस्ता घटनालाई अतिरञ्जित गर्ने भिडियोहरू युट्युब प्लेटफर्मबाट प्रशारण भइरहेको छ । जुन कानुनी एवं पत्रकारिता आचार संहिता विपरीत रहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषय र बलात्कार जस्तो गम्भीर फौजदारी कसुरमाथि युट्युब च्यानलमा पीडितलाई थप पीडा पुर्‍याउने गरी भद्दा मजाक मञ्चन भइरहेको छ । 

भ्रम फैलाउने युट्युबरलाई साइबर अपराधमा कारबाही गरौँ : जीवन भण्डारी 

अनलाइन टिभी पत्रकार संघका अध्यक्ष एवं पत्रकार जीवन भण्डारी युट्युब च्यानलमा विकृति बढेको भन्दै पत्रकार आचार संहिता विपरीत क्रियाकलाप गर्ने च्यानलमाथि साइबर क्राइममा कारबाही गर्नुपर्ने बताउँछन् । रातोपाटीसँगको कुराकानीमा अध्यक्ष भण्डारी भन्छन्–

–युट्युबर कन्टेन्ट क्रियटर हुन्दै हुन्, युट्युबबाट पैसा आउँछ भनेर जसले गल्ती गरेर विकृति ल्याए तिनीहरू गैरजिम्मेवार भएकै हुन् । त्यस्तै अर्को जिम्मेवार भनेका पाठक स्रोता दर्शक पनि जसले त्यस्ता सामग्री हेर्‍यौं र नराम्रा विषयवस्तुलाई प्रोत्साहित गर्‍यौँ । त्यसमा सबैभन्दा जिम्मेवार हुनुपर्ने राज्यका २ निकायहरू छन् तिनीहरु पनि मुकदर्शक भए । त्यसमा एउटा रहेको छ प्रेस काउन्सिल, अर्को रहेको छ नेपाल प्रहरीको साइबर ब्युरो । 

–अहिले युट्युबमा आएका सामग्रीहरूलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ, एउटा पत्रकारिता तर्फबाट समाचारका रूपमा आएका जसमा कानुन आकर्षित हुँदैन र अर्को पत्रकारिता बाहिरबाट आएका विषय वस्तुहरुलाई प्रहरीको साइबर ब्यूरोले हेर्न सक्छ । 

–अहिले साइबर ब्युरो र प्रेस काउन्सिलबिच यो हाम्रो काम हैन भनेर एकले अर्कोलाई देखाउने काम भइरहेको छ । राज्यले नहेरेका कारण युट्युबमा विकृति थपिँदै गइरहेको अवस्था रहेको छ । यसमा राज्यले तत्काल केही न केही काम गर्नुपर्ने अवस्था देखिन्छ । यसबारेमा हामीले पटक पटक यस्तो गर्नुपर्छ भनेर सञ्चार मन्त्रालयमा घच्घच्याइरहेका छौँ । लौन तपाईंहरूले केही एक्सन लिनुस् भनेर पटक पटक प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर व्यूरोलाई भनिरहेका छौँ । आवश्यक परे हामी साथ दिन्छौँ भन्दा पनि उहाँहरूले साथ नदिएको अवस्था छ । 

तनहुँ प्रहरी कार्यालयमा लागेको युट्युबरको मेला लाजमर्दो

अनलाइन पत्रकार संघका अध्यक्ष भण्डारी अगाडि भन्छन्–

–अनुसन्धानका लागि थुनामा रहेका अभिनेता शाहको समर्थन गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरको मेला लाग्नु लाजमर्दो हो । युट्युबमै काम गर्ने साथीहरु पनि यसबाट लज्जित छन् । युट्युबमै काम गर्ने साथीहरूले पनि लौन यस्तो बेइज्जत नगरौँ भनिरहेका छन् । अभियुक्त पक्राउ परेसँगै तनहुँमा अव मेला लाग्छ भनिरहेका बेला त्यस्तो नगरौँ जिम्मेवार बनौँ भन्दा जेन्युन ढंगले काम गर्ने साथीहरु नै लजाई रहनुभएको छ । राम्रो जिम्मेवार ढंगले युट्युवर भएर काम गर्नेहरूलाई पनि यस्ता घटनाहरूले उहाँहरुले आफूले युट्युबर भनेर चिनाएर काम गर्न सक्ने अवस्था छैन । 

पीडित किशोरीमाथि युट्युबमार्फत दुरुत्साहन गर्नेलाई राज्यले कारबाही गर्नुपर्छ  

भण्डारी भन्छन्–

–पीडितलाई दुरुत्साहन हुने गरी भिडियो बनाउनेलाई राज्यले कारबाही गर्नुपर्छ । दर्ता गरेर पत्रकारिता गर्छु भनेर आएको छ भने पत्रकार आचार संहिता अनुसार कारबाही गर्नुपर्छ । त्यसबाहेक अरूलाई साइवर ब्युरोले मजाले कारबाही गर्न सक्छ । गाली बेइज्जती सम्बन्धी, दुर्व्यवहार सम्बन्धी, गोपनीयता सम्बन्धी विषयमा कारबाही गर्न सक्छ । नाबालिगलाई बलात्कार भएको भन्ने विषय त गोपनीयताको विषय हो । दुर्व्यवहारसम्बन्धी विषय हो त्यसमा कारबाही गर्न धेरै व्यवस्थाहरू छ । तनहुँमा मेला लागेका दुई चार वटा मात्र युट्युबरलाई सरकारले कारबाही गरोस्, अरू त भागिहाल्छन् नि । 

–यसरी कारबाही गर्दा मेरो अर्को के पनि भनाई छ भने पत्रकारिता र प्रेस स्वतन्त्रताको हुर्मत लिने काम गर्न चाहिँ भएन ।  दर्ता भएर पत्रकारिताका मान्यता अनुसार काम गर्ने बाहेक अरू पत्रकारिताका सञ्चारमाध्यम हैनन् । अरू अभिव्यक्तिका माध्यम हुन्, अभिव्यक्तिको पनि एउटा स्तर हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै गर्दा त्यसका पनि सीमाहरू छन्, कतिसम्म बोल्ने, के बोल्ने त्यसका सीमाहरू छन् । झुटो बोल्न पाउने, अतिरञ्जित गर्न पाउने अधिकार त छैन । त्यसकारण झुटो खबर फैलाउनेलाई, हिंसा फैलाउनेलाई कारबाही गर्ने पर्याप्त आधारहरू छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप