आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुल्ने ५ चिनियाँ एप्स

प्रहरी भन्छ– अन्तर्राष्ट्रिय अपराधको जालो तोड्यौँ
मङ्गलबार, १७ फागुन २०७८, १५ : ५३
मङ्गलबार, १७ फागुन २०७८

चिनियाँ नागरिक वाङ्गजिनोले सानोथिमीमा घर भाडामा लिएर ‘कल सेन्टर’ सञ्चालन गरेका थिए । फागुन १० मा प्रहरीले सो ‘कल सेन्टर’मा छापा मारेर वाङ्गजिनो सहित ८० जनालाई पक्राउ गरेको छ । २०७८ पुस २२ बाट ३ तले घरमा सुरु गरेको कल सेन्टरमा ७९ जना नेपाली कामदार थिए । उनीहरुको काम थियो– चिनियाँ एप्समार्फत ऋण लिएका भारतीयलाई धम्क्याएर मिटर ब्याज असुल्ने ।

चीनमा आईटी अफिसरले पहिले त्यस्ता एप्स बनाए । ती एप्स हुन्– रुपी वे, लोन क्यूब, फ्ल्यास रुपी, आहा रुपी र ओउ रुपी ।ती एप्स भारतमा मात्रै खुल्छन् । त्यहाँ गुगलमा विज्ञापन गरेर एप्सलाई बुस्ट गरियो र ऋण आवेदन गर्नका लागि फिसिङ गर्न थालियो ।

पब्जीमा लत बसेकाहरु र अनलाईन मार्फत जुवा खेल्नेहरूले सो एप्समार्फत लोन भर्न थाले । लोन एप्लाई गर्दा रासन कार्ड, फोन नम्बर र परिवारको पूरा विवरण भर्नुपर्छ ।  पर्यटक भिसामा नेपाल आएका वाङ्गजिनो पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको कोठा नम्बर १२०६ मा बस्थे । उनले सानोठिमीको कल सेन्टरमार्फत भारतीय नागरिकसँग अनलाइनबाटै मिटर ब्याज असुल्थे । चिनियाँ नागरिकले ऋण प्रवाह गर्ने एप्स नेपालमा डाउनलोड नहुने महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

​कल सेन्टरमा ४७ जना नेपाली महिला र ३२ जना पुरुष कार्यरत थिए । तीमध्ये ३ नेपाली र एकजना चिनियाँलाई मात्र प्रहरीले मुद्दा चलाएको छ । कल सेन्टरका आईटी अफिसर काभ्रे घर भएका उत्तम पराजुली, सिन्धुपाल्चोक घर भएका भाषा अनुवादक राजन न्यौपाने, सुपरभाइजर किशोर कुँवर र २९ वर्षीय वाङ्गजिनोविरुद्ध मुद्दा चलाइएको छ । उनीहरु विरुद्ध बैंक तथा वित्तीय संस्था ऐन–२०७३ अनुसार महानगरीय प्रहरी वृत थिमीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

कल सेन्टरबाट प्रहरीले कम्प्युटर डेस्कटप १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थान बरामद गरेको छ । कम्प्युटर परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्यावमा पठाइएको छ ।

अन्तर्राष्ट्रिय अपराधको जालो तोड्यौँ : प्रहरी

चिनियाँले कल सेन्टरमा काम गर्नेहरुलाई १५ देखि ६० हजार तलब दिएका थिए । ऋणीले समयमा ब्याज र सावाँ अनलाइनमार्फत फिर्ता नगरेपछि उनीहरुलाई धम्क्याउने र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने काम कलरको हुन्थ्यो । तर, सो अपराधबाट पीडित नेपालमा कोही पनि छैनन् ।

एप्स मार्फत २ हजार लोन एप्लाई गरेमा चिनियाँले सुरुमा १२ सय भारतीय रुपैयाँमात्र पठाउँथे । तर, एक सातापछि २ हजार फिर्ता गर्नुपर्थ्यो । मिटर ब्याज उठाएबापत कलरले बोनस पनि पाउँथे । ७ दिनमा पैसा फिर्ता नगरे पेनाल्टी जोड्दै जान्थे ।

चिनियाँको कल सेन्टरबाट नेपाली नागरिक पीडित नभए पनि आफूहरुले अन्तर्राष्ट्रिय अपराधको जालो तोडेको बताउँछन् डिएसपी राजु पाण्डे । उनले भने, ‘कल सेन्टरमा छापा मारेर नेपालमा बसेर विदेशीले तेस्रो मुलुकमा गरेको अपराधको जालो तोडेका छौं ।’ छैटौं दिनमा सहज रुपमा लोन फिर्ता नगरेपछि मिटर ब्याज असुल्ने चिनियाँ गिरोहले कल सेन्टरलाई प्रयोग गर्ने गरेका थिए । सातौं दिनमा ब्याज र सावाँ डिपोजिट नगरेमा कल सेन्टरले धम्क्याएर रकम असुल्ने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप