शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विभाजनको डिलमा जसपा, के भन्छन् बाबुराम भट्टराई ? (भिडियोसहित)

‘हामी निर्माण सामग्री जम्मा गर्दैछौँ, प्रचण्डसँग सहकार्य हुँदैन’
शुक्रबार, १३ फागुन २०७८, १४ : ११
शुक्रबार, १३ फागुन २०७८

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) का  प्रतिनिधिसभामा १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् । एमसीसी लगायतका विषयमा दुई मत देखियो यो पार्टीभित्र संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ । यो विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।

जसपामा देखिएको विवादबारे  सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले रातापाटीसँग भने ‘जसपा भर्खरै बन्दैछ । विभिन्न ठाउँका मान्छेहरु एक ठाउँमा आएर पार्टी निर्माण गर्ने क्रममा नै छौँ । पार्टी निर्माणमा लागि अहिले हामी निर्माण सामग्रीहरु जम्मा गर्दैछौँ । सबै निर्माण सामग्रीहरु थुप्रो लगाएर राखेका छौँ । थुप्रो लगाएर राखेका निर्माण सामाग्रीहरुलाई सुविचारित ढंगबाट म आफू पनि आर्किटेक्चर भएको नाताले एउटा राम्रो डिजाइन बनाएर राम्रो घर बनाउनुपर्छ भन्नेमा लागिरहेका छौँ ।’   

जसपा नेता भट्टराईले पूर्वमाओवादीको एकता हुनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव असम्भव रहेको बताए । माधव नेपालसँग भने आफूहरुको छलफल हुन बाँकी रहेको उनले बताए । प्रस्तुत छ, जसपामा देखिएको विवादका सन्दर्भमा डा. भट्टराईसँग सोधिएका चार प्रश्न :  

जसपा फुटको सङ्घारमा पुगेको हो ? के हो अहिलेको स्थिति ? वास्तविकता के हो ?

जसपा भर्खरै बन्दैछ । विभिन्न ठाउँका मान्छेहरु एक ठाउँमा आएर पार्टी निर्माण गर्ने क्रममा नै छौँ । पार्टी निर्माणमा लागि अहिले हामी निर्माण सामाग्रीहरु जम्मा गर्दैछौँ । सबै निर्माण सामाग्रीहरु थुप्रो लगाएर राखेका छौँ । थुप्रो लगाएर राखेका निर्माण सामाग्रीहरुलाई सुविचारी ढंगबाट म आफू पनि आर्किटेक्चर भएको नाताले एउटा राम्रो डिजाइन बनाएर राम्रो घर बनाउनु पर्छ भन्नेमा लागिरहेका छन् । त्यसैले, यस्ता कुरामा बसेर छलफल हुनु स्वाभाविक हो । यसलाई अहिले नै पार्टी फुट्छ भनेर भन्नुभन्दा पनि पार्टी बनाउनका लागि हामी बहस गरिरहेका छौँ । पार्टी बन्छ । र, जसपा वैकल्पिक शक्तिको रुपमा स्थापित हुन्छ । 

जसपा मधेस केन्द्रित पार्टी मात्र होइन, देशव्यापीरुपमा नै हिमाल, पहाड र तराईमा प्रभाव रहेको, सबै समुदायलाई जोड्ने देशको सच्चा राष्ट्रिय पार्टी बनाउने हाम्रो ध्येय हो । त्यसैका निम्ति हाम्रो बहस हो । बहस सत्य हो । लुकाउने कुरा आउँदैन । पार्टी फुटाउने, टुक्र्याउने होइन । राष्ट्रिय र वैकल्पिक पार्टी बनाउनका निम्ति बहस हो । त्यतापट्टि हामी पुग्छौँ भन्ने मलाई विश्वास छ ।

चुनावको मुखमा वामपन्थी र वामपन्थी रुझान भएका दलहरु (माओवादी, एकीकृत समाजवादी र जसपा) बीच गठबन्धनको सम्भावना कति छ ?

यसमा त मेरो चाहना अलि बढी नै थियो । काँग्रेसको आफ्नै आधार छ । एमालेको पनि आफ्नै आधार छ । तेस्रो शक्तिहरु छिन्नभिन्न भएकाले शक्तिशाली आधार बनिरहेको छैन । त्यसैले माओवादी र माधव नेपालजीको पार्टी पुरानै धङ्धङी छोडेर लोकतन्त्रसहितको समाजवादको दिशातिर आउने हो भने वैचारिक ढंगले हामी नजिक हुने थियौँ । र, समाजवादी केन्द्र बनाउँदा तेस्रो विकल्प हुन्थ्यो कि भन्ने मलाई लागेको हो । तर, पछि माओवादीले महाधिवेशन गर्यो । जसमा उहाँहरु पुरानै लयमा फर्किनुभयो । लफ्फाजी, वाम लफ्फाजीको कुरा गर्नुभयो । त्यसले उहाँहरु समाजवादी केन्द्र बनाउने दिशामा हुनुहुन्छ भन्ने मलाई लागेन । त्यसपछि मैले पनि जाँगर लगाइन । पूर्व र पश्चिम हिँडेका साथीहरु के कुरा गर्नु ?

हाम्रो स्पष्ट धारणा फेरि पनि जसपा भनेको लोकतान्त्रिक कित्ताको पार्टी हो । यो कम्युनिष्ट पार्टी होइन । हामी दक्षिण र वामपन्थी होइन, अग्रपन्थी हौँ । कहिले बाँया कहिले दाँया हुँदै अगाडि बढ्नेलाई अग्रपन्थ भनिन्छ । दक्षिणपन्थ भनेको यथास्थितिमा नै जोड दिएर त्यसमा नै टाँसिरहने हुन् ।

वाम भनेको सधैं उग्र र चर्का कुरा गरिरहने हुन्छन् । हामी आवश्यकताअनुसार कहिले वाम कहिले दक्षिण हुँदै निरन्तर अगाडि बढ्ने अग्रपन्थी शक्ति हौँ । त्यसैले हाम्रो चरित्र लोकतान्त्रिक हो । समावेशी र सहभागितामुलक लोकतन्त्र हाम्रो मुल चरित्र हो । त्यसैले हामी लोकतान्त्रिक कित्तातिर नै रहन्छौँ । कम्युनिष्ट कित्तातिर जसपा हुन्छ भन्ने कुरा सत्य होइन । उहाँहरु समाजवादी धारतिर आउनुभएको भए त्यहाँ ठाउँ निर्माण हुन्थ्यो उहाँहरु पुरानौ कुरामा अडिएर बस्नुभयो त्यसैले उहाँहरुसँग सहकार्य हुने सम्भावना रहेन । माधव नेपालहरुसँग भने छलफल हुन नै बाँकी छ । उहाँहरु पनि नयाँ धारमा आउनुभयो भने ठिकै छ ।  आउनुभएन, हिजोकै कम्युनिष्ट धारणा समातेर बस्नुभयो भने त पुराना ढाँचाका कम्युनिष्ट पार्टी अबको विश्वमा चल्छन् भन्ने मलाई लाग्दैन ।

पूर्वमाओवादीहरु मिलौं भन्ने प्रचण्डको प्रस्ताव छ नि ?

त्यसको जवाफ मैले पहिले नै दिएको हो । एकै ठाउँमा होइन, नयाँ ठाउँमा जाऊँ भनेर मैले जवाफ दिएको हुँ । पुरानो माओवादी विद्रोहीको बिम्बको रुपमा स्थापित छ । अब पुरानो बिम्बको माओवादी होइन अब विकास, सम्वृद्धि, परिवर्तन र निर्माणको बिम्बको नयाँ समाजवादी शक्तिको निर्माण गर्ने ठाँउमा हामी एक ठाउँमा हुन सक्छौँ । तर, पुरानै लफाजीका कुरा गरेर पुराना कार्यकर्ताहरुको भावना दोहन गरेर उनीहरुलाई भावनात्मक अत्याचार गरेर एक ठाउँमा बस्नु सही हुँदैन ।

मैले यो कुरा स्पष्ट भनिसकेको छु । त्यस्तो भ्रम छर्ने कुरा नगर्दा नै राम्रो । त्यसको कुनै सम्भावना छैन । न देश र जनताको हित गर्छ । न त्यसमा जनताको समर्थन हुन्छ । मेरो पनि त्यसमा कत्ति पनि समर्थन हुँदैन । यस्ता कुरा गरेर जनतालाई अल्मल्याउन हुँदैन ।

माओवादी छाडेर नयाँ शक्ति बनाउन लागेका बाबुराम भट्टराई कमजोर हुँदै गएको र माओवादीको चाहिँ पुनर्जागरण हुँदै गएको विश्लेषणबारे के भन्नुहुन्छ ?

आ–आफ्नो डम्फु त बजाउन पाइन्छ । लोकतन्त्रको सौन्दर्य भनेको नै त्यही हो । तर, यथार्थ के हो, भोलि देखिहालिन्छ नि । म माओवादी भएको समयमा माओवादी विद्रोहको प्रतीक थियो, त्यसमा मलाई गर्ब छ । त्यसले नै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्यायो । अब पुरानै कुरालाई भट्याएर जनतालाई भ्रममा राखेर कतै पनि पुग्न सम्भव छैन । अब अगाडि बढ्ने भनेको नयाँ लोकतन्त्र र समाजवादमा आधारित वैकल्पिक धारतिर जानै नै हो । म पुरानै माओवादीलाई एक ठाउँमा ल्याएर शक्ति बन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्छु । 

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप