शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहीलाई भने– तपाईं आज जीवनकै सर्वोत्कृष्ट दिनमा हुनुहुन्छ

शुक्रबार, ०६ फागुन २०७८, १७ : २१
शुक्रबार, ०६ फागुन २०७८

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको बताएका छन् । संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गराउँदै लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो । ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए ।

उनले भने, ‘राप्रपा सामान्य राजनीतिक पार्टीमात्र होइन, संकटमा रहेको देश र धर्म जोगाउने, देशमा विद्यमान भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापना गर्ने अभियानमा राप्रपा छ ।’

ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानलाई पार्टीमा स्वागत गर्न पाउँदा आफू र सिंगो पार्टी हर्षित र गौरवान्वित भएको पनि लिङ्देनले प्रस्ट पारे ।

उनले भने, ‘राप्रपामा लाग्ने कुनै पनि नागरिकले जीवनको कुनै पनि दिन, कुनै क्षण पश्चाताप गर्नुपर्ने छैन । राप्रपा एउटा पार्टीमात्र होइन, एउटा आन्दोलन र अभियान पनि हो ।’ देश र धर्म जोगाउन क्रियाशील एकमात्र पार्टी राप्रपा भएको पनि उनले दाबी गरे ।

राप्रपाको एकता महाधिवेशनपछि समान विचार राख्ने व्यक्ति, समूह, अभियान सबैसँग कुराकानी गरेर राप्रपामा समाहित गर्ने, आवद्ध गराउने कार्य अगाडि बढाउँदै आएको उल्लेख गर्दै लिङ्देनले यो अभियान जारी रहने बताए ।

३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको जिकिर गर्दै उनले देश र जनताले यथास्थितिको अन्त्य खोजिरहेको उल्लेख गरे । ‘एमाले, काँग्रेस, माओवादीको विकल्प खोज्न जरुरी छ,’ उनले भने, ‘त्यो विकल्प भनेको राप्रपा नै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप