बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

सोमबार, ०२ फागुन २०७८, १२ : ०३
सोमबार, ०२ फागुन २०७८

साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो ।

बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सिफारिस समितिले ‘सर्टलिष्ट’मा राखेको हो । सर्टलिष्टमा परेकाहरूले सिफारिस समितिसामू आइतबार प्रस्तुती दिएका थिए । 

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए । त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो । 

तर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले राजनीतिक प्रभावमा अध्यक्ष नियुक्ति प्रकृयालाई विवादित बनाएपछि दुईपटक आवेदन मागिएको थियो । दोस्रोपटक आवेदन माग्दा पनि योग्यता र मापदण्डका प्रावधान हेरफेरि गरिएको थियो ।

बोर्डमा अध्यक्ष नियुक्त नहुँदा साधारण सेयर (आईपीओ) र हकप्रद सेयर अनुमतिसमेत पाँच महिनासम्म रोकिएको थियो । अर्थ मन्त्रालयले सहजीकरण गरेपछि गत साता जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर निष्काशन भएको थियो । तर, अध्यक्ष नहुँदा बोर्डमा सानादेखि ठूला कार्यक्रम तथा योजनाबारे आवश्यक निर्णय हुन सकेको छैन । 

विभिन्न प्रकृतिका सेयर निष्काशन, राफसाफ कोष कार्यान्वयन, सेयरको भित्री कारोबार नियन्त्रण गर्ने योजना, बजार नियमनसम्बन्धी ऐन, बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने प्रकृया, ब्रोकरलाई छुट्टै टीएमएस र वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायत काम रोकिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप