शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापालाई पार्टी बुझाउने लाक्पा भन्छन्– जसको नासो उसैलाई फिर्ता गरिदिएँ

६१ जना केन्द्रीय कमिटी सदस्यको नामावली आयोगमा बुझाइयो
आइतबार, ०१ फागुन २०७८, २१ : १५
आइतबार, ०१ फागुन २०७८

कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार रातोपाटीसँग भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।’

उनले आफू कमल थापाकै कार्यकर्ता भएकाले उनलाई पार्टी नेतृत्व दिनु कुनै ठूलो कुरा नभएको बताए । राप्रपा नेपाल आफूले दर्ता गर्दा कमल थापाको नैतिक समर्थन रहेको उनको भनाइ छ । ‘म त उहाँको कार्यकर्ता भइहाले नि’, उनले भने । तर कमल थापाकै निर्देशनमा भने आफूले पार्टी दर्ता नगरेको उनको जिकिर छ । ‘उहाँले पार्टी दर्ता गर्न लगाउनु भएको त होइन । तर उहाँले सहयोग गरिरहनु भएको थियो । सहयोग आर्शिवाद त पाएकै हो  । उहाँको नैतिक समर्थन मलाई थियो’, लाक्पाले भने ।  

पछिल्लो समय राप्रपामा पार्टीमा समस्या आएपछि थापाले आफूलाई पार्टी निर्माणको अवसर दिन आग्रह गरेको तामाङको भनाइ छ ।  विभिन्न चरणमा थापासँग र छलफल भएपछि थापालाई नेतृत्व दिनेबारेमा शनिबार सहमति भएको उनको भनाइ छ । ‘विस्तृत रूपमा छलफल भएर शनिबार सहमति भयो’, उनले भने, ‘हिजो निर्णय भएर आज निर्वाचन आयोगमा निवेदन दिएको छौँ । 

मंगलबार राप्रपा परित्याग गरेका थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका हुन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको तामाङले रातोपाटीलाई जानकारी दिए । 

नेतृत्व कमल थापालाई छाडेका तामाङ हाल केन्द्रीय सदस्यमा सीमित भएका छन् भने पछि अध्यक्षले उचित जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको बताए । ‘मेरो भूमिका अब अध्यक्षज्यूले जे निर्धारण गर्नुहुन्छ त्यही हुनेछ, सबै अध्यक्षज्यूको हातमा गएको छ’, तामाङले भने । 

पार्टीको चुनाव चिन्हको विषयमा पछि टुङ्गो लाग्ने बताइएको छ । छिट्टै नवगठित पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट चुनाव चिन्हको टुङ्गो लगाइने बताइएको छ । तामाङको नेतृत्वमा राप्रपा नेपाल हुँदा साँढे चुनाव चिन्ह रहेको थियो । उनले नयाँ नेतृत्वसहितको पार्टी घोषणा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रिय सभागृहबाट घोषणा गर्ने तय भएको छ ।

आयोगमा बुझाइएको सूचीमा केन्द्रीय समितिमा थापा पक्षबाट राजीव पराजुली, उद्धव पौडेल, तेज कुरुङ्बाङ, सुनिता कुरुङबाङ तथा आफ्नो तर्फबाट आफूसहित आइतराम तामाङ, तेजबहादुर भुजेल, राजेश्वर श्रेष्ठलगायत रहेका छन् । हाल राप्रपामा रहेका केन्द्रीय सदस्य तथा पदाधिकारी नयाँ पार्टीको केन्द्रीय कमिटी सूचीमा छैनन् । यसैबीच निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राप्रपा नेपालको निवेदन प्राप्त भएको र यसबारे आयोगले निर्णय लिन बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप