कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा
राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् । राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् । राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाको जिकिर छ । ‘नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो,’ उनले भनेका छन्, ‘तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए । असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।’
अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा हुने उनले जानकारी दिएका छन् । आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुने पनि उनको भनाइ छ ।
हेर्नुहोस् विज्ञप्ति :
देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ । यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र सङ्क्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङ प्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो । नेपाली जनताको विश्वास जितेर छोटो समयमा नै राप्रपा नेपाल देशको भरपर्दो शक्ति बन्न सफल भयो । २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस र कम्युनिस्ट पार्टीहरू पछिको तेस्रो ठुलो शक्तिको रूपमा राप्रपा नेपाल देखा प¥यो । राप्रपा नेपाललाई जनताले आशा, विश्वास र भरोसाको नजरले हेर्न थाले ।
तर, २०७३ सालदेखि हामीले बाटो बिरायौँ । पार्टी ठुलो बनाउने नाममा अति महत्त्वाकांक्षा र सत्ता केन्द्रित रनभुल्लमा प¥यौ । गम्भीर राजनीतिक भुलका शृङ्खलाहरु सुरु भए । असहज र गलत प्रवृतिहरुसँग सम्झौता गर्न थाल्यौँ । फलस्वरूप हामी करिब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिब करिब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौँ ।
नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपु¥याएको छ । विगतका त्रुटि, कमजोरीहरूबाट पाठ सिकेर तथा गल्तीहरू सच्याएर फेरी एक पटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौँ । बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ ऊर्जा र अठोटका साथ अघि बढ्ने छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित “सम्बद्र्धनवाद” को मूल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन ।
राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि “हिन्दुराष्ट्र, सुशासन र समृद्धि” राप्रपा नेपालको मूल एजेण्डा हुनेछ । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्नेछौँ ।
आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ ।
राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुनेछ ।
राप्रपा नेपालको यो अभियान र यात्रामा सहभागी हुन म सबै साथीहरूमा आह्वान गर्दछु । विगतमा सँगै काम गरेका साथीहरूलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आबद्ध हुन म आग्रह गर्दछु । हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मान्यता प्रति विश्वास गर्नु हुने स्वतन्त्र बुद्धिजीवी, नागरिक समाज, तथा विभिन्न दलहरूमा आबद्ध रहेकाहरूलाई पनि राप्रपा नेपाललाई साथ दिन, सहभागी हुन र मार्गदर्शन गर्न सविनय अनुरोध गर्दछु । राप्रपा नेपाललाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने संकल्पमा साथ र समर्थन दिन म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिल गर्दछु । धन्यवाद ।
कमल थापा
अध्यक्ष
राप्रपा नेपाल तथा पूर्व उपप्रधानमन्त्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?