पुराना चोरमाथि दबाब बढ्दा बालकुमारीको मूर्ति बोरामा भेटियो !

ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट माघ ९ मा मूर्ति चोरी भयो । मन्दिरको ४ वटा ताला फुटाएर ढलोटको मूर्ति चोरी भएको थियो । मन्दिरमा सीसीटीभी नभएकाले सुरुवाती अनुसन्धानबाट प्रहरीले कुनै क्लू फेला पार्न सकेन ।
महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका एसपी कृष्ण पंगेनीको नेतृत्वमा मूर्ति चोरीबारे अनुसन्धान गर्न समिति बनायो । महानगरीय प्रहरी परिसर ललितपुरले डीएसपी दीपक भारतीको नेतृत्वमा समिती बनाएर अनुसन्धान गरिरहेको थियो ।
अपराध महाशाखा र ललितपुर प्रहरीले आक्रामक अनुसन्धान अघि बढाइरहेको बेला शुक्रबार बिहान ६ बजे प्रहरीलाई एउटा खबर आयो–‘खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा मूर्ति भेटिएका छ ।’ सो खबर तत्काल ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल कहाँ पुग्यो । उनले तत्काल अनुसन्धान अधिकृतहरूलाई घटनास्थलमा पठाए । बोरामा प्याक गरेर फालिएको सो मूर्ति माघ ९ मा बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिसँग मिल्यो ।
२०७३ मा पनि चोरले त्यसैगरी मूर्ति चोरेको केही दिनपछि सुटुक्क फालेका थिए । ०७३ साउन ११ मा ललितपुर महानगरपालिका–१ नौडोबहाल देवस्त बिहारबाट चोरेको ४ सय वर्ष पुरानो मूर्ति लीला बहादुर थापा मगरको समूहले सुटुक्क मंगलबजारमा लगेर छाडेका अनुसन्धानबाट खुलेको छ । बुद्धको मूर्ति र मुकुट चोरीमा संलग्न लीला बहादुर थापा मगर सहितका ६ जनालाई प्रहरीले पछि पक्रेर कानुनी दायरमा ल्याएको ललितपुरका एसएसपी यज्ञविनोद पोरेलले रातोपाटीलाई बताए ।
‘विशेषज्ञ’को सहयोग
२०७३ को मूर्ति चोरीको घटनाको अपराध प्रकृतिसँग माघ ९ को घटना मिल्यो । अनि, प्रहरीले पुराना पटके चोरहरूलाई धमाधम पक्रन थाल्यो । सीसीटीभी फुटेज र चोरी भएको रातमा मन्दिर क्षेत्रमा सक्रिय मोबाइल नम्बरबाट चोरबारे क्लू फेला नपरेपछि प्रहरीले विशेषज्ञलाई बोलाएर सहयोग मागेको थियो ।
काठमाडौं उपत्यकाको चोरी अनुसन्धानमा जिवन बिताएका पूर्व डिएसपी भरत थापा मगर र पूर्व प्रहरी नायव निरीक्षक (सई) माधव खनालसँग अनुसन्धान अधिकृतहरूले सहयोग लिएका छन् । चोरीसम्बन्धी विज्ञ थापा मगर र खनालले पुराना चोरलाई ल्याएर अनुसन्धान अघि बढाउन अनुसन्धान अधिकृतहरूलाई सुझाव दिए ।
ललितपुर प्रहरीले पक्राउ गरेपछि एकजना पुराना चोरले भने, ‘एक हप्ताको समय दिनुस्, मूर्ति कहाँ छ भन्ने पत्ता लगाउँछु ।’ प्रहरीले उनलाई तारेखमा छाडेर उनीसँग पनि सहयोग लिएर अनुसन्धान गरिरहेको छ ।
बिहीबार दुईजना पुराना चोरलाई पक्राउ गरिएको थियो । पुराना चोरमाथि दबाव बढाएपछि मूर्ति भेटिएको बताउँछन्, महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाह । ‘प्रेसर बढेपछि चोरले मूर्ति फालेको हाम्रो निष्कर्ष छ,’ एसपी शाह भन्छन्–‘अब, चोरीमा संलग्नहरुलाई पनि छिट्टै पक्राउ गर्छौं ।’
मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । एसएसपी पोखरेलले बालकुमारी गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् । स्थानीयले बाजा गाजा सहित खुसियाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् ।
मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप