आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नागमणिको चक्करले गयो युवकको ज्यान

नागमणि खोजिदिने भन्ने साथीले नै गरे विजयको हत्या
बिहीबार, २७ माघ २०७८, १३ : ०३
बिहीबार, २७ माघ २०७८

काठमाडौँको असनमा डेरा गरी बस्ने विजय चौधरीको व्यापार व्यवसाय राम्रै थियो । असनमा चौधरीको भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । 

पसलबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेस्टमेन्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेस्टमेन्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन । 

गएको माघ ६ गते विजय एकाएक भैरहवा पुगे । ‘जग्गा’ हेर्न भन्दै विजय भैरहवा पुगेका थिए । उनले २ जना साथीसँग २० लाख रुपैयाँ सापटी पनि लिएका थिए र उक्त सापटीको प्रमाणस्वरुप साथीहरूले भिडियोसमेत बनाएका थिए । उक्त भिडियो बनाउने क्रममा विजयकै साथीहरू राजु साह भन्ने मञ्जुर आलम देवान र तलत अलि खान लगायतका मानिसहरू पनि थिए । 

विजयले परिवारलाई भैरहवामा जग्गा किन्न लागेको बताएका थिए । तर 'जग्गा' वास्तवमा कुनै घडेरी नभएर नागमणिका लागि प्रयोग गरिने कोड भाषा थियो । विजयलाई कसैले नागमणिको कुरा सुनाएका थिए र नागमणि पाए करोडौँमा किन्ने बताएका थिए । विजय त्यही नागमणिको खोजीमा भौँतारिएर हिँडेका थिए । नेपाल भारत सीमाक्षेत्रमा नागमणि किन्नका लागि भन्दै विजय २० लाख रकम बोकेर भैरहवा पुगेका थिए । तर कथित रूपमा नागमणिको व्यापारी भनिएका व्यक्तिले पैसा देखाएपछि मात्रै सामान देखाउने भनेका थिए र त्यसैका लागि विजयले साथीहरूसँग सरसापट गरेर पनि २० लाख नगद बोकेर गएका थिए । 

वास्तवमा त्यहाँ कुनै नागमणि थिएन र नागमणि किन्न वा बेच्नका लागि तयारी अवस्थामा पनि थिएन । बरु विजयकै साथी राजु साह भन्ने मञ्जुर आलम देवानले कथित नागमणिको प्रलोभनमा पारेर विजयको पैसा लुटी हत्या गर्ने योजना बनाएका थिए । 

विजयको नजिकका साथीका रूपमा देखिएका राजुले केही व्यक्तिहरू पनि भेला पारेर कथित नागमणि हुने व्यक्ति भन्दै चिनाएका थिए । अनि पैसा देखाएपछि मात्रै सामान देखाउने भन्दै पहिले पैसा देखाउन भनिएको थियो । त्यही अनुरूप विजयले पैसा देखाएका थिए र नागमणिको प्रतीक्षामा थिए । 

विजय भैरहवास्थित होटल यतिमा बास बसेका थिए । तर विजयकै साथी राजुले विजयलाई घरमै खाना खानका लागि बोलाए । राजुको योजनामा अनभिज्ञ रहेका विजयले राजुको प्रस्ताव स्वीकार गरे । अनि राजुले नै चलाएको मोटरसाइकलमा बसेर विजय राजुको घरमा पुगे ।

श्रीमतीसँग मिलेर राजुले गरे विजयको हत्या

२० लाख लुट्ने लोभमा विजयलाई घरमा बोलाएका राजुले विजयको हत्या गरे । माघ ७ गते राती अन्दाजी १० बजे विजयको हत्या गरेको राजुले प्रहरीसमक्ष बयान दिएका छन् । नवलपरासी प्रहरीका अनुसार सुरुमा राजुले विजयको मुख ढाक्ने गरी गम्छाले छोपिदिएका थिए । त्यसपछि नाक र मुखमा प्रहार गरेका राजुले पछि श्रीमतीको सहयोगमा विजयको घाँटी कसेर हत्या गरे । हत्या गर्ने क्रममा राजुले खुट्टा समाएको र राजुकी श्रीमती हदिसुन नेसाले घाँटी कसेको प्रहरीलाई बयान दिएका छन् । दुवै जना मिलेर हत्या गरेपछि उनीहरूले विजयको झोलाबाट पैसा निकाले र विजयको शव व्यवस्थापन गर्नतिर लागे । 

शवलाई मोटरसाइकलमा राखेर सडक किनारमा फालियो

हत्यापछि विजयको शव व्यवस्थापन गर्न राजु र उनकी श्रीमतीले मोटरसाइकलमै लगेको बुझिएको छ । प्रहरीका अनुसार रामग्राम नगरपालिका ५, ड्राइभर टोल, नवलपरासीमा रहेको राजुको घरमा हत्या गरेपछि उक्त शवलाई करिब २५ किलोमिटर टाढा रहेको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा लगेर फालिएको थियो । उक्त शव फाल्नका लागि राजुले डोरीको सहायताले मोटरसाइकलमा बाँधी श्रीमतीलाई समात्न लगाएर शव फालिएको पाइएको छ । 

दिदी–भिनाजुलाई पैसा दिएर राजु फरार

हत्या गरी शव व्यवस्थापन गरेर राजु तथा उनकी श्रीमती राति आफ्नै घरमा पुगेको पाइएको छ । राति १० देखि ११ बजेको समयमा हत्या गरी शव फालिएको बताएका राजु बिहान ५ बजे घर नजिकै रहेको दिदी भिनाजुको घरमा पुगेर राजुले केही रकम आफूले लगी बाँकी रकम भिनाजुलाई दिएका थिए । रकमबारे जानकारी पाए लगत्तै भिनाजुले नै पैसा आफूले राखिदिने भन्दै राजुलाई भारत पठाएका थिए । 

यता बिहानै नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ९ मा शव भेटिएको हल्ला चल्ने बित्तिकै राजुकी श्रीमती पनि दुईजना छोरी बोकेर भारततिर भागिन् । राजुका भिनाजु वसन्त सहनीले भने उक्त रकम एक मोबाइल पसलमा लगेर लुकाएका थिए । केही कपडाभित्र उक्त पैसा राखी एकजना मान्छे लिन आउँछ दिनुपर्छ भन्दै राखेका थिए ।

यता हत्या गरिएका युवक विजय चौधरी भएको पत्ता लागेलगत्तै प्रहरीले विजयको कनेक्सन र हत्याको कारणबारे खोजबिन सुरु गरेको थियो । हत्यामा विजयकै साथीको हात हुनसक्ने भन्दै अनुसन्धान पनि सुरु भएको थियो । यहीबीचमा विजयकै साथी तलत अलि खानलाई प्रहरीले पक्राउ गर्‍यो । खानले विजय जग्गा किन्न भन्दै २० लाख रुपैयाँ लिएर आएको र उक्त रकम आफूले समेत देखेको तर हत्या कसले गर्‍यो भन्ने कुरा थाहा नभएको बतायो । यद्यपि प्रहरीले खानलाई हिरासतमै राखी अनुसन्धान जारी राख्यो । 

यहीबीचमा खानले राजु साहको नाम लिए । त्यसपछि प्रहरीले राजु साहको खोजबिन सुरु गर्‍यो । यही क्रममा नवलपरासी प्रहरी । राजुलाई खोज्दै दिदी भिनाजुको घरसम्म पुगेको थियो । उनीहरूले राजु भारतमा रहेको बताए पनि बाँकी केही कुरा बताएनन् । जबकि राजुले कसैको हत्या गरेर लुटपाट गरी ल्याएको रकम तिनै दिदी भिनाजुलाई राख्न दिएका थिए । प्रहरीले राजुका दिदी शारदा देवी लगायतसँग सोधपुछ गरेपनि बाँकी केही गरेन ।

पहिलो ‘रेड’मा २ तलाबाट फाल हानेर भागे राजु

यहीबीचमा प्रहरीलाई सुराक मिल्यो कि विजय चौधरीको हत्यामा संलग्न रहेका आशंका गरिएका राजु साह गोरखपुरमा लुकेर बसिरहेका छन् । त्यसपछि सिआइबीको सहयोगमा नवलपरासी प्रहरी भारतको गोरखपुर पुग्यो । गोरखपुर पुगेको नवलपरासी प्रहरीको टोलीले राजु लुकिरहेको एक घरमा मध्यरातमा रेड गर्‍यो । तर नेपालदेखि नै प्रहरी आइपुगेको थाहा पाएपछि राजु मध्यरातमा २ तलाको घरबाट फलेर भाग्न सफल भए । 

राजु फरार भएसँगै नवलपरासी प्रहरीलाई तनाव भयो । हातैमा आइपुगेको ‘शिकार’ एकाएक फरार भएपछि नवलपरासी प्रहरी ब्याक भयो । भारतमा लुकेर बसेको स्थान पत्ता लागेपनि पक्राउ गर्न नसकेपछि यसबारे प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भयो । विजयको हत्यारा पक्राउ गर्न प्रहरीलाई थप दबाव पनि आइरह्यो । 

अनि पठाइयो काठमाडौँबाटै डिएसपी

लुकेर बसेको घरमै रेड गर्दा पनि आरोपी भाग्न सफल भएपछि प्रहरी हेडक्वार्टरले भारतमै आईपीएस तालिम लिएका एकजना डिएसपीलाई काठमाडौँबाट गोरखपुर पठाएको पाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार भारतीय प्रहरीसँग राम्रो सम्बन्ध भएका एकजना डिएसपीलाई गोरखपुर पठाइएको थियो । ती डिएसपीसँगै नवलपरासी प्रहरीका डिएसपी प्रेम शाहीसहितको प्रहरी टोली माघ २५ गते राती गोरखपुर पुग्यो । 

पहिलो रेडमा घरबाट भाग्न सफल भएका राजु साह एक आफन्तको घरमा लुकेर बसेको पत्ता लागेपछि नेपालबाट गएको प्रहरी टोली गोरखपुरमा रहेको राजुको आफन्तकै घरमा पुग्यो । र, मंगलबार राति करिब ९ बजे राजुलाई पक्राउ गर्न प्रहरी सफल भयो । राजुसँगै राजुकी श्रीमतीलाई पनि पक्राउ गरेर प्रहरीले सोही रात नेपाल ल्यायो । 

राजुकै बयानका आधारमा प्रहरीले राजुको दिदी शारदा देवी र भिनाजु वसन्त सहनीलाई पनि पक्राउ गर्‍यो । वसन्तले पैसा लुकाएको मोबाइल पसलेलाई पनि सम्पर्क गरी बुधबार बिहान ४ बजेसम्म ‘अपरेसन’ सकायो । 

पैसा पचाउने भिनाजुको अर्को खेल

विजयको हत्या गरी निजसँग रहेको पैसा भिनाजुलाई राख्न दिएका राजुलाई भारत भगाउनमा भिनाजु वसन्त सहनीकै मुख्य भूमिका रहेको थियो । राजुलाई भारत पठाएलगत्तै भिनाजु वसन्त सहनीले कहिल्यै नेपाल नआउन भनेका थिए । प्रहरीले खोजिरहेको भन्दै आफूलाई समेत सम्पर्क नगर्न वसन्तले राजुलाई भनेका थिए । राजुले अन्य माध्यमबाट सम्पर्क गरी पैसा पठाउन भनेपनि भिनाजु वसन्त सहनीले पैसा नपठाएको र राजुबाट सम्पर्कविहीन भएको पाइएको छ । प्रहरीले थाहा पाइसकेकाले कहिल्यै नेपाल नआउनसमेत भन्नुको कारण भिनाजु आफैँले पैसा पचाउने नियत राखेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । 

हत्यामा आफूहरूको संलग्नता रहेको राजु साह भन्ने मञ्जुर आलम देवान र निजकी श्रीमती हदिसुन नेसाले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । उनीहरू दुवै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । हत्यामा मतियारको भूमिका निभाउने अन्य केहीलाई पनि सार्वजनिक गरी अनुसन्धान र मुद्दा दर्ताको तयारी भइरहेको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप