शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विजय चौधरी हत्याको आरोपमा दम्पती पक्राउ

२० लाख रुपैयाँ लुटपाट गर्न साथीबाटै चौधरीको हत्या
बिहीबार, २७ माघ २०७८, ०९ : १७
बिहीबार, २७ माघ २०७८

गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । चौधरीको हत्यामा राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो । 

नवलपरासी प्रहरी स्रोतका अनुसार आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ गरिएको छ । आलम र श्रीमती मिलेर चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या गरिएको थियो । हत्या लगत्तै आरोपीहरू भारत पुगेका थिए । 

‘जग्गा’को कारोबार गर्न भन्दै माघ ६ गते भैरहवा पुगेका चौधरी माघ ७ गते साँझदेखि हराइरहेका थिए । चौधरीको साथमा २० लाख नगद रहेको र उक्त रकम चौधरीले आफ्ना साथीहरूलाई समेत देखाएका थिए । चौधरीकै साथी रहेका राजु साह भन्ने आलमले आफ्नै घरमा बोलाएर श्रीमतीको सहयोगमा चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

​हत्या लगत्तै आफन्तलाई रकम राख्न दिई आलम दम्पती भारत पुगेका थिए । अनुसन्धानपश्चात् हत्यामा आलमको संलग्नता रहेको आशङ्का गरे पनि उनी नेपालमा भेटिएका थिएनन् । त्यसपछि नवलपरासी प्रहरी र प्रहरी हेडक्वार्टरबाटै प्रहरी पठाएर आलम दम्पतीको खोजी गरिएको थियो । 

राजु साह भनिने मञ्जुर आलम देवान

नवलपरासी प्रहरीले सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको भने पनि प्रहरी टोली भारत नै पुगेर उनीहरूलाई पक्राउ गरी नेपाल ल्याइएको हो । पक्राउ परेका आलमले हत्यामा आफू र श्रीमतीको हात रहेको बयान दिएका छन् । 

प्रहरी स्रोतका अनुसार आलमले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले हात बाँधेर खुट्टा समाएको र श्रीमतीले घाँटी कसेर चौधरीको हत्या गरेको बयान दिएका छन् । हत्याको उद्धेश्य चौधरीसँग रहेको २० लाख रुपैयाँ लिनु मात्रै रहेको भन्दै हत्या लगत्तै चौधरीको साथमा रहेको २० लाख रुपैयाँ आफन्तलाई राख्न दिएर उनीहरू तेस्रो दिन भारत पुगेका थिए ।  

उनीहरूलाई पक्राउ गर्नका लागि नवलपरासी प्रहरीबाट डिएसपीको टोली भारत पुगेको थियो । त्यसै गरी प्रहरी हेडक्वार्टरले समेत काठमाडौँबाट एक डिएसपीलाई भारत पठाएको पाइएको छ । दुई डिएसपीसहितको प्रहरी टोलीले बुधबार बिहान ५ बजे दुवै जनालाई पक्राउ गरी नेपाल ल्याएको हो । यस सम्बन्धमा बिहीबार अपराह्न २ः३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिने नवलपरासी प्रहरीले जनाएको छ । चौधरी हत्यामा संलग्न रहेको आशंकामा नवलपरासी प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप