शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विजय चौधरी हत्या प्रकरण : अझै पत्ता लागेन अपराधी

हत्या लगत्तै कसले लग्यो चौधरीको २० लाख ?
आइतबार, २३ माघ २०७८, १५ : २३
आइतबार, २३ माघ २०७८

गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा एकजना पुरुषको शव फेला पर्‍यो । हात बाँधेर घाँटीमा कपडाले बेरी हत्या गरी सडक छेउको नालीमा फालिएको अवस्थामा फेला परेको शव थियो, विजय चौधरीको । 

काठमाडौँको असनमा डेरा गरी बस्ने चौधरीको असनमा भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । त्यसबाहेक पनि छिटो पैसा कमाउन सकिने भन्दै विजय अन्य व्यापार व्यवसायमा पनि लागेका थिए । विजयले आफ्ना परिवारका सदस्यसँग ‘इन्भेष्टमेण्ट कम्पनीमा लगानी गरेको’ बताउने गरे पनि त्यो इन्भेष्टमेण्ट कम्पनी कुन थियो भन्ने अझै खुलिसकेको छैन । 

परिवारका सदस्यसँगको कुराकानीका क्रममा चौधरीले आफूलाई एक इन्भेष्टमेण्ट कम्पनीले ठगी गरेको बताउँदै उक्त रकम फिर्ता लिन लागिपरेको बताउने गरेका थिए । तर परिवारका सदस्यसँग कुन इन्भेष्टमेण्ट कम्पनीले आफूलाई ठगेको नभनेको कुरा र चौधरीले कुन व्यापार व्यवसायका लागि उक्त कम्पनीलाई पैसा दिएको पनि भनेका थिएनन् । 

विजय गत माघ ६ गते काठमाडौँबाट भैरहवा पुगेका थिए । माघ ६ गते भैरहवा पुगेका चौधरी माघ ७ गते साँझसम्म पनि परिवारकै सम्पर्कमा थिए । कपिलवस्तु स्थायी ठेगाना भएका चौधरी माघ ७ गते साँझबाट हराइरहेका थिए । माघ ७ गते हराएका चौधरीको शव माघ ८ गते नवलपरासीमा फेला परेको थियो । 

नवलपरासी प्रहरीले चौधरीको हत्या भएको पुष्टि गरे पनि कसले किन हत्या गर्‍यो भन्ने थाहा नभएको बताएको छ । नवलपरासी प्रहरीका प्रवक्ता डिएसपी प्रेम शाहीका अनुसार विजय चौधरीको हत्याको सम्बन्धमा अनुसन्धान भइरहेको भए पनि हत्यामा कसको र किन संलग्नता थियो भन्ने नखुलेको बताए । डिएसपी शाहीले रातोपाटीसँग भने, ‘विजय चौधरीको हत्याको सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौँ । उनको हत्या नै भएको हो भन्ने कुरामा कुनै शंका रहेन । तर कसले किन हत्या गर्‍यो भन्ने अझैसम्म खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ । परिवारका सदस्यले दिएको जाहेरीका आधारमा हामीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । तर खासै प्रगति भने भइसकेको छैन ।’

चौधरीको साथमा थियो २० लाख रुपैयाँ

एक इन्भेष्टमेन्ट कम्पनीले आफूलाई ठगेको बताउँदै ठगी रकम फिर्ता लिन चौधरी लागिपरेको परिवारको दाबी छ । यस हत्याको पछाडि पनि आर्थिक कारोबार नै हुनुपर्ने अनुमान प्रहरीले गरेको छ ।

डिएसपी शाहीका अनुसार विजयले जग्गाको कारोबार गर्न भन्दै उनका साथीहरूसँग २० लाख रकम लिएर गएका थिए । विजयको हत्या हुनु अघिल्लो दिनसम्म पनि विजयसँग २० लाख रुपैयाँ थियो । तर हत्यापछि भेटिएको विजयको झोलामा भने कुनै रकम थिएन । प्रारम्भिक अवस्थामा २० लाखको लोभले विजयको हत्या भएको प्रहरीको अनुमान छ । 

असनमा डेरा गरी बसेका विजयका छिमेकी सुजीव बज्रचार्यका अनुसार विजयले बौद्धमा घरसमेत बनाएका थिए । तर थोरै लगानी गरेर धेरै नाफा कमाउने भन्दै विजयले बौद्धमा रहेको घरसमेत करिब ३ वर्ष अगाडि विक्री गरेका थिए । त्यसपछि उनी इन्भेष्टमेण्ट कम्पनीमा लगानी गरेको र चाँडै प्रतिफल आउने भन्दै त्यसैका लागि हिँड्ने गरेका थिए । तर कसले कुन उद्देश्यले हत्या गर्‍यो भन्ने अहिलेसम्म थाहा नभएको बज्राचार्यले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप