शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी भर्सेस गठबन्धन : दुई दिने दौडधूपपछि देउवा ‘कुलडाउन’

किन भयो खुमलटार र बालुवाटारमा नेताहरूको दौडधूप ?
बिहीबार, २० माघ २०७८, १८ : ३८
बिहीबार, २० माघ २०७८

बितेका पछिल्ला दुई दिनमा विवादित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रकरण निकै पेचिलो बनेपछि सत्ता गठबन्धनमा ‘लगभग’ खटपटकै स्थिति बन्यो । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने र नयाँ समीकरण बन्नेसम्मका ‘कोट अनकोट’ समाचारहरू सार्वजनिक भए । यद्यपि दलका नेताहरूले गठबन्धन नटुट्ने दाबीचाहिँ गरी नै रहे ।

सत्ता गठबन्धनका नेतासमेत रहेका प्रधानमन्त्री शरबहादुर देउवा एमसीसी संसदमा टेबल गर्नुपर्ने र अन्य दुई (माओवादी केन्द्र र एकीकृत समाजवादी)  दल संशोधनविना सम्झौताअघि बढाउनै नहुने अडानमा उभिएपछि तीन नेताबीच ‘खटपट’ को अवस्था आएको हो ।

आगामी माघ २६ गते प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानले संशोधन नगरी अघि बढाउनै नहुने पक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झस्का पस्नु स्वाभाविक थियो, जसले खटपटको स्थिति पनि निम्त्यायो ।

​सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र  एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भएको छलफलमा देउवाले एमसीसी अड्काएर राख्नुपर्ने जरुरी नभएको बताएपछि संशोधनको पक्षमा रहेका प्रचण्ड र नेपालले यस्तो अवस्थामा कि देउवाको कुरा मान्नुपर्ने कि गठबन्धन नै छोड्नुपर्ने अवस्थाको आँकलन गर्न पुगेका थिए ।

‘तीन नेताबीच सोमबार भएकोे छलफलमा अहिलेकै अवस्थामा एमसीसी पास गर्नुपर्ने देउवाको प्रस्ताव नस्वीकार्ने मनस्थितिका साथ  प्रचण्ड र माधव नेपाल बालुवाटारबाट बाहिरिनुभएको हो’,स्रोतले भन्यो, ‘तर मंगलबार र बुधबार दुवै पक्षबाट भएका छलफलले केही सकारात्मक संकेत दियो ।’ यद्यपि एमसीसीबारे गठबन्धनमा सबै कुरा मिलिसकेको भने होइन ।

के के भयो दुई दिनमा ?

१. मंगलबार– खुमलटारमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र देउवाका विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच छलफल ।

२.बुधबार– गृहमन्त्री बालकृष्ण खाणद्वारा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग दुवै नेताको निवासमा छलफल ।

३. बुधबार– प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र माधव नेपालको बिहान र बेलुका बालुवाटारमा भेटवार्ता ।

४.बुधबार – काँग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल, त्यसपछि पौडेल र देउवाबीच भेटवार्ता ।

किन भयो नेताहरूको दौडधूप र भेटघाट ?

तीन नेताबीच बालुवाटारमा सोमबार भएको कुराकानीमा नेताहरूबीच मूलतः स्थानीय निर्वाचन र एमसीसी के गर्ने भन्ने विषयमा कुराकानी भएको थियो । त्यसक्रममा देउवाले ‘एमसीसी अल्झाएर राख्न उचित हुँदैन, मलाई पनि बाध्यता छ, तपाईहरुले बुझिदिनुपर्यो’ भनेका थिए ।

जवाफमा प्रचण्ड र नेपालले ‘अहिले यसलाई अघि बढाउन हतार नगरौँ’, भनेपछि माहौल असहज र खटपटको अवस्थामा पुगेको थियो । त्यसपछि मंगलबार देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे भने आफूनिकट नेता पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रचण्डलाई मनाउन खटाए ।

मंगलबारकै दिन खड्का र कार्कीसँगको भेटपछि प्रचण्ड र माधव नेपालले आफ्नै पार्टीका नेताहरूसँग दिनभर आन्तरिक छलफल गरे । उनीहरूको साझा निष्कर्ष थियो– अहिलेकै अवस्थामा एमसीसी अघि बढ्न सक्दै सक्दैन ।

सत्ता सहयात्रीको असहमतिका बीच एक्लै अघि बढ्न सक्ने अवस्था छैन भन्नेमा देउवा पनि जानकार नै थिए । त्यसैले, उनले खड्का र कार्कीलाई प्रचण्डसँग भेट्न खुमलटार पठाएका थिए । आफ्नै निवासमा भेट्न आएका नेता खड्का र कार्कीलाई प्रचण्डले आफू टसको मस नहुने सन्देश दिएपछि दुबैले सोही कुरा देउवालाई ब्रिफिङ गरे ।

खड्का र कार्कीको ब्रिफिङपछि देउवा आफैंले प्रचण्ड र नेपाललाई बालुवाटार बोलाए । देउवाले बोलाएपछि बिहानै बालुवाटार पुगेका प्रचण्ड र नेपालबीच उही एमसीसीकै प्रशंगमा कुराकानी भयो ।

एमसीसीमा संशोधन गर्नैपर्ने प्रस्ताव प्रचण्ड र नेपालले अघि सारे भने देउवाले त्यसो भए के–के हुन् त संशोधन गर्नुपर्ने बुँदा ? भनेर सोधेका थिए । त्यसपछि बल्ल उनीहरुबीच पुनः बेलुका बसेर छलफल गर्ने सहमति बन्यो ।

अवस्था बल्ल सामान्य बन्न पुगेको थियो । देउवा केही लचिलो बनेपछि प्रचण्ड र नेपालले संशोधन गर्नुपर्ने बुँदा आफूहरुले लिखितरुपमै बुधबार बेलुका दिने र त्यो देउवालाई अध्ययन गर्न सुझाव दिएका थिए । सोहीक्रममा अर्का नेता रामचन्द्र पौडल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच पनि भेटवार्ता र छलफल भयो ।

पौडेल र श्रेष्ठबीच छलफल भएलगत्तै पौडेलले प्रधानमन्त्री देउवालाई भेटेर एमसीसीमा हतार नगर्न सुझाव दिएका थिए । प्रचण्ड र माधव नेपालले साथ छोडेको खण्डमा एमाले अध्यक्ष ओलीले काँग्रेसलाई साथ दिने बचन दिएको प्रधानमन्त्री देउवाले पौडेलसँगको भेटमा सुनाएका थिए ।

 

ओलीले काँग्रेसलाई साथ दिने देउवाले सुनाएपछि पौडेलले भने एमसीसीमा ओलीले काँग्रेसलाई हतियार बनाउन सक्ने भएकाले विश्वास गर्न नहुने निष्कर्ष सुनाएका थिए । त्यसले पनि देउवालाई ‘कुलडाउन’ हुन मद्दत पुगेको स्रोतको भनाइ छ ।

 

प्रचण्ड र नेपालसँग बुधबारको दोस्रो भेटमा देउवा आफैंले आफ्नो तर्फबाट गठबन्धन नटुट्ने वचन नै दिएका थिए । देउवाको यो बचनपछि बल्ल प्रचण्ड र नेपाल ढुक्क भएका थिए । सोही आधारमा बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन नटुट्ने ठोकुवा गर्न पुगेका थिए ।

‘गएको दुई दिनको बीचमा प्रधानमन्त्री देउवासँग राजनीतिक र कूटनीतिक संवादसमेत हुन पुग्यो । त्यसपछि मात्रै उहाँ लचिलो बन्नुभयो’, प्रचण्डनिकट स्रोतले भन्यो, ‘छलफल गर्दै निकास निकाल्नु नै मध्यमार्गी बाटो हुन सक्छ भन्नेमा दुवै पक्ष पुग्नुभयो ।’

स्रोतका अनुसार मंगलबार र बुधबार नेताहरूबिच भएका औपचारिक अनौपचारिक भेटवार्ता र छलफलले एमसीसीमा रहेका असहमतिका बुँदा र सुरुको सम्झौता तथा ओली नेतृत्वका पालामा भएको सम्झौता अध्ययन गरेर एमसीसी विकास परियोजनामात्रै भएको पुष्टि भए संसदमा लानै नपर्ने निष्कर्षमा नेताहरू पुगेपछि बिहीबारबाट ‘एमसीसी भर्सेस गठबन्धन’ को चर्चा केही साम्य बन्न पुगेको छ ।

दौडधूप गर्नेमध्येका नेता रामचन्द्र पौडेल रातोपाटीसँग भन्छन्, ‘मैले प्रधानमन्त्री र नारायणकाजीसँग भेटेरै छलफल गरेँ, प्रचण्डसँग टेलिफोनमा कुरा गरेँ । दुवै पक्षसँग मैले एमसीसीलाई धेरै ठूलो इस्यु बनाउनु राम्रो हुँदैन, सबैले सकारात्मक कुरामा ध्यान दिनपर्‍यो भनेको छु । साथै गठबन्धनको एकता कायम राख्दै अगाडि बढाउनुपर्छ भनेर पनि भनेको छु, हेरौं उहाँहरूले के गर्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप