कुष्ठरोगबारे जान्नैपर्ने कुरा
आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ कुष्ठरोग दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गर्यो । कुष्ठरोग निवारण भएको मुलुकका रूपमा घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै गएको छ ।
कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न नदिन के गर्न सकिन्छ र बिरामीले कसरी सावधानी अपनाउने लगायतका विषयमा स्वास्थ्य सेवा विभागअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रवीन्द्र बाँस्कोटासँग बुँदागत रूपमा बुझ्ने प्रयास गरिएको छ । प्रस्तुत छ डा. बाँस्कोटाका भनाइको सम्पादित अंश–
कुष्ठरोग के हो ?
कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यो कम सर्ने एक प्रकारको रोग हो । कुष्ठरोगका कीटाणु बिस्तारै फैलिन्छन् । कुष्ठरोग सर्ने अवधि २ देखि ५ वर्षको हुन्छ । यो रोगको कीटाणुले मुख्य रूपमा छाला र स्नायुमा असर गर्छ । यस्तै कीटाणुले खासगरी हात, खुट्टाका औँलाको टुप्पामा आक्रमण गर्छ । त्यसबाहेक यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वास नलीमा सङ्क्रमण गर्छ ।
यसका लक्षण के–के हुन् ?
‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक कीटाणुले सङ्क्रमण गरेपछि छालामा रातो, फुस्रो दाग देखा परे पनि चिलाउँदैन । झमझमाउँदा, छुँदा, चिमोट्दा थाहा नहुने, बाहिरी सतहका स्नायु सुन्निनु, हात तथा खुट्टामा नदुख्ने घाउ देखापर्ने, आगोले पोल्दासमेत थाहा नहुने, चिया समाउँदा, चुरोट समाउँदा हात पोले पनि थाहा नहुने, रौँहरू झर्ने आदि कुष्ठरोगका लक्षण हुन् ।
यस्तै, यो रोग लागेपछि कानका लोती बाक्लो हुने, नसा दुख्ने, हातखुट्टा झमझम गर्ने लक्षण देखापर्छ ।
कुष्ठरोग कसरी सर्छ ?
उपचार नगरेका कुष्ठरोगीसँग लामो समय अर्थात् हप्तामा २० घण्टाभन्दा बढी समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट रोग सर्न सक्छ । यस्तै, एकले अर्कोको छाला छुँदा, रोगीको नाक तथा मुखबाट निस्किएका सिँगान, र्यालको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गरिन्छ । अनि सङ्क्रमणले बढी गाँजेका रोगीको फाटेका छालाबाट निस्केको पानी सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणु कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ । यो श्वासप्रश्वासबाट सर्छ तर कोरोनाभाइरस जस्तो चाँडै सर्दैन । लामो समयसम्म सँगै बस्दामात्रै सर्ने हो ।
समयमै उपचार नगर्दा कस्तो समस्या निम्तिन सक्छ ?
यस रोगका कीटाणुले बाहिरी सतहका स्नायुमा असर गर्छ । जसले गर्दा स्नायुको कार्यक्षमतामा ह्रास आउँछ । हात, खुट्टामा छुँदा थाहा नहुने, केही वस्तुले घाउ, चोटपटक लाग्दासमेत थाहा नहुने हुन्छ । त्यसमा विभिन्न किसिमका सङ्क्रमण हुँदा समयमा उपचार गरिएन भने पक्षघातसमेत हुन्छ । बिस्तारै हात, खुट्टाका औँलाहरू बाङ्गिने, टेढो भई आँखासमेत नदेख्ने अवस्था समेत आउन सक्छ । कुष्ठरोगको समयमा उपचार भएन भने अन्य रोगले जसरी नै शरीरको विभिन्न अङ्गमा समस्या पार्न सक्छ ।
कुष्ठरोग प्रभावितलाई ‘रियाक्सन’
कुष्ठरोग लागेको मान्छेलाई रोगका कारणले पनि ‘रियाक्सन’ हुन सक्छ भने औषधिले पनि ‘रियाक्सन’ हुन सक्छ । यसलाई टाइप वान र टाइप टु गरेर दुई भागमा वर्गीकरण गरिएको छ । रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो कम कीटाणु भएको ‘प्यासी ब्यासेलरी’ (पीबी) र बढी कीटाणु भएको ‘मल्टी ब्यासिलटी’ (एमबी) गरी यो दुई प्रकारका हुन्छन् । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगी धेरै छन् । रोग दुई किसिमको भएजस्तै उपचार पनि दुई किसिमकै हुन्छ । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । कुष्ठरोगीहरुले औषधि प्रयोग गर्दा पनि विभिन्न खालका असर देखापर्न सक्छन् । औषधिले सामान्य खालका असर गर्छन् । तर गम्भीर असर पुर्याउने सम्भावना न्यून हुन्छ । जस्तै रातो पिसाब आउनु, शरीरमा रगतको कमी हुनु, शरीरको छाला खैरो हुन सक्छ । समयमै उपचार गरिएन भने अपाङ्ग हुने, पुरुषहरूको यौन क्षमता घट्ने, महिलाहरूमा बाँझोपन हुने, मिर्गौलामा समस्या देखापर्ने, आँखाका नसा बिग्रने र समयमै उपचार गरिएन भने अन्धोसमेत हुने अवस्था सिर्जना हुन सक्छ ।
कुष्ठरोग कति प्रकारको हुन्छ ?
रोगका दृष्टिकोणले कुष्ठरोगलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो, कम कीटाणु भएको ‘प्यासी ब्यासेलरी’ र अर्को, बढी कीटाणु भएको ‘मल्टी ब्यासिलटी’ । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगी धेरै छन् ।
यसका रोगीले हातखुट्टाको छाला लाटो भएमा चिसो पानीमा भिजाएर नरम बनाएर धारिलो चुच्चो नभएको वस्तुले खुर्कन पनि सकिन्छ । आँखामा समस्या आएका रोगीले राति निदाउँदा सफा कपडाले आँखा ढाकेर निदाउनुपर्छ । दिउँसो घाममा हिँड्दा कालो चस्माको प्रयोग गर्न भुल्न हुँदैन ।
कुष्ठरोग प्रभावितलाई स्वास्थ्य सेवा
औषधिको सेवन गर्दा साधारण या गम्भीर असर देखापरेमा स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्छ । ‘मल्टी ब्यासिलटी’ कुष्ठरोगीले १२ पत्ता अर्थात् १२ महिना औषधि खानुपर्ने हुन्छ । ‘प्यासी ब्यासेलरी’ कुष्ठरोगीले ६ पत्ता अर्थात् ६ महिनासम्म औषधि खानुपर्छ ।
समयमै उपचार गरेर औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुन्छ । कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ । कुष्ठरोग कारण अङ्गभङ्ग हुँदा अप्रेसन गर्न परेको खण्डमा निःशुल्क गरिन्छ । यस्तै ‘रियाक्सन’ हुँदा समेत निःशुल्क उपचार हुन्छ । औषधि नजिकैको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सकिन्छ । अप्रेसन गर्नुपर्ने अवस्था सिर्जना भए मातहतको स्वास्थ्य कार्यालयले अन्य केन्द्रीय वा प्रादेशिक अस्पतालहरूमा रिफर गर्छ ।
परिवारमा कुष्ठरोगी भएमा के गर्ने ?
कुष्ठरोग सार्न सक्ने तर कम सर्ने रोग हो । कुष्ठरोग लागेको बिरामीको परिवारको अन्य सदस्यलाई सरेको हुन सक्ने सम्भावना भएकाले उक्त व्यक्तिको परिवार तथा सँगै बस्ने अन्य सदस्यलाई पनि कुष्ठरोगको जाँच गराउनुपर्छ । यो रोग वंशाणुगत रोग भने होइन । श्वासप्रश्वासबाट सर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको