बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार भ्रममा पर्दा समुदायमै धमाधम भेटिन थाले कुष्ठ रोगी

शनिबार, १५ माघ २०७८, १३ : १६
शनिबार, १५ माघ २०७८

नेपाललाई कुष्ठरोग निवारण गरेको मुलुक भनेर घोषणा गरेको ११ वर्ष पुग्यो । तर निवारण घोषणा गरेपछि कुष्ठरोग प्रभावितको सङ्ख्या घट्नुको साटो तीव्र गति बढ्दै गएको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाकाअनुसार ०७७/०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्ठरोग प्रभावित बिरामी पत्ता लगाइएको हो । जसमा ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला यस रोगबाट भएका छन् ।

यस्तै, वंशाणु रोग नभए पनि गत वर्ष १५ वर्ष मुनिका १०१ जना बालबालिका यस रोगबाट प्रभावित भएको पाइएको छ । जसमध्ये कुष्ठरोगका कारण ९५ जना अङ्गभङ्ग भई अस्पताल पुगेका थिए । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रवीन्द्र बाँस्कोटाले कुष्ठरोग लागेर अङ्गभङ्ग भइ देशभरबाट यति ठुलो सङ्ख्यामा बालबालिका सम्पर्कमा आउनुले चुनौती थपिएको बताउँछन् । उनी भन्छन्, ‘यो रोग वंशाणुगत रोग होइन । तर, समुदायमा धमाधम बच्चामा पनि पुष्टि भएको छ । यस रोग लागेपछि अङ्गभङ्ग हुन कम्तीमा १०/१२ वर्ष लाग्छ ,त्यसैले समुदायबाट बच्चालाई कसै न कसैबाट कुष्ठरोग सारिरहेको छ ।’

सन २०१० मा नेपाललाई डब्ल्यूएचओले कुष्ठरोग निवारण देश भनेर घोषणा गरेको थियो । प्रति १० हजारमा ०.७७ अर्थात् एकभन्दा कम रोगीको सङ्ख्या हुँदा निवारणको घोषणा गरिएको थियो । त्यस समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थपिएका थिए ।  

नेपाल सरकारले पनि २०२० सम्ममा कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो । तर, कुष्ठरोग निवारण घोषणा गरेको ११ वर्ष बितिसक्दा कुष्ठरोगीको सङ्ख्या घट्नुको साटो झन् बढ्दै गएको छ । निवारण घोषणा गरेको ११ वर्षपछि कुष्ठरोगीको सङ्ख्या बढेर प्रति १० हजारमा ०.९९ बढी पुगेको छ ।  

निवारण घोषणा गरेपछि घट्दाघट्दै शून्यमा पुग्नुपर्ने तर, कुष्ठरोग प्रभावितको ग्राफ उकालो लाग्दै भएको छ । निवारण घोषणा गर्नु उन्मुलन होइन तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निवारणलाई उन्मुलन सम्झिएर कुष्ठरोग शाखामा जनशक्ति, आर्थिक प्राविधिक स्रोतहरू घटाएको कर्मचारीहरू बताउँछन् । कुष्ठरोग निवारण घोषणा गरेपछि सरकारका लागि पब्लिक हेल्थको विषय बन्न नसक्दा प्रभावित बढ्दै गएको पाइएको छ ।   

नियन्त्रण शाखाका अनुसार ११ वर्षको अवधिमा ३५ हजार यस रोगबाट प्रभावित भएछन् । नेपालमा कुष्ठरोग प्रभावितको सङ्ख्या २ लाख भन्दा बढी छ । जसमा ३० हजारभन्दा बढीको अङ्गभङ्ग भएको छ ।  

सरकार भ्रममा पर्दा कुष्ठरोग प्रभावित बढे

कुष्ठरोगबाट प्रभावित २१ सय ७३ जनामध्ये बढी कुष्ठरोग प्रभावित जिल्ला ११ वटा  छन् । मध्यम प्रभावित जिल्ला ५५ वटा छन् भने कम प्रभावित भएका जिल्ला ११ रहेका छन् । बढी कुष्ठरोगी प्रभावित जिल्ला झापा, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके र कैलाली रहेका छन् । प्रदेशका आधारमा सबैभन्दा धेरै मधेस प्रदेश र लुम्बिनी प्रदेश प्रभावित भएको पाइएको छ ।  

सरकार सङ्घीयतामा गइसकेपछि स्थानीय, प्रादेशिक र केन्द्रीय तहमा कुष्ठरोग सम्बन्धी कार्यक्रम गर्नका लागि बजेट विनियोजन गरिएको छ । सरकारले स्थानीय तहलाई कुष्ठरोग सम्बन्धी जनचेतना फैलाउनका लागि सात वटा प्रदेशको ७ सय ५३ वटा स्थानीय तहमा बजेट विनियोजन गरे पनि प्रभावकारी हुन सकेको छैन ।  

यस्तै, रोगीको सङ्ख्या बढेपछि उन्मुलन गर्नका लागि सरकारले यस रोगको बारेमा सूक्ष्म अनुसन्धान गर्न लागि बजेटको आकार बढाउने पर्ने हो । तर स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा निवारण नै उन्मुलन हो भन्ने भ्रम भएको कारण समस्या सृजना भएको विज्ञहरू बताउँछन् । निवारण भएको रोगलाई धेरै बजेट चाहिँदैन भन्ने भ्रम भएको कारण कुष्ठरोगी बढ्दै गएको उनीहरुको भनाइ छ । कुष्ठरोगको कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ ।

कर्मचारी समायोजनका कारण कुष्ठरोगसम्बन्धी तालिम लिएका एक थरी दक्ष जनशक्ति कुष्ठरोग प्रभावित जिल्लामा पुगेका छैन भने अर्का थरी सेवा निवृत्त भएका छन् । नयाँ आउने स्वास्थ्यकर्मीले तालिम नपाएको व्यवस्थापन शाखाका कर्मचारीहरू बताउँछन् ।

कुष्ठरोग प्रभावित सबै उपचारको दायरा आएका छैनन्  

धार्मिक ग्रन्थमा पूर्व जन्मको श्रापको कारणले कुष्ठरोग लाग्ने उल्लेख गरिएको छ । २१ औँ शताब्दीमा आइपुग्दा पनि नेपाली समाजमा पापको कारणले यो रोग लाग्छ भन्ने गलत धारणा कायम रहेको व्यवस्थापन शाखाका प्रमुख डा.बाँस्कोटा बताउँछन् ।

कुष्ठरोगलाई धेरै पहिलेदेखि सामाजिक कलङ्कसँग जोडिँदै आएको छ । यसै कारणले  बिरामी स्वयंले यो रोगबारे जानकारी गराएर सुरुवाती चरणमै उपचार गर्न हिचकिचाउँछन् । कुष्ठरोगद्वारा प्रभावितहरू प्रति जागरूकता देखाउनकै लागि सन १९५४ देखि विश्व कुष्ठरोग दिवस सुरु गरिएको थियो । 

समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने रोगीको सङ्ख्या झन् धेरै हुन सक्ने प्रमुख डा. बाँस्कोटाको अनुमान छ । समुदायमा लुकेर बस्ने कुष्ठरोगी सरकारको लागि चुनौती बनेको उनको भनाइ छ । 

 कुष्ठरोग सामाजिक विषय बन्दा समस्या भयो    

कुष्ठरोग लाग्ने धेरै जसो निम्न वर्गीय परिवारका सदस्यलाई लाग्ने गरेको पाइएको नियन्त्रण शाखाका प्रमुख डा. बाँस्कोटा बताउँछन् । सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरे पनि समुदायमा रोगी प्रति भएका अमानवीय व्यवहार तथा सामाजिक विभेदलाई सम्बोधन गर्ने कार्यक्रमहरूमा जोड दिन  आवश्यक महसुस गरेको उनी बताउँछन् । ‘समाजले नै घृणा गर्न थालेपछि कुष्ठरोग प्रभावितमा   मानसिक रूपमा ठुलो असर पुर्‍याउँछ’  उनले भने, ‘अझै पनि गाउँघरमा कुष्ठरोगीलाई कोरी भनेर असम्मानजनक शब्द प्रयोग गर्छन् ।’   

कुष्ठरोग कमाइ हुने रोग होइन 

कुष्ठरोग पैसा कमाइ नहुने रोगका पर्ने भएकाले पनि अझै बढी ओझेलमा परेको जनस्वास्थ्य विज्ञहरूको आरोप छ । धेरै छाला रोग विशेषज्ञहरूले यस रोगको उपचारका लागि वास्ता गर्ने गरेको व्यवस्थापन शाखाको प्रमुख डा. बाँस्कोटाको जिकिर छ । छाला रोग विशेषज्ञहरूले कस्मेटिक सर्जरी, कपाल रोप्ने तिर बढी जोड दिँदै आएका छन् । ‘कस्मेटिकतिर पैसा धेरै आउँछ,’  उनले भने, ‘कुष्ठरोगीको उपचार गरे बापत एक रुपैयाँ पनि आउँदैन । यो भनेको गरिबदु:खीलाई लाग्ने रोग हो । उनीहरूबाट पैसा आउँदैन ।’   

 नेपालमा विदेशी कुष्ठरोगीले सेवा लिन्छन् 

नेपालमा बढि कुष्ठरोगी प्रभावित जिल्लाहरू प्रायः भारतसँग जोडिएको छ । यस्तै भारतबाट वार्षिक रूपमा कुष्ठरोगी उपचारका लागि ७०० बढी आउने गर्छन् ।  सामाजिक विभेदबाट मुक्ति पाउनका लागि नेपालमा आइ उपचार गर्ने गरेको व्यवस्थापन शाखाको प्रमुख डा. बाँस्कोटालको भनाइ छ । ‘भारतबाट उपचारका लागि आउनेलाई मानवीयताको आधार उपचार गर्दिनँ भन्न पाइएन । तर, रोग पत्ता लागेपछि उपचार आफ्नै देशमा गरेको भए हुन्थ्यो नि त । यस्तो गर्दैनन्,’ डा. बाँस्कोटा भन्छन्,

कुष्ठरोग प्रभावितको उपचार लामो समयसम्म गर्नुपर्छ ।  ६ महिनादेखि एक वर्षसम्म औषधि खुवाउनुपर्छ । यसले पनि नेपालका लागि चुनौती थपिएको व्यवस्थापन शाखाका प्रमुख डाक्टर बाँस्कोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप