शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावबारे सुवास नेम्वाङको प्रतिक्रिया– अब यसलाई नाकको कुरा बनाउनुहुँदैन

‘चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, ऐन संशोधन गर्नुपर्ने देखेका छैनौँ’
शनिबार, १५ माघ २०७८, २१ : १८
शनिबार, १५ माघ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जेठभित्र चुनाव गर्न सत्ता गठबन्धन सहमत हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । जेठभित्र चुनाव गर्न सत्ता पक्ष सहमत भएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, यसमा विवाद छैन ।’

तथापि स्थानीय चुनावका लागि ऐन संशोधन गरिराख्नुपर्ने आफूले नदेखेको नेम्वाङको प्रतिक्रिया छ । जेठ ५ भित्रै चुनाव गरेको भए राम्रो हुने बताउँदै नेम्वाङले अब यसलाई प्रतिष्ठा (नाक) को विषय बनाउन नहुने बताए ।  

नेता नेम्वाङले समयमै स्थानीय निर्वाचन गर्नुपर्छ भन्नेमा विवाद नरहेको बताउँदै सत्ता गठबन्धनले पनि जेठभित्र भनेकाले ठाउँमा आउन खोजेको बताए । उनले भने, ‘तर अझै पनि शब्दचाहिँ जेठ मसान्तभित्र भन्नुभयो । जेठ मसान्तभित्र भन्दा अलिअलि सीमाना बाहिर नै हुन्छ । त्यसकारण यो प्रसङ्गमा कुनै पनि गलत आरोप लाग्दा हामी सबैमाथि हो भनेर मान्नुपर्छ ।’

नेम्वाङले थपे, ‘त्यति छलफल गरिसकेपछि जेठ ५ भित्रमै भैसक्नुपर्थ्यो । त्यसैले अब अरू धेरै यसलाई नाकको कुरा बनाउनुहुँदैन ।’ एमाले नेता नेम्वाङले संविधान, कानुन, सिस्टम र अभ्यास भनेको सबैको भएको भन्दै निर्वाचन आयोगले पनि यसबारेमा विचार गरेकै छ भन्ने आफूलाई लागेको बताए ।

अब ऐन संशोधनका लागि संसद्को अवरोध खुलाउनुहुन्छ ? भन्ने रातोपाटीको प्रश्नमा नेम्वाङले भने, ‘देशमा अहिले जुन कानुन छ, त्यो कानुन संविधानसँग बाझिएको भन्नेमा हाम्रो चित्त बुझेको छैन । आफूले बनाएर कार्यान्वयनमा गएका बेलामा संशोधन गर्नुपर्ने हामीले देखेका छैनौँ । तर, सबै कुरामा छलफल गर्न सकिन्छ, अन्ततः मैले भन्ने गरेको, दलहरू एक ठाउँमा आउनुको विकल्प छैन । ’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप