बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : एउटा लेखक तु चाहियो–२

शनिबार, १५ माघ २०७८, ११ : ५३
शनिबार, १५ माघ २०७८

कथाको अन्तिम दृश्य कालो बाकस खुलेको र हाम्रो पात्र त्यसभित्र चुर्लुम्म डुबेको अवस्थामा विश्राम लाग्न पुगेको थियो ।

सडक छेउ जलिराखेका ल्याम्पपोस्टका केही थान किरण पात्रको सयन कक्षको झ्यालबाट भित्र छिर्न प्रयासरत थिए । तर पात्रलाई यो परिवेशको कुनै बाल थिएन । हुने कुरा पनि भएन । पात्र बेखबर थियो आफैसँग ।

यत्तिकैमा खाटमाथि राखेको पात्रको मोबाइलमा छोटो घण्टी बज्छ, टिङ–टिङ । तर, पात्रले कुनै प्रतिक्रिया दिदैन । दिनु पनि कसरी । किनकि पात्रको चेतना, अर्ध–चेतना सबै कालो बाकसभित्र कैद भइसकेको छ । यस बाहिरी संसारमा घटित घटनाप्रति उ पूर्ण बेहोस छ ।

मोबाइलको घण्टी बजेको केही समयमा नै बाहिरी सडकमा साइरनको आवाज एक सुरले गुन्जिन थाल्छ । हुन त नियमित गस्तिमा हिँडिरहेको नेपाल प्रहरीको भ्यान थियो त्यो । सधैं त्यसबखत गुडिरहने  । तर आज भने पात्र झसंग हुन्छ । अर्ध–चेतनालाई उही टाउको गिंडिएको बाकसभित्र छोडी पात्रले आफ्नो चेतनालाई यस भौतिक संसारमा ल्याउने प्रयत्न गर्छ । अब उ सशंकित हुन थाल्छ । यो साइरन कसको हो ? पुलिस वा एम्बुलेन्स ? उत्तर खोज्न उ झ्यालबाट चिहाउँछ ।

हो, नेपाल प्रहरीकै भ्यान रहेछ । पात्रको डरको सीमा झनै बढ्छ । अब के गर्ने ? कतै प्रहरी यतै त आएको होइन ? यस्तै विविध डरले उ सजग भइ बस्ने प्रयास गर्छ । यसै बखत मोबाइलको घण्टी पहिलाकै तवरले फेरी बज्छ, टिङ–टिङ । मोबाइल उठाउँछ, अनि देख्छ स्क्रीनमा दुइटा मेसेज । खोल्छ ।

पहिलो मेसेज, “घर पुगिसक्नु भयो ?’

दोस्रो मेसेज, “सुति पनि सक्नुभयो कि !’

पात्रले यी एक जोडी सन्देशको पनि पुरापुर वेवास्ता गरिदिन्छ ।

आफ्नी प्रेमिकाको यी मेसेज देख्दा बल्ल उसलाई अघि ठमेलमा रित्याएका रक्सीको बोत्तलको याद आउँछ । प्रेमिकाले कर गरी गरी खुवाएका गाँजाका रेजिलाको बाक्लो धँुवा याद आउँछ । त्यो मदहोस मात याद आउँछ ।

अब बल्ल पो उसलाई आफ्नो मुखबाट निस्किरहेको बासी रक्सीको गन्ध नमीठो लाग्न थाल्छ । गाँजाले टाउको वरपरका नसामा बजाएको बाजा पनि महशुस हुन थाल्छ । तर के फाईदा, उसको वर्तमान उस्तै छ, बाकस त्यही छ, समस्या जिवितै । घरि सोच्ने, घरि निदाउने गर्दागर्दै छटपटीमा रात बितेको पात्रले पत्तै पाउँदैन ।

बिहान श्रीमतीसँग भेट हुँदा पात्रले रातका घटना जति लुकाउने प्रयास गर्यो, त्यति नै असफल हुन्थ्यो  । उसका फुलेका आँखा, खुम्चिएको अनुहार, अस्तब्यस्त शिरको कपालबाट नै प्रष्ट बुझिन्थ्यो कि उसको रात सहज तरिकाले पक्कै बितेन ।

उसको हुलिया देखेर श्रीमती अलमलमा पर्छिन् । दुबैको मुखारबिन्दबाट एक शब्द पनि निस्किदैन । त्यसो त यसरी एकअर्काप्रति कुनै शब्दका बाणी ननिस्केको धेरै दिन बितिसकेको थियो । उनीहरुको सम्बन्ध बिच्छेदको प्रक्रिया अघि बढिरहेको थियो । कारण ती राती मेसेज पठाउने प्रेमिका नै थिइन् ।

आफ्नो पतिको घरमा राम अनि बाहिर हराम प्रबृत्तिप्रति वाक्क–दिक्क भएर नै श्रीमतीले डिभोर्सको प्रक्रिया अघि बढाएकी थिइन् । पात्र श्रीमान पनि आफ्नो ब्याकअप प्लान भइराखेका कारण यसप्रति कुनै खेद प्रकट नगरी बसेका थिए ।

लेखक मित्र, पात्रको सानो परिवारिक पृष्ठभूमिलाई यतै थाँती राखी अब बर्तमानमै केन्द्रित भइजाउँ ।

सदाझैं पात्र अब आफ्नो दिनचर्या निभाउन कर्मथलोतर्फ निस्कने तयारी गर्छन् । पात्र नेपाल निकेतन विद्यालय, त्रिपुरेश्वरका शिक्षक हुन । पढाउन त जानै पर्यो । उनी सरासर घरबाट निस्केर भोटेबहाल चोकतर्फ लाग्छन् ।

चोकमा फोहोरको थुप्रोभित्र केही खोजिरहेका केही ब्यक्ति, बिच सडकमा उभिएर पथप्रदर्शक गरिरहेका ट्राफिक प्रहरीको सिठ्ठी, निरन्तर आफ्नै वेगमा गुडिरहेका सवारी साधनको ताँती आदि विविध वातावरणप्रति पनि पात्रलाई कुनै चासो रहँदैन । पात्रका आँखाले सबै दृश्य हेरिरहेका हुन्छन् तर देखेका भने केही हुँदैनन् । उनी सरासर त्रिपुरेश्वरतर्फ लम्किरहेका हुन्छन्, अनियन्त्रित तन र मनका साथ ।

पात्रको उक्त वेग विद्यालयको गेट अघिल्तिर पुग्दा डग्मगाउन थाल्छ । जब एक भिखारी उनको अघिल्तिर हात फैलाउदै बाटो छेक्न आइ पुग्छ । उक्त भिखारीले के भनिरहेछ, त्यो त पात्रले केही सुनेकै हुँदैनन् । सुन्न चाहेको पनि हुँदैनन् । तर, निरन्तर किचकिचपश्चात बाटो क्लियर गर्न पात्रले आफ्नो खल्तीबाट एउटा नोट दिदै उसको हातमा थमाइदिन्छन् । अनि सिधै प्रवेश गर्छन् विद्यालयभित्र । 

अरे ! यो के भयो ! जिन्दगीमा एक रुपैँया कसैलाई सित्तैमा नदिने लोभी पात्रले आज त भिखारीलाई सयको हरियो नोट पो थमाएर गएछन् । अचम्मै भयो । तर पात्रलाई आफूले कति रकम दिएँ भन्ने ज्ञान भने छैन । आफ्नै समस्याको पहाडमा थिचिएका उनलाई हतार हतार के दिएँ भन्ने जानकारी समेत छैन ।

पात्र आफ्नो पाठ पढाउन कक्षा कोठातर्फ प्रवेश गर्छन्  । कक्षामा नयाँ पाठ केही सुरु हुँदैन । बस् विद्यार्थीहरुमाथि झर्किने, होमवर्कको निहुँमा विद्यार्थी कुट्ने यावत कार्य मात्र हुन पुग्छन् । कहिल्यै नदेखेको आफ्नो शिक्षकको यस्तो विचित्रको रुप देखेर विद्यार्थीहरु वाल्ल पर्छन्  ।

बेला–बेला बाहिर कोही हिँडिरहेको जस्तो महशुस हुँदा बखत मात्र पात्र अलि सजग भइ पढाउन थालेको अभिनय गर्छन् । तर, समग्रमा कक्षा कोठाभित्र पढाउने कुनै कार्य नै हुँदैन । अर्को कक्षामा पनि पात्रको यस्तै भूमिका दोहोरिन्छ ।

दुई पिरियडको समाप्तीपछि भने पात्र झनै अनियन्त्रित हुन पुग्छन् । सिधै कार्यालयमा गइ बिरामी भएको बिन्ती चढाइ आधा दिनको छुट्टी लिएर आफ्नो घर फर्किन्छन् । फर्किदा स्कुलको भित्तामा सरसफाइ र पेन्टिङमा ब्यस्त रहेका केही नौला अनुहारहरुले पात्रतर्फ आश्चर्यकोे दृष्टिले हेरिराखेका जस्तो त पात्रलाई लाग्छ । तर उनलाई यी कुनै कुराको मतलब हुन्न ।

घरमा पुग्दा घरमा कोही हुँदैन । ढोका छेउमा रहेको थोत्रा जुत्ताबाट घरको साँचो निकाल्छन् अनि भित्र प्रवेश गर्छन् । सिधा आफ्नो उही खाटवाला कक्षमा इन्ट्री मार्छन् । खाटमा थुचुक्क बस्छन् । अब फेरी पात्रमा कालो बाकसको चिन्ता झनै मडारिन थाल्छ  ।

बाकसलाई के गर्ने ? कहाँँ लगेर फ्याँक्ने ? फ्याँक्दै गर्दा कसैले देख्यो भने ? वा कोही चिनेको ब्यक्तिले बाटोमा के बोकेर हिँडेको सर ? कता भनेर प्रश्न गर्यो भने के जवाफ दिने ? आदि प्रश्न उनको टाउको वरपर तीन सय साठ्ठी डिग्रीमा नाच्न थाल्छ ।

पात्रलाई चिन्ता, डर, भोक, प्यास आदिले गर्दा अब चक्कर आउन थाल्छ । बाकस सँगको जम्काभेटपछि पात्रको पेटमा खानाको आगमन लगभग बन्द रहेको अवस्था छ । बल्ल पानीको तलतल मेट्न उनी भान्सातर्फ लाग्छन् ।

पानी खाएको जस्तो गरेर फर्केर फेरि उही कोठामा आउँछन् । बाकसलाई यहाँ यसरी अब धेरै समय राखिरहनु हुँदैन भन्ने निर्णयमा पुगिसकेपछि दराजको ढोका खोल्छन् । दराजमा केही थान अस्तब्यस्त कपडा मात्र यथास्थानमा हुन्छ । त्यो कालो लेदर कोटेड बाकस त्यहाँ हुँदैन । पात्रलाई अब आफ्नो आँखा प्रतिको विश्वास पनि हराइ जान्छ ।

उनको मनस्थिति अब झनै भौतारिन थाल्छ । प्रश्नको चाङ लाग्छ ।

के यो सबै सपना थियो त ? नाइ हुनै सक्दैन ।

दारु प्लस गाँजाको ककटेल नसाको भ्रम मात्र त हैन ?

त्यसो पनि नहोला ।

किनकि यस अघि पनि पात्रले धेरै पटक यस ककटेल नसालाई सजिलै परास्त गरिदिएका थिए । यस्तो कहिल्यै भएकै थिएन । यसपाली मात्र कसरी पात्र पराजित हुन सक्छ ? नाइ, यो सम्भव छैन ।

कतै कोही आएर बाकस चोरी त गरेन ? यो सोच आएपछि भने पात्र झट्ट मूल ढोकातर्फ दौडिन्छ । मूल ढोका खुल्ला हुन्छ  । ढोका लक गरेर फेरि सोच्न थाल्छ, परिवेशलाई राम्रोसँग नियाल्ने कोसिस गर्छ । शायद अघि उ भित्र प्रवेश गर्दै गर्दा आफै लक गर्न बिर्सेर खुल्लै पो छोडेको हो कि ?

पात्रले त्यो पनि यकिन गर्न सक्दैन । घनचक्करमा फस्न थाल्छ ।

यो पनि हुन सक्थ्यो कि चोरले बहुमूल्य बाकस भनेर चोरी गरेको होस् र यदि बाकसभित्र काटिएको मानव शिर फेला पर्दा उ सिधा प्रहरीकोमा पुग्यो भने ? पात्रले के जवाफ दिने ? पात्रको जवाफ प्रहरीलाई चित्त बुझेन भने ?

पात्रलार्ई अब झनै शंका लाग्न थाल्छ । 

मनभित्र यस्ता मनोवादहरु गुन्जिन थाल्छन्ः

“कतै प्रहरीले हिजो रातीदेखि नै मलार्ई पछ्याइरहेका त छैनन् ? त्यो बाकस उनीहरुकै हातमा त परेन ? अब केही बेरमा प्रहरी घरमै आइपुग्ने त होइनन् ? फसाद पर्यो, के गर्ने अब ?

कतै भाग्ने या लुकेर बस्ने कि ? कसो गर्ने ? 

भाग्नु पर्ने गल्ती नै पो के गरे र मैले ?

हिँड्दै गर्दा बाटोमा बाकस भेटिनु के मेरो गल्ती थियो त ? अवश्य पनि छैन । 

तर यदि भेटाएको सामान चौकीतिर नबुझाएर घरतिर किन पुर्याएको ? घरमै लगे पनि यस्तो बस्तु फेला पर्दा यति समयसम्म प्रहरीलाई किन खबर नगरेको भनी प्रहरीको प्रतिप्रश्नमा मैले के बोल्ने ? त्यति राती कताबाट फर्किदै थिस् भन्दा कसो भन्ने ? मेरो त सबै पोल पो खुल्ने भयो त ! शिक्षक बनेर बनाएको सामाजिक इज्जत कालो बाकसले कालै बनाएर त छोड्दैन ? अब कसो गरी उम्कने ? बर्बाद भयो ।

पात्रलाई अब आफू जसरी नि फसिसकेको कल्पना हुन थाल्छ  ।

उम्कने कुनै बाटो फेला पर्ने सम्भावना नै देख्न छोडछ । अ कम्प्लिट ट्र्याप । 

र यत्तिकैमा घरको घन्टी बज्छ– टिङ टोङ !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप