शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : एउटा कथा लेखक तु चाहियो

शनिबार, ०८ माघ २०७८, ०७ : १२
शनिबार, ०८ माघ २०७८

तपाईं तु को अर्थमा धेरै नअल्मलिनुस् । 
यसको शाब्दिक अर्थतिर अहिले तपाईं जानु आवश्यक पनि छैन । 
तपाईंले कुरोको चुरो मात्र बुझे पुग्छ । 
लेख्ने सोच या झोंक केही छ ? बस् त्यत्ति भए पुग्छ । तपाईंको क्राइटेरिया मिट भयो ।  
तपाईंले पात्रलाई हेरेको भरमा मात्र उसको चरित्र सचित्र चित्रण गर्नुपर्ने छ । 
पात्रले नबोलेका र नसोचेका कुरा पनि तपाईं आँफैले बोल्नु र सोच्नु पर्नेछ ।
मुख्य कुरा तपाईं कथाको इतिश्री नहुँदा सम्म चाँही बडो धैर्य गरी सुन्नुपर्नेछ । 

कथाको बिषयबस्तु र क्षेत्रबारे सुरुवातमै केही जानकारी दिई राख्दा तपाईंलाई आवेदन दिन केही सहज त हुन्थ्यो होला । तर, जानकारी सबै दिई राख्दा कथाका मिठास अनि कौतुहलता हराई जाने हो कि भन्ने डर छ ।

त्यसैले, यो लेखनी पुरै पढेपछि तपाईं आफै क्लियर हुनु हुनेछ । बिषयबस्तु छर्लङ्ग हुनेछ । तब न तपाईंलाई आवेदन दिन पनि मजा भइजाला । कि कसो ? के भन्नु हुन्छ तपाईं ?

जे भन्नोस् तर अब भने कथा नै सुरु गरौ ।

....

हाम्रो कथाको पहिलो पात्र एकजना ४५–५० बर्षका पुरुष छन् । पात्रको सामान्य परिचय यस्तो छ ः

शारीरिक वर्णन– मध्यम कद, उचाइ पाँच दशमलव छ फिट आसपास्, अनुहार सधैं थकित र मुजा परेको । पेट पुटुक्क परेको ।

शैक्षिक ज्ञान– काम चलाउ ।

आर्थिक अवस्था– मध्यम वर्गीय ।

सामाजिक र परिवारिक अवस्था– देख्नलाई मात्र ठिक्क  ।

मनोवैज्ञानिक अवस्था– हिम्मत कम, डर बढी भएका जमातमा राख्न सुहाउने खाले । समग्रमा लोभी र दयायोग्य पात्र ।

यी बाहेक मन लागे तपाईं आफै पनि विभिन्न विशेषता थप्न सक्नुहुन्छ । तर पात्रको मूल चरित्रमा खोट भने लाग्नु भएन ।

यसरी तपाईंले आफ्नो पात्रको चरित्र निर्माण गरेपछि तपाईं अब यी पात्रलाई रातको ११–१२ बजेतिर असनको घुम्ती गल्लीमा हिँडिरहेको भेट्नु हुनेछ ।

त्यो रातको समय उनी कताबाट आए ? को सँग छुट्टिएर आए ? कुन हालतमा आए ?

मापसे वा गाँपसे केही गरेका थिए कि थिएनन् ? थिए भने कुन लेभलसम्म ? लगायत कारण खोज्ने सबै जिम्मा तपाईंकै भयो । कुरा यत्ति मात्र स्पष्ट छ कि उनी आफ्नो घर जान भनी हिँडेको भने पक्कै हो ।

औशींको रात अनि असनको  गल्ली, सुनसान माहोल हुनु त सामान्य नै हो । तर, असामान्य के भइदिन्छ भने असनबाट न्यूरोड निस्कने गल्लीको एक छेउ ती पुरुष पात्रले एउटा चिटिक्क परेको कालो बाकस देख्छन् ।  कालो लेदर कोटेड बाकस । नेपाली शब्दकोशमा रहेको कालो शब्दको परिभाषा पनि डगमगाउने खालको कालो । उफ्, भयङ्कर कालो । त्यो सुन्दर कालो बाकस देखेर उक्त पात्रमा अनौठो, उत्साहित, लोभलगायतका विभिन्न भावहरु ककटेल भएर एकै समयमा आइपुग्छ ।

र, यहाँनेर पात्र बनेर एक हरफ मनोवाद लेख्ने जिम्मा पनि तपाईंकै हो । उसले सोच्न नभ्याएका कुरा सोच्ने जिम्मा पनि तपाईंकै ।

त्यो समयमा त्यस्तो अजीबको बस्तु फेला पर्दा जो कोही पनि अलमलमा पर्न सक्छ । हो, यहाँनेर हाम्रो पात्र पनि एकदमै हडबडाउँछ तर मनमा लोभले बास गरेका कारण उ नजरअन्दाज गरी हिँड्न पनि सक्दैन । पात्र थोरै दाँया बाँया टाउको घुमाइ बिस्तारै बाकसतर्फ अघि बढ्दै जान्छ  । बाकसभन्दा पाँच पाइला अघि ठ्याक्कै उभिदा उसले देख्छ कि बाकसमा बडेमानको ताल्चा झुन्डेको छ । भोटे ताल्चा ।

बडेमानको ताल्चा देख्दा हाम्रो पात्रलाई शंका लाग्नु स्वाभाविक हो कि त्यसभित्र पक्कै पनि अवश्य केही बहुमूल्य समान छ । तर, पात्रको मनोविज्ञान लोभले पुरै ढाकेका कारण त्यो बाकस त्यहाँ कसले, किन र कसरी ल्यायो होला भन्ने प्रश्नमाथि कालो बादल लाग्न पुग्छ । सोचाईले अन्तै कतै डोर्याइरहेको हुन्छ ।

अब हाम्रो पुरुष पात्रलाई आफ्नो पुरुषार्थ देखाई त्यो ताल्चा फुटाउनु पर्ने हुन्छ । अनि त्यस भित्रका सरसामानको जाँच गरी आफ्नो खुलदुली मेट्न पनि । तब पात्र ढुङ्गाको खोजीमा लाग्छ । तर, वरपर त्यो ताल्चा फोड्न सकिने ढुंगा भेटाउँदैन ।

धेरैबेर अलमलिदा कोही आइपुग्ने पो हो कि, कसैले देख्ने पो हो कि भन्ने डर पनि मनमा दौडिन थाल्छ । स–साना ढुंगा त नभेटेको कहाँ हो र ! तर त्यो सुनसान रातमा तलचा फोडेको आवाजले माहोल गड्बड पनि हुन सक्थ्यो ।

यस्तो सोच्दै पात्र केही क्षण टोलाई बस्छ  । अब उ त्यहाँबाट बाकसको खुलदुली नमेटाइ जान नसक्ने अवस्थासम्म पुग्छ । छटपटीमा उसले त्यो बाकस टपक्क माथि उचाल्छ । ८–१० केजी जति भएको अड्कल काट्छ । फेरि टाउको दाँया, बाँया घुमाउँछ, अनि सिधा आफ्नो घरको बाटो तताउँछ टेकुतिर, दाहिने काखीमा बाकस च्यापेर ।

आफ्नो गृहमा प्रवेश गरेपछि ऊ कतै नअलमलीकन सिधा आफ्नो शयन कक्षतर्फ लम्कन्छ । उसलाई अरु केही गर्न न फुर्सद हुन्छ, न त कुनै जाँगर, न त भोक । उ आफ्नो शयन कक्षको द्वार भित्रबाट लक गर्छ । अब उसको कक्षमा एक थान खटिया, दराज, उ र त्यो कालो बाकसबाहेक अरुको उपस्थिति शुन्य हुन्छ ।

घुरेको आवाज सुन्दा पात्रको श्रीमती पल्लो कक्षमा मस्त निदाइरहेकी हुन्छे भन्ने थाहा हुन्छ । पात्रका अन्य पारीवारिक सदस्यबारे चाँही पछि छलफल गरौला  । किनकि अहिले हाम्रो पात्रको मस्तिस्कमा कालो बाकसको कालो बादल मात्र छाएको छ । पात्र उत्सहित छ ।

एक थान घन र लिएर पात्र अब आफ्नो काममा जुट्छ । सुनसान रातमा सुनसान तवरले नै उसले भोटे ताल्चा फुटाउँछ । पात्रको धैर्यताको समय यहाँनेर आइपुग्दा समाप्त हुन्छ । उसको मुहारमा मन्द मुस्कान छाउँछ । बाकसभित्र भेटिन सक्ने सुन, पैसा वा अन्य कुनै बहुमूल्य धन सम्पत्तिको स्वप्नील कल्पनामा उ चुर्लुम्म डुब्छ ।

दुई हातले बाकसको दुई छेउ समात्छ अनि टक्क खोल्छ त्यो कालो बाकस । बाकसभित्र अवस्थित त्यो वस्तुलाई जब पात्रले केही क्षण नियाल्छ, तब उसका दुबै हात बाकसबाट सम्बन्ध बिच्छेद गर्दै पर सर्छन्  । उ आफै पनि आफू बसेको यथास्थानबाट झट्ट पछाडि हट्छ  । उसको दिमागी घडीको सुइमा त्यही पलमा पूर्णविराम लाग्न पुग्छ । कालो बाकसले उसको तन मनमा कालो बादल फैलाईदिन्छ । उ हेरी मात्र रहन्छ ।

घाँटी, मुख सुक्ने मात्र होइन, उसको शरीर क्षणिक प्यारालाइसिस्मा गइदिन्छ । उसका एक जोडी नयन मात्र खुलेका हुन्छन्, बाँकी सबै बन्द । चुप चाप । अनि सुनसान । वास्तवमा त्यो कालो बाकसभित्र पात्रले एक सय असी डिग्रीमा मिलाएर काटिएर कैद गरेको मानव शरीरको एक थान शिर फेला पार्छ ।  तर अलिक बिचित्रको शिर  । झट्ट हेर्दा मनुष्य जातिकै हो भनी ठम्याउन हम्मे हम्मे पर्ने खालको । उक्त काटिएको शिरबाट दुबै आँखा गायब पारिएका हुन्छन्  । एक जोडी कानको पनि नामोनिशान हुँदैन, पुरापुर गायब । अनुहारमा पाँच ठाडो र पाँच तेस्रो गरी धारिलो हतियारले काटिएको डोब प्रष्ट हुन्छ । नाकका दुबै प्रवेशद्वार एकापसमा टमक्कै जोडिएका हुन्छन्, ग्लुस्टिकाले चप्काएको झैं । उक्त शिरको तालु पुरै सफा र चिन्डो हुन्छ । कपालको कुनै नामोनिशान हुँदैन । तल्लो ओठको आधी भाग मात्र देखिन्छ । आधी भागलाई चपिङ बोर्डमा राखेर चट्ट मिलाएर नब्बे डिग्रीको कोणमा काटेर कतै फुत्त मिल्काएझैं । शिरलाई शरीरबाट अलग गरिएको स्थान वरपर केही थान मासुका चोक्टा अनि आलो रगतको बाफझैं बाफिलो देखिएका हुन्छन् ।

हो लेखक मित्र, बाकसभित्र यस्तै वस्तु फेला परेको हुन्छ  । तब न हाम्रो लोभी पुरुष पात्र आफैसँग बेखबर भई कालो बाकस भित्रको कालो संसारमा हराएको हुन्छ । अब पात्रको उक्त कालो दिमागभित्र प्रवेश गरी परिवेशबारे विविध प्रश्न र जिज्ञासा पोख्ने जिम्मा तपाईं लेखकको । उक्त असामान्य बाकसभित्र झनै असामान्य मानव शिर कहाँ, कसरी र किन आई पुग्यो ? अब हाम्रो पुरुष पात्रले अगाडीको कुनै कदम चाल्छ होला कि चाल्दैन होला ? चाल्छ भन कस्तो त ?

यी सबै अनुत्तरित प्रश्न उही रोकौं । बरु, अहिलेलार्ई तपाईं पनि आफ्नो काममा लाग्नुस् । र, मलार्ई पनि फगत रहस्यमय कथामा डुब्न दिनुस् । पुरा कथाको एक झिनो भाग ध्यानपूर्वक सुनिदिएकोमा तपाईंलाई धन्यवाद पनि छ ।

अ साँच्ची बाँकी भाग लेखनको लागि आवेदन चाँही दिन नभुल्नु होला ।

त्यो पनि तु ।

तुरुन्तै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप