शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्वाचन आयोगको तयारी

बिहीबार, १३ माघ २०७८, १० : ५८
बिहीबार, १३ माघ २०७८

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउनैपर्ने अडान राख्दै आएको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने भएको छ । यसअघि आयोगले दुई चोटि प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ भने यसै साता विज्ञप्तिसमेत जारी गरेर वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न दबाब दिइसकेको छ ।

‘सम्भवतः समय मिल्यो भने आजै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेट्नुहुनेछ,’ निर्वाचन आयोगका एक अधिकारीले रातोपाटीसँग भने, ‘आयोगले पटक–पटक सरकारको ध्यानाकर्षण गरिसकेको छ, जनप्रतिनिधिहरूको कार्यकाल सकिनु पूर्व नै स्थानीय तहको चुनाव हुनुपर्छ र त्यसका लागि तत्कालै मिति तोकिनुपर्छ ।’

निर्वाचन आयोगले यसअघि वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्ने मिति सरकारलाई प्रस्ताव गरेको थियो । त्यसपछि जारी विज्ञप्तिमा १२० दिन अगावै मिति तोकिनुपर्ने भन्दै वैशाखभित्रै गर्ने गरी मिति तोक्न भनिएको छ ।

तर, सत्तापक्षमा रहेका गठबन्धन दलहरू भने स्थानीय तहको चुनाव अर्को हिउँदमा गर्ने गरी पछि सार्ने प्रयासमा लागेका छन् । विपक्षी नेकपा एमाले निर्वाचन आयोगले तोकेकै समयमा चुनाव हुनुपर्ने पक्षमा छ भने नेपाली काँग्रेसको शेखर कोइराला पक्ष पनि वैशाखमै चुनाव हुनुपर्ने पक्षमा छ ।

 प्रधानमन्त्री शेरबहादुर देउवा आगामी वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने चर्को दबाबमा छन् । तर, उनलाई गठबन्धन दलका नेता प्रचण्ड, माधव नेपाल लगायतले स्थानीय चुनाव वैशाखमा नगर्न दबाब दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप