शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुरु बराललाई एमालेकै सांसदबाट धोका !

गठबन्धन दलभित्र कहाँ भयो गडबडी ?
बुधबार, १२ माघ २०७८, २३ : ००
बुधबार, १२ माघ २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन ।

 प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन गई बराबरीमा खुम्चनुपर्‍यो ।

एमाले मोरङका एक नेताले रातोपाटीसँग भने, ‘अन्य पार्टीका केही स्थानीय जनप्रतिनिधिले समेत बराललाई मतदान गरेका थिए, तर उनले आफ्नै पार्टीका  दुईजना प्रदेश सांसदको मत पाएनन् । एकजना सांसदले मात्रै गद्दारी नगरेको भए बरालले सजिलै जित्ने थिए ।’

एमालेका ती नेता भन्छन्, ‘गठबन्धनमा संलग्न माओवादी र एकीकृत समाजवादीका केही स्थानीय जनप्रतिनिधिले बराललाई मतदान गर्ने संकेत बिहानै देखिइसकेको थियो, तर एमालेकै प्रदेश सांसदले आफ्ना उम्मेदवारलाई भोट नदेलान् भनेर कसैले अनुमान गरेन ।’

प्रदेश १ मा गठबन्धनको कुल भोट ४६५० थियो । तर, काँग्रेसका गोपाल कुमार बस्नेतले ४४८८ मत मात्रै पाउनु एमालेका लागि फाइदाको विषय थियो । एमालेसँग १४३ स्थानीय जनप्रतिनिधिको मतभार २५७४ थियो । तर, एमाले नेता बरालले ५ जना स्थानीय जनप्रतिनिधिको मत थपेर २६६४ मत (९० मत) बढी ल्याए । यसमा ४० प्रदेश सांसदको १९२० मत थप्न पाएको भए बरालको मत ४५८४ पुग्ने थियो । तर, उनी ४४८८ मत ल्याएर पराजित बने । अर्थात् उनले एमालेकै दुईजना प्रदेश सांसदको मत गुमाएर ३८ मत मात्रै पाए ।

एमालेकै प्रदेश सांसदले बराललाई भोट नदिनुमा मुख्यतः एमालेभित्रको गुटबन्दी नै  प्रमुख कारण रहेको एमाले नेताहरू बताउँछन् । बराल विगतदेखि नै केपी ओलीका भक्त हुन् । विगतमा एमालेकै तेस्रो धारका नेताहरूलाई सताएका कारण उनीमाथि प्रदेश सांसदले बदला लिएका हुन् । एक प्रकारले प्रकारले भन्ने हो भने बरालको हारको कारण ‘१० बुँदे पक्षधर भर्सेस ओली गुट’ बन्न गयो ।

त्यसो त एमाले सांसदहरूले गुरु बरालको हकमा मात्र होइन, एमाले उम्मेदवार सुमित्रा भण्डारीको हकमा पनि अन्तरघात गरेको नेताहरू बताउँछन् । बरालले ४० मध्ये ३८ सांसदको मात्रै मत पाएका थिए भने भण्डारीले ३६ सांसदको मात्रै मत पाइन् । चारजना एमाले सांसदले आफ्नै उम्मेदवारलाई मतदान गरेनन् ।

चुनावको यो नतिजाले प्रदेश १ मा जातीय सेन्टिमेन्टलाई पनि स्पष्ट पारेको स्रोत बताउँछ । बराल र भण्डारी हार्नु अनि राई र शेर्पाले जित्नु यसैको दृष्टान्त भएको नेताहरू बताउँछन् । एमालेको तेस्रो धारका एक नेता भन्छन्, ‘केपी ओलीले उठाएका दुवै उम्मेदवार उनका यस म्यान थिए । झापाकी सुमित्रालाई कहिले राजदूत बनाउने त कहिले सांसद बनाउने ओलीको ताकेतालाई एमालेकै प्रदेश सांसदले अस्वीकार गरिदिएका हुन् ।’

त्यसो त एमालेका प्रदेश १ का जनप्रतिनिधिहरूले राम्रा व्यक्तिलाई छानेर जिताएको ती नेताको दाबी छ । उनी भन्छिन् ‘सुमित्रा भण्डारीलाई हराएर नेकपा एकीकृतकी जयन्ती राईलाई जिताउनमा एमालेको समेत भूमिका रह्यो । उता गुरु बराललाई हराएर सोलुखुम्बुका सोनाम ग्याञ्लेज शेर्पालाई जिताउन एमालेकै सांसदले भूमिका खेले ।’

गठबन्धन दलभित्र कहाँ भयो गडबडी ?

राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश एकमा सत्तारुढ गठबन्धनभित्र पनि गडबड देखिएको छ । प्रदेश एकमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनले एउटा सिट गुमाएको छ भने एउटा गोलाप्रथाबाट बल्लतल्ल जितेको छ ।

गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हेमराज राईलाई पूर्णरुपमा धोका भएको छ । एमालेका राष्ट्रियसभा उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अप्रत्याशित जीत हात पारेका छन् ।

अल्पसङ्ख्यक कोटामा उम्मेदवार बनेका एमालेका शेर्पाले गठबन्धनका दुई जना प्रदेश सांसद र स्थानीय तहका ११ प्रमुख ÷उपप्रमुखको समेत मत प्राप्त गरेको पाइएको छ ।

एमालेको मतभार ४ हजार ४ सय ९४ (एक सांसद फरार) भए पनि उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । एमालेका कूल ४० प्रदेश सांसद रहेकामा शेर्पाले ४२ जना सांसदको मत पाए । त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको मत गठबन्धनबाट बटुलेपछि  शेर्पाले बाजी मारेका छन् ।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लिम्बुवान (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) बीच बनेको ६ दलीय गठबन्धनको कुल मतभार ४ हजार ६६८ छ । तर गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार हेमराज राईले ४३६८ मत मात्रै पाए ।

गठबन्धनबाट राईले ३ सय मतभार गुमाएको देखिन्छ । जसकारण सत्ता गठबन्धन भन्दा १४४ ले मतभार कम भए पनि एमालेका शेर्पाको जित सहज बन्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिए पनि एमालेले एक सीटमा जित निकालेको छ । १२० मत भार भएको राप्रपासँग एमालेले तालमेल गरेको भए सत्ता गठबन्धनको भन्दा २४ मतभार कम हुन्थ्यो । राप्रपासित तालमेल गरेको भए बरालले समेत जित्ने सम्भावना स्पष्ट भएको छ । तर, एमाले र राप्रपाबीच तालमेल भएन ।

राप्रपाले महिला र अन्य एक पदमा उम्मेदवार खडा गरेको थियो । अन्य कोटामा अम्बरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेल उम्मेदवार थिए । प्रदेश एकमा मात्र मतदान गर्ने निर्णय गरेको राप्रपाको मत पनि शेर्पाले पाएको आँकलन गरिएको छ । तर, राप्रपासँग तालमेल नगर्दा एमालेको एउटा सिट भने गुमेको छ ।

अन्यतर्फ गठबन्धनबाट काँग्रेस उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालले समान ४,४८८ मतभार प्राप्त गरे । राप्रपाका अमरबहादुर थापाले १६८ मतभार प्राप्त गरे । गठन्धनबाट १८० मत स्विङ हुँदा गठबन्धनका बस्नेत गोलाप्रथाबाट निर्वाचित हुने अवस्था बन्यो ।

दुई उम्मेदवारबीच बराबर मत आए गोलाप्रथामा जानुपर्ने राष्ट्रियसभा निर्वाचनको कानुनअनुसार बस्नेत र बरालबीच गोलाप्रथा भएको थियो । सुरुमा गोला तानेका काँग्रेसका उम्मेदवार बस्नेतले राष्ट्रियसभा सदस्यको चिठ्ठा हात पारेका छन् । बरालका हकमा भने एमालेको मतभारमा ६ अंकको हिसाब कम हुन जान्छ । राप्रपाले भने एकजना सांसदको ४८ मत भार प्राप्त गरेको छ ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार जयन्ती राईले भने सहज जीत हात पारिन् । उनले ४ हजार ६९२ मतभार पाएर एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी थिइन् । उनले पनि गठबन्धनको मतभारभन्दा  २४ अंक बढी बटुलेकी छन् । तर, केपी ओलीकी प्रियपात्रका रूपमा चिनिएकी एमालेकी उम्मेदवार भण्डारीले भने एमालेकै मतभार जोगाउन सकिनन् । ४३६२ मतभार पाएकी उनले एमालेको १३२ मतभार गुमाएको देखिन्छ ।

एमालेका तर्फबाट जनप्रतिनिधिले अन्तर्घात गरेपछि भण्डारीको मतभार घट्यो र पराजय पनि भोग्न बाध्य भइन् । तथापि पाँच दलीय गठबन्धन तोडेर एक शेर्पा विजयी भएकोमा एमाले पङ्क्तिमा खुसीयाली देखिएको छ ।

उता सत्तारुढ गठबन्धनमा भने राष्ट्रियसभाको निर्वाचनमा क्लिन स्वीप पार्ने रणनीतिमा धक्का लागेपछि मन्थन भइरहेको छ । जसपाका नेता रकम चेम्जोङले गठबन्धनमा भएको अन्तरघातका सन्दर्भमा समीक्षा हुने बताए ।

उनले रातोपाटीसँग भने, ‘गठबन्धनमा अन्तरघात भएको देखियो । काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट गडबड भएजस्तो छ । समीक्षा गर्नुपर्ला ।’

एमाले उम्मेदवारले सबैखाले हत्कण्डा प्रयोग गरेर भोटरलाई प्रभावित पारेको उनको आरोप छ । उनले भने, ‘तीन जनालाई तीन किसिमले भोट आयो । कोही गोलाप्रथाबाट जित्नुपर्ने भयो । कसैले राम्रै भोट ल्याए, कोही हारेको देखियो । मतदान केही कुराबाट प्रभावित भएको देखिन्छ । हामीले यसलाई व्यवस्थापन गर्न सकेनौँ ।’

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले भने आफूहरूबाट कुनै कमजोरी नभएको बताए । विराटनगरमा रहेका उनले रातोपाटीलाई भने, ‘हाम्रो एउटा उपप्रमुख आउन सक्नुभएन । त्यसले १८ भोटमात्र कम भएको हो । जसपाको उम्मेदवार हार्नुभयो । हाम्रो पनि भोट घट्यो । काँग्रेसबाट केही कमजोरी भएको देखिँदैन ।’

एमाले र माधव नेपालको पार्टीको भोट दायाँ–बायाँ भएको घिमिरेको बुझाइ छ । ‘नेकपा एकीकृत समाजवादीबाट गडबड भएको जस्तो छ । एमाले र माधव नेपालको पार्टीको भोट दायाँ–बायाँ भयो कि भन्ने छ,’ उनले अगाडि भने, ‘गठबन्धन हुँदाहुँदै हामीले एमालेलाई भोट हाल्ने कुरा सोच्न सकिन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप