
गठबन्धनबाट पराजित एक्ला उम्मेदवार भन्छन्, ‘मलाई गठबन्धनले होइन, व्यक्तिले हरायो’
‘कुनै गुनासो छैन, कसैलाई आरोप लगाउँदिनँ’

राष्ट्रियसभा सदस्यका १९ पदका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले क्लिन स्वीप गर्ने आँकलन गरिएको थियो । तर गठबन्धनका १८ जना उम्मेदवार विजयी बनिरहँदा एक जना उम्मेदवार भने अभागी साबित भए । ती एक्लो उम्मेदवार हुन् जनता समाजवादी पार्टी नेपालका हेमराज राई । प्रदेश १ मा राई नेकपा एमालेका सोनाम ग्याल्जेन शेपासँग पराजित भएका छन् ।
गठबन्धनका अन्य नेता जित्नु र राईले मात्र हार्नुलाई गठबन्धनका नेताहरूले नै अनपेक्षित भनेका छन् । राई आफै पनि आश्चर्यचकित छन् । गठबन्धनमा गडबड भएको प्रदेश १ मा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई विजय भएका छन् । गठबन्धनका उम्मेदवार बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको पनि मत बराबरी भएपछि गोला प्रथाबाट निर्णय गरिएको थियो । जसमा बस्नेतले बाजी मारे । गठबन्धनतर्फकी जयन्ती राईले चार हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले चार हजार ३६२ मतभार प्राप्त गरिन् ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल ३६४ मतदाता थिए । नेकपा एमालेका शेर्पा चार हजार ७७० मतभारसहित निर्वाचित भए । अप्रत्याशित हार बेहोरेका जसपाका नेता हेमराज राईसँग गरिएको छोटो कुराकानीः
गठबन्धनका सबै उम्मेदवार विजयी भइरहँदा तपाईं हार्नुभयो । कहाँ कमजोरी भयो होला ?
–भर्खर चुनाव सम्पन्न भएर परिणाम आएको छ । अहिले विभिन्न विश्लेषणहरू भइरहेका छन् । तर मेरो प्रारम्भिक विश्लेषण अनुसार मलाई गठबन्धनले होइन, सीमित व्यक्तिको भोटले हराएको हो । गठबन्धनको एकीकृत मत मलाई आएन ।
गठबन्धनबाट कसले तपाईंलाई भोट दिएन ?
–मलाई हराउन गठबन्धनका शीर्ष नेताहरूको निर्देशन थियो भने लाग्दैन मलाई । मतदाताहरूले व्यक्तिगत रूपमा आफ्नो मत प्रयोग गरेका छन् । मतदाताहरूले आफ्नो अनुकूल मतदान गरेका छन् । त्यस कारणले म हारेको हुँ ।
तर यो गठबन्धनले दिएको निर्देशन विपरीत भएन र ?
–भएको होला, तर मलाई त्यसमा कुनै गुनासो छैन । गोप्य मतदान भएपछि सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । उनीहरूलाई जहाँ मन लाग्यो, त्यहीँ मत खसाले । तर गठबन्धन भएपछि त्यसको मत एकीकृत हुनुपर्थ्यो, त्यो भएन ।
गठबन्धनकै नेताहरूले नै भित्रभित्रै षड्यन्त्र गरेर तपाईंलाई हराएको हो कि ?
–होइन, होइन । गठबन्धनका शीर्ष नेताहरूको पहल कदमी राम्रो थियो । उहाँहरूले पटक पटक गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ भन्दै आइरहनु भएको थियो । यसमा उहाँहरुको कुनै दोष छैन । उहाँहरूको प्रयत्न राम्रो थियो । व्यक्तिको मत यताउति भएको हो ।
यस विषयमा गठबन्धनका शीर्ष नेताहरूसँग कुरा गर्नुभएन ?
–गरेको छु । उहाँहरूले पनि आश्चर्य व्यक्त गर्नुभएको छ । कहाँबाट यस्तो भयो यसको बारेमा बुझ्दैछु भन्नुभएको छ । उहाँहरूले बुझ्नु होला सायद ।
गठबन्धनबाट धोका भयो जस्तो लाग्दैन तपाईंलाई ?
–गठबन्धनबाट धोखा भएको हो जस्तो लाग्दैन मलाई । कुनै व्यक्तिले मलाई धोखा दिएको होला, त्यो बेग्लै कुरा हो । यदि गठबन्धनबाट नै कुनै आन्तरिक रूपमा सर्कुलर गरेर हराउने प्रयास भएको भए म त्यसलाई धोका भएको मान्थे । तर गठबन्धनका कुनै पनि नेताबाट त्यस्तो भएको छैन । प्रदेशसभा सदस्य र स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान गरेका छन् । त्यहीमध्येबाट मत यताउति भयो होला जस्तो लाग्छ मलाई ।
काँग्रेसका मतदाताले जसपाका उम्मेदवारलाई हराएको चर्चा छ नि यसको बारेमा के भन्नुहुन्छ ?
–कुन पार्टीले के गर्यो भन्ने मलाई थाहा छैन । त्यसको बारेमा अहिले कुनै सोधी खोजी पनि गरेको छैन । हराउनका लागि कसले के रोल प्ले गरे त्यो पछि बिस्तारै खुल्दै जाला तर अहिले म कुनै दल विशेषलाई दोष लगाउन चाहन्न । त्यो हतार हुन्छ ।
अब के गर्नुहुन्छ ?
–लोकतान्त्रिक विधि प्रक्रियाबाट चुनाव भएको हो । सबैले आआफ्नो स्वेच्छाले मतदान गर्नुभएको छ । मैले पराजितलाई स्वीकार गरेको छु । म यसको गुनासो गर्न कहीँ कतै जान्न । गठबन्धनले यसको बारेमा छलफल गर्यो, वा छानबिन गर्यो भने बेग्लै कुरा हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ