गठबन्धनबाट पराजित एक्ला उम्मेदवार भन्छन्, ‘मलाई गठबन्धनले होइन, व्यक्तिले हरायो’
राष्ट्रियसभा सदस्यका १९ पदका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले क्लिन स्वीप गर्ने आँकलन गरिएको थियो । तर गठबन्धनका १८ जना उम्मेदवार विजयी बनिरहँदा एक जना उम्मेदवार भने अभागी साबित भए । ती एक्लो उम्मेदवार हुन् जनता समाजवादी पार्टी नेपालका हेमराज राई । प्रदेश १ मा राई नेकपा एमालेका सोनाम ग्याल्जेन शेपासँग पराजित भएका छन् ।
गठबन्धनका अन्य नेता जित्नु र राईले मात्र हार्नुलाई गठबन्धनका नेताहरूले नै अनपेक्षित भनेका छन् । राई आफै पनि आश्चर्यचकित छन् । गठबन्धनमा गडबड भएको प्रदेश १ मा गठबन्धनका गोपालबहादुर बस्नेत र जयन्ती राई विजय भएका छन् । गठबन्धनका उम्मेदवार बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको पनि मत बराबरी भएपछि गोला प्रथाबाट निर्णय गरिएको थियो । जसमा बस्नेतले बाजी मारे । गठबन्धनतर्फकी जयन्ती राईले चार हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले चार हजार ३६२ मतभार प्राप्त गरिन् ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरि कुल ३६४ मतदाता थिए । नेकपा एमालेका शेर्पा चार हजार ७७० मतभारसहित निर्वाचित भए । अप्रत्याशित हार बेहोरेका जसपाका नेता हेमराज राईसँग गरिएको छोटो कुराकानीः
गठबन्धनका सबै उम्मेदवार विजयी भइरहँदा तपाईं हार्नुभयो । कहाँ कमजोरी भयो होला ?
–भर्खर चुनाव सम्पन्न भएर परिणाम आएको छ । अहिले विभिन्न विश्लेषणहरू भइरहेका छन् । तर मेरो प्रारम्भिक विश्लेषण अनुसार मलाई गठबन्धनले होइन, सीमित व्यक्तिको भोटले हराएको हो । गठबन्धनको एकीकृत मत मलाई आएन ।
गठबन्धनबाट कसले तपाईंलाई भोट दिएन ?
–मलाई हराउन गठबन्धनका शीर्ष नेताहरूको निर्देशन थियो भने लाग्दैन मलाई । मतदाताहरूले व्यक्तिगत रूपमा आफ्नो मत प्रयोग गरेका छन् । मतदाताहरूले आफ्नो अनुकूल मतदान गरेका छन् । त्यस कारणले म हारेको हुँ ।
तर यो गठबन्धनले दिएको निर्देशन विपरीत भएन र ?
–भएको होला, तर मलाई त्यसमा कुनै गुनासो छैन । गोप्य मतदान भएपछि सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । उनीहरूलाई जहाँ मन लाग्यो, त्यहीँ मत खसाले । तर गठबन्धन भएपछि त्यसको मत एकीकृत हुनुपर्थ्यो, त्यो भएन ।
गठबन्धनकै नेताहरूले नै भित्रभित्रै षड्यन्त्र गरेर तपाईंलाई हराएको हो कि ?
–होइन, होइन । गठबन्धनका शीर्ष नेताहरूको पहल कदमी राम्रो थियो । उहाँहरूले पटक पटक गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ भन्दै आइरहनु भएको थियो । यसमा उहाँहरुको कुनै दोष छैन । उहाँहरूको प्रयत्न राम्रो थियो । व्यक्तिको मत यताउति भएको हो ।
यस विषयमा गठबन्धनका शीर्ष नेताहरूसँग कुरा गर्नुभएन ?
–गरेको छु । उहाँहरूले पनि आश्चर्य व्यक्त गर्नुभएको छ । कहाँबाट यस्तो भयो यसको बारेमा बुझ्दैछु भन्नुभएको छ । उहाँहरूले बुझ्नु होला सायद ।
गठबन्धनबाट धोका भयो जस्तो लाग्दैन तपाईंलाई ?
–गठबन्धनबाट धोखा भएको हो जस्तो लाग्दैन मलाई । कुनै व्यक्तिले मलाई धोखा दिएको होला, त्यो बेग्लै कुरा हो । यदि गठबन्धनबाट नै कुनै आन्तरिक रूपमा सर्कुलर गरेर हराउने प्रयास भएको भए म त्यसलाई धोका भएको मान्थे । तर गठबन्धनका कुनै पनि नेताबाट त्यस्तो भएको छैन । प्रदेशसभा सदस्य र स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मतदान गरेका छन् । त्यहीमध्येबाट मत यताउति भयो होला जस्तो लाग्छ मलाई ।
काँग्रेसका मतदाताले जसपाका उम्मेदवारलाई हराएको चर्चा छ नि यसको बारेमा के भन्नुहुन्छ ?
–कुन पार्टीले के गर्यो भन्ने मलाई थाहा छैन । त्यसको बारेमा अहिले कुनै सोधी खोजी पनि गरेको छैन । हराउनका लागि कसले के रोल प्ले गरे त्यो पछि बिस्तारै खुल्दै जाला तर अहिले म कुनै दल विशेषलाई दोष लगाउन चाहन्न । त्यो हतार हुन्छ ।
अब के गर्नुहुन्छ ?
–लोकतान्त्रिक विधि प्रक्रियाबाट चुनाव भएको हो । सबैले आआफ्नो स्वेच्छाले मतदान गर्नुभएको छ । मैले पराजितलाई स्वीकार गरेको छु । म यसको गुनासो गर्न कहीँ कतै जान्न । गठबन्धनले यसको बारेमा छलफल गर्यो, वा छानबिन गर्यो भने बेग्लै कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण