मन्त्री यादवको बोली चिप्लियो : मन्त्री साह
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार पुनः दोहोर्याउने भनि दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै विरोध गरेका छन् । शनिबार जनकपुरधाममा रातोपाटीसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्री यादवले दिएको अभिव्यक्ति गलत रहेको भन्दै मन्त्री यादवको बोली चिप्लिएको बताएका हुन् ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले भने, ‘मलाई जानकारी प्राप्त भए अनुसार मन्त्री रेणु यादवजी बलिदानी दिवसको दिन रौतहटको गौर जाँदै हुनुहुन्थ्यो, सो क्रममा सिके राउतका कार्यकर्ताहरूले मन्त्री सवार गाडीलाई घेरा हालेर उच्छृङ्खल नाराबाजी गर्दै थिए, वहाँलाई सभामा सहभागी हुनका लागि ढिला हुँदैथ्यो, त्यही भएर होला वहाँले सभामा भाषण गर्ने क्रममा हतारमा चिप्लिएर गौर नरसंहार पुनः दोहोर्याउने लगायतका अभिव्यक्ति दिनुभएको होला, जुन ठिक होइन ।
उनले अघि थप्दै भने, 'मन्त्री जस्तो व्यक्तिले हतारमा बोल्नु हुन्न र के बोल्दैँछु, त्यसमा नियन्त्रणमा राख्नुपर्दछ । मन्त्री जस्तो व्यक्तिले आवेशमा नआई धैर्यतापूर्वक सभ्य भाषामा बोल्नु पर्ने उनको भनाई छ ।